महिलाहरुलाई समावेशीता होइन्, समानता आवश्यक छः एमाले अध्यक्ष, केपी ओली


प्रकाशित मिति :2017-10-13 15:57:11

–महिला खबर संवाद–

भर्खरै बामपन्थी गठबन्धन बनेको छ । यहाँहरुको चुनावी तयारी कहाँ पुग्यो ?

हामीले तयारी गरी राखेकै थियौँ । २०७४ साल माघ सात गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभा, राष्ट्रिय सभा र स्थानीय निकायहरु सबैको अर्थात सबै तहको निर्वाचन हुनुपर्छ भन्ने संविधानले नै व्यवस्था गरेको छ । त्यसकारण एक ढंगले त्यस खालको मानसिकता र तयारी छदैँछ । अनावश्यक र नअनुचित ढंगले बिलम्ब गर्दै गर्दा अहिले दुईटै तहको निर्वाचन संघीय तह र प्रदेश तहको निर्वाचन एकै चोटी गर्नुपर्ने परिस्थिती बनेको छ ।

अब अहिलेको निर्वाचनमा जसलाई जहाँ अनुकूल हुन्छ । त्यसअनुसारले निर्वाचन लड्ने हो, तयारी गर्ने हो । अघिल्लो निर्वाचनमा सबैलाई थाहा छ नेकपा एमाले प्रथम पार्टी भयो । देश बनाउने उद्देश्य र संकल्पका लागि सहज ढंगले विचार मिल्ने र उद्देश्य मिल्नेहरु एक ठाउँमा लड्नु बाङ्च्छनीय हो । खाली चुनावी तालमेल मात्र होइन् त्यो भन्दा अलि विचार मिल्ने र उद्देश्य पनि मिल्ने एक ठाउँमा हुनु बाङ्छनीय हो ।
यसरी हेर्दा नेकपा माओवादी केन्द्र र एमालेका घोषणा पत्र समान हुने रहेछन् । मिलेर जाँदा एउटै घोषणा पत्रमा लड्न सकिन्छ भन्ने लाग्यो । यसको एउटा अभ्यास मेरो नेतृत्वमा सरकार हुँदा नीति कार्यक्रम पनि एमाले र माओवादीसँगै भएर बनाएका थियौं । त्यसमा विवाद थिएन् । त्यसकारणले पनि हामीलाई के देखायो भने कुनै नीति कार्यक्रममा एक साथ अगाडी बढ्न सक्छौ । यस कुरामा हाम्रो तयारी भइसकेपछि हामीलाई चुनावमा पनि सँगै जाऊ भन्ने लाग्यो ।

जब नीति कार्यक्रममा हामी सँगसँगै जान सक्छौं भने कतिपय बैचारिक प्रश्नहरु होलान् । मतभेदहरु होलान् । त्यसमा हामी एउटै पार्टी बनाऔं भन्ने लागेर हामी अगाडी बढ्यौ । यसलाई म गठबन्धन पनि भन्न सक्दिनँ । किनकी गठबन्धन अलिकति अपवित्र पनि हुन सक्छ । यो चाहि अपवित्र हुँदै होइन् । त्यो पवित्र छ ।

धेरै तयारी के गर्नुपर्छ र । हामीले उम्मेदवारी असोज २९ गते दिन्छौ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति एउटै चिन्हमा लड्ने भनेका थियौं । तर, त्यो अलिकति हुन सकेन् ।

पार्टी–पार्टी बीचको भागवन्डा टुंगो लाग्यो ?

मोटामोटी हामीले एमाले केन्द्रले साठी र माओवादी केन्द्रले ४० भनेका छौँ । उपयुक्तताको आधारमा उम्मेद्वारी दिने हो । त्यसलाई ठ्याक्कै भागवन्डा भन्नु बाङ्च्छनीय हुन्छ जस्तो लाग्दैन । संघीय व्यवस्थापिकामा पनि परिणाममा नै न्यूनतम ३३ प्रतिशत महिला सुनिश्चित गर्ने भन्ने छ । परिणाममै सुनिश्चत गर्नका लागि

कस्तो खालको भूमिका खेल्न सक्नुहुन्छ ?

अरुले लेखेको, मानेको संविधान हामीले मानेको होइन् । संविधान हामीले नै लेखेको हो । संविधानमा कमी रहेको कुरा किन लेखिएन भन्ने होइन् । राम्रा कुरा पनि हामीले लेखेका हौं । यति छोटो समयमा नै हामीले राम्रो रेकर्ड राखेका छाैँ । केही कृतिमान पनि कायम गरेका छौँ । यतिबेला न्यायपालिका तर्फको नेतृत्व महिलाले गरिराख्नुभएको छैन । तर, यसभन्दा अगाडीको समय के थियो भने सरकार तर्फको कार्यकारी तर्फको नेतृत्व राष्ट्रपति महिला, व्यवस्थापिका तर्फको नेतृत्व संसद तर्फको सभामुख महिला, न्यायपालिको तर्फको नेतृत्व प्रधानन्यायाधिश महिला । यो आफैमा राम्रो पक्ष हो ।

अबको निर्वाचनले राष्ट्रपति, प्रधानन्यायाधिश महिला बनाउने वातावरण कसरी बनाउँछ ?

हामीले सामाजिक न्याय, समानताको अभियान र आन्दोलन थालेको सात दशक समेत भएको छैन । अहिले पनि समानतालाई हेर्दा महिला र पुरुषकाबीचमा समानता हुन सकेको छैन । त्यो पुर्याउनुपर्छ भन्ने हाम्रो मान्यता छ धारणा छ । तर एकैचोटी व्यवहारमा पुग्छ भन्ने छैन । एक समयको लागि मात्रै संरक्षण र आरक्षण उचित हुन्छ कि भन्ने हो । यसमा अलिकति छलफल हुनुपर्ने आवश्यक देखिन्छ ।

यो गठबन्धनबाट प्रदेश सभाको ३३० र प्रतिनिति सभाको १६५ मध्ये प्रत्यक्षमा कति प्रतिशत महिलाले टिकट पाउँछन् ?

३३ प्रतिशत हामीले उम्मेदवार उठाउने होइन् । उपस्थित गराउने हो । त्यसकुरालाई ध्यानमा राखेर हामीले के व्यवस्था गर्यौ भने समानुपातिकको बढी महत्व ३३ प्रतिशत सहभागितासँग सम्वन्धित छ । त्यसभित्र समानुपातिक हामी गर्छौ । समावेशीता त्यसभित्र हुन्छ । महिलाको जबसम्म प्रदेशसभामा प्रतिशतमा ३३ प्रतिशत पुग्दैन । समानुपातिकबाट राख्न सक्दैनौँ । त्यो व्यवस्था हामीले गरेका हौँ ।

अघिल्लो अनुभवहरु हेर्दा ३३ प्रतिशत पुर्याउनु हामीलाई गाह्रो भयो । त्यसकारण हामीले संविधानमै त्यो व्यवस्था गर्यौं । र ३३ प्रतिशतको प्रत्याभूति भयो । पुरुषहरुमा महिलाहरुमा भन्दा निर्वाचनमा उम्मेद्वार बन्ने महत्वकांक्षा बढी पनि हुन्छ होला । महिलालाई चुनाव लड्ने भन्दा कसैले खर्च छैन भन्ने, कसैले दुःख गर्न सँक्दन भन्ने, कहिले केही गर्न सक्दिनँ भन्ने स्थिती छ । सम्भावना बोकेका महिला नै चुनावमा उठ्न नखोज्ने अवस्था छ ।

प्रत्यक्षमा प्रदेश र प्रतिनिधि सभा गरेर कुल ४९५ संख्या छ । कम्तिमा ३३ प्रतिशत महिला यो गठवन्धनले उठाउन सक्छ नी !

उठाउन के गर्छ । तर, सहभागिता गर्न सक्छ । हामीले सहभागिता गर्ने कि उठाउने भन्नेमा ध्यान दिनुपर्छ । ३३ प्रतिशतको उपस्थिति गराउन सक्छ । अहिलेको सामाजिक परिस्थिमा यथार्थता के देखिदैंछ भने प्रतिस्पर्धाबाटै समानतामा पुग्न अलि कठिन छ ।
प्रत्यक्षमा कम महिलाहरु सिफारिस भएका छन्, ती नाम पनि केन्द्रसम्म आइपुग्दा, गठबन्धन हुँदा कटौती हुन्छ कि भन्ने आशंका छ । सिफारिस परेका महिलालाई विश्वस्त पारिदिनुस् कि तपाईहरु सिफारिस हुनुहुन्छ भनेर ।

दलहरुले त्यहाँबाट जित्नुहुन्छ भनेरै विश्वास भएकै कारण सिफारिस गरेको होेलान् । पुरुष भएर नाम जाने, महिला भएकै कारण हट्ने भन्ने होइन् । त्यसकारण महिला भएकै कारण हट्ने भन्ने हुँदैन् । महिला उम्मेदवार पनि कम छ । महिला उम्मेदवार जो जित्छौं भन्नुहुन्छ र जित्ने सम्भावना छ । सिफारिस किन आउँछ भने जित्ने आश भएर नै सिफारिस आउँछ । भरसक महिला भएका ठाउँहरुलाई सुरक्षित गरेर तालमेल गरेर महिला र अरु नेताहरुलाई समावेश गर्दा जित्न सक्ने महिला विस्थापित नहुन् भन्ने कुरालाई बढी ध्यान दिन्छौं ।

संघमा महिलाहरुका कम्तिमा ३३ प्रतिशत र प्रदेशमा ४० प्रतिशत सुनिश्चित गर्न राजनीतिक दलले कसरी वातावरण बनाउँदै छन् ?

हामी पूर्ण सामाजिक सहभागिता, नीति निर्माण तहमा महिलाहरुको समान हैसियत भन्ने पक्षमा छौँ । मैले पहिले देखि नै भन्ने गरेको छु । महिलाहरुको हकमा समावेशीता होइन् समानता हो । समावेशीता थोरै छ भने त्यसलाई समावेश गर्ने हुन्छ । महिलाहरुको संख्या थोरै होइन् । त्यसकारण पुरुष प्रतिनिधिहरुकाबीचमा, पुरुष सहभागिताकाबीचमा महिला सहभागिता गराइदिने कुरा मात्रै नभई समान हैसियतमा जाने हाम्रो लक्ष्य हो ।

अहिले ३३ प्रतिशत महिला उठ्ने देख्दिन् । किनभने विभिन्न पार्टीहरुको चर्चा हेर्दा हामीले बल गरेर पनि पुग्ने सक्ने देखिदैन । यकिनका साथ भन्न त सक्दिनँ तर कमी नै देखिन्छ । तर राम्रो के छ भने सहभागिता ३३ प्रतिशत हुन्छ ।

स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा पार्टीहरुको मेयरमा पुरुषले हार्दा उपमेयर महिलाले जितेको अवस्था छ । अहिले प्रदेश सभामा ३३० मध्ये १६५ महिलालाई उठाए पक्कै पनि जित्थे होलान नी ! पार्टीहरुले त्यो पहल गर्न सक्दैनन् ?

हामी त्यसैमा लागि राखेका छौँ । मेरो काँधमा महिला सहभागितालाई यथोचित ढंगले बराबरीमा पुर्याउने अभिभारा छ । मेरो ध्यान त्यसमा हुन्छ ।

एकछिन लोकप्रिय कुरा गरेर हुँदैन । महिला जागरणका निम्ति धेरै अगाडिदेखि सामाजिक विकासमा महिलाहरुको योगदान असाधारण छ । राजनीतिक परिवर्तनमा पनि महिलाहरुको योगदान असाधारण छ । तर, त्यसका केही पृष्ठभुमि छन् जसले महिलाहरु बराबरीको हैसियतमा आउन सकिराखेका छैनन् । त्यसलाई कसरी अगाडी बढाउने ? भन्ने हो ।
शिक्षाको तहदेखि, सहभागिता अभिवृद्धि, सामाजिकीकरण, घरको चुलोचौकाबाट कसरी निकाल्ने, राजनीतिक सहभागिता कसरी गर्ने भन्नेमा गम्भीर हुनुपर्छ । हाम्रो आवश्यकता र यथार्थताको बीचमा ग्याप छ । त्यसलाई कसरी हटाउने ? भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।

आन्दोलनको समय पार्टीलाई महिलाको योगदान उल्लेख्य हुन्छ । तर, महिलाहरुले प्रतिस्पर्धा गर्नुपर्दा क्षमतामा प्रश्न गरिन्छ । महिलालाई परिक्षामा भाग लिनै नदिने, र क्षमतामा प्रश्न उठाएर कहिलेसम्म लुकाई राख्ने ?

क्षमतामा प्रश्न उठाइएकै छैन । क्षमतामा उठाउने भनेको रोक्ने मनसायका हो । हामिले रोक्ने मनसायका साथ नभई अगाडी बढाउने मनसायका साथ काम गरेका छौँ । पोल्टिकल पार्टीहरुले क्षमतामा प्रश्न उठाएर रोक्ने प्रयास गरेका छैनन् । क्षमता अभिवृद्धि गर्न खोजेका छन् । मनोबल बढाउन खोजेका छन् । उत्साहित गर्न खोजेका छन् ।

महिलाहरु केहि पोल्टिक्समा हुनुहुन्छ । कोहि आउन खोज्ने हुनुहुन्छ । पोल्टिक्सको यो सफलता हो । यो आकर्षण हो । हामी महिलालाई उठाउन चाहन्छौ । प्रोत्साहित गर्न चाहन्छौं ।

बाम गठबन्धनमा एमालेको ६० र माओवादीको ४० भनेका छन् । त्यो तालमेलले महिलाको भाग त खोसिने होइन ?

यो महिला विरोधी तालमेल होइन । तर, एमालेसँग तालमेल नभएको भए माओवादीले कतिपय ठाउँमा महिला उठाउँथ्यो होला । तालमेलमा उठ्दा त्यहाँ महिला नपर्न सक्छन् । एमालेले पनि महिला उठाउँथ्यो होला । माओवादी केन्द्रसँग मिल्दा महिला नपर्न सक्छन् । त्यसलाई ठुलो रुपमा लिनु हुँदैन ।

गठबन्धन, उम्मेद्वार छनोट, घोषणा निर्माण कमिटीमा एक जना पनि महिला छैनन् । हेर्दा त महिलालाई बाइकट गरेको जस्तो देखिन्छ नि ?

धेरै कुरा आन्तरिक रुपमा भन्न गाह्रो छ । महिला सहभागिता गर्न खोजिएको त हो तर, कार्यदलमा बस्न मान्दैनन् । यहाँ बस्दा आफ्नो काम छुट्छ । आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने होला । कामहरु छुट्ने कारणले पनि कमिटीमा बस्न मान्दैनन् । यहाँ लेखेर, हिसाब गरेर बस्नुपर्ने हुन्छ । त्यो काममा मान्छेहरु आउँदैनन् ।

मन्त्री मण्डल गठन गर्दा कहिल्यै ३३ प्रतिशत महिला सहभागिता देखिएन् । आगामी निर्वाचनमा पहिलो पार्टी भए मन्त्री मण्डलमा ३३ प्रतिशत महिला पुर्याउँछौ भन्न त सकिन्छ होला नी ?

३३ प्रतिशत अहिलेको बिसौनी मात्रै हो । यो एउटा यात्राको क्याम्प जस्तै हो । मेरो विचारमा ३३ प्रतिशत भन्दा पनि बढी महिला हुनुपर्छ । ३३ प्रतिशत भन्दैमा ३३ प्रतिशत नै महिला किन ? नीति निर्माण र नेतृत्व तहमा ३३ प्रतिशत भन्दा बढी महिला हुनुपर्छ । महिलाको बराबरीको हैसियत हो । त्यसका आधारमा काम गर्नुपर्छ ।

जिल्ला स्तरबाट प्रदेशमा नाम सिफारिस गर्दा महिलासँग पैसा हुँदैन, त्यसकारण टिकट दिइन्न भन्ने मानसिकता छ । कम्तिमा त्यसलाई चिर्नका लागि पार्टीहरुले कम खर्चमा चुनाव लड्ने अवस्था कसरी सिर्जना गर्न सक्छ ? महिला उम्मेद्वारलाई कसरी सहयोग गर्न सकिन्छ ?

निर्वाचनकै सन्दर्भमा यो गम्भीर विषय हो । निर्वाचन निष्पक्षता, पारदर्शीता, अथवा स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुपनर्छ । यो कुरालाई स्थानीय तहको निर्वाचनमा पनि चुनौतीकै रुपमा देख्यौं । यो चिन्ताको विषय हो । जनताको अभिमत, जनतामा रहेको गरिबीको फाइदा लिएर त्यसलाई दुरुपयोग गर्नुहुँदैन ।

अनुचित ढंगले कमाइएका, अनुचित पैसाको प्रयोगबाट जनताको अभिमतलाई प्रदूषित गर्ने र निर्वाचनलाई प्रदूषित बनाउनु हुँदैन् । त्यो विकृत हुन्छ । स्वच्छ आम्दानीले पैसा बाँड्न कसैले सक्दैन । भोट किन्न सक्दैन । हामीले कानुनी हिसाबमा निर्वाचनलाई निष्पक्ष बनाउन र प्रभावित हुन नदिन, त्यसको स्वच्छतामा तलमाथि हुन नदिनका लागि केही सीमाहरु पनि तय गरेका छौँ । प्रचार सामग्रीमा नियन्त्रण गरेका छौँ । खर्चको सीमा तोकेका छौँ ।

सबभन्दा डरलाग्दो र अपादर्शी ढंगले अपराधिक क्रियाकलापका साथ गैर कानुनी हिसाबले निर्वाचनलाई जसरी दुष्प्रभावित गरिदैंछ त्यो लोकतन्त्रका निम्ति, जनताको वास्तविक अभिमत प्रकट हुने र शासन भन्ने कुरालाई लगावमा सिमित गरिदिने षड्यन्त्रको प्रयास हो । यसमा हामी चिन्तित छौँ र यसको बिरुद्धमा कसरी लाग्ने ? भन्ने विषयमा गम्भीर ढंगले सोचेका छौँ ।

संचारिका समूहको उत्पादन कार्यक्रम ‘समकोण’ का लागि ओलीसँग गरिएको कार्यक्रमको सम्पादित अंश । कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: