चुनौतीले हिम्मत दियो र ‘इति’ लेखें:उमा सुवेदी, उपन्यासकार


प्रकाशित मिति :2016-09-10 10:00:31

पाँचथरमा जन्मेर झापामा हुर्केकी उमा सुवेदी यतिखेर काठमाडौंमा बसेर लेखनमा सक्रिय छिन् । सुवेदीले २०६७ सालमा ‘तप्किएर अन्जुलीमा’ गजलसंग्रहबाट लेखनमा औपचारिक शुरुवात गरेकी थिइन् । पत्रपत्रिकामा समसामयिक विषयका लेख र निबन्ध लेखनमा पनि सक्रिय सुवेदीको गीतिसंग्रह ‘तिर्सनाका छालहरू’ (२०६८) र उपन्यास ‘तोदा’ (२०७०) प्रकाशित छन् । यही भदौ ३० गते उनको दोश्रो उपन्यास ‘इति’ सार्वजनिक हुँदैछ । प्रस्तुत छ सुवेदीको उपन्यास इति र नेपालमा महिलाको लेखनबारे महिला खबर डट कम का लागि सावित्री गौतमले गरेको कुराकानी ।

दोस्रो उपन्यास इति छिटै आउँदैछ , नर्भस हुनुहुन्छ कि उत्साहित ?

पहिलो उपन्यास तोदा रहरै रहरमा लेखियो र निकै चर्चा समेत बटुल्न सफल भयो । त्यही चर्चाका कारण चुनौती थपियो । चुनौतीले निकै हिम्मत दियो । त्यही हिम्मतले इति लेख्न सफल भएँ । त्यसैले म पटक्कै नर्भस भएकी छैन । एकदम उत्साहित छु ।

उपन्यासको नाम इति राख्नु भएको छ । इतिको अर्थ त अन्त्य , यही नाम छान्नुको कारण चाहिं ?

हो । इतिको अर्थ अन्त्य नै हो ।  राज्यलाई सामान्य जस्तो लाग्ने एउटा गाउँको समस्या र त्यही समस्याका कारण त्यहाँको  आर्थिक, सामाजिक अनि साँस्कृतिक पक्षमा परेको असर उपन्यासको केन्द्रीय विषय हो । नाम कति सान्दर्भिक भयो भनेर बुझ्न त उपन्यास नै पढ्नु पर्ने हुन्छ ।

उपन्यासको विषय चाहिँ के हो ?

दामाटार नामक गाउँको बस्तीविकास, त्यहाँको अर्थशास्त्र, त्यसपछि त्यही बस्तीको विनाश र त्यसबाट सिर्जित सामाजिक, मानवीय र आर्थिक विचलनको पीडालाई मसिनो ढङ्गले केलाउने प्रयास गरेकी छु । गाउँमा व्याप्त हात्ती आतङ्क, त्यही आतङ्कलाई भजाएर केही सीमित व्यक्तिले गरिरहेको राजनीति र त्यही कारणले सुरू भएको सुपारी तस्करीले जन्माएको समस्यालाई इतिमा एउटा मुद्दाको रुपमा उठाएकी छु ।

तोदामा तपाईँले गर्नुभएको प्रयोगको चर्चा भएको थियो । इतिमा पनि कुनै नयाँ प्रयोग गर्नु भएको छ ?

सम्भवतः तपाईँले तोदाको कथावाचन पद्धतिप्रति लक्षित गरेर यो प्रश्न गर्नु भएको हो । मैले प्रयोगका लागि नै प्रयोग भनेर गरेको होइन , गर्न रुचाउन्न पनि । त्यो मेरो कथावाचनको आफ्नै तरीका हो । उपन्यास मसिनो गरी पढ्नु भयो भने यसमा पनि मैले कथावाचनको पृथक स्वाद दिने प्रयास गरेकी छु । प्रयोगको तरीका र सीमा उपन्यासको विषयले आफै निर्धारण गर्ने कुरा हो । विषय नै कमजोर भयो भने जति नै प्रयोग गरेपनि अर्थ हुँदैन । त्यसैले इतिमा मैले विषयलाई बलियो बनाउने प्रयास गरेकी छु ।

आजकलको लेखनमा सबभन्दा चर्को गरी उठ्ने विषय हो रिसर्च । इतिका लागि कस्तो प्रकारको र कति समयको रिसर्च गर्नु भयो ?

इन्टरनेटको समय हो यो । लेखकले ढाँटेर एक लाइन पनि लेख्न सक्दैन अब । पाठकलाई सानो कुरामा शंका लाग्ने बित्तिकै गुगल सर्च गर्न थालिहाल्छन् । कुनै ठाउँको बारे लेखेको छ भने त्यो ठाउँ आफै घुमेर पनि पाठकले लेखकको छिद्र पत्ता लगाइहाल्छन् । त्यसैले रिसर्चबिना साहित्य लेख्ने हिम्मत कसैले पनि नगरे हुन्छ । इति पनि एउटा अनुसन्धानात्मक उपन्यास हो । यस्तो प्रकारको उपन्यासका लागि रिसर्च नै महत्वपूर्ण हुन्छ । म झापाको बुधबारेमा हुर्केकी हुँ । इतिको विषय बुधबारेकै छिमेकी गाउँ र त्यस वरपरको भएकाले र इँटाभट्टामै मेरो माइतीघर (हालको बसोबास) भएकाले केही हदसम्म सजिलो पनि भयो । मैले सानैदेखि देख्दै -सुन्दै आएको विषय भए तापनि कतिपय कुराहरूको मिहिन अध्ययन र अनुसन्धानका लागि पटकपटक बाहुनडाँगी  र आसपासका गाउँहरू चहारेँ । उपन्यास लेख्ने क्रममा कतिपय स-साना कुराले पनि कथा बीचैमा रोकिदिने रहेछ । तीन वर्ष लाग्यो इति तयार हुन  । यी तीनवर्षको अवधिमा मैले आफूलाई लेखन र रिसर्चकै पछि-पछि दौडाएँ ।

घर छाडेरै , वनपाखा वा गाउँबेसी घुमेरै लेखन राम्रो हुने हो ? वा दैनिक जीवनमा बिहान-बेलुका हिँड्दा देखिने घटना र परिवेशका विषय/प्रसंग उठाइएको लेखन पनि उत्तिकै बलियो हुन्छ ?

दैनिक जीवनमा देखिने घटनाहरूलाई हामी एक चरणसम्म लेख्न सक्छौँ । तर ती विषयहरूलाई सँधै दोहोर्याउन त सक्दैनौं नि । विषय बलियो होस् र नदोहोरियोस् भन्ने सबै लेखकले सोचेकै हुन्छ जस्तो लाग्छ मलाई । स्थलगत भ्रमण लेखकका लागि निकै महत्वपूर्ण खुराक हो । वनपाखा, गाउँ-बेसी या नयाँ ठाउँ घुम्दा नयाँ नयाँ विषय फेला पर्दछन् । नयाँ परिवेशमा  पात्र पनि नयाँ जन्मिन्छन् र तिनीहरूले एउटा नयाँ खाले घटना सृजना गरिदिन्छन् । लेखकको लागि त्यो साह्रै उपयोगी हुन्छ ।

नेपालका महिला लेखक राम्रो लेख्दैनन् भन्ने चर्चा बेलाबेला चल्छ र यसमा तपाई पनि समर्थन नै गर्नु हुन्छ भन्ने सुनिन्छ ?  हो ?

एकदमै गलत सुन्नु भएछ । बजारको हल्लाको पछि नलाग्नुस् । बजारले जे पनि भन्छ । महिलाले राम्रो लेख्दैनन् भन्ने कुराको मैले कहिल्यै पनि समर्थन गरिनँ  । बरु महिलाले अझ राम्रो लेख्न सकुन् भनेर र  उनीहरूको लेखनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर सन्चालन गरिएको ‘आह्वान’ समूहका अभियन्ता मध्ये एक म पनि हुँ । तर महिला लेखनको नाममा संङ्ख्या मात्र नथपियोस् , एकालापमात्र नआओस् – अब महिला लेखकले चुनौतीपूर्ण विषयमा पनि लेख्ने हिम्मत गर्नुपर्छ भन्ने मेरो आशय हो । मैले यो लेख्दा मेरा छोरा-बुहारी, सासु-ससुरा, श्रीमान वा अन्य आफन्त रिसाउलान् वा समाजले के भन्ला भनेर आफूले लेख्न सक्ने कुरामा पनि ‘सेल्फ सेन्सरसिप’ लगाउनु भएन । हामीसित भन्नका लागि धेरै कुरा छन् । लेखकले डराएर, अड्कलेर बोल्ने र लेख्ने पनि त हैन नि  ।

‘महिलाले बोल्ड हुने नाममा महिनावारीका कुरा मात्र लेखे रिसर्च गरेनन्’ भनेर आफ्नो एउटा लेखमा उल्लेख गर्नु भएको थियो । यस्तो कुराले त बडो मुस्किलले लेखनमा आफ्नो उपस्थिति देखाइरहेका महिला लेखकलाई हौसला दिनुको सट्टा उल्टो तेजोवध गर्छ नि , हैन र ?

केही समयअघि कान्तिपुर कोसेलीमा एकसय चालीस अक्षरका पुरुषहरू’ शीर्षकको लेखमा मैले जे भन्न खोजेकी छु , त्यसलाई केही साथीले गलत तरीकाले बुझिदिनु भयो । उक्त लेखको आशय थियो पुरुषले राम्रा लेख्ने महिलालाई पनि अवसर दिएनन् भन्ने । त्यसै क्रममा पुरुषप्रति व्यंग्यात्मक किसिमले लेखेको एउटा वाक्यको आसय महिलाले महिनावारीका कुरा लेख्नु हुन्न भन्ने हुँदै हैन । मैले आफैँ कति ठाउँ महिनावारीका कुरा लेखेकी छु र इतिमा पनि महिनावारीको एउटा प्रसंग राखेकी छु । महिनावारीका कुरा आउनुपर्छ । महिनावारीलाई पाप सम्झेर महिनावारी भएका महिलालाई छाउ गोठमा राख्ने , छि : छि दुरदुर गर्ने आदि कार्य जबसम्म नेपालमा रोकिँदैन तबसम्म यस्ता विषयमा लेखिरहनु पर्छ भन्ने लाग्छ मलाई  । तर यसको मतलव हामीले त्यही कुरालाई मात्र पनि लेख्ने हैन । हामीसँग लेख्ने धेरै अरु विषय पनि छन् । समाजका कुरा, महिला हुनुकै पछाडि सामाजिक संरचनाले निम्याएका समस्याका कुरा , राज्यव्यवस्थाका कुरा र सामाजिक विसंगतिका कुरा आदिलाई पनि हामीले हाम्रो लेखनको मूल मुद्दाका रुपमा उठाउन सक्नु पर्छ । र यी सबै मुद्दाहरूलाई लेखनको विषय बनाउन गहिरो रिसर्चबिना सम्भव पनि छैन । केही साथीले त यी विषयमा आफ्नो कलम बलियो किसिमले दौडाउनु भएको  छ । त्यस्तो देख्दा असाध्यै खुसी लाग्छ मलाई  । महिलाले राम्रो लेख्दैनन् भन्नेहरूका लागि लेखेर देखाउनु बाहेक अर्को विकल्प पनि छैन । कलमको ताकत नै उनीहरूको मुख बन्द गर्ने हतियार हो । खासमा हामी लेखनमा अझ बोल्ड हुन थालौं , विषयवस्तु चयनको दायरा अझ वृहत र फराकिलो बनाउँ भन्न खोजेको हो मैले ।

लेखकको रुपमा आफ्नो उपस्थितिलाई सार्वजनिक वृत्तमा कतिको स्वीकारिएको पाउनु हुन्छ ?

ठीकै पाउँछु । सबैको एउटा गुट हुने रहेछ । मेरो कुनैपनि त्यस्तो गुट छैन । महिला हुनुकै कारण पछाडि पारिएका केही उदाहरण पनि छन् । महिलाको हस्पक्षेपकारी उपस्थिति सहन अहिले पनि समाजलाई गाह्रो नै छ । महिलाको लेखनमा गुणवत्ता नदेख्नु , राम्रो लेखकले आफ्नो लेखनलाई ‘मैले नै लेखेको हो’ भनेर सिद्ध गर्न पटक पटक परीक्षा दिइनुपर्ने स्थिति देख्दा भने दिमाग रनन्न भएर आउँछ । मैले सार्वजनिक वृत्तमा स्पेस नपाएकै पनि हैन । तर तोदा एउटा पुरुष लेखकले लेखेको भए अझ धेरै स्पेस पाउने थियो, यो पक्का हो । मलाई मेरो निष्ठापूर्ण लेखनमा विश्वास छ । आज नभए भोली पालो मेरो पनि आउँछ भन्नेमा आश्वस्त छु । मेरो कृतिमार्फत मेरा पाठकहरूसँग सम्वाद त भैहाल्छ भन्ने कुरामा विश्वस्त पनि छु । म मात्र किन जति पनि महिलाले लेखिरहेका छन् तिनका लेखनले पुरुष लेखकसरह चर्चा पाएका छैनन् ।  महिलाका राम्रा कृति आउँदा पनि मिडियाले वास्ता नगरेका उदाहरण प्रशस्त छन् । भन्न त भनिन्छ साहित्य लिंग हेरेर पढिँदैन, तर यो त भन्ने कुरा न हो । समाजको मुख दुईटा छ । एउटाले मञ्चमा फलाक्छ , अर्काले चिया गफमा बान्ता गर्छ । फलाक्नु र बान्ता गर्नुबाहेक निष्पक्ष बोल्नेहरू कमै भेटिन्छन् । तर हाम्रो लडाइँ जारी राख्नुको विकल्प छैन ।

यतिखेर नेपालको लेखनमा महिलाको उपस्थिति कतिको हस्तक्षेपकारी छ जस्तो लाग्छ ? अझै हस्तक्षेपकारी बनाउन के के गर्नु पर्ला ?

संख्यात्मक रुपमा पुरुष लेखकका तुलनामा महिला लेखक कमै छन् । तर गुणात्मकताको कुरा गर्ने हो भने पुरुष लेखककै हाराहारीमा महिला लेखकहरूले आफ्नो बलियो उपस्थिति देखाइरहेका छन् । अहिले वानिरा गिरी, भुवन ढुंगाना, माया ठकुरीदेखि शारदा शर्मासम्मका अग्रज अनि आन्विका गिरी,  कुमारी लामा,  मनीषा गौचन, सरिता तिवारी, सरस्वती प्रतीक्षा,  सीमा आभाष, ज्योति जंगल,  विना तामाङ,  विमला तुम्खेवा, शकुन्तला जोशी र अरु पनि थुप्रै अनुज पुस्ताका महिला लेखकको लेखन निकै बलियो र हस्तक्षेपकारी नै लाग्छ मलाई ।

आख्यानमा होस् या गैरआख्यानमा – महिलाको उपस्थिति एकदमै बलियो गरी आएको छ । पारिजात एक्लैले धानेको महिला लेखनको मार्गमा अब धेरै पारिजातले हिंड्न शुरु गरिसकेका छन् । अध्ययन  र अनुसन्धानको दायरा फराकिलो पार्दै जानका लागि अंकुशविनाको घरायसी र सामाजिक वातावरण, पुरुषसरह मान्यता र उनीहरूकै जस्तो स्वतन्त्रता दिने हो भने महिलाको लेखनमा अझ निखार आउने थियो । तर स्वतन्त्रता मागेर पाउने कुरा हैन । त्यसका लागि हामीले झगडा-हल्ला गर्नुपर्ने स्थिति अझै बाँकी छ । तापनि हस्तक्षेपकारी उपस्थितिका लागि जरुरी भनेको हस्तक्षेपकारी लेखन नै हो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: