‘कर्णालीका महिला दासको जीवन जिउन बाध्य छन्’


प्रकाशित मिति :2018-01-15 12:02:19

-महिला खबर संवाद-

कर्णालीकी लक्ष्मीकन्या बुढा सामाजिक एवम् राजनीतिक अभियन्ता हुन् । जुम्ला जस्तो विकट र दुर्गम क्षेत्रमा जन्मिएकी उनले १३ वर्षकै उमेरमा जनयुद्ध रोजिन् । महिला भएकै कारण कर्णालीका महिलाहरू दोस्रो दर्जाको जीवन भोगिरहेका थिए । तिनै महिलाहरूको कष्टपूर्ण जीवन देखेर समतामूलक समाज निर्माण गर्ने सपना देख्दै युद्ध रोजेकी उनले जनयुद्धबाट के उपलब्धी हासिल भएको देखिन् त ? कर्णालीका महिलाहरूको अहिलेको जीवन कस्तो छ ? यही सेरोफेरोमा रहेर उनीसँग महिला खबरका सन्दिप विकले गर्नुभएको कुराकानीः

बाल्यकाल कसरी बित्यो ?

राम्रैसँग बित्यो । बुबा व्यापारी हुनुहुन्थ्यो । त्यसैले खान लाउन समस्या भएन । दिदी शिक्षक हुनुहुन्थ्यो । एक दाई, चार दिदीबहिनीकी म कान्छि छोरी । जनयुद्धमा जानुअघि भर्खरै १२ वर्ष पूरा भएर १३ वर्ष लागेकी थिए । गाउँकै त्रिभुवन निम्न माध्यमिक विद्यालय मावि जुम्लामा सात कक्षामा पढ्थे । त्यसै बेला जनयुद्धमा सहभागि भएकी हुँ ।

पढ्ने, लेख्ने र रमाउने उमेरमा युद्धमा होमिने सोच चाहिँ कसरी आयो ?

त्यतिबेला कालिकोटतिरका माओवादी साथीहरू हाम्रो गाउँमा   आउँथे । उनीहरू आउन थालेसँगै गाउँका दुई जना दाजुहरू २०५६ सालतिर जनयुद्धमा लाग्नुभयो । अर्को आफ्नै भिनाजु नरेश भण्डारी हुनुहुन्थ्यो । भिनाजुको घरपरिवार कम्युनिष्ट नै थियो । भिनाजुको प्रेरणाले पनि म जनयुद्धमा लागे । उहाँले जनयुद्धको पक्षमा र महिलाका हक, अधिकारका विषयमा प्रशिक्षण दिनुहुन्थ्यो । माओवादीको सत्ता आयो भने बसिखाने होइन, गरिखाने मान्छेहरू धनि हुन्छन् भनेर उहाँले विभिन्न छलफल पनि चलाउनुभयो । ती छलफल र प्रशिक्षणहरूले निकै प्रभावित बनायो । अनि जनयुद्ध रोजे । सानैदेखि गाउँघरतिर महिला, आमा, दिदीबहिनीहरू हिंसामा परेका देखेकी थिएँ । उनीहरूको आफ्नो जीवन थिएन । महिलाहरूले आफूले चाहेको काम गर्न नसक्ने । बुबा, दाजुहरूले जे–जे भन्थे, त्यही काम गर्नुपर्ने । महिला पुरुषबिच ठुलो भिन्नता देख्थे । घरमा पनि आमाहरूले बुबाहरूले खाना नखाएसम्म खाना नखाने, बुबाहरू जाँड रक्सि खाने, जति ढिला आएपनि आमाहरू भोकै बस्नुपर्ने स्थिति थियो । अर्को गाउँतिर पुरुषहरू केही काम नगरी बसेका हुन्थे । हाम्रो उमेरका दाजुभाइहरू स्कूल गएको देखिने । तर दिदीबहिनीहरू स्कूल नगइ गाईभैँसी चराउने । भाउजुहरू दाउरा खोज्न जाने, महिलाहरूलाई फुर्सदै नहुने ।
पुरुषहरू बसेरै थाक्ने, महिलाहरूले थकाई समेत मार्न नपाउने परिपाटी थियो । माओवादी सत्ता आएपछि महिलाहरूलाई पनि समानता हुन्छ । पुरुषले पनि काम गर्नुपर्छ भन्ने सुनाइन्थ्यो । त्यहि आशा बोकेर पार्टीमा लागे ।

त्यो बेला जनयुद्धमा खान, लगाउन नपाएका मान्छेहरू लाग्छन् भन्ने थियो । तर म पनि जनयुद्धमा लागेपछि परिवर्तन चाहाने जोसुकै पनि युद्धमा जान्छन् भन्ने बुझाई भयो । पछि गाउँका धेरै साथीहरू जनयुद्धमा लागे । बुबाआमाले मलाई चाहिँ युद्धमा जादिन होला भन्ने सोच्नुभएको थियो अरे । म जनयुद्धमा लागेपछि मेरै पिरले आमाले ४÷५ महिनासम्म खानापनि नखाएर जुसको भरमा बस्नुभयो रे । रातदिन नै रुने । छोरीलाई घरमा ल्याइदेउ भन्ने । त्यो समय हामी घर आउने वातारण थिएन । मेरै कारणले बुबा २०६९ सालमा जेल पर्नुभयो । छोरीलाई सहयोग गरेको आरोपमा राज्य पक्षले बुबालाई ६ महिना जेल हाल्यो ।

पार्टीको कुन–कुन पदमा रहनुभयो ?

२०५७ को अन्तिमतिर युद्धमा प्रवेश गरेँ । भूमिगत भएको दुई महिनापछि एरिया कमिटी सदस्य भए । त्यहि समय विद्यार्थीको जिल्ला कमिटी सदस्य भए । फेरि पार्टीको सचिवालय सदस्य भए । २०५८ को अन्तिमतिर विद्यार्थीको क्षेत्रीय सदस्य, २०६० मा केन्द्रीय सदस्य, वाइसिएलको क्षेत्रीय सदस्य भए । अहिले नेकपा माओवादी केन्द्रीय आयोजक समितिको सदस्य छु । त्यसरी नै पार्टीको जिम्मा लिएर अगाडी बढे । अर्को क्रान्तिकारी पत्रकार संघको क्षेत्रीय सदस्य पनि थिए । शान्ति प्रक्रियापछि रेडियोमा पनि काम गरे ।

महिलालाई युद्धमा लाग्न कत्तिको सहज थियो ?

युद्ध आफैमा कठिन कुरा हो । सहज हुने कुरै भएन । तर महिला भनेपछि त्यतिबेला माओवादी साथीहरूले धेरै सम्मान गर्ने । महिला साथीहरूले खाना नखाएसम्म पुरुष साथीहरूले नखाने । एउटै एरिया लिएर बस्ने साथीहरूको हकमा भने खासै गाह्रौ हुँदैनथ्यो । हामी विद्यार्थी मोर्चामा काम गर्ने भएका कारणले सबै भेरी कर्णालीका जिल्लामा हिँड्नुपर्ने हुन्थ्यो । त्यो सँगसँगै भेरी कर्णालीको छात्रा विभागको प्रमुखपनि थिए म । हुम्ला, मुगुदेखि लिएर सुर्खेत सबै ठाउँमा हिँड्नुपर्ने भएका कारण गह्रौ झोला पुरुष साथीहरूले बोकिदिनुहुन्थ्यो ।

महिनावारीको समयमा भने मानसिक तनाव हुन्थ्यो । सरसफाई, प्रयोग गर्ने कपडामा खासै समस्या त हुँदैनथ्यो । उपलव्ध नै हुन्थ्यो । त्यतिबेला संकटकाल । सेना परिचालित भएको थियो । साह्रै अप्ठ्यारो भएको बेला रेष्ट गर्नुपर्ने स्थिति पनि हुन्थ्यो । रेष्ट गर्न नपाउने स्थितिमा सेनाले लखेट्यो भने कहिलेकाहीँ घेरा हाल्नेपर्ने स्थिति हुन्थ्यो । त्यतिबेला दगुर्नुपर्ने हुँदा स्वभावैले कठिन त हुने नै भयो । युद्ध हो । कठिन भयो । तर व्यवस्थापन गर्न त्यति गाह्रो भने भएन ।

युद्धको बेलाका कुनै पीडादायी क्षण सम्झनुपर्दा ?

पीडादायी क्षणहरू धेरै छन् । म राजनीति फिल्डमै लागे । हाम्रो फिल्ड आ–आफ्नै हुन्थ्यो । तर दोहोरो भिडन्तमा भने धेरै ठाउँमा परे । सम्झना छ, जुम्लामै पनि भिडन्तमा परे । तीन गाविसको एउटा एरिया थियो त्यतिबेला । त्यो एरियाको इन्चार्ज/एसियस आफै थिए । तातोपानीमा घेरा हाले हामीलाई । घेरा हालिसकेपछि एक जना गाउँले अंकलले भण्डारामा राखेर हामीलाई बचाउनुभयो । अहिलेपनि त्यो अंकललाई हामी धन्यवाद दिन्छौं । अर्को हामी जुम्लाकै रारालिमा घेरा हालेकै अवस्थामा भाग्न सफल भएका थियौं । समूहमा हिँड्थ्यौ । कार्यकर्ताहरूलाई झोलेहरू भनेर नाम राखिएको थियो ।

अर्को हामी महिलाहरूका लागि धेरै जोखिम थियो । राज्य पक्षले महिलाहरूलाई सकभर समातेपछि बलात्कार गरेर मार्थे । विभिन्न प्रकारको षड्यन्त्र गरेर मार्ने योजना थियो । अझ सार्वजनिक ठाउँमा मार्न सकियो भने युद्धमा महिला सहभागितामा कमि आओस् भन्ने सोच थियो त्यो हुँदा समात्ने, त्यो भएन भने पनि तल्लो शरीरमा गोली हानेर समात्ने, हुँदै भएन भने गोली हानेर मार्ने उनीहरूको रणनीति नै थियो । त्यसो भएको कारण हामी हामीलाई पुरुष भन्दा चुनौति धेरै थियो ।

जे सोचेर जनयुद्धमा लाग्नु भो, त्यो पूरा भयो त ?

हामी जे सोचेर युद्धको बाटो रोज्यौं, ती सबै कुरा परिवर्तन त भएका छैनन् । तर अहिलेसम्म भएका उपलव्धी भने जनयुद्धकै एजेण्डा हुन् । हामी नै लागेर यहाँसम्म भएको भन्ने जस्तो लाग्छ । अहिले राष्ट्रपति महिला हुनुहुन्छ । सभामुख, प्रधानन्यायाधिश पनि महिला नै हुनुहुन्थ्यो । ३३ प्रतिशत सहभागिताको कुरा पनि थियो । सत्तामा विशेष गरी नीति निर्माणको तहमा ।

अर्को गाउँघरतिर उपभोक्ता समिति निर्माण गर्दा महिलाहरूको सहभागिताको कुरा थिएन । महिला नभएपनि हुन्छ भन्ने समाजमा अहिले महिला अनिवार्य खोजिने परिपाटी विकास भएको छ । स्थानीय तहसम्म आइपुग्दा प्रमुख पदमा केही महिला आए भने उपप्रमुखमा त महिला नै आएका छन् ।

अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षमा कम महिलालाई अवसर दिइयो । त्यतिबेलाका महिलाहरू चुके । जनसंख्याको आधारमा महिलालाई जिम्मा दिनुपर्ने हो । अझै सोचे जस्तो त भएको छैन् । तर पहिलेको भन्दा धेरै परिवर्तन भएको छ । तर पनि निरन्तर लागेका छौं । यो बुर्जुवा राजनीतिमा सोचेको जस्तो भने नहुँदो रहेछ ।

महिलालाई राजनीतिमा आउन कतिको सहज छ ?

महिलाले धेरै बन्धनहरू तोड्नुपर्ने हुन्छ । पुरुषहरू सजिलै आउँछन् । तर पितृसतात्मक सोच र चिन्तनबाट प्रभावित नेपाली समाजमा महिलाहरूलाई राजनीतिमा लाग्दा घरपरिवार र समाजसँग निकै ठुलो लडाइ गर्नुपर्दछ । त्यति हुँदाहुँदै पनि सबै बन्धनहरू तोडेर अगाडि आउन खोजेका छौं । अगाडि बढेका महिलाहरूलाई अघि बढाउने, अवसर दिने अवस्था छैन । यहाँ प्रहार गरेर अगाडि बढ्न नदिने स्थिति छ । सबै राजनीतिक दलहरूमा त्यो अवस्था छ । त्यसले गर्दा राजनीतिमा धेरै गाह्रो महिलाहरूलाई । फेरि समाजसेवा भन्ने हुन्छ । केही पनि आउँदैन । निस्वार्थ लाग्नुपर्ने हुन्छ । त्यो हिसाबले हेर्दा आर्थिक विपन्नताको कुरा हुन्छ । बालबच्चाको व्यवस्थापन, घर व्यवस्थापन गर्नुपर्ने थप जिम्मेवारी पनि महिलाकै काँधमा हुँदा समस्या त छ । तर निरन्तर लागिरहने महिलाहरूलाई अवसर पनि त्यत्तिकै छन् ।

कर्णालीका महिलाको अवस्था कस्तो देख्नुभएको छ ?

अवस्था सुधारोन्मुख छ । पहिलेको जस्तो छैन । अझै परिवर्तन गर्नुपर्ने कुराहरू धेरै छन् । कर्णालीका महिलाहरू पशुहरू जस्तै भारि बोक्न बाध्य छन् । घरको सबै धन्दा, खेतिपातिको कुरा महिलाहरूले नै धान्नुपर्ने स्थिति छ ।

पहिले भन्दा अहिले केही जीवनस्तर परिवर्तन त हुँदै गएको अवस्था छ । तर पनि महिलाहरूमा कानूनी सचेतना छैन् । हाम्रा अधिकारहरू के–के हुन् स्वयम् महिलाहरूलाई थाहा छैन । कर्णालीमा अलिखित कानूनले साह्रै गाँजेको छ । त्यहि अलिखित कानूनले गर्दा महिला र पुरुषकोबिच कामको समेत बाँडफाड छ । सजिलो सजिलो काम पुरुषले गर्नुपर्ने, गाह्रो काम महिलाले गर्नुपर्ने स्थिति छ ।
कर्णालीका महिलालाई आत्मनिर्भर बनाउँदै कानूनी सचेतना दिन सकियो र महिलाको कार्य बोझ घटाउन सकियो भने छिट्टै परिवर्तन हुन्छ ।

त्यहाँका महिलाको मुद्धालाई कसरी उठाउनुभएको छ ?

महिलाको कार्य बोझ कसरी घटाउने र पुरुषको कसरी बढाउने भन्ने हो । त्यसका लागि सचेतनामूलक कार्यक्रममा लागिराखेको छु । अर्को हाम्रो कर्णालीमा छाउ प्रथा (महिनावारी प्रथा) निकै समस्याका रुपमा देखिएको छ । अलिखित कानूनले गर्दा नै महिलाहरू हिंसामा पर्न बाध्य छन् । यसलाई अन्त्य गर्नुपर्छ । महिनावारीका बेला सरसफाईदेखि छोइ प्रथा अन्त्यसम्म हामी लागी राखेका छौं ।

कर्णालीमा बालविवाह, बहुविवाह, जवरजस्ती विवाह अझैँ कायम छ । त्यसलाई अन्त्य गर्नका लागि जिल्लामा हुने हरेक अन्तरक्रियामा मैले आवाज उठाएको छु । मैले कर्णालीमा महिलाको कुप्रथाकै विषयमा पनि कर्णालीमा महिला भन्ने किताब लेखेको छु । अर्को किताब लेख्ने तयारीमा छु । कर्णालीका महिलाले दासको जीवन जिउनुपर्ने परिस्थिति छ । दासताको जीवनबाट मानवको जीवनमा कसरी रुपान्तरण गर्ने गर्न सकिन्छ भनेर हामी लागी परेका छौ ।

अहिले कर्णालीमा मात्र नभइ देशैभर महिलाहरूले पहिचानको लडाइ लड्नुपरेको अवस्था छ । महिला सृष्टि हुन, जन्मदाता हुन् । तर पनि उनीहरूले पहिचानको लागि लड्नु परेको अवस्था छ ।

यहाँका हिंसापीडित महिलाहरूको लागि न्याय दिने काम पनि मैले गरेको छु । कानूनी उपचार दिन सकिन्छ भने दिने नसेके न्यायालयसम्म पुर्याइदिने काम पनि गरिरहेको छु । जिल्ला प्रहरी कार्यालयको महिला सेलको उपाध्यक्षमा पनि म छु । हरेक पीडामा परेका महिला म कहाँ आउँछन् । जुम्लामा महिला सेवा केन्द्र पनि छ । हामीले महिला सेवा केन्द्र हुँदै जिप्रका र त्यहाँपनि कुरा नमिले अदालतसम्म केश  पुर्याउने गरेका छौ ।  महिलाहरू हिंसामा पर्नुहुँदैन् । मान्छे भएर बाँच्न पाउने अधिकार महिलालाई पनि छ । महिला, पुरुषको समानताको समाज निर्माणका लागि म लागिरहेकी छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: