नेपालमा बालविवाहको अवस्था


प्रकाशित मिति :2017-09-14 12:46:49

-कमल बहादुर बसेल-

नेपाल बाल विवाह गर्ने दक्षिण एशियाली मुलुकका प्रमुख देशहरु मध्ये बंगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाइ कार्यान्वयनमा पनि ल्याएको छ । यस रणनीतिलाई सहयोग गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु पनि लागि परेका छन् ।

वि.स. २०६८ को जनगणना अनुसार नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखिन्छ । त्यसमध्ये पनि एक लाख १५ हजार १ सय ५० बालिका रहेको तथ्यांकले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ (NDHS–2011) ले नेपालमा २० वर्ष देखि २४ वर्ष उमेर समुहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्न अगावै भएको उल्लेख गरेको छ ।

युनिसेफले प्रकाशित गरेको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्ष भन्दा कम उमेरमा विवाह गर्छन् । कपिलवस्तु जिल्लामा महिला तथा बालबालिका कार्यालयले २०७३ मा गरेको एक अध्ययन अनुसार ७४ प्रतिशत विवाह २० वर्ष नपुग्दै गरेको पाइएको छ ।

विशेषगरी तराईका जिल्लाहरुमा तुलनात्मक रुपमा बालविवाह बढी हुने गरेको अध्ययनले देखाएको छ । विकट पहाडी जिल्ला अछाम, वैतडी, बाजुरा, डोटी, बझाङ आदीमा पनि बालविवाहको दर उच्च रहेको पाइन्छ ।

हाम्रो समाजमा रहेको विद्यमान कुरीतिहरु बालविवाहको प्रमुख कारकको रुपमा देखिएको छ ।

तराईमा गौना प्रथाका कारण चाडै विवाह गर्ने प्रचलन रहेको छ । यसैगरी पश्चिम तथा विभिन्न विकट गाउँहरुमा अझै पनि धार्मिक रुपमा महिनावारी हुनुपूर्व बालिकाको विवाह गर्नाले बाआमा स्वर्ग जान पाउने धार्र्मिक विश्वास रहेको छ ।

पछिल्लो अध्ययनहरुले देखाए अनुसार नेपालमा बालविवाह बढ्नुको एक प्रमुख कारण सूचना प्रविधिको बढ्दो दुरुपयोग पनि हो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, वाइफाई तथा इन्टरनेट मार्फत लुकीछिपी अश्लिल भिडियो हेर्ने, सेयर गर्ने, आदि जस्ता कारणले बालविवाह बढेको तथ्य सार्वजनिक भएको छ ।

अन्धविश्वाससगै बालविवाहको अर्काे मुख्य कारण गरिबी हो । जसले सबै क्षेत्रमा नकारात्मक असर पारेको छ ।

सरकारी तथा गैरसरकारी निकायबाट विगतदेखि नै यो समस्या समाधान गर्न विभिन्न पहल गरेता पनि अपेक्षकृत सुधार हुन सकेको छैन । नेपालका विकट गाउँमा बस्ने अधिकांशको एक छाक टार्न मुस्किल छ । छोराको आशमा धेरै सन्तान जन्माउछन् । जसका कारण परिवारका सदस्य बढ्ने र दैनिक गुजारा चलाउन गाह्रो हुन्छ । छोरीहरुको पढाइ तथा खानामा खर्च हुने भएकोले कम उमेर मै आफ्नो छोरीहरुको विवाह गरी दिन बाध्य हुन्छन् । गरिबीका कारण विवाह कम उमेरमा गर्नुपरेको तथ्य गाउँका कुनाकन्दरामा प्रशस्त भेटिन्छन् ।

नेपालमा धनीहरुको तुलनामा गरिबहरुको र गैरदलितहरुको तुलनामा दलितहरुको विवाह तुलनात्मक रुपमा कम उमेरमा भएको पाइन्छ । यसैगरी छोरीको छिटै विहे नगरिदिए पछि बुढीकन्या बस्नुपर्छ, उमेर ढल्केपछि विहे गर्न केटा पाउन गाह्रो हुन्छ भन्ने डरले पनि कम उमेरमै विहे गरिदिएको पाइन्छ । यी विविध कारणले गर्दा समाजमा बालविवाह एक जटिल समस्याको रुपमा देखिएको छ ।

कानूनी व्यवस्था

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैको लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ ।

२० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनत दण्डनीय हुन्छ । साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले स्वत वदर हुने र कसूर गर्ने व्यक्तिलाई एक वर्ष सम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने भनिएको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले नेपालमा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्य लिएको छ । यी सबै ऐन, कानून, नीति, कार्यविधिको व्यवस्था भएता पनि नेपालमा बालविवाह कम हुन सकेको छैन ।

निराकरणका उपाय

बालविवाह तुरुन्तै अन्त्य हुने विषय होइन । यसको निराकरणका लागि हामी सबैले आफ्नो– आफ्नो स्थान, क्षेत्रबाट जुट्नु पर्ने देखिन्छ । बालविवाहका प्रमुख कारणहरुमा धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिकदवाव आदिलाई मान्न सकिन्छ ।

अहिले पनि हाम्रो हिन्दु धर्ममा कन्याको विवाह महिनावारी हुनु अगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वासका कारण कम उमेर विवाह हुने गरेको पाइन्छ । यसलाई निराकरण गर्न हामीले गाउँगाउँमा सचेतना, तालिम, घरदैलो अभियान आदि गर्न सक्छौं ।

यसैगरी तराईका जिल्लामा अहिले पनि गौना प्रथा प्रचलनमा छ । यसमा केटा केटीको सानो उमेरमा विवाह गरी पछि फेरी उसैलाई विवाह गर्नुपर्ने प्रावधान छ । यसको निराकरणका लागि हामीले यो प्रथा हटाउन विभिन्न किसिमका सचेतना अभियान चलाउनु जरुरी देखिन्छ ।

गरिबीका कारण अहिले पनि छोरीलाई चाँडै विवाहगरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्राउने प्रचलन बढी छ । गरीबी हटाउन विभिन्न आयआर्जन, स्वरोजगार र जनचेतनाका कार्यक्रमहरु गाउँगाउँमा पु¥याउनु पर्ने देखिन्छ ।

त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेर मै विवाह गर्न बाध्य हुन्छन् । तसर्थ उनीहरुलाई वैकल्पिक शिक्षा, प्रौढ शिक्षामा जोड दिनु आवश्यक छ । यसैगरी बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा (१–८) मा पनि यौन शिक्षा दिनु जरुरी देखिन्छ ।

यसका लागि सरकारसगै गैरसरकारी संघसंस्थाहरुले लक्षित वर्गसम्म अझ शसक्त र प्रभावकारी काम गर्न सके बालविवाह कम हुनसक्छ ।

(लेखक जुरी–नेपालमा महिला हिंसा तथा बाल संरक्षण परियोजनामा कार्यरत हुनुुहन्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: