अपांगता भएका महिलालाई अवसरको खाँचो छ: टीका दाहाल


प्रकाशित मिति :2017-04-14 19:57:09

टीका दाहाल, राष्ट्रिय अपांग महासंघका उपाध्यक्ष, नेपाल अपांग महिला संघको संस्थापक उपाध्यक्ष र हाल संघभित्र सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्छ । यसबाहेक उहाँ युएन वीमेन नेपालको नागरिक समाज सल्लाहकार समूहको सदस्य तथा एसिया प्रशान्त क्षेत्रीय सञ्जालको संस्थापक समेत हुनुहुन्छ । उहाँले विगत दुई दशकयता आफूजस्तै अपांगता भएका महिलाका समस्या र उनीहरुका हक अधिकारका लागि पैरवी गर्दै आउनुभएको छ । दाहालसँग अपांगता भएका महिलाको सवाल र स्थानीय निर्वाचनमा उनीहरुको सरोकारका सम्बन्धमा गरिएको कुराकानीको सारांश ।

शारिरीक रुपमा अशक्त भएपनि यतिधेरै जिम्मेवारी सम्हाल्नुभएको रहेछ ? संघर्ष कस्तो रह्यो ?

निश्चय पनि, अहिलेको सफलताको पछाडि मैले गरेको संघर्षको पृष्ठभूमि लामो छ । अपांगता भएका व्यक्ति सबैलाई दैनिकी चलाउन समस्या हुन्छ । त्यसमा पनि, म महिला भएकाले व्यक्तिगत र सामाजिक जीवनमा निकै कष्ट हुनु अस्वभाविक थिएन ।

मोरङ्गमा हुँदा मैले निकै कष्ट भोग्नुपर्यो, दुःख पनि त्यस्तै । मैले आफ्नो पढ्ने चाहनालाई निरन्तरता दिन सकिनँ । गाउँ समाजले म माथि गर्ने व्यवहारले मलाई निकै निराश बनाउने गथ्र्यो । त्यो निराशा बढ्दै जाँदा म अब केही गर्न सक्दिन जस्तो हुन्थ्यो । त्यस्तैमा, एकदिन मैले काठमाडौंमा निःशुल्क कम्युटर पढाइ हुन्छ भन्ने सुनें । पढ्न पाउने लालसाले मलाई उक्सायो । त्यसमाथि त्यहाँ चिनेजानेकै मानिसबाट अपहेलित भएर बस्नुभन्दा काठमाडौं गएर केही सिक्नुपर्छ भन्ने हिसाबले मैले घर छोडें ।

यता आएपछि मैले थुप्रै संभावना र अवसर देखें । यद्यपि, घर छोडेपछि काठमाडौंमा टिक्न धेरै संघर्ष गर्नुपर्यो । यहाँ छुट्टै खालको तर कठोर संघर्ष थियो । आफैंले कमाउनु पर्ने, पैसा नहुँदा भोकै बस्नुपर्ने जस्ता समस्या हुन्थ्यो । यसै सिलसिलामा ०५४ सालमा म र म जस्तै ७ जना साथी मिलेर नेपाल अपांग महिला संघ स्थापना गर्यौ । यसपछि म निरन्तर अपांगता भएका महिलाका हकअधिकारका बारेमा आवाज उठाउन सक्रिय छु ।

कामको दौरानमा तपाइँले सम्मान पनि पाउनुभएको छ ?

पाएकी छु । हालसालै मात्र हङकङको ‘नेपाली महिला संघ हङकङ’ र गैरआवासीय नेपाली संघले मलाई अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘वुमन अफ दि इयर’ बाट पुरस्कृत गरेको थियो । त्यसैगरी २००८ मा युनिभर्सल पीस फेडेरेसनले शान्ति राजदूतका रुपमा सम्मान गरेको थियो । यस्तै, २०७१ मा राष्ट्रिय अपाङ्ग कोषको राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाएकी छु ।

अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहार कस्तो पाउनुभएको छ ?

विगतमा धेरै नै गाह्रो थियो । अपाङ्गता भएका व्यक्तिलाई काठमाडौंमा डेरा नपाइने, घरबेटीले पैसा तिर्न सक्दैन भनेर कोठा नदिने, अपाङ्गता भएका व्यक्तिलाई देख्यो भने अशुभ हुन्छ भनेर हेयको दृष्टिले हेर्ने जस्ता समस्या हुन्थ्यो । त्यस्तै सानो, अँध्यारो कोठामा बस्नुपर्ने, चर्पी अपांगमैत्री नहुने र विभिन्न मानसिक, शारिरीक हिंसा र दुव्र्यवहार सहनुपर्ने अवस्था थियो । रहँदा, बस्दा म जस्ता धेरै दिदीबहिनीसँग भेट भयो । यसपछि अपाङ्गता भएका महिलाको अधिकारको लागि लड्नुपर्छ भन्ने सोच आयो र काम गर्ने प्रेरणा मिल्यो । त्यसपछि संगठित भएर अधिकारका आन्दोलन सुरु गरियो ।

अहिले हाम्रो मात्र होइन, हामीले गरेको कामको पनि महत्व हुन थालेको छ । हामीले गरेका विभिन्न आन्दोलनको परिणाम स्वरुप कानुनी रुपमा अपांगता भएका व्यक्तिका लागि धेरै व्यवस्था भएको छ । अपांगता भएका व्यक्तिले भत्ता, परिचयपत्र, निःशुल्क शिक्षा, लोकसेवामा आरक्षण जस्ता महत्वपूर्ण अधिकार प्राप्त गरेका छन् । ०७२ को संविधानले अपांगता भएका व्यक्तिहरुलाई राजनैतिक अधिकार समेत दिएको छ । राष्ट्रियसभा र प्रदेश सभाको हकमा अपांगता भएका व्यक्तिलाई अनिवार्य स्थान दिनुपर्ने व्यवस्था लागू भएको छ । सार्वजनिक भवन, बाटो अपांगमैत्री बनेका छन् ।

अपाङ्गता भएकामध्ये पनि महिलाको समस्या कस्तो रहेको छ ?

महिलाको समस्या फरक र जटिल खालको छ । अपाङ्गता भएका महिलालाई सुरुमा त घरभित्रैबाट विभेद गरिन्छ । परिवारले उनीहरुको शिक्षा, स्वास्थ्य र आवास जस्ता कुराहरुमा ध्यान दिएको पाइँदैन । उनीहरुप्रति घरकै सदस्यको पनि सकरात्मक सोच हुँदैन ।

घर बाहिर पनि अपांग भनेर विशेष व्यवस्था छैन ।  जस्तो कि, क्याम्पसमा निःशुल्क भनेपनि भर्ना नलिने, निजी क्याम्पसले भर्ना गर्न नमान्ने, रोजगारी नपाउने, विभिन्न हिंसा गर्ने, हुर्किदै जाँदा बलात्कारको जोखिममा पर्ने जस्ता अत्याधिक छन् । यसमाथि अपांगता भएका महिला नेतृत्व तहमा छैनन् । अपांगता भएका महिलाको हक अधिकारको माग गर्ने महिला नै कम छन् । राजनीतिक दलहरुले पनि अपांगलाई दौडिन सक्दैन, गाउँगाउँमा जान सक्दैन भनेर सहभागिता गराउँदैनन् ।

अर्को समस्या भनेको विवाह नहुनु हो । अपांगता भएका व्यक्तिमा यौन चाहना हुँदैन भन्ने सोच छ, जुन गलत हो । केहिगरी विवाह भइहालेपनि उसको भावना मिल्नेसँग नहुनु, श्रीमानले अर्को विवाह गर्ने जस्ता समस्या पनि छन् ।

आर्थिक समस्या र सहाराको अभाव अपांगता भएका महिलाको जटिल समस्या हो । सरकारले सहारा दिने व्यक्तिलाई पनि भत्ताको व्यवस्था गरेको भए अपाङ्गता भएका महिलाले हेपिनुपर्ने थिएन । त्यस्तै, अपाङ्गता भएका महिला पुर्नस्थापित हुन नसक्नु पनि एकदमै ठूलो समस्या भइरहेको छ । खासगरि, बलात्कारमा परेका अपांग महिलालाई घरले पनि स्वीकार नगर्ने समाजले पनि नगर्ने देखिन्छ ।

अपाङ्गता भएका महिला कत्तिको जोखिममा छन् ?

जोखिममा छन् । खासगरी बौद्धिक र बहिरा अपांगता भएका महिला बेचबिखनको जोखिममा पर्छन् । केहि पुरुषले बहिरा महिलालाई दुर्व्यवहार गर्ने, सांकेतिक तरिकाले अनुचित व्यवहार गर्ने गरेको पनि भेटिन्छ । यौनसँग सम्बन्धित सांकेतिक संकेत नबनेको हुँदा बहिरा महिला दुर्व्यवहारमा परेका घटना धेरै छन् । उनीहरु बेचबिखनमा समेत परेका छन् ।

स्थानीय तहको निर्वाचनको माहौल छ, अपांगता भएका महिलाको तयारी कस्तो छ ?

तयारी नै छैन भन्दा पनि हुन्छ । किनकी, अपांगता भएका व्यक्तिलाई आरक्षण छैन अनि, त्यसमा महिला पर्ने कुरा नै छैन । अपांगता भएका महिला जिल्लामा सक्रिय छन् । अवसर पाएमा उनीहरु स्थानीय तहको निर्वाचनमा  नेतृत्व लिन पनि तयार छन् । अहिले आरक्षणको बुझाई भने अर्कैै हिसाबले भइरहेको छ । जस्तो, महिला, दलित, मधेशी, अल्पसंख्यक सबैभित्र अपांगता भएका व्यक्ति हुन्छन् तर, समावेशीताको अर्थ बुझाउन सकिएको छैन । हामी यो कुरा सरकारी निकाय, दल लगायत निर्वाचन आयोगलाई पनि पटक पटक भनिरहेका छौं तर, उनीहरु यसलाई स्वीकार्न तयार छैनन् ।

हामी अहिले राजनीतिक दलरुहलाई भेटेर समावेशी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दबाब दिँदै आइरहेका छौं । निर्वाचन पक्षपाती तरिकाले नगर्न अनुरोध गरेका छौं । यसका साथै अपांगता भएका व्यक्तिको पनि निर्वाचनमा अहं भूमिका हुने भएकोले उनीहरुको लागि विभिन्न जिल्लामा मतदाता शिक्षा सम्बन्धी तालिम दिइरहेका छौं ।

अब बन्ने स्थानीय सरकार निकै अधिकार सम्पन्न हुँदैछ, त्यो स्थानीय सरकारमा तपाइँहरुको सरोकार चाँहि के हुने हो ?

अपाङ्गता भएका व्यक्तिलाई समावेशीताका आधारमा हरेक ठाउँमा स्थान दिनुपर्छ । निःशुल्क शिक्षा, भौतिक संरचना, प्रत्येक प्रदेशमा पुनस्र्थापना केन्द्र, प्रत्येक प्रदेशमा अपांग आयोग र अपांगता प्रतिष्ठान हुनुपर्छ भन्ने हाम्रो जोड हो । जिल्लामा अपांगता समन्वय समिति स्थापना गर्नेबारे पनि राजनीतिक दल र उम्मेदवारलाई झकझक्याई रहेका छौं ।

अपाङ्गता भएका व्यक्तिले चाहेको नेतृत्व कस्तो हो ?

अपाङ्गता भएका व्यक्तिका सवाल उठाउने, त्यसलाई कार्यान्वयन गर्ने, सकारात्मक सोच राख्ने, शसक्तिकरण गराउने, तालिमको ग्यारेन्टी गर्ने, हिंसामा परेका अपांगता भएका महिलालाई पुर्नस्थापित गर्ने वातावरण बनाउने, निःशुल्क शिक्षालाई कार्यान्वयन गर्ने, अपाङ्गमैत्री विद्यालय बनाउने, बस, बाटोघाटो, अस्पताल तथा किनमेल गर्ने स्थान लगायत सार्वजनिक क्षेत्रमा अपांगतामैत्री संरचना बनाउने प्रतिवद्ध व्यक्ति नै हामीले चाहेको नेतृत्व हो ।

निर्वाचनलाई अपांगमैत्री बनाउन के गर्नुपर्ला ?

०७० मा भएको संविधानसभाको निर्वाचनमा ५० वटा मतदान केन्द्र अपांगमैत्री थिए । अब यसलाई अपाङ्गता भएका व्यक्तिका ह्वीलचियर समेत जान सक्ने किसमले तयार गर्नुपर्छ ।

सुस्त श्रवण भएकाको लागि हरेक बुथमा सांकेतिक भाषाको व्यवस्था हुनुपर्दछ । उनीहरुलाई यसरी भोट हाल्नुहोस्, यता जानु, यता निस्कनुहोस् भन्ने जस्ता साँकेतिक भाषाको प्रयोग गरिदाँ राम्रो हुन्छ । साथै उहाँहरुलाई यस सम्बन्धी अभिमूखीकरण पनि दिनुपर्ने आवश्यकता देखेकी छु । जसले गर्दा उनीहरुले चाहेको व्यक्तिलाई भोट हाल्न सकुन् । तर, राजनीतिक दलहरुले पनि हेपेर बोल्ने, अपमानजनक सूचकहरु प्रयोग गर्ने कुराले अपांगता भएका व्यक्ति हतोत्साही हुन्छन् । यसैले हामीलाई हौसला प्रदान गर्ने व्यवहार गर्न समेत आग्रह गर्छु ।

यसका अलावा, निर्वाचन आयोगले अपांगता भएका व्यक्तिलाई निर्वाचन स्थलसम्म ल्याउने लैजाने गाडीको व्यवस्था, सहयोगीको व्यवस्था आदि गर्नुपर्छ । यस्तै, भाषागत समस्या भएका, देख्न नसक्नेहरुका लागि पर्चा पम्पलेटहरु, सूचनाका सामाग्रीहरु, प्रशारण तथा प्रकाशन गर्ने भनिएको छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

प्रस्तुति : खेमा बस्नेत / सन्दीप विक

    Comment Here!

Related NEWS
मुख्य खबर

बन्दाबन्दीः सम्बन्ध प्रगाढ बनाउने अवसर – मनोविद्, विपिन थापा

यस्तो बेलामा विशेष गरि मनमा आत्महत्याको सोचहरू आउने लक्ष्णहरू पनि देखिन्छ ।

हेलिन बोलेकको अनशनको २८८ औं दिनमा निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं

सिमानामा क्वारेन्टाइन

-बिमला खड्का- मलाई लाग्थ्यो सङ्कट मडारिएको बेला कसैले सम्झिने छ -जस्तो कि सरकार !

महिला र बालिकालाई हिंसाबाट बचाउन सरकारलाई सुझावसहित अपिल

–महिला खबर– ललितपुर । कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दिमा महिला र बालिकालाई हिंसा एवं

लकडाउन र ‘धर्ती’ हिंसा

देबका के.सी यही मौकामा महिला हिंसाका घटनाहरू भने अकल्पनीय तरिकाले बढेको बढ्यै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: