‘दोलखालाई समृद्ध नगर बनाउँछु’


प्रकाशित मिति :2017-05-08 13:11:30

देवकी बुढाथोकी मेयर उम्मेदवार (राप्रपा)

भिमेश्वर नगरपालिका, दोलखा

०४३ मा दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ कार्तिकेमा जन्मनुभएकी देवकी बुढाथोकी राप्रपाको तर्फबाट सो नगरपालिकाको नगरप्रमुखको उम्मेदवार हुन् । महिलालाई राजनीतिक रुपमा स्थापित गर्नु आफ्नो लक्ष्य रहेको बताउने देवकी ०६८ सालदेखि राप्रपाको सदस्य हुँदै राजनीतिमा सक्रिय बन्नुभएको हो । हाल राप्रपाको किसान संगठनको केन्द्रीय सदस्य तथा राप्रपा दोलखाको प्रचार विभाग सदस्य रहेकी अविवाहित देवकी आफू नगरप्रमुखमा विजयी भए समुन्नत नगर निर्माण र महिला सशक्तिकरणको क्षेत्रमा सक्रियतापूर्वक लाग्ने बताउनुहुन्छ ।

भिमेश्वर नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएको छ, कस्तो लागिरहेको छ ?

दोलखाको सन्दर्भमा प्रमुख राजनीतिक दलले कहिले पनि महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छैन । ठूलो दलले महिलाको क्षमताको कदर गर्न नसकेको अवस्थामा पार्टीले मलाई नगरप्रमुखको उम्मेदवार बनाएर जुन सम्मान दिएको छ, यसले मलाई गौरवान्वित बनाएको छ ।

तपाई नगर प्रमुख बन्नुभयो भने के गर्नुहुन्छ ?

राप्रपाको नीति अनुसार संवैधानिक राजतन्त्र र सनातन हिन्दु धर्म मेरो पहिलो लक्ष्य हुनेछ । भिमेश्वर नगरपालिकाको नगप्रमुखमा निर्वाचित भएँ भने नगरभित्र रहेका मठ मन्दिर र देवालयहरुको संरक्षण तथा सम्वद्र्धन गर्नु मेरो प्रमुख दायित्व हुने छ । यहाँको भिमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी, महाङ्काल भगवती, सुन्द्रावती कुण्ड लगायत महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । ती स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकीय केन्द्र निर्माण गर्ने र पर्यटनलाई आर्थिक विकाससँग जोडेर समृद्ध र समुन्नत नगर निर्माण गर्ने मेरो प्राथमिकता हुनेछ । त्यो सँगै नगरलाई जोड्ने सडक निर्माण, ढल, स्वच्छ खानेपानी, सरसफाइ जस्ता कुरा पनि मेरो प्राथमीकतामा पर्नेछ ।

भिमेश्वर नगरपालिकामा फोहर व्यवस्थापन, खानेपानी, भवन निर्माण आचार संहिता जस्ता कुरा चुनौतीको रुपमा रहेको छ त्यसको समाधान के होला ?

निश्चित रुपमा विगतमा स्थानीय निकाय तथा स्थानीय निकायका कर्मचारीहरुको निस्कृयताका कारण नगरको गतिविधिहरु सकारात्मक रुपमा अगाडि बढ्न सकिरहेका छैनन् । भिमेश्वर नगरपालिकालाई व्यवस्थित गर्न सरसफाइलाई ध्यान दिने, खानेपानीको मुहान पहिचान गरी स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने र अहिले मुख्य सडक दायाँबायाँ कति मिटर छोडी घर बनाउने भन्ने समस्या देखिन्छ । म नगरप्रमुखमा निर्वाचित भएँ भने यी कामहरुलाई मुख्य प्राथमिकतामा राखेर तत्कालै समाधान निकाल्ने छु ।

फेरि चुनावकै कुरा जोडौं । स्थानीय तहमा उम्मेदवारको लेखाजोखा गर्दा महिलाको उपस्थिति निक्कै कमजोर देखियो, यसको कारण के होला ?

निश्चय पनि तपाईले सोध्नु भएजस्तै दोलखामा राजनीतिक रुपले हेर्दा महिलाको उपस्थिति कमजोर देखिएको छ । यसले के देखाउँछ भने राजनीतिक दलका नेताहरु अझै पनि महिला नेतृत्व प्रति उदार छैनन् । देशमा राष्ट्रपति, प्रधानन्यायधीश, सभामुख महिला छन् भनेर मात्र समग्रमा महिलाको उन्नति सम्भव छैन । त्यसैले राजनीतिक दलहरुले ग्रामीण तहमा नै महिला नेतृत्व स्थापित गर्न पहल गर्नुपर्छ ।

स्थानीय तहको निर्वाचनमा संविधानले नै केही पदहरुमा महिला अनिर्वाय नगरेको भए राजनीतिक नेतृत्वले महिलालाई प्राथमिकता दिने रहेनछ भन्ने कुरा अहिलेको उम्मेदवारको अवस्थालाई हेर्दा प्रष्ट भएको छ । राप्रपाले जिल्लाको दुई नगरपालिका र एक गाँउपालिकामा महिलालाई प्रमुख बनाउँदा अन्य राजनीतिक दलले बाध्यकारी अवस्थामा बाहेक वडा अध्यक्षमा समेत महिलालाई उम्मेदवार बनाउन नसक्नु विडम्वनापूर्ण छ । अहिले पनि राजनीतिक रुपमा महिलाको उपस्थिति कमजोर हुनुमा राजनीतिक नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति र महिलालाई विश्वास नगर्ने कुरा प्रमुख छ ।

महिलालाई राजनीतिक रुपमा कसरी स्थापित गर्न सकिन्छ ?

पहिलो कुरा त ग्रामीण महिलाहरु अझै पनि चेतनाको हिसाबले पछि नै छन् । जसको मूल कारण शिक्षा नै हो । त्यसैले महिलाहरुको अनिर्वाय शिक्षालाई सरकारले व्यवहारीक कार्यान्वयनमा जोड दिनुपर्छ । दोस्रो, महिलाको प्रमुख काम घरको चुलोचौको नै हो भन्ने पुरुषवादी चिन्तनमा परिर्वतन आवश्यक छ । र तेस्रो, महिलाहरुले पनि आफूलाई कमजोर ठान्ने मानसिकता त्याग्दै म पनि सक्षम छु, पाएको जिम्मेवारी पूरा गर्नसक्छु भन्ने भावनाको विकास गर्नुपर्छ ।

अहिलेको संघिय संरचना अनुसारको स्थानीय तहले महिला नेतृत्वलाई स्थापित गर्न सक्ला त ?
स्थानीय तहमा केही पदहरुको लागि महिला अनिर्वाय गरेकोले धेरै ठाँउमा यसले महिला नेतृत्व स्थापित गर्न सहयोग पुग्नेछ । अब स्थानीय तहमा निर्वाचित महिलाहरुले आफ्नो जिम्मेवारी सचेततापूर्वक पूरा गरी उदाहरणीय काम गरेर देखाउन सके भोलीको दिनमा महिला नेतृत्व स्थापित गर्ने कुरामा समस्या हुने छैन भन्ने लाग्छ ।

प्रस्तुतिः सर्मिला बुढाथोकी/दोलखा

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: