पिठ्युमा बच्चा बोकेर आन्दोलनमा होमिएका कारण अहिले राष्ट्रपति र सभामुख पद महिलाले पाएःमन्त्री रेखा शर्मा


प्रकाशित मिति :2015-11-10 19:35:17

सामान्य प्रशासन मन्त्री रेखा शर्मा राजनीतिमा सुझबुझ र स्पष्ट दृष्टिकोण भएकी महिला नेता हुनुहुन्छ । राष्ट्रपति र उपराष्ट्रपति पद भन्दा गाविसको अध्यक्ष र उपाध्यक्ष पद महिलाको भावी नेतृत्व बिकासका लागि महत्वपूर्ण हुन्छन् भन्ने मन्त्री शर्मासँग महिला खबर डट कमका लागि दुर्गा कार्कीले गरेको कुराकानी ।

unnamed (2)

तपाइ मन्त्रिपरिषदमा एक्लो रहनु भयो । कस्तो लाग्यो ?

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर बोल्दै आएका हौं हामी । साथीहरूले सेलिब्रेटी बनाउन त खोजे एक्लो मन्त्री भनेर । तर मलाई ह्युमिलेसन भैराख्यो । अलि धेरै आउनुपर्थ्याे । अरु पार्टीले पनि महिलालाई पठाउनुपर्थ्याे । कमी हाम्रै पार्टीबाट पनि भयो । तर जे कुराका लागि हामी लड्याैं त्यो नहुँदा नरमाइलो अनुभव भयो । यत्रो मन्त्रिमण्डलमा २ जनामात्रै महिला हुनु राम्रो कुरा होइन ।
अझ ६ जना उपप्रधानमन्त्री हुँदा समेत एकजनापनि महिला परेनन् ?

यसलाई पनि मिलाउन सक्नुपथ्र्यो मिल्न सकेन । गठबन्धन सरकार हुँदा कसैले कसैलाई ‘डिक्टेट’ गर्न नसक्ने । एउटा पार्टीकोमात्रै सरकारमा हुन्थ्यो भने उसभित्रको संघर्षले पुग्थ्यो होला । यतिधेरै पार्टीको सरकार छ कि कुनै पार्टीबाट त एकजनामात्रै मन्त्री हुनुहुन्छ । कुनैपार्टीबाट २ जना ३ जना हुनुहुन्छ । २/३ जना सरकारमा सहभागी भएका पार्टीले कम्तीमा एकजना महिला राखेको भए राम्रो हुन्थ्यो ।

राष्ट्रपति र सभामुखमा महिला आएपछि यी दुइ पद देखाएर महिलाको मुखमा बुझो लगाउन थालिएको हो कि क्या हो ?

यो पनि हुनसक्छ । तर, हामीले खोजेको राष्ट्रपति, सभामुख पद मात्रै होइन । हामीले त संविधान निर्माण कै क्रममा के भन्दै आयौं भने राष्ट्रपति र उपराष्ट्रपति भन्दा महिलालाई गाविसको अध्यक्ष र उपाध्यक्ष महत्वपूर्ण पद हो । आज राष्ट्रपति महिला भएपनि भोली महिला राष्ट्रपति बनाउँछु भन्दापनि नभेटिने अवस्था हुन सक्छ । अहिले उहाँहरू राष्ट्रपति, सभामुख भएको हिजो हामीले गरेको आन्दोलनले हो । पिठ्युँमा बच्चा बोकेर गणतन्त्रकालागि भएका आन्दोलनमा महिला लागेका थिए र त्यस्को परिणामस्वरुप यी पद पायौं ।

Hilights

राजनीतिक दल प्रति अहिले महिलाको त्यति आकर्षण देखिदैन किन होला ?

नेपालका युवा र महिलामा राजनीति प्रति आकर्षण घटेको महशुस मैले पनि गरेकी छु । हिजो हामी जनयुद्धमा लाग्दा हामी होल टाइमर भएर निस्कियौं । माओवादी आन्दोलनमा लाग्दा हामी महिला आफैँले घर चलाउनुपर्छ, बच्चा हेर्नुपर्छ र भात पकाउनुपर्छ भन्ने कुराबाट मुक्त थियौं । यसकारणले पनि यो आन्दोलनमा महिला सहभागिता बढ्यो । तर, विस्तारै नेपाली युवा र महिलाको राजनीतिमा आकर्षण घट्दै गएको छ ।

निर्वाचनमा मतदानको लाइन पुरूषको भन्दा महिलाको लामो हुन्छ । तर राजनीतिक पार्टीमा गाउँस्तरीय कमिटीमा ५० प्रतिशत महिला राख्नुपर्छ भन्दा को महिला छ र राख्ने भन्ने कुरा सुन्नुपर्छ । त्यसैले मुख्य कुरा गाउँ, जिल्ला र केन्द्रमा महिलालाई लामबद्ध गर्न आवश्यक छ । त्यसकारण धेरै महिलालाई तल सहभागी गराई भोली नेतृत्वमा पुर्‌‍याउने चूनौति छ ।

त्यसो भए अब स्थानीय निकायमा महिला सहभागिता बढाउन के गर्नुपछ ?

उत्पीडित समुदायका मान्छेलाई मुलप्रवाहमा ल्याउन बाध्यकारी कानुन जरुरी रैछ । हामी पित्तृसतात्मक सोच र संरचनामा हुर्क्याैं । अघिल्लो पुस्ताले गरेको विभेद भोग्दै र देख्दै आयौं । त्यसैले हाम्रो दिमाग र सोचमा पनि त्यही भरिएको छ । हाम्रा चिन्तन र व्यवहार यसबाट मुक्त छैन ।

unnamed (3)

त्यसकारण अहिलेको अवस्था परिवर्तनका लागि बाध्यकारी कानुन आवश्यक छ । स्थानीय निकायमा ५० प्रतिशत सहभागितालाई राजनीतिक दलभित्र, सञ्चारमाध्यममा व्यापक बनाउन जरुरी छ । जव हरेक राजनीतिक पार्टीमा ५० प्रतिशतको बाध्यकारी कानुन बन्छ । सहभागिता आफैँ बढ्छ ।

अर्को कुरा महिला घरमा मात्रै काम गर्ने र पुरुष बाहिरको काम गर्ने भन्ने मानसिकता नहटेसम्म समानता कायम हुँदैन । भोली प्रत्येक पार्टीको गाउँ कमिटीमा यति महिला नभइ हुन्न भनेपछि श्रीमान घर बसेर पनि श्रीमती पठाउन बाध्य हुन्छन् । सुरु सुरुमा श्रीमानलाई असहज होला, अप्ठयारो महशुुस होला । समाजले औँला ठड्याउँला तर, केही समयपछि नै यो सामान्य भएर जान्छ । अहिले बिभिन्न संघसंस्था, समूह छन् हामी गाउँमा गयाैं भने पहिला मुख छोपेर बस्ने महिला अहिले औंला ठड्याएर कुरा गर्ने भएका छन् । यसलाई व्यवस्थित गर्ने चिन्तनको अभावले मात्र महिला नदेखिएका हुन् । यसलाई व्यवस्थित गर्न बाध्यकारी कानुन आवश्यक छ । र यसमा जागरण ल्याउनुपर्छ ।

अव स्थानीय निकायदेखि, प्रदेशमा महिला सहभागिता बढाउन, बाध्यकारी कानुन निर्माण गरी कार्यान्वयन गर्न राष्ट्रपति र सभामुख पदको प्रभाकारिता के रहला ?

हामी धेरै ठाउँमा हुँदा हाम्रो आवाज पक्कै बलियो हुन्छ । फेरी पुरुष पनि महिलाका बिषयमा कुरै गर्न चाहन्नन् भन्ने पनि म सोच्दिनँ । त्यस्तो हुन्थ्यो भने हामी यो ठाउँमा आउन सक्दैनथ्यौं । महिला आन्दोलन अघि बढाउन राजनीतिक पार्टी भित्रका पुरुषको पनि महत्वपुर्ण भूमिका छ । तर, दलितको, मधेशको, महिलाको व्यवहारिक समस्या अरुले बुझ्दैनन् । त्यसैले यस्का लागि त्यही वर्गको प्रतिनिधित्व हुनुपर्छ । अहिले सकारात्मक छ वातावरण । राष्ट्रपति, सभामुख महिला हुनुहुन्छ उहाँहरूसँग छलफल गरेर जानुपर्छ ।

मन्त्रीमण्डलमा तपाइहरू २ जना हुनुहुन्छ । आफनो कुरा स्थापित गर्न कति अप्ठयारो होला ?

अप्ठयारो पक्कै हुन्छ । तर हामी लडेरै आएका हौं । अर्को, अहिले यी कुरा भित्रबाट मन नपरेपनि हामीले उठाएका कुरा वा महिलाको कुरा बेठीक हो भन्ने तागत छैन । हाम्रो क्षमता र सिमितताले कति भ्याउँछ आफ्नो ठाउँमा होला तर, हामी सरकारमा थोरै भएपनि बाहिर लाखौं छौ ।

unnamed hhhh

हाम्रो आवाज स्थापित गर्न बाहिरको आवाज झन बलियो हुनुपर्छ अनिमात्रै हामी स्थापित हुन्छौं । त्यसैले बाहिरबाट आवाज उठाउने अधिकारकर्मी, राजनीतिक दलभित्रका महिला, सभासदहरू सवैको बलियो आवाज जरुरी छ ।

तपाइ अहिले मधेशी समुदायसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिमा हुनुहुन्छ । वार्तामा बसिसक्नु भएको छ । वास्तविक समस्या के हो ? कसरी समाधान खोजीनुपर्छ ?

मधेस आन्दोलन राजनीतिक समस्या हो । यसलाई राजनीतिक ढगंबाट समाधान खोज्नुपर्छ । यहि मान्यतालाई आत्मसात गरेको छ सरकारले । हामी वार्तामा बस्याै‌ं । वार्तामा बस्दा हामीले के महशुस गर्‌‍याैं भने आन्दोलनकारीहरू पनि वार्तावाटै समस्या समाधान होस भन्ने चाहन्छन् । मुल मुद्दा सिमाकंन हो । मधेशमा २ प्रदेश हुनुपर्छ भन्ने उहाँहरूको माग हो । व्यक्तिगतरुपमा यसमा मेरो धारणा जे भएपनि सरकारको तर्फबाट म प्रतिनिधित्व गरेकाले सरकारको अडान ७ प्रदेश हो । किनभने यो संविधानमा संस्थागत भैसक्यो । त्यसैले सरकारको अडान ७ र उहाँहरूको माग मधेशमा २ प्रदेश भएको हुनाले सरकार पनि आफ्नो अडानमा बसेर संभव छैन । किनकी संविधान गतीशील दस्तावेज हो । उहाँहरूपनि यहि अडानमा बसेर हुँदैन । अव हामी बीचको बाटो खोज्दैछाैं।

यी सवै कुरा हुँदाहुँदै पनि नाकाबन्दीका कारण सवै जनता छटपटाइरहेका छन् मधेशका जनतालाई पनि उत्तिकै असर परेको छ । मधेशका जनता सिगों राष्ट्रका हुन र उनीहरूले पनि अपनत्व महसुश गर्नुपर्छ भने मधेशी नेताले पनि सिगों राष्ट्र र जनताका समस्या बुझ्नुपर्छ । नाकाबन्दीका कारण जनताको चुलो निभिसक्यो ।unnamed

यसले हाम्रै मुटु भक्कानिएको छ । तरपनि जनताले देखाएको धैर्यता मधेशी नेताले पनि सिक्नुपर्छ । समस्या हाम्रो हो समाधान पनि हामीले नै खोज्नुपर्छ । विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ । यसका निम्ति उहाँहरूले पनि वातावरण बनाउनुपर्‍याे ।
किनभने सिमाकंन जस्तो विषय आजभोली नै टुङ्ग्याउन सकिने होइन । यसलाई कतिदिन भित्र कसरी टुङ्ग्याउने भन्ने कुरा लिखित सहमती गरौं । तर, वातावरण बनाउने काम दोहोरै हुनुपर्छ । त्यसैले उहाँहरूसँग पनि आग्रह छ आन्दोलनको स्वरुप परिवर्तन गरिदिनुस ।सकिन्छ भने स्थगित गरिदिनुस ।

हिजो हामी युद्धमा हुँदा एकतर्फी युद्धविराम गरेर पनि वार्तामा आएका थियौं । सरकारी पक्षबाट पनि कमीकमजोरी छन् भने सुधारेर छिटो अघि बढ्नुपर्छ । हामी कमजोर भयौं भने बाहिरकाले खेल्ने मौका पाउँछन् । यसबाट स्थितरता नचाहनेहरूलाई झन ठुलो मौका हुन्छ ।

प्रकाशित मितिः २०७२ कात्तिक २४ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: