यसरी महिलाले पढ्न र भोट हाल्न पाए


प्रकाशित मिति :2016-02-19 10:23:00

शान्ता श्रेष्ठ

काठमाडौ । एक्लै घरबाट बाहिर निस्कने अनुमति नभएको बेला राणा विरुद्धको क्रान्तिमा होमिनु नै महिलाको लागि सबैभन्दा ठूलो संघर्ष थियो ।  अर्को कुरा थियो, छोरीलाई पढाउनै हुँदैन । राणाले राम्री केटी र बुहारी देख्न हुँदैनथ्यो । लौके लगाएर महिलालाई उठाउँथे । चाकडी गर्न कतिपय मान्छेहरू बक्सीसको लागि आफ्ना छोरी र श्रीमती राणालाई नजराना दिन्थ्ये । राणाको अगाडि कसैको केही चल्दैनथ्यो । बोल्यो कि काटेर फालि दिन्थ्ये ।

महिला राणा विरुद्ध लड्नका लागि संगठित त भए तर उनीहरुसंग बिस पैसा लेवी तिर्नेे हैसियत थिएन । पढ्नै नपाउने महिलाले के कमाइ गर्ने ? सानो कुरामा पनि आमा बुबा र श्रीमानको मुख ताक्नु पर्ने । छोरीलाई पढाउनै हुँदैन, पढायो भने प्रेम गर्ने र प्रेम पत्र लेख्छन् भन्दै शिक्षाबाट बञ्चित गरिएको थियो ।

मैले पनि ८/९ वर्षपछि पढ्न सुरु गरेको हो । राणालाई अपदस्त गरेर प्रजातन्त्र ल्याउनको लागि महिलाको सहभागिता विना सकिदैन भन्ने निष्कर्षमा पुगेर होला त्यो बेलाका नेताहरूले हामीलाई पढाउन सुरु गर्नुभयो ।

?

दिवाकर भाजुहरूको टीमले महिलालाई पढाउने योजना बनाउनुभयो । ध्रुवलाल जोसीले  मलाई पनि अहसुर केटी छ यसलाई पढाउनुपर्छ भन्दै दिवाकर भाजु कहाँ पुर्याउनु भएको थियो । ५/६ जना केटीहरूलाई दिवाकर भाजुसंग पढ्न जान्थ्यौँ ।

हाम्रो पढाइ नङ् काट्ने मानिसको घरमा हुन्थ्यो । राणाले थाहा नपाउने गरी चार तलामाथिको पुरानो घर त्यसमा पनि निहुँरेर बस्नु पर्दथ्यो । लुकेर पढ्ने हाम्रो औपचारिक शिक्षा २००२ सालमा सुरु भयो । शान्ति निकुञ्ज स्कुल हामी जस्तै लुकेर पढ्नेलाई मिलाएर स्थापना गरिएको थियो ।

हाम्रा सबै गुरुहरू राणा विरोधी हुनुहुन्थ्यो । राणा विरोधी आन्दोलनमा लगाउनको लागि पहिला महिलालाई शिक्षामा लगाउनुभयो । हामीलाई पढ्नको लागि कापी कलम त्यत्तिकै दिइएको थियो ।

महिला संघ स्थापना हुनु अघि नै महिलाले पढ्न, पाउनुपर्छ भन्दै पदमशंसेरको दरवारमा महिलाको डेलिगेसन गएको थियो । त्यो महिलाको पहिलो डेलिगेसन थियो । नगरपालिकाको चुनाव २००३ सालमा हुने भयो । त्यो बेला महिलाले मत दिने अधिकार थिएन ।
त्यो अधिकारका लागि महिला पदमशंसेर राणाको दरवारमा श्रीमाया श्रेष्ठको नेतृत्वमा मंगलादेवी सिंह, स्नेह लता वन, हिरादेवी कंसाकार, चम्मा देवी बज्रचार्य र म पनि थिएँ । म सबैभन्दा कम उमेरको थिए । त्यो बेला छलफल भएको थियो सबै कुरा त मलाई याद छैन तर पदमशंसेरले भनेको कुरा याद छ । उनले भने ‘तिमीहरू ढिलो आयौं । अहिले समय छैन् चुनाव हुने बेला भयो । चुनावपछि तिमीहरूले भोट हान्ने अधिकार पाउँछौं ।’ महिलालाई भाेट हान्ने अधिकार  २००५ सालमा मात्र मिलेकाे थियाे ।

?

स्कुल खोल्नका लागि चन्द्रकान्ता जोसी मल्लले ९० सालसम्म श्री ३ महाराजसंग लड्नु भएको हो । उहाँले स्कुल खोल्नको लागि पहिलो पत्र चन्द्रशंसेरलाई दिनुभयो । दास्रो भिमशंसेरलाई र तेस्रो जुद्धशंसेरलाई दिनुभयो । जुद्धशंसेरको पालमा स्कुल खोल्ने अनुमति पाउनुभयो । त्यो गर्ने एउटा महिलाको लागि ठूलै संघर्ष मान्नुपर्छ । शिक्षा क्षेत्रमा चन्द्रकान्ता जोसी मल्लले चालेको यो कदम पनि इतिहासको पानामा लेखिनुपर्छ । उहाँले काठमाडौंको मखन टोलमा स्कुल खोल्नुभएको थियो । स्कुल खोल्नको लागि उहाँले १६ वर्षसम्म निरन्तर आवाज उठाउनुभयो र अनुमति पाउनु भएको थियो । उहाँ शुक्रराज शास्त्रीको बहिनी हो ।

नामनै नभएको स्कुलमा पनि केटा केटी भनेका बराबर हुन महिलाले पनि पढ्न पाउनुपर्छ भन्दै केटाकेटी एक्कै ठाउँमा राखेर पढाइन्थ्यो । शान्ति निकुञ्ज स्कुलबाट राणा विरुद्धको क्रान्ति गरिएको थियो ।
राजा त्रिभुवनले यो शान्ति निकुञ्ज होइन क्रान्ति निकुञ्ज भन्थ्ये । त्यो स्कुलका शिक्षक सबै राणा विरोधी हुनुहुन्यो । केहीले काँही राणाहरूले स्कुल नै रित्याएर शिक्षकलाई पक्रेर लैजान्थे । हामीले एक कक्षालाई दुईले र दुईलाई तीनले पढाएर स्कुल बन्द गरेनौँ । राणा विरुद्धको क्रान्तिमा महिलालाई लगाउने योगदान चन्द्रकान्ता जोसी मल्लको पनि छ ।

राजनीतिक हिसाबले महिलालाई सड्कमा ओलार्नेकाम दिवाकार भाजु को हो । हामीलाई क ख संगै राणा विरुद्ध बोल्ने शिक्षा दिनुभएको थियो । हामीलाई पढाउँदा शुभाषचन्द बोष, विजय लक्ष्मी पण्डितको फोटो देखाए गुरुहरूले तिमीहरू यस्तो मान्छे बन्नुपर्छ भन्ने शिक्षा दिनुहुन्थ्यो । म क्रान्तिमा लाग्नको लागि मेरो मामा र आमाको ठूलो भूमिका छ ।

२००४ साल वैशाख १७ गते काठमाडौं राणा विरुद्धको ठूलो जुलुस निस्किएको थियो । त्यो जुलुस निकाल्नु भन्दा पहिले दिवाकर भाजुको कोठमा तीन चार दिन अगाडि हामीलाई ट्रेनिङ दिएको थियो । घरका सबै भ्याल ढोका थुनेर, इनकल्वको अर्थ केहो ? जिन्दावाद र मुर्दाबादको अर्थ सिकाउनु भएको थियो ।

काठमाडौको इन्द्र चोक असनमा पुग्दा लाठ्ठि चार्ज भयो । त्यो बेला म सानै भएर होला  पक्राउ परिन  । तर, साधना अधिकारी , सहाना प्रधान, स्नेह लता वन, कनलता लगायतका दिदीहरू पक्राउ पर्नुभयो ।

२००४ सालको भदौ महिनामा महिला संघको गठन भयो । त्यसको लागि श्रवनको २२ गते म्हेपीमा वनभोजको आयोजना गरियो । राणाको पालामा चार पाँच जनासंगै बस्नु हुँदैनथ्यो । मन्दिरमा भोज भन्दै १७ जना महिला भेला हुनु भएको थियो ।  महिला संघको पहिलो अध्यक्ष मंगलवादेवी सिंह, श्रीमाया कोषध्यक्ष, स्नेहलता वन महासचिव बन्नुभयो । पहिलो कार्य समितिमा सहाना दिदी आउनुभएको थिएन । ७ जनाको कार्य समिति बन्यो ।  त्यसमा हिरादेवी यमी, मोती देवी कामाक्ष हुनुहन्थ्यो । महिला संघ गठन हुँदा म १४ वर्षको मात्र थिए र त्यो भेलाको सहभागि मात्र भएँ ।

 

?

महिला संघले नेताको सुरक्षा, राणा विरुद्ध पर्चा छर्ने र व्यस्थापन लगायतका काम गरेको थियो । उहाँहरू धेरै कामको लागि मलाई खटाउनु हुनथ्यो ।  त्यसबेला महिला संघलाई सबैभन्दा ठूलो चुनौति आर्थिक थियो । महिलाका नाममा केही हुँदैनथ्यो । कमाउनेमा पनि महिला थिएनन् । त्यही भएर कोषाध्यक्ष श्रीमाया श्रेष्ठले चुराको पसल सुरु गर्नुभयो । महिलालाई केही सस्तो चुरा बेच्ने र संगठन पनि गर्ने महिला संघको उदेश्य थियो । जुरा सस्तो पाइन्छ भन्दै मैले ठाउँ ठाउँमा प्रचार गर्ने र महिलाई लिएर जाने काम गर्दथेँ । ऊ बेला लोग्ने मान्छेले महिलाको हात समाएर चुरा लगाउन पाईदैनथ्यो । श्रीमायाले चुरा पसलबाट राणा विरुद्धको चेतना महिलामा जनाउने काम गर्नुभयो थियो ।

अहिलेसम्म चर्चामा नआएको दुइ जना महिला नर्स छन् जसले राणा विरुद्धको अभियानमा सक्रिय भूमिका खेलेका थिए । राणाको पालामा १० बजे तोप पड्कीपछि घर बाहिर जान पाइँदैनथ्यो । घर बाहिर जानको लागि विहान ४ बजे तोप पड्कने प्रतिक्षा गर्नुपर्ने थियो । तर, नर्स अस्त कुमारी वैद्य र चञ्चला मान्नधर भने रातभर राणा विरुद्ध लेखिएका पर्चा छर्दै हिड्नु भयो । बाटोमा राणाका सेनाले भेट्दा सुत्केरी गराउन हिँडेको भन्दै नर्सले बोक्ने बस्स देखाएर बच्नु हुनथ्योँ । १०४ वर्षको जहानियाँ राणा शासन अन्त्यको लागि यी दुई महिलाको भूमिका कम थिएन ।

यसैगरी प्रजा परिषद गठनको  लागि व्यवस्थापन धर्मभक्त माथेमाको फुपु योग कुमारी श्रेष्ठले गर्नु भएको थियो । ऊ बेला घरमा बस्न दिनु पनि सानो कुरा थिएन । त्यो कुरा थाहा पाएर योग कुमारीको छोरी सूर्य कुमारीलाई सजाय स्वरुप तीन महिना घरको छिडिमा राणाले बन्दी बनाएका थिए । यहाँ मैले भन्न खोजेको कार्य समितिमा नबसे पनि महिला कुनै न कुनै हिसावले आन्दोलनमा योगदा पुर्याएका थिए ।
अर्को विराटनगरको जुट मिलमा भएको विद्रोहमा पनि महिला सहभागि थिए । त्यो विद्रोहको बेला चार जना महिलाले गिरफतारी दिएका थिए । गिरफतार पर्नेमा इन्दिरा आचार्य, विव्या कोइराला, नलिनी उपाध्याय र कामिनी गिरी थिए ।
त्यस्तै योग मायाले पनि संस्कृति विरुद्धको आन्दोलन गर्नु भएको हो । ब्राहमणको कुलमा जन्मीएर पहिलो दुलाह वितेपछि उहाँ विद्यवा भएर बस्नु भएन, दोस्रो विवाह गर्नुभयो । त्यो समाजको लागि ठूलो विद्रोह थियो ।

?

२००५ सालमा कांगे्रस भित्रको विवाद चुलियो । त्यसपछि गोपालप्रसाद रिमालको नेतृत्वमा  प्रजा पंञ्यायतको गठन भयो । उहाँको नेतृत्वमा काठमाडौ र भक्तपुरमा ठूलो विद्रोह भयो  । काठमाडौंमा १५ सय र भक्तपुरमा ७ सय मान्छे गिरफतार भए । त्यो बेला भक्तपुरबाट ६ जना महिला गिरफतार भए । २००५ सालको आन्दोलनमा परेका लक्ष्मी श्रेष्ठ र देवीलानीलाई सात महिनासम्म जेलमा राख्योँ । उहाँहरूलाई कसैले पनि भेट गर्न गएका थिएनन् । उनीहरूलेपछि पनि दुःख पाउनुभयो ।

फेरि २००५ सालमा अर्को पार्टी गठनका लागि नेता भारतको कोलकतामा जम्मा भए । त्यो भेलामा भाग लिनेमा शुसिला चालिसे, मायादेवी शाह, नक्कली चित्रकार, श्रीमती टिकारति बस्नेत, गुल्वन्द ताम्राकार, लक्कीदेवी परियार सहभागि हुनुहन्थ्यो । लक्की देवी दार्जिङकी महिला हुनुहुन्थ्योँ ।  २००७ सात सालमा सबैभन्दा ठूलो क्रान्ति भयो । जनता घरघर बाट निस्कीए । देशमा आन्दोलन चर्केकै बेला राजा त्रिभूवन महेन्द्रलाई लिएर दिल्लीमा चार महिना बसे ।  दिल्ली पुगेका राजा त्रिभूवन चार महिनापछि फागुन ४ गते नेपाल फर्किए । जनताको आन्दोलन दवाउन नसकेपछि फागुन सात गते उनले राष्ट्रको नाममा सम्बोधन गरे । यसरी २००७ सालमा आएर हामीले मताधिकार, पढ्न पाउने र केही स्वतन्त्र भएर राजनीति गर्ने अधिकार प्राप्त गरौं ।

प्रस्तुति : अरुणा रायमाझी

प्रकाशित मिति २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: