‘म श्रीमतीको केयर टेकर’


प्रकाशित मिति :2018-02-02 17:13:58

–महिला खबर संवाद–

३० वर्षको वैवाहिक सम्बन्धमा कविता र धनमान गुरुङबीच एक अर्कोप्रतिको सम्मान र मायामा कहिल्यै कुनै कमी आएन । एक अर्काप्रतिको प्रेम, विश्वास र सम्मानका कारण तीन दशकको यात्रा यति सरल तरिकाले बित्यो की, कतै यो कल्पना त होइन ! भन्ने लाग्छ दुवैलाई ।

तपाईहरूको विवाह भएको कति वर्ष भयो ? भन्ने हाम्रो शुरुकै प्रश्नमा कविताले भनिन्, ‘३० वर्ष ।’ उनको बोली भुईँमा नखस्दै धनमानले भने ‘ओहो ३० वर्ष पो भएछ । मलाई त याद पनि छैन । हिजो झै लाग्छ, कति चाडै समय वितेछ ।’

एउटै क्षेत्रमा कार्यरत हुँदा सहकर्मीबीच माया–प्रेम बसेपछि विवाह गर्ने जोडीहरू धेरै छन् । त्यस्तै धेरै उदाहरण मध्ये एक हुन्, कविता गुरुङ र धनमान गुरुङ पनि ।

पिस कोर (peace corps) नामक संस्थामा काम गर्दा कविता कोअर्डिनटेर थिइन् । धनमान उनको अन्डरमा रहेर ल्याङ्ग्वेज ट्रेनरको रुपमा काम गर्थे । तनहुँका धनमान एकदमै गाउँले स्वभावका थिए । उनलाई नेपाली प्रष्ट बोल्न समेत आउँदैन थियो । कविता भने काठमाडौंमा जन्मे हुर्केकी । उनीहरूबीच त्यस्तो केमेस्ट्री मिल्ने कुनै कुरा थिएन । ‘म गाउँले, उनी काठमाडौंमा जन्मे हुर्केकी आधुनिक केटी । उनीसँग विवाह हुन्छ भन्ने त मैले कल्पना समेत गरेको थिएन–धनमानले प्रष्ट पार्न खोजे ।

यता कवितालाई विवाह, माया प्रेम भन्दा पनि केही गर्नुपर्छ भन्ने सोचले विवाह बारे सोचेकै थिइनन् । शहरमा जन्मेहुर्केपनि दश बर्षकै उमेरमा आमा गुमाएकी कविताले धेरै विभेदको सामना गर्नुपर्यो । चार दिदीबहिनी मध्येकी जेठी छोरी कविताले सानैमा अभिभावकको जिम्मेबारी निर्वाह गरिन् र छोरीले समाजमा मान्छे भएर जिउन आफ्नै खुट्टामा उभिउनुपर्छ भन्ने राम्ररी बुझेकी थिइन् । ‘मैले विवाहबारे सोचेकै थिएन । आफूले केही गर्नुपर्छ आफू जस्तै अरु दिदीबहिनीले पनि पढ्न पाउनुपर्छ, त्यसका लागि मैले केही गर्नुपर्छ भन्ने सोच्थे ।’ कविताले भनिन् ।

दुवै जना एउटै कार्यालयमा काम गर्ने भएपनि एकअर्कोसँग बोलचालसम्म थिएन । उनीहरुबीचको दुरी घटाउन कविताकी साथी पद्यमनीले भूमिका खेलिन् । ‘पद्यमनीले तेरो विवाह त धनमानसँगै हुन्छ भनिछन् । तर कविताले हुँदै हुँदैन भन्दै जिद्दी गरिछन् । दुवै जनाले एक हजार रुपैयाँको सर्त राखेछन्’ धनमानले हाँस्दै पोल भने ।

धनमान र कविता भन्दा पद्यमनीको विवाह अगाडि भयो । धनमानले पद्यमनीको विवाहमा कवितालाई देखे । कुनै परीलाई देखेको जस्तो महसुस गरे । ‘त्यो भन्दा अगाडि कविताबारे मेरो मनमा केही थिएन । सधैँ आधुनिक पोसाकमा देखिने उनी त्यो दिन कालो सारीमा थिईन् । त्यो दिन जस्तो राम्रो मैले उनलाई कहिल्यै देखेको थिइन् । परी जस्तै सुन्दर’ धनमानले भने ।

त्यसपछिका दिनहरुमा धनमानले कविताको केयर गर्न थाले । कामको सिलशिलामा धेरै फिल्डमा जानुपर्ने । पहाड, डाँडाकाँडा चड्नुपर्ने । कवितालाई स्वासप्रस्वासको समस्या थियो । त्यसैले उनलाई उकालो चढ्न गाह्रो हुन्थ्यो । धनमाले उनलाई हसाउँदै लग्थे ।

धनमानको यहि केयरले नै कविताको मन छोयो । ‘मेरो मनमा पहिले उहाँप्रति केही भावनाहरु थिएन । तर मेरो जुन प्रकारले केयर गर्नुभयो, त्यो व्यवहारले मेरो मन बदलियोे,’ कविताले भनिन् ।

धनमानलाई भने यस्तो बिरामी मान्छेलाई एउटा केयर टेकर चाहिन्छ, त्यस्तो दक्ष केयर टेकर म नै हुँ भन्ने लागेछ । ‘उसको केयर टेकर म नै हुँ । र अहिलेसम्म पनि छु ।’ एकपटक कविता बिरामी भएर वीर अस्पतालमा भर्ना भएकी थिइन, त्यही बेलामा धनमानले आफ्ना दाई र दिदीलाई हेर्न पठाए । सबैले मन पराए छन् । ‘त्यसपछिको केही महिनापछि हाम्रो विवाह भयो’ धनमानले भने ।

कविताले भने मिल्ने साथीसँगको सर्त हारिन् । तर उनी सर्त हारेकोमा निकै खुसी थिइन् । ‘पहिलो पटक सर्त हारेकोमा मलाई धेरै खुसी लागेको थियो । किनभने मैले असल जीवन साथी पाएकी थिए,’ कविताले भनिन् ।

विवाहपछि पनि धनमानले कवितालाई सँधै कार्यक्षेत्रमा लागिरहन प्रेरित गरिरहे, हौसला बढाईरहे । दुई छोरी जन्माएपछि कविता महिलाको स्वास्थ्य जस्ता विषयमा अनुसन्धानकर्ताका रुपमा काम गर्न थालिन् । धनमान भने उनी नभएको बेला अफिस र घर सम्हाल्न थाले । ‘म स्वास्थ्यका विषयमा अनुसन्धानकर्ताको रुपमा काम गर्न थाले । कामको शिलशिलामा धेरै दिन घर बाहिर जानुपर्ने तर मलाई कहिल्यै घर र सन्तानको चिन्ता भएन । किनभने मैले भन्दा राम्रो स्याहार उहाँले छोरीहरुका लागि गर्नुहुन्थ्यो ।’ कविताले श्रीमानको खुलेर प्रशंसा गरिन् ।

नेपालका ग्रामिण महिलाको आर्थिक र राजनितिक सशक्तिकरणका लागि ३ दशक लामो समय विताएकी उनले महिलाका धेरै दुःख र सघर्षहरु देखेकी छन् । उनैको तालिम र प्रेरणा पाएका धेरै महिलाहरु अहिले स्थानीय तह र प्रदेश सभामा पुग्न सफल भए । तर उनी अहिले पनि छायाँमै बसेर महिला सशक्तिकरणकै लागि काम गरिरहेकी छन् ।

कविता घर नहुँदा घरको जिम्मेवारी धनमानकै काधँमा हुन्थ्यो । ‘उनी नहुँदा छोरीहरूलाई स्कुल पठाउने, खाना पकाउने, भाँडा माज्ने, पोछा लगाउने सम्पूर्ण गृह व्यवस्थापन मैले नै गर्थे’ धनमानले भने ।

गुरुङ निवासमा अहिलेसम्म महिला र पुरुषले गर्ने कामको कुनै सीमा छैन । गुरुङ दम्पतीकोे दैनिकी शुरु हुन्छ बिहान पाँच बजेबाट । धनमान मर्निङ वाकमा निस्कन्छन् भने कविता एरोपिक क्लबमा । क्लबवाट फर्किएपछि कविता भान्साको काम सम्हाल्न तिर लाग्छिन् भने धनमान घरको सरसफाईतिर । ‘मलाई सरसफाई गर्न धेरै मन पर्छ । बिहान मर्निङ वाकवाट फर्किएपछि छोरीहरूको बेड बिस्तरा मिलाउने । घरको सरसफाई गर्ने गर्छु’ धनमान भन्छन् ।

‘खाना पकाउन उहाँलाई मन नपर्ने हुनाले भान्साको जिम्मेवारी मेरै हो’ कविताले भनिन् । कविताले खाना पकाए पनि भान्साका भाँडा मस्काउने, चम्काउने काम भने धनमान आफैले गर्छन् । ‘मलाई खाना पकाउन फिटिक्कै मन पर्दैन । त्यसैले उनको खाना पकाउने ड्यूटी, मेरो भाँडा माझ्ने । जति पाहुना आए पनि, जति भाँडा भए पनि भाडा माझ्ने ड्यूटी मेरै हो । मलाई भाँडा माझ्न राम्रो लाग्छ’ धनमानले भने ।

धनमान गुरुङ काठमाडौं गल्फुटार, हेमालीका चर्चित मान्छे हुन् । त्यो चर्चा उनले धेरै ठुलो काम गरेर पाएका भने होइन । उनले आफ्नो घर आँगन सरसफाई अभियानलाई पुरै टोलसम्म पुर्याए । जुन काम समुदायकै लागि उदाहरण बन्यो । ‘म सँधै घरमा झाडु लगाउँछु । मेरो घर मात्रै सफा भएर हुँदैन, बाटोघाटो र टोल पनि सफा हुनुप¥यो नि, त्यसैले म सँधै टोलका गल्लीसम्म पुगेर झाडु लगाउँछु । मैले झाडु लगाएको सबैले र्हेछन् । तर मलाई झाडु लगाउनमा कुनै लाज लाग्दैन’ धनमान भन्छन् ।

यसरी झाडु लगाउँदा टोलका दिदीबहिनीहरू धनमानको प्रशंसा गर्दा रहेछन् । ‘टोलका सबै महिला दिदीबहिनीहरूले तपाईं कति भाग्यमानी, कति सहयोगी श्रीमान पाउनुभएको भन्छन्, मलाई यस्तो कुराले खुशी बनाउँछ’ कविताले हँसिलो अनुहारमा भनिन् ।

दाम्पत्य जीवनका तीन सूत्र

दाम्पत्य जीवन सफल हुनुमा गुरुङ दम्पतीका तीन सूत्र छन् । ‘माया, सम्मान र विश्वास । यी तीन चिज दुवै जनाले फलो गरेमा वैवाहिक सम्बन्ध सफल हुन्छ’ गुरुङ दम्पतीको एउटै भनाइ छ । धनमानका लागि कविताको धैर्यता, कामप्रतिको लगाव र कविताका लागि धनमानको केयर गर्ने बानी नै एकअर्कोलाई विवाह बन्धनमा बाधिन प्रेरित गरिरहने आधार बनिरहे ।

कविता शिक्षक, अनुसन्धनकर्ता, सामाजिक अभियान्त, महिला शक्ति विकास केन्द्र नेपालको संस्थापक अध्यक्ष हुँदै हाल संस्थामा कार्यकारी निर्देशकका रुपमा कार्यरत छिन् । विषेशगरि महिलाको आर्थिक, राजनितिक एवं सामाजिक नेतृत्व विकासका लागि जोड दिर्दै आएको उनको संस्थाले १२ जिल्लाका २५ हजार भन्दा बढी महिलाहरुलाई नेतृत्व विकास तालिम पनि दिइसकेकोे छ ।

धनमान भने कल्चरल डाइभरसेटी एण्ड डेभलमेन्ट प्रोगामका प्रोजेक्ट म्यानेजर, सेभ द चिल्ड्रेनको टेनिङ अफिसर, तमु ह्युला छोजं धिं गुरुङ राष्ट्रिय परिषदका पूर्व महासचिव र हाल घरव्यवहार सम्हाल्नदेखि, फ्रिलाइन्सरका रुपमा काम गरिरहेका छन् । संस्थागत विकास र व्यवस्थापन क्षेत्रका प्रशिक्षक एवं विज्ञता धनमान परिवार व्यवस्थापनमा पनि उत्तिकै कुसल छन् उनको परिवारको नजरमा ।

पहिला कविताले गृहणीको जिम्मेवारी निर्वाह गरेकी थिईन् भने अहिले धनमानले । ‘म गर्वका साथ भन्छु म श्रीमतीको डिपेन्डेन्ट भिसामा छु । पहिला म जागिर गर्र्दा ऊ डिपेन्डेन्ट भिसामा थिईन । अहिले म डिपेन्डेन्ट भिसामा छु’ धनमानले भने ।

प्रस्तुतीः खेमा बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: