पार्टीको सहयोग पाए महिलाले जुनसुकै पद जित्छन्ः सिर्जना कार्की


प्रकाशित मिति :2017-04-21 15:23:51

नेकपा एमाले दोलखाका नेता सिर्जना कार्की दोलखा तामाकोसी गाँउपालिका प्रमुखको आकांक्षी हुन् । एमाले तामाकोसी गाँउपालिका कमिटीले उनको नाम समेत सिफारिस गरिसकेको छ । जिल्लाका सबैजसो दलका महिला नेताले उपप्रमुखमा दाबी गरिरहेको बेला उनले प्रमुखमा दाबी गर्नुलाई साहसकै रुपमा मानिएको छ । स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी र भूमिका विषयमा महिला खबरले उहाँसँग गरेको कुराकानीको सारांश ।

स्थानीय तहको निर्वाचन नजिकिँदैै छ । यसमा महिलाको कस्तो भूमिका देख्नुभएको छ ?

लामो समयपछि निर्वाचन हुन लागेको छ । यसमा महिलाहरुको भूमिका थुप्रै हुन सक्छन् । पहिलो कुरा जति सक्दो धेरै महिलालाई निर्वाचनमा सहभागी गराउनु हो । यसका लागि महिलामैत्री तथा शान्तिपूर्ण वातावरण सिर्जना गर्नु जरुरी छ । त्यसैगरी, जुन पदमा महिलाको उम्मेदवारी परेको छ, त्यो स्थानका सक्षम र सबल महिलाहरुलाई बिजयी गराउनका लागि पनि महिलाको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

महिलाका लागि स्थानीय संरचनामा अहिले गरिएको व्यवस्था कतिको सन्तोषजनक छ ?  

महिलाहरुले मात्र भनेर नहुने रहेछ । अझै पनि केही कुरा त अपुग छ नै, यद्यपीे प्रमुख वा उपप्रमुखमा महिलाले उम्मेद्वारी दिन पाउने कानुनी कुराले महिलाहरुको उम्मेद्वारी भने सुनिश्चित गरेको छ । यसले कतिपय ठाउँमा महिलाहरुले दाबी गर्न सक्ने अवस्था बनेको छ । अहिले उम्मेदवारको नाम सिफारीस गर्दा के देखिन्छ भने महिला प्रायः प्रमुख भन्दा उपप्रमुखमा मात्र देखिन्छन् । उपप्रमुख पदमा भएपनि महिलालाई राख्ने सुनिश्चित गरे त्यो पदमा महिला आउनुहुन्थ्यो, तर अहिले दुवै पदमा महिलाको सुनिश्चितता देखिँदैन ।

अर्को कुरा नयाँ संरचनामा एउटा वडामा दुई महिलाको उम्मेदवारी सुनिश्चित गरिएको छ, दलित र अन्य महिला । पहिले दलित भनेको ठाउँमा पुरुष पनि आउन सक्थे तर, अब दलित महिला नभएमा ठाउँ नै खाली हुने देखिएको छ । यस्तै गाउँसभा, नगरसभा बन्दा चार महिलालाई लानैपर्छ भन्ने नीतिले गर्दा पनि महिलाको स्थानलाई सुनिश्चित गरेको देखिन्छ ।

सुनिश्चित भएको दलित महिलाको सीटमा कम उम्मेदवारी पर्ने कुरा भइरहेको छ ? कस्तो छ स्थिती ?

दलित महिलाहरुको केही ठाउँमा समस्या होला तर, जसरी उम्मेद्वार नै पाइँदैन भन्ने चर्चा छ, त्यो सत्य होइन । बरु अहिले सबै पार्टीबाट अलि सक्रिय दलित महिलाहरुलाई तानातान गर्ने अवस्था चाँहि आएको छ । हुन त, समग्र महिला नै नदेख्ने आँखाले दलित महिला कसरी देख्छन् भन्ने पनि हो ।

निर्वाचनमा महिला सहभागिताको बारेमा पुरुष नेताहरुको दृष्टिकोण कस्तो पाउनु भएको छ ?

अहिले संविधानमा महिला सहभागिताको बारेमा जे व्यवस्था गरिएको छ, त्यो पुरुष नेतालाई झकझकाएर महिला नेताहरुले नै ल्याएको कुरा हो । हिजोदेखि पद ओगटिरहेका, पाइरहेका, खाइरहेका पुरुषहरुले अहिले उपप्रमुखमा समेत महिलालाई मात्र किन भन्ने खालको भावना पोखेको पनि सुनिन्छ । दोलखामा चाँहि उपप्रमुखमा मात्र महिला सिमित हुन्छन् की भन्ने पनि छ । पुरुषको दृष्टिकोण मिश्रित भएर आएको मैले महशुस गरेकी छु । कोही पुरुष नेता अवसर पाए गर्नसक्ने  रचनात्मक क्षमता भएका महिला देख्छन्, कोही महिलाले केही गर्न सक्दैनन भन्ने सोचाइ भएका पनि छन् । तथापि, चुनावमा उठ्दा पार्टीबाट जुनसुकै पदमा उम्मेदवार बनाए पनि पार्टी लाग्यो भने महिलाहरुले चुनाव सजिलै जित्छन् ।

निर्वाचनमा महिलाहरुको नेतृत्वदायी उपस्थिती छैन भन्ने सुनिन्छ नी !

होइन । मैले चाँहि यसलाई फरक तरिकाले हेरेकी छु । भन्नुको मतलब, महिलाहरु किन घरमा नै बसी रहे, महिलाहरुको क्षमता के कारणले लुक्यो, अहिलेसम्म कस्ले खोजी गर्यो भन्ने पनि महत्वपूर्ण छ । महिलामा अथाह शक्ति र क्षमता छ तर तिनलाई मापन गर्ने यन्त्र चाहिँ के त ? भन्ने पनि हो । अवसर नपाएकै कारण महिलाहरु बाहिर नआउनु भएको हो । यसले गर्दा पुरुषको नजरमा अग्रभागमा महिला देखिएनन्, त्यसैले महिला नै छैनन् भन्ने भ्रम पनि छ  ।

मैले हेर्दा, जिल्लामा थुपै्र क्षमतावान् महिला नेताहरु हुनुहुन्छ । पार्टीकै झण्डा बोकेका वा संगठित भएका महिलाहरु केही कम छन्, यसलाई स्वीकार्नुपर्छ । हिजो अवसर थिएनन्, सबै महिला लाग्न सक्नु भएन तर, यसैलाई समस्या मान्नुहुन्न भन्ने लाग्छ । अहिले प्रत्येक गाउँमा चार, पाँच जना महिलाहरुले प्रमुख÷उपप्रमुखमा दाबी गरिरहनु भएको छ । नगरमा मात्रै नौ जना महिलाले उपप्रमुखको लागि दाबी गरेका छन् । अनि कसरी मुल्याङ्कन गरिन्छ, महिलाको नेतृत्वदायी उपस्थिती भएन भनेर ? यो चाँहि यस्तो भन्नेहरुका लागि मेरो प्रश्न ।

त्यसोभए, उपप्रमुखमा मात्र महिलाको दाबी किन त ?

प्रमुख पदमा धेरै पुरुष आकांक्षी हुने भएकाले उपप्रमुख पद चाँहि सुरक्षित हुन्छ भन्ने मनसायले त्यस्तो भएको हो । त्यस्तै, उपप्रमुख चाँहि महिलाकै लागि हो भन्ने भ्रम चाँहि धेरै महिला पुरुषमा छ । केही ठाउँमा महिलाहरुले प्रमुखमा दाबी गरेका पनि छन् । जस्तो, म तामाकोशी गाउँपालिकाको प्रमुख पदकै लागि दाबी गर्छु तर, यो एउटा नाम दर्ज गराउनुमै सिमित हुन पनि सक्छ । किनभने, पहिलो चरणबाट पुरुषहरु राजनीति गर्दै आए भने दोस्रो चरणबाट महिलाहरु आए । यसले गर्दा पार्टीमा अग्रज भन्ने कुरा आउनु स्वभाविक पनि हो । यसमा पार्टीको दायरा हुन्छ नी ! तर, अहिले महिलाहरुले जुन अवसर प्राप्त गर्नु भएको छ, यसैको कारणले अबको पाँच वर्षमा थुप्रै महिला प्रमुख पदमा देखिनुहुनेछ भन्ने मेरो विश्वास छ ।

चुनाव जित्ने कुरालाई प्रायः साम, दाम, दण्ड र भेदका कुरासँग जोडेर हेर्न थालिएको छ । यसलाई के भन्नुहुन्छ ?

यो प्रश्न पछिल्लो अवस्थामा वास्तविकता भित्र पर्छ । यदि सक्षम नेता छ भने उसलाई पैसा र बलसँग दाँजेर हेर्नुभएन भन्ने म सर्वसाधारणलाई आग्रह गर्छु । यी कुरा भन्दा पनि म अहिले महिलाले उत्साहपूर्वक चुनावमा सहभागिता जनाइरहेकोमा खुसी छु । किनकी, यसपालि कुनै न कुनै ठाउँमा महिलाहरुले जित्नुहुन्छ । यस्तै, यसपालीको चुनावमा खर्च पनि कम हुन्छ भन्ने मेरो आंकलन छ । महिलाहरु धैरे खर्च गर्दैनन् र गर्न पनि सक्दैनन्, यो कुरा सत्य हो । महिलाहरुले जनताको मन जितेर भोट जित्नुहुन्छ । यसैले अब चाहिँ आर्थिक चलखेल गरेर जनताको मन जित्नेहरुलाई महिला नेतृत्वले केही पाठ सिकाउँछ भन्ने मैले बुझेकी छु । यो कुरामा महिलालाई पार्टीले पनि सहयोग गर्नुपर्छ ।

प्रस्तुतीः सर्मिला बुढाथोकी/दोलखा

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: