‘म हिम्मतवालीकाे श्रीमान’


प्रकाशित मिति :2017-09-26 09:06:20

-महिला खबर संवाद –

जीवनमा सँधै आशा र उत्साह बोकेर हिँड्ने व्यक्तिमा पर्छिन् पासाङ डोल्मा शेर्पा । त्यसैले त सानैमा एकल आमा बनेकी उनले कहिल्यै हिक्मत हारिनन् र त्यही साहसले आज अन्र्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल छिन् । सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी निर्देशक, नेपाल आदिवासी जनजाति महासंघ, रेड साझेदारी कार्यक्रमकी राष्ट्रिय संयोजक लगायत विभिन्न संघसंस्थामा काम गरेको अनुभव भएकी उनी हाल आदिवासी जनजातिहरुको अध्ययन र विकास केन्द्रका कार्यकारी निर्देशक हुन् । उनले युएन रेड पोलिसी बोर्ड, वल्र्ड बैंकको वन कार्बन साझेदारी कोष, संयुक्त राष्ट्रसंघको शिक्षा बोर्ड(ककस) लगायत आधा दर्जन अन्र्तराष्ट्रिय फोरमहरुमा एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै काम गरिसकेकी छन् । यो उचाईमा पुग्न जति आफ्नो मेहनत, लगाव र अन्तरनिहित क्षमता छ, त्यति नै सहयोग र साथ उनलाई श्रीमान् डा. पासाङ शेर्पाको छ । श्रीमान् पासाङकै प्रेरणा र साथले डोल्मा अहिले दूधे जुम्ल्याहा बच्चाहरु हुँदा समेत विद्यावारिधीको तयारी गरिरहेकी छन् । उनै जोडीसँग महिला खबरका संवाददाता खेमा बस्नेतले गरेको कुराकानी ।

२२ वर्षकै उमेरमा श्रीमानकाे वियोगले विच्छिप्त बनेकी उनीसँग आज पनि व्यथा छ । तर एक्लै सहनुपर्दैन । उनले भोगेका वियोग र पीडाका कहानी सुनाउँदा थुम्थुम्याउने जीवनसाथी छन् । जसले हर्षले, मायाले र खुसीले उनीसँगको साथ स्वीकार गरेका छन् । र, एउटी ‘विधवा’ को उपमा भिराएर समाज र आफ्नैबाट अवला बनाइएकी महिलाको सारथी बनेका छन् पासाङ ।

जीवनमा दुःख व्यथा बुझिदिने पूर्ण साथी पाएकोले प्रगतीको पथमा पाइला बढाउँदै छिन् डोल्मा । उनीहरुले एक अर्कालाई पूर्ण पाएका छन् अहिले । त्यसैले त विवाहको प्रसङ्ग कोट्याउँदै पासाङ भन्छन्, ‘मेरो जिवनमा उहाँ नभएको भए अरु कोही हुन्थ्यो,(लामो हाँसो सहित) तर उहाँ हुँदा मेरो जिवनमा जुन सकरात्मक परिवर्तन भएको छ, सायदै हुँदैन थियो होला ।’

जीवनमा उतारचढावको भंगालो पार गरेकी डोल्मा भन्छिन् ‘सायद उहाँसँग भेट नभएको भए एक्लो जीवन बिताउँथें । पुनः विवाहबारे सोच्दिन थें होला ।’

उनीहरुको पहिलो भेट सन् २००१ मा शेर्पा संघमा भएको थियो । त्यसबेला दुवै एउटै प्रोफेसनमा थिए । डोल्मा ग्रामिण आदर्श बहुमुखी क्याम्पस पढाउँथिन्, पासाङ त्रिभुवन विश्वविद्यालयमा । शेर्पा संघको शिक्षा उपसमितिमा दुवै जना आबद्ध भएकाले मौका जुर्यो । त्यसपछि भेटघाट निरन्तर भैरह्यो, साथीको रुपमा । ५ वर्षपछि पासाङले बिहेको प्रस्ताव राखे । प्रस्ताव स्वीकार्न डोल्मालाई अर्काे ५ वर्ष लाग्यो ।

बिहेको प्रस्ताव तत्काल स्वीकार्न डोल्मालाई कठिन थियो । उनले भनिन्– ‘मलाई फेरि पनि उस्तै घटना नदोहोरिएला भन्ने ठूलो डर थियो । म २२ बर्षकी हुँदा मेरो मग्नी भएको थियो । हाम्रो चलनमा विवाह नगरेपनि संगै बस्ने अनुमती हुन्छ । हाम्रो सन्तानको रुपमा एक छोरा जन्मिएको थियो । घरमा खुशीको माहौल थियो । तर बर्षदिन नपुग्दै उहाँ आकासमै हराउनुभयो ।’

विगत सम्झिदै डोल्माले भनिन्– ‘उहाँ पाइलट हुनुहुन्थ्यो । ताप्लेजुङको हिमाल (नाम याद भएन) केही विदेशीहरु अलपत्र परेकाले उनीहरुको उद्दार गर्न हेलिकप्टर लिएर जानुभएको थियो । तर दोस्रो पटक बाटोमै हेलिकप्टर हरायो । त्यसबेला देशमा जनयुद्ध चर्किरहेको थियो । धेरैले माओवादीले अपहरण गरे भनेर पनि भने । धेरै पर्खे । तर अहिलेसम्म न लास न सास कुनै पत्तो छैन ।’

त्यस घटनापछि डोल्मा विक्षिप्त बनिन् । पुनःविवाह त परैको कुरा, उनलाई बाँच्नुकै अर्थ वेकार लाग्थ्यो । लामो सास लिर्दै उनले भनिन् ‘लास आएको भए एक दिन मात्र मरेको हुन्थ्यो, त्यो पखाईले प्रत्येक दिन म आफूलाई मरेको अनुभव गर्थे । तर काखको बालकले उनलाई जिउन प्रेरणा दिइरहन्थ्यो । त्यो दुर्घटना हुँदा उनको स्नातकोत्तर दोस्रो बर्षको परिक्षा चलिरहेको थियो । जीवनप्रति नै हरेस खाएकी उनलाई साथीहरुले निकै सगाए । उनी आफ्नो साथीहरु अनुजा र कुमुदुजुलाई निकै सम्झिन्छन् । त्यो क्षणमा साथीहरुले यतिधेरै हौसला नदिएको भए उनको जीवन अध्याँरो हुन सक्थ्यो । परिक्षा दिइन् । राम्रै अंक ल्याएर उत्तिर्ण पनि भइन् ।

भाँग्यको खेल नै रहेछ, बिहे नगर्ने नियर्णमा गरेकी उदयपुरकी डोल्माले ताप्लेजुङका पासाङलाई भेटेको १० वर्षपछि सन् २०११ मा काठमाडौंमै भव्य विवाह भयो । उनीहरुको विवाह समारोहमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल देखि बरिष्ठ नेता तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । ‘इन्मान्दार, जीवनप्रति गम्भिर, पढेलेखेको र मुख्य कुरा मलाईलाई बुझ्ने भएर नै उहाँसंग विवाह गर्ने नियर्णमा पुगे ।’–डोल्माले भनिन् ।

उनीहरुका अहिले १७ वर्षका छोरा, दुई वर्षका जुम्ल्याहा छोरीहरु छन् । उमेरले डोल्मा ४२ र पासाङ ४४ बर्ष पुगे ।

एकल महिला त्यसमाथि एक सन्तानकी आमालाई बिहे गर्ने कुरा चानचुने भने थिएन । कतिले आलोचना पनि गरे । साथीहरुले पनि पासाङलाई तिमी अविवाहित केटो, कन्या केटी विवाह गर्नुपर्ने किन यस्तो केटी विवाह ग¥यौ भन्थे । तर कुनै महिला एकल हुनुमा उसको के दोष? यो जीवनको एक चक्र हो, समाजको एक पाटो हो भन्ने कुरा उनी आफै सामाजशास्त्र विषयका विद्यार्थी र प्राध्यापक समेत भएकाले राम्ररी बुझेका थिए । त्यसैले पासाङ भन्छन्–‘मैले यस्ता कुरालाई कहिले मतलब गरिन्, हामी दुवै पढेका थियौं, हाम्रो सोच मिल्यो, स्वदेशमै बसेर केही गर्ने भन्ने हामी दुवैको उदेश्य थियो । सबै कुरा मिलेपछि बिहे भयो ।’

पहिलो भेटमै उनी डोल्माप्रति निकै प्रभावित थिए । उनी डोल्मालाई गुमाउन चाहान्नथेँ, त्यसैले डोल्माको हाँ को पखाईमा १० बर्ष वित्यो । त्यो बीचमा पासाङले इन्डियाबाट विद्यावारधी गरे । झन्डै बीचमा कोर्ष छोडिसकेका थिए, पासाङले । तर डोल्माको साथ र सहयोगले पढाई सफल भएको पासाडले बताए । त्यसबेला पासाङको ल्यापटप विग्रिएपछि डोल्माले सुटुक्क ल्यापटप पनि किनिदिएका थिए । त्यही ल्यापटप पासाङले अहिले पनि निकै जतनका साथ चलाइरहेका छन् ।

५ बर्षअघि थालेको विद्यावारिधी सिध्याउन डोल्मा पछिल्लो २ बर्ष घरमै बसेर थेसिस लेख्ने क्रममा छिन् । त्यसैले समय मिलाएर केटाकेटी भुलाउने र घरको रेखदेख गर्ने सबैजसो काम पासाङ आफै गर्दारहेछन् । पासाङ त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयका सहप्रध्यापक हुन् ।

पासाङले आफ्नो दैनिकी यसरी सुनाए– ‘बिहान मनिङ वाक जान्छु, फर्केर समाचारहरु अपडेट गर्छु, दुवैका लागि चिया पनि बनाउछु, छोरीहरुलाई पनि समय दिन्छु, त्यत्तिकैमा अफिस जाने समय हुन्छ । साँझ कामबाट फर्केर पनि बच्चाहरुसंगै खेल्छु, उनले थपे–‘उहाँलाई अहिले पढ्नुपर्छ, त्यसैले सानातिना काममा पनि म सगाउँछु, सहयोगीहरु नभएको बेला बच्चालाई खुवाउने र घर सफा गर्ने सबै गर्छु ।’

डोल्माको अधिकांश समय अहिले स्टडी रुममै बित्छ । तर उनलाई अरुले गरेको कति कुरा चित्त बुझ्दैन । सरसफाइ गर्ने तरिका, कपडा र सामान मिलाउने, पकाउने जस्ता कुराहरु उनलाई चिटिक्क हुनैपर्छ । त्यसैले कहिलेकाही यस्तै साना साना कुरामा बुढाबुढी बीच कचकच पनि चल्छ । तर ठूलो कुरामा उनीहरुबीच अहिलेसम्म विवाद भएको छैन । सम्बन्ध सहयोग, साथ र विश्वासमा चल्ने भएकाले एक अर्काप्रतिको विश्वास निकै बलियो रहेछ, शेर्पा दम्पतीको ।

बच्चा सानो भएकाले दूध खुवाउने र उनीहरुको स्याहारसुसारले गर्दा डोल्मा कहिलेकाही थकित हुन्छिन् । धेरै पटक बीचैमा लेख्न, पढ्न छाड्न खोजे पनि । तर श्रीमानले उनलाई सधै हौसला दिइरहे । उनका लागि पासाङ श्रीमान मात्र रहेन, कहिले अभिभावक बनिदिन्छन्, कहिले मनोविमर्शकर्ता त कहिले साथीको रुपमा । काम गर्दा होस् वा पढाईका मामलामा श्रीमानले सधै उनलाई कोच गराइरहेका हुन्छन् । त्यसैले पनि उनलाई धेरै सजिलो भएको छ ।

जागिर गर्दा ताका डोल्मा कहिलेकाही महिनामै ३/४ पटक विदेश भ्रमणमा जानुपथ्र्याे । त्यस समयमा पनि पासाङले सबै जिम्मेबारी लिएका हुन्थे ।

शेर्पा दम्पतीमा खाना मिठो बनाउने डा.पासाङ नै रहेछन् । उनको खाना पकाउने फरक तारिका रहेछ, सबै चिज एकै ठाउँमा राखेर पकाउने । दुवैको लामो हाँसोपछि डोल्माले भनिन्–‘उहाँको गज्जबको बानी छ, सवै कुरा एकै ठाउँमा राखेर पकाउने, तर मिठो बनाउनु हुन्छ ।’ भान्साको काम उनीहरुले बाँडफाँड गरेका छन् । एउटाले खाना पकाए, अर्कोले भाडा माज्ने । तर पासाङले खाना बनाउँदा सवै काम उनी आफै गर्छन्रे । डोल्मालाई भने हेल्पर नभैहुदैन । त्यसैले डोल्मा हेड कुक हुँदा पासाङ सधै हेल्पर बन्नुपर्दोरहेछ ।

फुर्सदमा शेर्पा दाम्पतीलाई घुम्न रमाइलो लाग्छ । त्यसैले बच्चाहरु लिएर उनीहरु नेपालका गाउँठाउँ र विदेश समेत बर्षमा एक पटक घुम्न निस्कन्छन् । कामको शिलशिलामा डोल्माले ३५ भन्दा बढी देश पुगिसकेका छन् । तर परिवारको साथमा घुम्नुको मज्जा नै वेग्लै हुने उनको अनुभव छ ।

श्रीमानका सानासाना कुरामा पनि ध्यान दिन्छन् श्रीमतीहरु । तर शेर्पा दम्पत्तीको परिवारमा भने फरक छ । पासाङ भन्छन् –उहाँ पढीरहेकी हुन्छिन् । चिया पकाएर दिने, खाना पकाउने, भाडा माझ्ने जस्ता काम म आफै गर्छु ।’ पढ्दापढ्दै दिक्क भएको बेला श्रीमतीलाई पढ्न उत्प्रेरित गराइरहन्छन् पासाङ ।

पासाङले सानोसानो कुरामा सहयोग गर्दा आफ्नो रोजाइमा गर्व लाग्छ डोल्मालाई । घरको आर्थिक निर्णय पनि प्रायः डोल्माले नै लिने गरेको पासाङ बताउँछन्– ‘उहाँ एकदमै हिम्मतवली हुनुहुन्छ । जिवनमा कुनै रिक्स उठाउनुपर्यो भने उहाँले तुरुन्त निर्णय लिन सक्नुहुन्छ, म सक्दिन ।’ डोल्माले चालेका कदमहरु सफल पनि भएका छन् । त्यसैले उनी आफू हिक्मतवाली श्रीमतीको श्रीमान हुनुमा गर्व गर्छन् । ‘उहाँसंग विवाह नभएको भए हिम्मतवलीको श्रीमान हुँदैन थिएँ होला ।’ पासाङले थपे ।

सहयोगी श्रीमानको प्रशंसा गदै डोल्माले भनिन् –अहिलेसम्म घरको काम महिलाले गर्नुपर्छ भन्ने सोच र व्यवहार मैले उहाँमा पाएकी छैन । कहिलेकाही मसंग गुनासो पोक्नुहुन्छ र भन्नुहुन्छ अरुको श्रीमतीले कसरी श्रीमानलाई सहयोग गरेका छन् । तिम्ले मलाई हेपेको भन्नुहुन्छ ।’

पासाङले पनि समर्थन सहित भन्छन् –होनि मैले कहिल्यै यो महिलाले गर्ने काम हो भनेको छैन ।’ पासाङ आफै प्रोफेसर र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएकाले परिचित नाम हो । तर डोल्माको श्रीमान भएर चिनिदा गर्व लाग्छरे ।

उनी डोल्माको नामको अगाडी डा.थपिएको हेर्ने चाहान्छन् । यो डोल्माको पनि सपना हो । त्यो सपना पुरा गर्न पासाङ आफ्नो श्रीमतीलाई फूल सपोर्ट गदै आएका छन् । समाजमा पुरुषलाई भन्दा बढी महिलालाई शिक्षाको खाँचो रहेको र महिलालाई पढाउन परिवारले उत्तिकै जोड दिनुपर्ने दुवैको सोच छ ।
‘हाम्रो पुरुषप्रधान समाजमा श्रीमान वा छोरा मान्छेको मृत्यु भएपछि धेरै महिलाको जिन्दागी बर्वाद हुने गरेको देखेको छु, यदि महिला पढेर आत्मनिर्भर भए, त्यो स्थिति आउँदैन, पासाङले आफ्नी श्रीमती डोल्मालाई देखाउदै भने–‘उहाँ यसको उदाहरण हो, जो शिक्षित र आत्मनिर्भर पनि हुनुहुन्छ । त्यसैले म मेरी हिक्मतवाली श्रीमतीको नाम अगाडि डा. थपिएको हेर्न चाहान्छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: