‘एकल आमाको पीडाः हाँस्दा पनि शंका, रुदा पनि शंका’


प्रकाशित मिति :2017-11-13 10:00:48

एकल आमा
एकल आमा
रहरले होइन बाध्यताले बनेँ म,
दुनियाँको नजरमा घरपरिवार सम्हाल्न नसक्ने
श्रीमती र बुहारी म
समाजले छाप लगाइदियो
श्रीमान्ले छोडेपछि बिग्रेकी आइमाई म
मेरो हाँसोमा नि शङ्का
मेरो रहन–सहनमा नि शङ्का
हाँस्दा नि डर लाग्ने
रुँदा नि डर लाग्ने
भएँ म समाजको पिँजडाभित्रको मैना
स्वाश फेर्दा पनि आफू जिउँदो छु
कि मरिसकेँ थाहा नहुने
समाजको सोचमा जिउँदो लास बन्न पुगेछु ।
श्वास अलि अलि चल्दै जाँदा
आशा जागेछ
पीडा व्यथा आँसु लकाई
समाजलाई चुनौती दिँदैछु ।
मेरो आफ्नो पहिचान आफैँ बनाउँदैछु
एउटी एकल आमाले संघर्ष गर्दा
छैन सुख अहिले पनि दुनियाँका नगरमा झनै छारो बन्दैछु
वरवाह छैन मलाई दुनियाँको
किन कि,
मलाई मेरो पहिचान् बनाउनुछ
आफूसँग खाएको कसम पूरा गर्नुछ । (बिग्रेकी आइमाई)बाट

‘जीवन भाग हैन भोग हो, अनि भोगाइ एक कर्मको अर्को सिँढी’ । अधिकारकर्मी एवम् समिदा महिला विकास मञ्चकी संस्थापक अध्यक्ष शर्मिला थापा (शमि) । उनैको अस्तित्व कविता संग्रहबाट लिइएको यो हरफ साच्चै मार्मिक, सान्र्दभिक र यथार्थ छ । अनि अर्को कुरा त के भने यो कविता शर्मिलाको जीवनसँग पनि ठयाक्कै मेल खान्छ ।

बाँच्नकै लागि संघर्षको पहाड चढेकी शर्मिला दुःख गरेर बाँच्नु र दुःख बिना नै बाँच्नुमा फरक ठान्छिन् । उनलाई दुख गर्नु नपरेको दिन बेकारनै लाग्छ रे । त्यसैको फलस्वरुप उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार समेत पाइसकेकी छिन् ।  उनी भन्छिन्,–‘जीवनमा अझैँ धेरै काम गर्न बाँकी नै छ । यो त सुरुवाती मात्रै हो । ’

पाँच वर्षदेखि एकल आमाको सम्पत्तिको अधिकार प्राप्तिका लागि सक्रिय अधिकारकर्मी थापा गत मंसिरमा एनपिस अवार्डबाट समेत सम्मानित भइन् ।  काठमाडौंको सामाखुसीमा जन्मे हुर्कीएकी थापाको बाल्यकाल त त्यही असहज बनेन् । तर विवाहपछि भने सधैँ सघर्षमै बित्यो । थापा अहिले ३४ वर्ष पुगिन् ।

१६ वर्षको उमेरमा शर्मिलाले ललितपुरका एक युवासँग प्रेम विवाह गरेकी थिइन् । तर नाम भने भन्न चाहिनन् । केटा आफ्नै जातका थिए ।
उनी भन्छिन्, ‘बाल्यकाल नै थियो । हामी दुई भागेर विवाह गरेका थियौं । हाम्रो घर परिवारले स्विकारेका थिएनन् । विवाहपछि हामी काठमाडौमै डेरा लिएर बस्न थाल्यौ । विवाहको एक वर्षपछि हाम्रो सन्तान जन्मियो । अनि मात्रै घरपरिवारले स्वीकारे’ उनले विगत सम्झिइन् ।

विवाहपछिको केही वर्ष उनीहरूको जीवन रामै्रसँग बित्यो । तर त्यो खुसी लामो समय टिक्न सकेन् । विवाहको पाँच वर्षपछि उनीहरू बीचमा मनमुटाव सुरु हुन थाल्यो । अनि शर्मिला सम्वन्ध विच्छेद गर्न बाँध्य भइन् ।

उनी भन्छिन्, ‘मलाई पछि मात्रै थाहा भयो, श्रीमान लागू औषधमा फसेका रहेछन् । यही कारण श्रीमान र परिवारले नै मानसिक तनाब दिन थाले । घरपरिवारले पनि श्रीमानले गर्ने गल्तीलाई शर्मिला कारण भन्दै दुःख दिन थाले । उनका हरेक काममा दोष देखाउन थाले । विवाहको पाँच वर्षपछि श्रीमान गाउँ जान्छु भनेर हिँडे । एक महिनासम्म पनि श्रीमान घर नर्फकिएपछि उनलाई माइत जान मन लाग्यो । उनी माइत गइन् । श्रीमान लिन आउलान् भनेर कुरेर बसिन् तर उनी आएनन् ।

श्रीमान आउने आशामा आफू करिब एक वर्ष माइतमै बसेको उनले बताइन् । माइतमा बस्दापनि घरपरिवार र साथीभाईले कुरा काट्ने गरेको उनले सुनाइन् । उनी भन्छिन् ‘त्यति बेला नै अनुभव गरेको थिए, हिंसा कस्तो हुँदोरहेछ भनेर ।

श्रीमानको बाटो कुरेर माइतीमा बसेकी शर्मिलालाई माइतमा समेत बस्न मन लागेन । माइतीले समेत चरित्रमै पनि प्रश्न उठाउन थाले । आफ्नो अधिकारको लागि कहाँ जाने, के गर्ने भन्ने पनि उनलाई थाहा थिएन । उमेर सानै थियो । श्रीमानको घरपरिवारले आफूलाई वास्ता नगर्ने तर बच्चा खोस्न आउँन थालेपछि उनले सुरक्षित बासको खोजीमा माइती समेत त्याग्ने निर्णय लिइन् । वि.स २०६३ सालतिर उनी न्याय पाइन्छ कि भन्दै माइती नेपाल पुगिन् । त्यहाँ उनले के गर्ने भनेर सल्लाह पाइन् ।

उनी सम्वन्ध विच्छेद गर्न चाहन्थिनन् । तर सम्वन्ध विच्छेद गर्न बाध्य भइन् । उनी भन्छिन्, ‘श्रीमान भए म सुरक्षित हुन्छु भन्ने सोचेको थिएँ । श्रीमानलाई आफूसँग राख्नका लागि शर्मिलाले सम्वन्ध विच्छेदको मुद्धा नहालि जिल्ला अदालत ललितपुरमा माना चामलको मुद्धा हालेकी थिइन् । ‘मुद्धा हालेको एक हप्तामा श्रीमान आए । श्रीमानले विदेश थिएँ भनेर बहाना बनाए । छोरो लैजान्छु भने तर मैले दिइन्’ उनले भनिन् ।
‘श्रीमानलाई मलाई म नचाहिने तर छोरो लैजाने सोच थियो । तर मैले दिइन् । उनको परिवारले पनि अदालतमा केश हालेको भन्दै स्वीकार नगर्ने बताएका थिए’ उनले भनिन्, ‘श्रीमानको परिवार र आफ्नै माइती पक्षले समेत मानसिक तनाव दिँदा म पागल जस्तै भएको थिएँ ।’ अनि श्रीमानले स्वीकार गर्न नमानेपछि आफू सम्वन्ध विच्छेद गर्न बाध्य भएको उनले बताइन् ।

सम्बन्ध विच्छेदपछि…………….

सगैँ बाँच्ने, सगैँ मर्ने कसम खाएको श्रीमानसँग सम्बन्ध विच्छेद गर्न बाँध्य भएपछि शर्मिला छोरा लिएर कोठा भाडामा लिएर बस्न थालिन् । माइती पक्षको पनि उनलाई साथ थिएन । लोग्ने छोडेको महिलालाई समाजले नराम्रो नजरले हेर्ने गरेको उनको अनुभव छ ।

उनी भन्छिन् ‘लोग्ने छोडेको महिलालाई अझै पनि समाजले विग्रिएको केटीको उपनाम दिन्छ । अहिले पनि लोग्ने छोडेका महिलालाई काठमाडौंमा कोठा पाउन गाह्रो छ । म पनि श्रीमान विदेश हुनुहुन्छ भनेरै बसेको थिए ।’  एकल आमालाई समाजले हाँस्दापनि शंका गर्दो रहेछ, रुदा पनि शंका गर्दो रहेछ मैले त्यहि बेलामा थाहा पाएँ ।

आफू आत्मनिर्भर हुनकै लागि उनले व्युटिपार्लर पनि खोलिन् । त्यहाँ उनले पाँच लाख रुपैँया लगानी गरेकी थिइन् । त्यसबाट राम्रै आन्दानी गर्न थालेकी थिइन् ।

एक वर्षपछि शर्मिलालाई विदेश (जापान) जाने रहर लाग्यो । साथीले जापान जानको लागि उक्साए । धेरै कमाउने आशामा व्युटिपार्लर बेचिन् । छोरालाई होस्टेलमा राखिन् । तर भाग्य नै भन्नुपर्छ उनकै साथी पैसा लिएर वेपत्ता भइन् । जापान जाने र धेरै पैसा कमाउने सपना देखेकी शर्मिला आफ्नै साथीबाट ठगिइन् । त्यसपछि कोठाभाडा तिर्न र छोराको स्कूल फि तिर्न नसक्दा उनले धेरै दुःख भोगिन् । र पैँसा कमाउनकै लागि उनी डान्सबारदेखि घरघरमा व्युटिसियन सेवा दिने, मार्केटिङ गर्ने काम गरिन् ।

संगठित हुने सोच

शर्मिला जहाँ काम गर्न जान्थिन्, त्यहाँ एकल महिलाले पहिचान लुकाएको पाउँथिन् । श्रीमान नभएकै कारण उनीहरूले धेरैले मानसिक र शारीरिक हिंसा सहन बाध्य भएको देख्थिन् ।

वि.स २०६७ सालतिर शर्मिलालाई पुरुषबाट हुने हिंसाकै लागि संगठित हुने सोच आयो । महिला संठगित हुन समुह बनाउँदै गइन् । उनले भनिन् ‘म एक जनालाई कसैले अट्याक गर्यो भने सक्ला । हामी ग्रुप भयो भने त प्रतिकार गर्न सक्छौँ नि भन्ने सोच भयोे र हामी संगठित हुन थाल्यौं ।’ सुरुसुरुमा उनको कुरामा कतिपय केटी साथीहरूले विश्वास गरेनन् । उनी भन्छिन्, ‘पछि हाम्रो गु्रप यस्तो भयो कि कोहि केटाहरूले जिस्कायो भने प्रतिकार गरि हाल्थ्यौ ।’

काम गर्ने ठाउँमा पैसा नदिए उनीहरू सबै झगडा गर्न पुग्थे । त्यसले गर्दा आफूहरूमा झन् साहस जुट्ने र विरोधको लागि भनेर टिम नै बनाएको उनले बताइन् ।

ऋण खोजेर संस्था दर्ता

उनलाई संस्था भन्ने पहिले त थाह नै थिएन । वि.स २०६९ मा ऋण खोजेर संस्था दर्ता गर्ने जमर्को गरेछन् । सुरुमा त नाम के राख्ने भनेर भन्ने बारेमै धेरै सोचे । मंगलबारको दिन उनी मन्दिरबाट फर्किदा होम गरिरहेको समिदा देखिन् रे । जहाँ नौ वटा काठ राखेर होम गरिएको थियो । अनि उनको मनमा पनि संस्थाको नाम समिदा राख्ने सोच आयो । जहाँ ९ वटा काठ जलेर शान्ति भयो भनिन्छ ।

‘हामी महिलाहरू पनि भित्रभित्र जलेर पनि अरुलाई शान्ति दिन्छौ भन्ने लाग्यो र त्यही दिन नै हामीले संस्थाको नाम समिदा राखेर दर्ता गर्यौ’ उनले भनिन् ।

आफैँ मिलेर केही गरौं भनेर ६ लाख रुपैँया ऋण खोजेर सिलाई बुनाईको काम गर्न थालेपछि काम पनि राम्रै भएको र नियमित काम गर्न १५, २० जना महिला समेत आउन थाले । तर उनीहरूलाई अब आफूहरूले उत्पादन गरेका समानको बजारका लागि समस्या भयो । उत्पादित सामान ठमेलमा दिए । महिलाले उत्पादन गरेकै कारण पैँसा दिन आलटाल गरे । पैँसा पछि दिन्छु, सामान छोडेर जानुस् भन्न थाले । पैँसा उठाउन गाह्रो भयो । त्यसैले धेरै पैँसा डुव्यो । व्याज बढ्दै गयो । ऋण तिर्न नसकेपछि संस्थाका केही साथीहरू आउन छाडे । कति त भागेर विदेश गए ।

त्यसपछि शर्मिला फेरि एक्लो भइन् । यी सबै घटना झेल्न नसकेर उनमा आत्महत्या गर्ने सोच पनि आएछ । तर छोराको मायाले उनलाई बचायो । जीवनमा केहि गरेरै छाड्ने आँट आयो ।

वि.स २०७१ सालतिर उनको एउटा साथीसँग भेट भयो । संस्था चलाउन एनजिओ आइएनजिओसंग समन्वय गर्न सुझाव दिए । धेरै ठाउँमा फोन गरिन् । मान्छे सानो, एसएलसी पास नगरेकाले नि एनजिओ अलाउने भनेर कतिले विल्ला गरे । त्यसले झन् उनको मनमा इख पलायो । उनले भनिन्, ‘त्यसपछि म एनजिओ र आइएनजिओको ढोकामा कहिल्यै पुगिन् ।’

उनको जीवनले फेरि अर्को मोड लियो । हरेक दिन पत्रपत्रिका पढ्ने उनी भन्छिन् ‘केही नबुझेपनि बुझ्नकै लागि भोकभोकै भएपनि धर्ना र कार्यक्रममा जान थाले । साथीहरूसँग चिनजान जान थाल्यो । यसरी उनी करिव एक वर्ष त विभिन्न संघ संस्थाले गर्ने कार्यक्रममै हिँडिन् । त्यसपछि महिलाका विषयमा बुझ्दै जान थालिन् ।

हिंसाबिरुद्ध टोलटोलमा

महिलामाथि हुने हिंसाको बारेमा जागरण जगाउन उनी टोलटोलमा पुग्थिन् । कार्यक्रममा सुनेका कुरा महिलाहरूलाई भन्थिन् । पीडित महिलाहरू हामीलाई कसले न्याय दिन्छ भनेर बोल्न डराउँथे । कतिले त उनलाई विश्वास गरेरै आउँथे । ‘हामी कोठामै बसेर छलफल गर्न थाल्यौ । अनि फेसबुक पेज पनि खोल्यौ । हामीले गरेका कामको फोटोहरू अपडेट गर्न थाल्यौ । पोखराबाट पनि फोन आउन थाल्यो । म पोखरा पनि गए ।

पोखरामा हामी जस्ता शोषणमा परेका धेरै महिला थिए । झण्डै दुई सय महिला मैले पोखरामै भेटे । उनीहरूसँग कुरा गरे झन् साहस आउन थाल्यो । टोल–टोलमै गएर महिलालाई जागरण गर्न खोजे । भोक भोकै भएपनि अभियानमा हिँडे ।’

वि.स २०७२ मा आएरल्याण्डको एक जना विदेशी थ्रीसासँग उनको भेट भयो । थ्रीसाले उनको बारेमा आर्टीकल लेखेर विदेशमा गएर कुरा गरेछन् । उनको माध्यमबाट शर्मिलाका बारेमा धेरैँले थाहा पाए । शर्मिलालाई विश्वास गर्न थाले । विदेशीहरूले पैँसा पठाउन सुरु गरे । ‘पोखराबाट हामीले काम गर्न सुरु गर्यौ । पोखरामा दुई बच्चालाई छात्रवृद्धि दियौँ । त्यो रकम अमेरिकाबाट आएको थियो । यसपछि अष्ट्रेलिया, क्यानडाबाट एउटा बच्चाको एउटा स्पोन्सर आउन थाल्यो । झन् साहस बढेर गयो । काम गर्ने इच्छा तिव्र भयो’ उनले भनिन् ।

एन पिस अवार्ड

फ्रान्सिसको कार्थ भन्ने विदेशी नागरिकले शर्मिलाको कामको मुल्याङ्कन गर्दै सन् २०१५ मा उनलाई एनपिस अवार्डका लागि सिफासिर गरेका थिए । तर शर्मिलालाई आफूलाई सिफारिस गरेको समेत थाहा थिएन । यो पुरस्कारका लागि अनलाईन भोटिङ सिष्टम थियो । उनले यो पुरस्कार जितिन् । पुरस्कारको लागि अमेरिका जाँदा यसबाट धेरै नेटवर्क, साथीहरू बनाइन् । नेपालमा भूकम्प जाँदा एकल आमालाई मात्र नभई सबैलाई सहयोग गर्नुपर्छ भनेरै लागिन् ।

सन् २०१७ मार्चमा उनी लण्डन समेत पुगिन् । जहाँ उनले नटिका युनिर्भसिटिमा अध्ययनरत मास्टर पढ्दै गरेका ४५ विद्यार्थीलाई भाषण दिइन् । त्यहाँबाट उनी अर्को ग्लासको युनिर्भसिटमा पनि पुगिन् । त्यहाँ उनले पीएचडीका २५ जना विद्यार्थीलाई लेक्चर दिइन् । नेपाली दाजुभाईले समेत त्यहाँ उनलाई सम्मान गरे ।

समिदा महिला विकास मञ्च

शर्मिलाले स्थापना गरेको समिदा महिला विकास मञ्च लमजुङ, पोखरा, काठमाडौं लगायतका क्षेत्रका एकल आमाहरूका क्षेत्रमा काम गर्दै आएको छ ।
उनको संस्थामा २५ जना फिल्ड स्टाफ छन् । संस्थाले २ सय ८६ एकल आमाहरूलाई रोजगार दिएको छ । एकल आमाहरूलाई ट्रेनिङ दिने, पुतलीहरू बनाउने, अचारहरू बनाउने, सिलाई बुनाई सिकाउने गरिन्छ । उत्पादित सामान विदेशमा समेत निर्यात हुन्छ ।
यस्तै संस्थाले सम्वन्धि विच्छेद गरेका महिलाका बालबच्चालाई छात्रवृद्धि दिने लगायतका कामहरू गर्नुका साथै महिला अधिकारबारे प्रशिक्षण, सीपमूलक तालिम पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै एकल महिलाका अधिकारका लागि कानूनी सहयोग पनि दिदैँ आएको छ ।

तीन वर्षीय धर्मपुत्रीको लागि लड्दै

शर्मिलाले तीन वर्षदेखि धर्मपुत्रीको रुपमा एक बालिकालाई आश्रय दिएकी छिन् । तर कागजपत्र नमिल्दा समस्या भएको उनले बताइन् ।
उनले भन्छिन्, ‘मैले एक महिनाको शिशुलाई आश्रय दिए । तर धर्मपुत्री पाल्नका लागि बाबुआमाको मञ्जुरी चाहिदो रहेछ । उसकी आमा छन् तर बाबुको अत्तोपत्तो छैन । एक युवाले १५ वर्षकी बालिकालाई गर्भवती बनाएर भागेका थिए । बालिकाको अवस्था देखेर ल्याएर पाले । अहिले धर्मपुत्रीको रुपमा ग्रहण गर्न सकेको छैन ।

‘यसैको विषयमा अहिले पनि लडिरहेकी छु । सन्तान अपनाउनका लागि पेपर चाँहिदो रहेछ । तर हामीलाई दुव्र्यवहार भयो । सिंगल मदरले एडप्ट नै गर्न पाउँदैन भन्छन् । उसको आमा त छन् तर बाबु थाहा छैन । यहि विषयमा झमेला भइराखेको छ’ उनले भनिन् ।

आमाको किरिया

शर्मिलाकी आमाको निधन भएको एक महिना पनि पुगेको छैन । आमाको निधनमा उनले किरिया गरिन् । आमाको शवलाई काँधमा राखिन् । दागवत्ति पनि दिइन् । कपाल पनि खौरिइन् । यसरी आमाको किरिया बस्दा धेरैले कुरा काटेको पनि उनी बताउँछिन् ।
गलत रितिरिवाजलाई तोड्नुपर्छ भनेरै मैले आमा निधन हुँदा छोराले जसरी संस्कार गरे । मलाई धेरै साथीहरूले गाली गरे । मेरो आमासँग भावना जोडिएको छ । उनी भन्छिन्, ‘छोराले किरिया गर्न हुने, हामीले चाहिँ किन नहुने ?’

एलएलसी (एसइसी) को तयारी

१६ वर्षको उमेरमा एसएलसीमा व्याक लागेपछि पढाई छाडेकी शर्मिलालाई पढ्ने इच्छा भने अझै मरेको छैन् । उनी यो वर्ष एसएलसी दिने तयारीमा छिन् । उनका १६ वर्षीय छोरा अहिले कक्षा ९ मा पढ्छन् । उनी भन्छिन्, ‘कहिलेकाही सर्टिफिकेट पनि चाँहिदो रहेछ । त्यसैले एसएलसी दिने तयारीमा छु ।’

प्रस्तुतीः सन्दिप वि.क/महिला खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: