पुरुषले भन्दा हामीले दुई गुणा मिहिनेत गर्नुपर्छ : सभामुख ओनसरी घर्तीमगर


प्रकाशित मिति :2015-11-06 14:20:58

महिला खबर

abi-20

?सभामुख ओनसरी घर्ती ‘उच्च तहमा पुगेका महिलाले राम्रो काम गर्न सक्याैँ भने अन्य महिलाका लागि पनि बाटो खुल्छ’ भन्ने विचार राख्नुहुन्छ । त्यसकारण ‘उच्च तहमा पुगेका महिलाले आफ्ना लागि मात्र होइन, पूरै समुदायका लागि पुरुषले भन्दा दुई गुणा मिहिनेत गर्नुपर्छ’ भन्ने उहाँको विचार छ । प्रस्तुत छ महिला खबर डटकमका लागि अरुणा रायमाझीेले सभामुख ओनसरीसँग गरेको कुराकानी ।

इतिहासमै पहिलोपटक राष्ट्रपति र सभामुख महिला हुनुभएको छ । यो पदबाट नेपाली महिलालाई के दिन सकिएला ?
राज्यको उच्च पदमा दुई महिला पुग्यौँ । अन्य निकायमा हेर्दा यो उपस्थिति पर्याप्त होइन । हाम्रो उपस्थितिले महिला पनि राज्यको मुख्य निकायका मुख्य पदमा पुग्न सक्छन् भन्ने पुष्टि भएको छ । अब हामी काम गर्न सक्छौँ–सक्दैनौँ भनेर हेर्ने बेला हो यो । गर्न सक्यौँ नयाँ रिजल्ट आउँछ, सकेनौँ महिलाको अबस्था अहिलेभन्दा बिग्रनेछ ।

एक–दुई उच्च पदमा महिला पुग्नासाथ सबै महिलाको जीवनमा परिवर्तन आउँछ भन्ने होइन । तर, आममहिलामा आत्मविश्वास भने बढ्छ । पुरुषप्रधान सोच राख्ने समाजमा दुईजना महिला उच्च पदमा पुग्दा धेरैको दिमागमा मनोवैज्ञानिक प्रभाव परेको छ । यसले भोलिका दिनमा अगाडि आउने महिलालाई मार्गप्रशस्त गर्दछ । त्यो मार्ग खोल्ने जिम्मेवारी हामीले पाएका छौँ ।

तपाईंहरू यो ठाउँमा आइपुग्नु भो, शक्ति संरचना भनेको के रहेछ ?
राज्य सञ्चालनको उपल्लो तहमा अहिलेसम्म महिला पुगेका थिएनन् । बल्ल हामी यो ठाउँमा आइपुगेका छौँ । शक्ति संरचनाको मूल्याङ्कन नीति निर्माण गर्ने बेलामा हुन्छ । हामी त्यो ठाउँमा उपस्थित नहुँदा महिला कमजोर हुने नीति तय हुन्थ्यो भने हामी पुगेपछि त्यहाँ समानता हुन्छ वा हुँदैन भन्ने मुख्य चुनौती छ । हामीले चाहेको महिला–पुरुषबीचको समानता हो ।

हामीले बनाएको कानुनले सबै नागरिकलाई समान आँखाले हेर्न सक्छ कि सक्दैन ? संविधानमा नपुगेका धेरै कुरा छन्, त्यसलाई पूर्णता दिन संविधान संशोधन गरेर महिला अनुकूल नयाँ कानुन बनाउनु जरुरी छ र भएका कानुनलाई सचेततापूर्वक कार्यान्वयनमा लैजानुपर्छ ।

महिलामैत्री कानुन बनाउन सभामुखको भूमिका के हुन्छ ?

संसद् आफ्नो शासन आफैँले अभ्यास गर्न जनताले दिएको अधिकार लिएर आएका जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरूले त्यही अधिकार प्रयोग गरेर कानुन बनाउनुहुनेछ । मलाई पूर्ण विश्वास छ, समानताका आधारमा विधेयकहरू आउनेछन् । कथंकदाचित असमान खालको विधेयक आयो भने समिति र सदस्यहरूलाई समानताको सिद्धान्तका आधारमा विधेयक ल्याउन सुझाव दिनेछु । प्रमाणित गर्ने मैले हो । विधेयक आउँदा पछाडि पारिएका वर्ग, जाति र समुदाय सचेत हुनुपर्छ । समानताको आधारमा संसद्बाट कानुन पारित हुन्छ ।

?

सभामुखजस्तो उच्चतहको पदमा तपाईंको उपस्थितिले नेपाली राजनीतिलाई कसरी महिलाको पक्षमा बनाउन सहयोग पुर्‍याउला ?
संविधानको प्रस्तावनामै समानुपातिक समावेशी सिद्धान्तको आधारमा मुलुक अगाडि बढ्ने उल्लेख छ । यद्यपि राज्यको हरेक निकायमा भन्ने शब्द भने परेको छैन । संविधानले दिएको र कानुन बनेको अवस्थामा राजनीतिक दलहरूबाट अब महिला अगाडि आउने कुरा पक्कापक्की छ ।

प्रतिनिधिसभा र राज्य सभामा ३३ प्रतिशत महिला सहभागिता संविधानले बाध्यकारी बनाइदिएको छ । राजनीतिक पार्टीले पनि बुझ्नुपर्‍यो कि नेपाल समानुपातिक र समावेशी सिद्धान्तमा अगाडि बढिसकेको छ । जुन पार्टीले यो सिद्धान्तलाई अवलम्बन गर्दैन त्यो पार्टीले नेपालमा भएको परिवर्तनलाई स्वीकार गरेको मानिँदैन । त्यसैले अब यो सिद्धान्तलाई महिलाले आ–आफ्नो पार्टीभित्र छलफल चलाउनुपर्छ । मैले महिला साथीहरूलाई भनेकी छु, संविधानले दिएको अधिकार प्रयोग गर्न जान्नुपर्‍यो । बाँकीमा मेरो सहयोग छँदै छ ।

राष्ट्रपति र सभामुख देखाएर राज्यका अन्य निकायमा महिला सहभागिता कटौती हुने खतरा कत्तिको देख्नुभएको छ ?
यो हुनसक्छ । त्यो कुरा हाम्रो कामसँग जोडिएको छ । उच्च तहमा पुगेका महिलाले राम्रो काम गर्न सक्यौँ भने अन्य महिलाका लागि बाटो खुला हुन्छ । त्यसकारण उच्च तहमा पुगेका महिलाले आफ्ना लागि मात्र होइन, पूरै समुदायका लागि पुरुषले भन्दा दुई गुणा मिहिनेत गर्नुपर्छ ।

2

उच्च तहमा पुग्ने महिलाको योग्यतामा प्रश्न उठाउनेप्रति यहाँ के भन्नुहुन्छ ?
पुरुषमा युगौँदेखि राज्यसत्ता चलाएर आएको अनुभव छ, हामी सिक्ने प्रक्रियामा छौँ भन्न मलाई कुनै सङ्कोच लाग्दैन । तर, काम गर्न सक्छु भन्ने मलाई पूर्णविश्वास छ । गरेर देखाउनु नै यो प्रश्नको जवाफ हो ।
संसद् प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता सुशील कोइराला र माओवादी अध्यक्ष प्रचण्डलगायतका मुख्य नेतालाई समेत संसद् नेतृत्व गर्दा मनमा कस्तो अनुभूति भयो ?
सुरुमा अलि अप्ठ्यारो महसुस भयो । तर, व्यवस्थापिका–संसद्भित्र केपी ओली, सुशील कोइराला र प्रचण्ड संसद्का सदस्य हुनुहुन्छ, म प्रमुख छु । त्यो मेरो पदीय दायित्व हो । उहाँहरूलाई सम्मान गर्ने कुरा आफ्नो ठाउँमा छ । तर, संसद्को नेतृत्व मैले गर्छु ।

?

?

दक्षिण एसियाको अभ्यासलाई हेर्ने हो भने उच्च पदमा महिला पुगेर कुनै परिवर्तन भएको पाइँदैन । यसप्रति कत्तिको सचेत हुनुहुन्छ ?
ती देशभन्दा हामी फरक अवस्थाबाट आएका हौँ । उनीहरू भइरहेको कानुनअनुसार उच्च तहको जिम्मेवारी समाल्न आए, हामी संविधानमै समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेर अगाडि बढेका छौँ । नयाँ संविधानमा मौलिक हकअन्तर्गत महिला हकको छुट्टै व्यवस्था गरेको छ । यो कार्यान्वयन गर्न सकिन्छ/सकिँदैन अर्को पाटो होला, तर अन्य मुलुकको जस्तो अवस्था आउन नदिन पदमा पुगेका र नपुगेका सबै महिलाले उत्तिकै मिहिनेत गर्नुपर्छ ।

मधेसमा देखिएको असन्तुष्टिलाई कसरी हेर्नुभएको छ ?
सरकारी तहबाट वार्ता भइरहेको छ । यो विषयमा राजनीतिक तहको उच्च नेतृत्वसँग मेरो कुराकारी भइरहेको छ । संवादबाट हल खोज्नुपर्छ भन्नेमा सबै एकमत हुनुहुन्छ । उहाँहरूको जायज मागलाई सम्बोधन गर्ने पक्षमा सबै राजनीतिक पार्टी छन् । संविधान संशोधनमार्फत उहाँहरूको जायज माग पूरा गर्नुपर्छ । सडकबाट होइन सदनबाट यसको समाधान खोजिनुपर्छ ।

3

सभामुखज्यू, एउटा फरक प्रसङ्ग । तपाईंलाई घरमा भेटघाटका लागि आउने पाहुनालाई श्रीमान (वर्षमान पुन) ले चियाको व्यवस्था गर्नुहुन्छ ?
गर्नुहुन्छ, किन नगर्ने ? अहिले उहाँले मलाई सम्पूर्ण सहयोग गर्नुभएको छ । मैले त घरको काम केही पनि हेर्न भ्याएकै छैन, सबै वर्षमानजीले नै हेर्ने हो । बच्चाहरू ठूला भए पनि उनीहरूलाई नजिकबाट हेर्न काम उहाँको भागमा छ । तर, आमाको कर्तव्य त मेरो छँदै छ नि ।

प्रकाशित मिति :२०७२ कात्तिक २० गते शुक्रबार

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: