‘महिलालाई सशक्त र निर्णायक भूमिका दिनुपर्छ’


प्रकाशित मिति :2018-02-05 14:40:43

–महिला खबर संवाद–

सीता सुन्दास स्याङ्जा जिल्ला समन्वय समितिको संयोजक हुन् । नेकपा एमाले नेतृ सुन्दास भर्खरै मात्र काठमाडौंमा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको केन्द्रीय अध्यक्षमा समेत चयन भएकी छिन् । एमालेको केन्द्रीय वैकल्पिक सदस्य एवम् अखिल नेपाल महिला संघको केन्द्रीय सल्लाहकार सदस्य समेत रहेकी सुन्दाससँग महिला खबरले गरेको यो कुराकानी ।

 तपाईं राजनीतिमा कसरी आउनुभयो ?

मेरो जन्म सामान्य परिवारमै भएको हो । राजनीतिमा आउन अप्ठ्यारो थियो । भूमिगत कालमा समस्याहरुसँग जुध्दै राजनीतिमा लागियो । बेलुका खाना खाएर सुत्ने समयमा गाउँमा कार्यक्रम कहाँ छ भनेर सम्पर्क हुन्थ्यो । बेलुका आमाहरु सुतिसकेको अवस्थामा हामी सुटुक्क उठेर कार्यक्रममा जान्थ्यौँ ।

राती बैठक बसेर सुटुक्क कसैले थाहा नपाउने गरेर विस्तारमै आएर सुत्थ्यौं । बिहान अभिभावकले हेर्दा ओच्छ्यानमै हुन्थ्यौं । बिहान उठेर घरगोठको धन्दादेखि, घाँस दाउरा त छँदैछ । यसरी राजनीतिमा लागियो ।

राजनीतिमा लाग्ने सोच कसरी आयो ?

राजनीतिमा लाग्नुको कारण नै समाज हो । समाजको परिवेश हो । हाम्रो यस्तो पछौटे समाज छ । दलित भएकै कारण जुन समाजमा मान्छेले मान्छेलाई छुनुहुँदैन् । मान्छे जन्मिएर तोते बोली बोल्दै गर्दा यहाँ जानुहुँदैन्, त्यहाँ छुनुहुदैँन् भनिन्छ । यो अवस्था देख्दा सानैदेखि कसरी चिर्न सकिन्छ भन्ने लाग्थ्यो ।
अर्को महिला र पुरुषबीचको विभेद । महिला र पुरुषकाबीचमा यति ठूलो खाडल छ, जुन खाडल आजसम्म पनि चिर्न सकिएको छैन् । हामी देख्छौं, यही समाज हो जहाँ छोरा जन्मँदा खसी र छोरी जन्मिदा फर्सी काट्ने गरिन्छ । छोराको आशामा दश वटासम्म छोरी जन्मिदा समेत छोरा भएन् भनेर अर्को विवाह गर्ने यहि समाज हो । यस्तो समाजले गर्दा मनमा चिन्ता हुन्थ्यो ।

अर्को जातीय विभेद । हुँदा खाने र हुने खानेबीचको विभेद, महिला र पुरुषबीचमा हुने विभेद । यिनै विभेदले नै मलाई सताइ रहन्थ्यो ।
मान्छे–मान्छेको बीचमा कसरी बाँच्न पाउने, महिला र पुरुषबीचमा कसरी समानता होला, हुँदा खाने र हुने खानेबीचमा कसरी समानता कायम गर्न सकिएला भन्ने लाग्थ्यो । नहुनेलाई भरे के खाने, हुनेलाई एसआराम गर्ने खालको अवस्था । यसबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने त्यतिबेलादेखि चिन्ता हुन्थ्यो । यहि विभेदको खाडल चिर्न २०३८-३९ सालदेखि राजनीतिमा लागे ।

सुरुमा अनेरास्ववियुमा आवद्ध भएँ । अनेम संघमा लागे । २०४७ मा संगठित पार्टी सदस्यता प्राप्त गरे । विस्तारै तत्कालिन पूर्व मालेमा समाहित भए । त्यहाँ गइसकेपछि कार्यक्रममा फलामे अनुशासन हुन्थ्यो । हाम्रो समाजमा हामी एक्लै बसेर खान्थ्यौ तर त्यहाँ गइसकेपछि सबैसँगै बसेर चिया, पानी, खाजा खाने गथ्यौं । त्यसले मलाई साह्रै छोयो । त्यहाँ जाँदा मुक्ति हुन्छ भन्ने मैले बुझे त्यसपछि राजनीतिमा लागे ।

पार्टीमा लाग्दा कुन–कुन भूमिका निर्वाह गर्नुभयो ?

गाउँ कार्यसमितिको सक्रिय सदस्य थिए । त्यसपछि नगर कमिटीमा भए । पार्टीको क्षेत्रीय कमिटीमा गएँ । जिल्ला कमिटीको सदस्य भएँ । अनि अञ्चल कमिटीमा । त्यसपछि राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य र अहिले केन्द्रीय वैकल्पिक सदस्यमा छु ।
अर्को म अनेमसंघमा पनि गाउँ तयारी सदस्य, इलाका, क्षेत्रीय समिति, जिल्ला समिति, अञ्चल समिति र अहिले केन्द्रीय सदस्यमा छु । मुक्ति समाजको जिल्ला समिति सदस्यबाटै केन्द्रीय सदस्य र अहिले सल्लाहाकार सदस्यमा छु ।

 जिल्ला समन्वय समितिको संयोजक भएर काम गर्न कतिको सहज छ ?

कुनै पनि काम सहज हुँदैन । जहाँपनि चुनौति हुन्छन् । अप्ठ्यारा हुन्छन् । त्यसलाई चिर्दैअघि बढ्ने हो । त्यसकारण असहज केलाई भन्ने ? काम गर्ने कुरालाई सहज बनाउँदै लैजाने कुरा हो ।
पार्टीले मुल्याङ्कन ग¥यो र समन्वय समितिको प्रमुखमा पठायो । हिजो पार्टीको एउटा सिंगो कमिटी संचालन गर्ने, कार्यक्रम गर्ने, महिला सशक्तिकरण गर्ने, महिलालाई अनेम संघमा आवद्ध गर्ने कामहरुमा व्यस्त भइन्थ्यो । तर अहिले जुन भूमिका पार्टीले मलाई पठाएको छ । यो भूमिका निर्वाह गर्नका लागि धेरै चुनौतीहरु छन् ।

जिल्ला समन्वय समिति हिजोको जिल्ला विकास समिति जस्तो छैन् । हिजोको जिल्ला विकास समितिमा धेरै कामहरु निश्चित थियो । समितिले यो कामहरु गर्नु भनेर राखेको थियो । बजेट, विकास निर्माणका काम जिल्ला विकास समितिले गथ्र्यो । हिजो जिल्ला सभापति, एलडिओले गर्नुहुन्थ्यो । तर अहिले बदलिदो परिवेशमा हामीलाई जिम्मेवारी दिएको छ । जिम्मेवारीसगैँ हाम्रो भूमिकालाई समन्वयकारी भूमिका मात्रै भनेको छ ।

स्याङ्जा महिला मैत्री जिल्लाको रुपमा परिचित भएको छ । त्यहाँको महिलाको अवस्था कस्तो छ ?

पछिल्लो समय महिलाहरु सशक्त हुनुभएको छ । हाम्रै पार्टीमा हेर्दापनि ८ ठाउँमा महिलाले उपप्रमुख जितेका छौँ । स्याङ्जामा एक ठाउँमा प्रमुख जितेका छौँ । अहिले प्रतिनिधिसभाको सदस्यमा पद्मा अर्याल हुनुहुन्छ । मेयरमा पुतली बजारको मेयरमा सीमा क्षेत्री हुनुहन्छ । म जिल्ला समन्वय समितिको प्रमुखको हैसियतमा छु । समग्रमा हेर्दा महिलाहरुको राजनीतिक रुपबाट सशक्त भएको जिल्ला हो स्याङ्जा । सामाजिक रुपबाट हेर्दा अहिले पनि गाउँ तहमा पछौटेपन त छ नै । मेरै उमेरका महिलाहरु पनि ल्याप्चे लगाउने अवस्था छ । तर समग्रमा हेर्दा महिला अगाडि आएका छन् ।

 महिलालाई सशक्त बनाउन राजनीतिक दलले कस्तो भूमिका दिनुपर्छ ?

महिला राजनीतिक रुपबाट नीति, निर्माण गर्ने ठाउँहरुमा जनसंख्याकै अनुपातमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने हो । राज्यका सबै तहमा ५१ प्रतिशत गाउँ तहदेखि केन्द्रसम्म हुनुपर्छ भन्ने हो । तर संविधानमा के भयो भने केन्द्र र प्रदेशमा ३३ प्रतिशत, स्थानीय तहमा ४० प्रतिशत भनेको छ ।
राजनीति दलले महिलाहरुलाई भूमिका दिन्छन् भन्ने देखिएन् । ७७ वटा जिल्ला समन्वय समितिमा दुई जिल्लामै मात्रै महिला प्रमुख हुनुहुन्छ । त्यसमा पनि प्रदेश नं ४ को स्याङ्जामा म भए । मुस्ताङमा छिरिङ लामा गुरुङ हुनुहुन्छ ।

यत्रो ७७ जिल्लामा २ वटा जिल्लाले मात्रै महिला प्रमुख पायो । अरु जिल्लामा पाएन् । कानून तथा नीति नियम कार्यान्वयन गर्ने ठाउँमा पनि महिलाहरु नभएपछि त्यो हुन सकेको छैन् । अहिले उदाहरणको रुपमा हेर्दा पनि ४० प्रतिशतमा ३३ प्रतिशत भनेको १२-१४ जना महिला प्रमुख हुनुपथ्र्याे तर एमालेमा पनि त्यो हुन सकेन् । त्यसैले महिलालाई सशक्त बनाउन राजनीतिक दलले सशक्त भूमिका, निर्णायक भूमिका महिलालाई दिनुपर्छ । सबै निकायमा हुनुपर्छ, सबै क्षेत्रमा हुनुपर्छ । संस्थामा, पार्टीका कमिटीहरुमा हुनुपर्छ । जहाँ महिलालाई जिम्मेवारी दियो त्यसले उनीहरुलाई जिम्मवार बनाउँछ ।

तपाई दलितहरुको पनि प्रतिनिधि हुनुहन्छ, दलितहरुको उत्थानको लागि नीतिगत आवश्यकता के हो ?

नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको छ । यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबै दलित र गैरदलितबीच सचेतना कार्यक्रम गर्नुपर्छ । अर्को दलितहरुको तथ्यांक संकलन गरेर उनीहरुको लागी योग्यता, क्षमताका आधारमा जीविकोपार्जनका कार्यक्रम व्यवस्था ल्याउनुपर्छ । अझैपनि दलित समुदायका महिलाको अवस्था दयनीय छ । उनीहरुलाई शसक्त बनाउने खालका कार्यक्रम ल्याउनुपर्छ । संविधानले दिएका अधिकारलाई व्यवहारमा देखिनेगरि छुट्टै संयन्त्र बनाउनुपर्छ ।

प्रस्तुती – सन्दिप विक

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: