निर्मल निर्मला


प्रकाशित मिति :2017-10-15 13:37:59

संसारमा अनेकखाले मान्छे हुन्छन् । तीमध्ये कति हुन्छन्– जसले दुःखी हुँदै आफ्नो समय कुर्छन् । कति हुन्छन्– जसले चलिरहेको समयबाट आफ्नो अंश खोस्छन् । र, कतिपय हुन्छन्– जसको वरिपरि समय आफैं घुमिरहन्छ ।

निर्मला शर्माले दुःखी भएर आफ्नो समय कुरिनन् । उनले चलिरहेको समयबाट आफ्नो अंश खोसिन् । र, कहिलेकाहीँ लाग्छ– समय उनको वरिपरि घुमिरहन्छ ।

आफ्नो जिन्दगीको धार आफैं बदल्न सक्ने त्यस्ता थोरै मानिसहरूमा निर्मलाको नाम कतै न कतै आइरहन्छ । ठूला–ठूला सपना नदेखी तिनै ठूला सपनाको अंग बन्नु सजिलो पनि त छैन ।

आरम्भ

सपना नसाँची हुर्किन् निर्मला । बुवा शिक्षक थिए, पढ्नुपर्छ भन्ने थियो । त्यसैले पढिन् निर्मलाले पनि– पोखरामै । एसएलसी दिँदासम्म ठोस लक्ष्य थिएन भविष्यको । एसएलसीपछि विवाह भयो । विवाहले पनि उनको अध्ययनलाई छेकेन । आईएडसम्म निर्मलाले पोखरामै पढिन् । एउटा काँधमा परिवारको जिम्मेवारी, अर्को काँधमा आफ्नो भविष्य । कहिलेकाहीँ सोच्दा पनि अत्यास लागेर आउँथ्यो । तर पनि भविष्यमा केही गर्नु थियो, आफूलाई परिवारले गरेको लगानीको प्रतिफल लिनु थियो । उनी श्रीमान्सँगै काठमाडौंको गाडी चढिन् ।

काठमाडौंमा पनि पढाइले विश्राम लिएन । अंग्रेजी साहित्यमा स्तातकोत्तरसम्म गरिन् । काठमाडौंमा बीए पढ्दा भने उनले भविष्यको गोरेटो खोज्न थालिन् । शिक्षक सेवा आयोग र स्रोतव्यक्तिमा परीक्षा दिइन् । शिक्षकका लागि लिखितमा नाम पनि निस्कियो तर निर्मला अन्तर्वार्ता दिन गइनन् ।

०५० सालमा दिएको परीक्षाको नतिजा ०५२ मा आयो । दुई वर्षमा समयले कोल्टे फेरिसकेको थियो । धेरै पटक बादल फुटेर वर्षा भइसकेको थियो । इच्छा, आकाङ्क्षा फेरिएका थिए । काठमाडौंमा उनका पखेटा लागिसकेका थिए । पत्रकारिता गर्न थालेपछि अरू काम त के काम भन्ने जस्तो लाग्न थालेको थियो । पत्रकारिता भर्खरभर्खर सुरु गरेकी थिइन् । दैनिक नयाँ–नयाँ मान्छेसँगको भेट, प्रबुद्ध वर्गसँगको उठबस अनि पत्रिकामा बाइलाइन । यो पो रहेछ जागिर ! नाम अनि दाम ! उनको गन्तव्य नै परिवर्तन भयो । सरकारी जागिरप्रतिको मोह नै भङ्ग भयो ।

०५२ सालमा ‘कान्तिपुर’ छाडेर गएका तीर्थ कोइरालाको सम्पादनमा ‘श्री सगरमाथा दैनिक’ निस्किने भयो । त्यसका थुप्रै प्रकाशकमध्येका एक थिए– कृष्ण आचार्य । आचार्य नाताले निर्मलाका भिनाजु पर्थे ।

“मलाई उहाँले पत्रिका निस्किँदैछ, ट्राइ गछ्र्यौ भने गर भन्नुभयो,” निर्मलाले सम्झिइन्, “मैले गएर अप्लाई गरेँ । नभन्दै जागिर भयो । त्यहीँबाट हो मैले पत्रकारिता सुरु गरेको ।”

त्यो बेला निर्मलालाई पत्रकारिताभन्दा पनि काठमाडौंमा जागिर चाहिएको थियो । पत्रकारिता उनले पढेकी पनि थिइनन् । त्यसैले उनले अन्तर्राष्ट्रिय समाचार अनुवादमा फर्म भरेकी थिइन् । पछि ‘ट्रेनी जर्नालिस्ट’का रूपमा राखियो । गोपाल खनाल र उनी ‘ट्रेनी जर्नालिस्ट’ भएर ‘श्री सगरमाथा दैनिक’ प्रवेश गरे ।

‘कान्तिपुर’बाट गएका श्याम घिमिरेले उनलाई सडकमा बदाम बेच्ने व्यक्तिको दैनिक आयसम्बन्धी समाचार बनाउन सुझाए । निर्मलाले यही विषयमा समाचार लेखिन् । ‘डे वान’बाट काम सुरु गरेकी निर्मलालाई आफ्नो बाइलाइन पत्रिकामा देख्न भने एक साता कुर्नु पर्‍यो । त्यो दिन उनलाई बादल फाटेर आकाश हाँसेझैं लाग्यो । खुसीको रङ्ग देखेझैं लाग्यो । संसार जित्ने महिला मै हुँ जस्तो लाग्यो । त्यो समाचारमा आएको आफ्नो नाम पटक–पटक हेरिन्, दिनहुुँ । समाचार कटिङ गरेर राखिन् ।

०५२ देखि ०७४ सालसम्म दर्जनौं पटक काठमाडौंमा उनको डेरा सर्‍यो तर त्यो समाचारको कटिङ हराएन । चार वर्षयता भने त्यो कटिङ देखिएको थिएन । केही दिनअघि कोठा मिलाउँदा भेटियो । त्यो कटिङले निर्मलालाई पहिलो दिनको जति नै खुसी दियो ।

पत्रकारिताको श्रीगणेश नै त्यहीँबाट गरेकी निर्मलालाई सुरुमा अग्रजहरूले राजनीतिक समाचारभन्दा पनि सामाजिक विषय खोजी गर्न सुझाए । नाम पनि हुन्छ, समाचार खोज्ने कला पनि उकालो लाग्छ भन्ने सल्लाह उनले शिरोपर गरिन् ।

पत्रिकामा समाचार पढ्न सजिलो हुन्छ । त्यसमाथि टीकाटिप्पणी गर्न समय धेरै लाग्दैन । तर, त्यही समाचार खोज्न भने निकै मेहनत गर्नुपर्छ ।

“बल्लबल्ल समाचार लेख्यो, बाइलाइन नआउने । भोलिको समाचारमा त बाइलाइन आउला कि भनेर मनभरि आशा बोकेर गयो । रातभरि निद्रा लाग्दैन थियो । बल्लबल्ल बिहान हुन्थ्यो तर पत्रिका ढिलो आउने । पुतलीसडक बस्ने म पत्रिका लिन बागबजार नै पुग्थेँ, अफिस । तर, बाइलाइन त के– कति दिन त समाचारै छापिँदैनथ्यो,” निर्मलाले सम्झिइन्, “किन मेरो बाइलाइन आएन भनेर सोध्थें । अलि मेहनत गर भन्थे । आफूलाई भने मेहनत गरेजस्तो लाग्थ्यो । समाचार छ भने त्यो नछापिउन्जेल म अर्को समाचारै लेख्दिनथें । तर, राजनीतिक समाचार छापिएर ठाउँ बाँकी रह्यो भने मात्रै हाम्रो समाचार छापिन्थ्यो ।”

लेखेकै दिन समाचार नछापिने पीडा त थियो नै, त्यसमाथि सामाजिक समाचार जहिल्यै राजनीतिको छायामा परे । त्यसपछि निर्मलालाई ‘बिट’ परिवर्तन गर्न मन लाग्यो । राजनीति र संसद्का समाचार हेर्न मन लाग्यो । सम्पादकले पनि अनुमति दिए । उनले सुरु गरिन्, राजनीतिक दल र संसद्को समाचार खोज्न । एमाले र राप्रपाको संसदीय दलसँगै उनी संसद् भवन पुग्थिन् । मध्यरातसम्म समाचारका लागि पार्टी कार्यालयबाहिर बस्थिन् । मध्यरातमा कार्यालय पुगेर समाचार लेख्थिन् । बल्ल घर जाने समय आउँथ्यो । “तर मलाई घरबाट कहिल्यै पनि असहयोग भएन । किन रातरात बाहिर भन्ने खालका तीखा प्रश्न सुन्नु परेन,” उनले भनिन् ।

हार्डकोर समाचार त जुनसुकै पत्रिकामा आउँथ्यो । फरक भए थोरै एंगलमात्रै । नोटिस हुनै गाह्रो थियो । निर्मलाले खोजी समाचार सुरु गरिन् । कानुनसमेत पढ्दै गरेकी निर्मलालाई अदालती समाचारमा पनि रुचि थियो । एकजना वकिलसँग उनले समाचारको इस्यु मागिन् । उनले भने, “बहुविवाहको समाचार लेख्नुस् ।”

निर्मलाले बहुविवाह गर्ने ‘हेवीवेट’ व्यक्ति खोज्न थालिन् । सूची लामै भयो । निवर्तमान प्रधानमन्त्रीदेखि राष्ट्रियसभाका सदस्य र सांसदहरूसम्म बहुविवाह गर्ने भेटिए । लोकेन्द्रबहादुर चन्ददेखि सुवासचन्द्र नेम्वाङ, डिल्लीराज खनालसम्मका व्यक्ति थिए, कानुनको धज्जी उडाउने ।

लेख्दै गरेको यो समाचारबारे निर्मलाले सम्पादकलाई समेत भनेकी थिइनन् । सम्पादक तीर्थ कोइरालाले बोलाएर भने, “निर्मला के समाचार लेख्दै छ्यौ ? मलाई वरिष्ठहरूले फोन गरेर हैरान पारिसके ।”

उनले आफ्नो समाचारबारे जानकारी दिइन् । केही दिनपछि उनले समाचार कक्षमा गाइँगुइँ हल्ला सुनिन्, “निर्मलाको समाचार छापिँदैन होला ।”

उनले भनिन्, “यो समाचार त जसरी पनि छापिनुपर्छ । नछापी छोड्दिनँ ।”

बहुविवाह गर्ने एक दर्जनको नाम भेटियो । समाचार छाप्नका लागि तयार भयो । उनले समाचार सम्पादकलाई दिइन् । सम्पादक कोइरालाले भने, “बाइलाइन हाल्दिऊँ कि नहाल्दिऊँ ?”

निर्मलाले हाल्दिन भनिन् । कोइरालाले जिस्किँदै भने, “अब निर्मलाकै घरको नम्बर दिनु पर्ला यहाँ फोन गर्नेलाई ।”

समाचारको व्यापक चर्चा भयो । कतिले असन्तुष्टि जनाए । पार्टी कार्यालय र संसद्मा भेट हुँदा असन्तुष्टि जनाए । सुवासचन्द्र नेम्वाङ त धेरै वर्षसम्म निर्मलासँग बोलेनन् ।

सुरुमा यस्ता समाचार लेख्न उनलाई डर लाग्थ्यो । धम्क्याउलान् कि भन्ने लागिरहन्थ्यो । तर, जब उनलाई सिनियरहरूले भने, “तपाईंलाई कसैले समाचार लेखेकै भरमा धम्क्याउँछ, ज्यान मार्ने धम्की दिन्छ भने सम्झनुस्– तपाईं सफल पत्रकार बन्नुभयो । काममा सफल बन्नुभयो ।”

त्यसपछि भने उनको आत्मविश्वासको पारोले सगरमाथा नाघ्यो । तथ्यमा बसेर लेख्न कहिल्यै डर लागेन ।

० ० ०

०४७ को संविधान जारी भएर लागू भएको पनि धेरै वर्ष भइसकेको थियो । संसद्ले कानुन पनि त्यहीअनुसार बनाइसकेको थियो । नयाँ संविधानको अभ्यास जनताले गरिरहेका थिए । तर, एउटा कानुन परिमार्जन भएकै रहेनछ । नयाँ संविधानले मृत्युदण्डको कानुन खारेज गरिसकेको थियो । जस्तोसुकै अपराधका भागीदारले पनि मृत्युदण्ड पाउँदैनथ्यो । संविधानले मृत्युदण्डको व्यवस्था खारेज गरे पनि कानुनमा भने यथावत् थियो । त्यो समाचार निर्मलाले लेखेपछि संसद्ले तत्काल संविधानबमोजिम कानुन बनायो ।

संसद्मा कांग्रेसले एमाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदै थियो । संसद् बैठक लम्बिएर बिहानसम्म बस्यो । समाचारका लागि निर्मला र सुवास देवकोटा ‘असाइन’ भएका थिए । संसद् बैठक सकिएपछि सुवास फुत्त निस्किएर अफिसतिर कुदे । निर्मलाले पर्खिन आग्रह गरिन् । तर, उनको मुखबाट छुरा निस्कियो, “तपाईंलाई पर्खिएर समाचार कसले लेख्छ ?”

बिहान ४ बजेको थियो । अँध्यारो भएकाले उनलाई डर पनि लागिरहेको थियो । निर्मला सुवासको अगाडि लागिन् । अफिस पुगेपछि निर्मलाले भनिन्, “तपाईं घर जानुस्, समाचार म लेख्छु ।”

त्यो बेला रिपोर्टरले समाचार कम्प्युटरमा टाइप गर्ने चलन थिएन । हातैले कागजको पानामा लेख्थे । निर्मलाले पनि त्यसै गरिन् । एउटा हार्ड न्युज र दुई फिचर गरेर निर्मलाले तीनवटा समाचार लेखिन् । समाचार लेखिसक्दा बिहानको ७ बज्यो । त्यो दिन पत्रिका बिहान १० बजे निस्कियो । तीनवटै समाचारमा निर्मलाको संयुक्त बाइलान छापियो । त्यो पनि सुवासको भन्दा उनको नाम अगाडि थियो । दिनभर र रातभरको दौडधुपपछि पनि उनले दुःख गरेर समाचार लेख्नुको कारण पनि त्यही नै थियो– संयुक्त बाइलाइनमा अगाडि आफ्नो नाम आओस् भन्ने ।

केही समयअगाडि निर्मला र सुवासको भेट भयो । निर्मलाले सुवासलाई घर छोडिदिइन् आफ्नै गाडीमा । गाडीमा सुवासले भने, “त्यस दिन मैले तपाईंलाई गरेको व्यवहारप्रति सरी !”

संसदीय रिपोर्टिङ गर्ने पत्रकार महिला निकै कम थिए । अधिकांश पुरुष पत्रकार हुन्थे । निर्मला रिपोर्टिङ गर्न दिनभरि सँगै बस्थिन् । तर, उनीहरू फुत्तफुत्त बाहिर निस्किन्थे । किन निस्किए, थाहै हुँदैनथ्यो । निर्मला भन्छिन्, “उनीहरू त समाचारका लागि सांसदहरूलाई भेट्न पो जाँदा रहेछन् । किन मलाई नभनेको ? मलाई पनि लानु पर्दैन ? भन्यो भने फलानोले निर्मलालाई सहयोग गर्छ भनेर कुरा काटिहाल्छन् । त्यो सुन्नुभन्दा एक्लै हिँड्यो आनन्द भन्थे ।”

० ० ०

लगानीकर्ताबीच कुरा नमिलेपछि दुई वर्षमा पत्रिका बन्द भयो । उनको पत्रकारिताले पनि कोल्टे फेर्‍यो । प्रिन्ट पत्रकारिता गरिरहेकी निर्मला रेडियो नेपाल पुगिन् । समाचार शाखामा रिपोर्टिङ गर्ने निर्मला पहिलो पत्रकार महिला हुन् ।

उनी रेडियो नेपाल जाँदा सुशील कोइराला समाचार निर्देशक थिए । निर्मलाले ‘भ्वाइस टेस्ट’ दिइन् । सुशीललाई स्वर मन परेन, फेल गरिदिए । तर, पछि उनले ‘आजको अखबार’ नामक बिहानी सेवाको कार्यक्रममा समाचार पढिन् ।

अखबार पढ्दा भने उनले त्यहाँ महिला भएकै कारण विभेदको महसुस गरिन् । “सँगै समाचार पढ्ने एकजना पुरुष साथी हुनुहुन्थ्यो । उहाँले तपाईंहरू राजनीतिक समाचार रिपोर्टिङ नगर्ने मान्छेले राजनीतिक समाचार पढेको सुहाउँदैन भन्नुभयो । मैले प्रतिवाद गरेँ । हामी सँगै पुनम पौडेल पनि हुनुहुन्थ्यो । पुनमलाई उहाँले राजनीतिक समाचार पढ्न नदिएपछि मैले पुनमलाई भनेँ र पछि पुनमले पनि राजनीतिक समाचार पढ्न थालिन्,” निर्मलाले सुनाइन् ।

रेडियो नेपाल सरकारी रेडियो । राजनीतिक चलखेल बेस्सरी हुने ठाउँ । निर्मलाको राजनीतिक पहुँच पुगेन । सरकार परिवर्तन भएसँगै उनको पनि जागिर गयो ।

समयको चक्र रोकिएन । ‘सारथि’ साप्ताहिकमा काम गरिरहेकी निर्मला फेरि रेडियो नेपाल पुगिन् । यो पटक भने उनी ‘घटना र विचार’ कार्यक्रममा गइन् ।

एमालेबाट अलग भएको थियो, माले । जिल्लाबाट समाचारहरू आउँथे । वडास्तरीय कार्यक्रममा फलानोसहित ५ सय जना फलानो पार्टीबाट मालेमा प्रवेश… । उनलाई यस्ता समाचारमा विश्वासै लाग्दैनथ्यो ।  गाउँको जनसङ्ख्याभन्दा धेरै पार्टी प्रवेश गरेको समाचार पढ्न उनलाई मुख लाग्दैनथ्यो । निर्मला भन्छिन्, “मैले त्यस्ता समाचार कहिल्यै पढिनँ ।”

नेपाल सानो, त्यसमा पनि काठमाडौं खाल्डो कचौराजस्तै न हो । यसमा पनि एउटै क्षेत्र, आज नभए भोलि, भोलि नभए पर्सि भेट भइहाल्छ । सुशील कोइराला रेडियो नेपाल छाडेर ‘गोरखापत्र’को महाप्रबन्धक भएपछि निर्मलासँग भेट भयो । उनले भने, “यस्तो काम गर्ने मान्छेलाई मैले स्वर परीक्षामा फेल गरेको थिएँ । अन्याय नै गरें नि ।”

त्यो बेला निर्मलामात्रै होइन, धेरै फेल हुन्थे रेडियोको स्वर परीक्षामा ।

हुन पनि सत्य हो । स्वर नराम्रो मात्रै होइन, विचार, सिद्धान्त नमिल्ने र शक्तिकेन्द्रको ‘एक्सरसाइज’ नगर्नेहरू स्वर राम्रै भए पनि फेल हुने गरेका समाचार बेलाबेला आइरहन्छन् ।

रेडियोमा भर्खर जागिर सुरु भएको थियो । निर्मलालाई काम सिक्नु थियो । दशैंमा घर नगई बस्दा समाचार पढ्न पाइन्छ भनेर उनी घरै गइनन् । पोखरामा त उनी सेलिब्रेटी नै भइसकेकी थिइन्, रेडियोमा बोल्ने मान्छे भनेर । गाउँमा जाँदा मान्छे भेट्न आउँथे । रेडियोमा काम गर्दाको अनुभव सोध्थे । निर्मला गजक्क पर्थिन् ।

“म घर नगएर दशैंमा रेडियोमै बोलेर बसेँ तर आमा भने म रेडियोमा बोलेको सुनेर रुनुभयो रे,” निर्मलाले विगत साटिन् ।

० ० ०

‘श्री सगरमाथा दैनिक’ बन्द भयो । तर, निर्मलामा पत्रकारिताको भोक मेटिएको थिएन । उनी ‘समाचारपत्र’ दैनिक पुगिन् । अन्तर्वार्तामा सम्पादकले भने, “राजनीतिक समाचारका लागि रातबिरात हिँड्नुपर्छ । तपाईं छोरी मान्छे, कसरी सक्नुहुन्छ ? भोलि विवाह होला, छोराछोरी होलान्, सम्भव हुन्छ ?”

निर्मलालाई रिस उठ्यो । भन्दिइन्, “तपाईंले मेरो बाइलाइन हेर्नुभएकै होला । राजनीतिक समाचार नै लेखिरहेको छु । सम्भव भैरहेकै छ त ।”

त्यो बेला निर्मलाको विवाहमात्रै होइन, छोरी पनि जन्मिसकेकी थिइन् ।  ९ महिनाकी छोरी मामाघर पोखराामा छोडेर समाचार लेखनमा होमिएकी निर्मलाले नर्सरी देखि छोरी होष्टलमा रोखेर मनले इच्छाएको पेशा पत्रकारिता गरिरहेकी थिइन् । निर्मलालाई महिला भएकै कारण त्यस्तो प्रश्न गरियो भन्ने लाग्यो । त्यहाँबाट निस्किँदा उनले बोलाए पनि म यहाँ काम गर्न आउँदिनँ भन्ने मानसिकता बनाइन् । नभन्दै उनलाई फोन आएन ।

“पत्रिकामा काम गर्ने रहर मरेको थिएन, त्यसैले ‘समाचारपत्र’मा आवेदन दिएकी थिएँ । शायद त्यो बेला ‘समाचारपत्र’मा काम गरेकी भए म त्योभन्दा राम्रो अर्को कुनै पत्रिकामा जान्थें होला । शायद कुनै दैनिक पत्रिकाको नेतृत्वमा पनि पुग्थेँ होला,” निर्मलाले आफ्नो उकुसमुकुस पोखिन् ।

० ० ०

‘रेडियो सगरमाथा’मा उनले ४ वर्ष काम गरिन् । यो सामुदायिक रेडियो भएकाले सामाजिक विषयमा मात्रै केन्द्रित थियो । उसले अलि फराकिलो दायरा बनाउन खोजिरहेको थियो  । निर्मला गएपछि उनलाई त्यहाँ राजनीतिक रिपोर्टिङको जिम्मा दिइयो । बिहान ५ बजेदेखि राति ९ बजेसम्म पनि काम गर्थिन् उनी ।

केशव स्थापित मेयर थिए । उनले स्थापितलाई बिहान साढे ७ बजेको कार्यक्रमका लागि बोलाउने निर्णय गरिन् । त्यो समय मोबाइल फोन थिएन । उनले भेटेरै समय तोकिन् । कार्यक्रमको अघिल्लो दिन दिउँसो अफिसमा फोन गरिन् । बिजी हुनुहुन्छ भनेर सहयोगीले फोन दिएनन् । राति पौने १० बजे उनले फोन गरिन् । फोन श्रीमतीले उठाएर ‘मेरो श्रीमान्लाई राति राति फोन गर्ने तपाइँं को आइमाई मान्छे हो ?’ भनेर गाली गरिन् । निर्मलालाई डर लाग्यो । के भन्नु भन्नु भयो । फोन राखिन् । फेरि एकछिनपछि फोन गरिन् । उनले त उसै गरेर गाली गरिन्, “पत्रकार भनेको छ, सधैं राति–राति फोन गरेको छ ।”

निर्मलाले भनिन्, “तपाईंको श्रीमान् महानगरको पिता हुनुहुन्छ । मजस्तो पत्रकार महिलाले मात्रै होइन, महानगरका कुनै पनि महिलाले काम पर्‍यो भने राति १२ बजे पनि फोन गर्न सक्छन् । त्यसका लागि तपाईं र तपाईंका श्रीमान् दुवै तयार हुनुपर्छ ।”

यति भनेर निर्मलाले फोन राखिन् । लहडी स्वभावका केशव कार्यक्रममा आउँछन् कि आउँदैनन्– केही टुङ्गो थिएन । ‘लाइभ’ कार्यक्रम भएकाले उनलाई तनाव भइरहेको थियो । बिहान पत्रपत्रिका पढिसकेर स्टुडियोबाट निस्किँदा त केशव स्थापित आएर गेस्ट रुममा बसिरहेका रहेछन् ।

निर्मलाले केशवलाई अघिल्लो दिनको कुरा सुनाइन् । उनले भने, “मेरो घरमा यस्तै समस्या छ । तपाईंमात्रै होइन, कार्यकर्ताले फोन गर्दा पनि यो समस्या आइरहन्छ ।”

यस्तै घटना राधाकृष्ण मैनालीसँग पनि भयो । उनी एमालेका नेता थिए । एमालेको बैठक बसेको थियो । अबेर राति भइसकेको थियो । एमालेको समाचार हेर्ने भएकाले निर्मलाले मैनालीको घरमा फोन गरिन् । उनकी श्रीमतीले उठाइन् । ‘महिलाले राति कल गर्ने ?’ भनेर फोनै दिइनन् । पछि पुरुष पत्रकारले फोन गरेपछि उनले श्रीमान्लाई फोन दिइन् र समाचार अपडेट भयो ।

“अफिसमा एकछिन हाँसो नै भयो, यो उमेरका नेताहरूलाई पनि घरमा शङ्का गर्दा रहेछन् भनेर,” निर्मलाले भनिन् ।

‘रेडियो सगरमाथा’ छिर्दा सञ्चारिका समूहकी केन्द्रीय सदस्य रहेकी निर्मला चार वर्ष त्यहीँ काम गर्दा सचिव भइसकेकी थिइन् । नेपाल पत्रकार महासंघ गठन भएपिछ खुलातर्फ केन्द्रीय सदस्य भइन् । महासंघकाे  खुलातर्फ लडेर विजयी हुने उनी पहिलो महिला केन्द्रीय सदस्य हुन् । (संघ हुँदा भने अरु पनि महिला केन्द्रिय सदस्य निर्वाचित भइसकेका थिए ।) अरूको बिदा परेका दिन ‘रेडियो सगरमाथा’ले उनलाई बिदा दिँदैनथ्यो । सबैभन्दा धेरै समाचार स्रोत भएको व्यक्तिलाई रेडियोले अरूको बिदा भएको दिन राख्थ्यो । निर्मला एकातिर विभिन्न संस्थामा आबद्ध हुँदै जाँदा बैठकहरूमा जानुपर्ने, अर्कोतिर रेडियोले बिदा नदिने । त्यसैले रेडियो छोडिन् । त्यसपछि भने उनले ‘रेडियो कान्तिपुर’ र ‘उज्यालो नेटवर्क’मा एउटा कार्यक्रम चलाइन् । अहिले उनी टेलिभिजन कार्यक्रम ‘समकोण’ चलाउँछिन् । सुरुसुरुमा महिलाका विषयमा के बोल्ने भनेर मुख बटार्नेहरू नै अहिले हामीलाई नबोलाउने ? भन्दै फोन गर्छन् ।

० ० ०

प्रजातन्त्र स्थापनासँगै नेपालमा सञ्चार माध्यमको तीव्र विकास भयो । छापा, रेडियो र टेलिभिजनको सङ्ख्या बढ्यो । अनलाइनको उदय भयो । मिडियाले उद्योगको रूप लियो । तर, सङ्ख्यासँगै गुणात्मक विकास भएन । “सञ्चारिका समूहले पनि अनलाइन चलाइरहेको छ तर अनलाइनका लागि आवश्यक दक्ष महिला पत्रकारहरूको अझै पनि खाँचो छ,” निर्मला भन्छिन्, “बाहिर बसेर समाचार कक्ष समावेशी भएन भन्नु र मान्छे खोज्नुमा धेरै फरक छ ।”

सञ्चारिका समूहकी अध्यक्षसमेत रहेकी निर्मलाका विचारमा मेहनत गर्ने पत्रकारलाई समाचार कक्षको खाँचो छैन । उनका अनुसार नेपालमा २५ प्रतिशत महिला पत्रकार छन् । सबैभन्दा धेरै रेडियो र टेलिभिजनमा छन् । यसको ६० प्रतिशत २० देखि ३० वर्ष उमेर समूहका छन् । यसको अर्थ विवाहपछि पारिवारिक बाध्यता वा नयाँ अवसरका कारण पेशा छोड्ने प्रवृत्ति बढी छ ।

मेहनत गर्ने पत्रकारको सङ्ख्या निकै कम रहेको बताउने निर्मला अनलाइन मिडियाले समाचार उठान गरे पनि त्यसको गहिराइमा भने नपुग्ने गरेको बताउँछिन् । “लगानी बढ्यो तर क्वालिटी बढेन । पहिले र अहिले उस्तै–उस्तै जस्तो लाग्छ,” निर्मलाले वर्तमान र विगतको समाचारको विश्लेषण गर्दै भनिन् ।

श्रोत : baahrakhari.com

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: