शासन शक्तिमा महिला


प्रकाशित मिति :2015-11-05 13:18:20

विद्या भण्डारी राष्ट्रपति र ओनसरी घर्ती सभामुख हुँदा देशभर महिलाले दीप प्रज्ववलन गरे । त्यो दीपले लैङ्गिग समानताको प्रकाश छरोस् । अव हरेक नेपालीको मनमा परोस् कि कुनै दिन आफ्नी आमा, श्रीमती, छोरी, दिदी–बहिनी राज्यको उच्च तहमा पुग्ने सम्भावना छ ।

दीपेश केसी

Dipesh Kc २१ जुलाई सन् १९६० । श्रीलंकाकी सिरिमाभो बन्दरनायके विश्वकै प्रथम महिला प्रधानमन्त्री बनेको दिन । त्यो क्षणले विश्वकै महिला नेताहरूलाई शिखरमा डटेर बढ्न हौसला प्रदान गर्‍यो । साथै, महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा बदनामी कमाएको दक्षिण एशियाले विश्वकै प्रथम महिला प्रधानमन्त्री जन्माउने श्रेय पाउँदा विकसित भनिएका देशहरूलाई समेत चकित गर्‍यो ।

दक्षिण एशियाको नीतिनिर्माणको उच्च तहमा धमाधम महिलाहरू पुग्नथालेबाट संसारभर यस क्षेत्रप्रति सकारात्मक सन्देश पुग्यो । भारतको प्रधानमन्त्रीका रूपमा इन्दिरा गान्धीले आफ्नो देशका लागि मात्र नभई संसारभर बलियो प्रभाव जमाइन् । गान्धीले संसारकै इतिहासमा आफूलाई विशिष्ट महिलाहरूको स्थानमा उभ्याइन् । लामो समय प्रधानमन्त्री बनेर भारतलाई विभाजनबाट जोगाइन् । बदलामा उनले आफ्नै जीवन गुमाउनुगर्‍यो  ।

इन्दिराले पिता जवाहरलाल नेहरूले भारतको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देखेको सपनाहरू समेत साकार पारिन् । रूढीवादी मुसलमान बाहुल्यको पाकिस्तानमा बेनजीर भुट्टो प्रधानमन्त्री भइन् । पिता जुल्फिकर अलि भुट्टोले आफ्ना दुई छोरा र दुई छोरीहरूमध्ये जेठी बेनजिरमा प्रतिभा देखे । हावर्ड र अक्सफोर्ड जस्ता विश्वविद्यालयमा अध्ययन गरेकी उनले साहसी नारीको परिचय बनाइन् । आतंकवादी हमलामा परी बेनजिरको निधन भएसँगै पाकिस्तानको राजनीतिमा महिलाको खडेरी पर्‍यो । बङ्गलादेशमा शेख हसिना वाजेद प्रधानमन्त्री छन् । प्रतिपक्षमा बेगम खालिदा जिया । बङ्गलादेशको राजनीतिको पक्ष विपक्षमा महिलाहरूको नेतृत्व चलिरहेछ ।

दक्षिण एशियाको राजनीतिमा महिलाहरूको प्रभावशाली उपस्थिति संसारकै लागि उदाहरणीय हो । विश्वको शक्तिशाली देश अमेरिकामा समेत आजपर्यन्त महिला राष्ट्रपनि बन्न सकेका छैनन् । बरू आजपर्यन्त रङ्गभेदको पीडा भोग्न वाध्य काला जातिबाट पुरूष बाराक ओबामा राष्ट्रपति बने । लोकतन्त्रको जननी भनिने बेलायतमा आइरनलेडी मार्गरेट थ्याचर्ड सन् १९७९ मा प्रधानमन्त्री बनिन् । एक दशक लामो कुशल शासन संचालन गरिन् । त्यसयता बेलायतले महिला प्रधानमन्त्री पाउन सकेको छैन । यूरोपको खेलमैदानको उपमा पाएको स्वीटजरल्याण्डले बीसौं शताब्दीको अन्ततिर मात्र महिला राष्ट्रपति पायो । एशियाका विकसित देशहरूमध्ये दक्षिण कोरियामा हान मियोङ्ग सुक २०१२ मा प्रथम प्रधानमन्त्री चयन भइन् । २०१३ मा पार्क गेयुन ही कोरियाकी पहिलो महिला राष्ट्रपति निर्वाचित भइन् । थाइल्याण्डले २०१२ मा प्रथम महिला प्रधानमन्त्रीका रूपमा इङ्गलुक सिनावात्रालाई पायो । जापान र चीन जस्ता एशियाका समृद्ध देशहरूले अझैसम्म महिला प्रधानमन्त्री र राष्ट्रपति पाउन सकेको छैन ।

संसारका विकसित र शक्तिशाली देशहरूको तुलनामा दक्षिण एशियामा सत्ताको उच्च पदमा महिलाहरू पुग्न सक्नु रोचक विषय हो । भारतमा मनमोहन सिंह नेतृत्वको सरकारमा सोनिया गान्धीकै मुख्य भूमिका रह्यो । विवाहपछि मात्र भारतीय नागरिक हुनपुगेकाले सोनियालाई विपक्षीको विरोधले प्रधानमन्त्री हुनबाट अवरोध पुर्‍याएको थियो । वंश, करिश्मा र विरासतको बलमा दक्षिण एशियाली महिला नेताहरू देशको नेतृत्व गर्ने तहमा  पुगेको तर्क गर्नेहरूको कमी छैन । तथापि उनीहरूले लामो संघर्षका बाबजुद मात्र राजनीतिको उच्च पद प्राप्त गर्नसके ।

नवयुगको सन्देश

२९ अक्टोबर सन् २०१५ मा नेपालले प्रथम महिला राष्ट्रपतिका रूपमा विद्या भण्डारीलाई पाएको छ । देश गणतन्त्र घोषणा भएपछि दोस्रो राष्ट्रपति महिला हुनु लोकतन्त्रको सौन्दर्य हो । घरदेखि रोजगारीको थलो हुँदै राज्यको तल्ला निकायसम्म विभेदको शिकार बनाइएका महिलाका लागि भण्डारी राष्ट्रपति हुनु सुखद सन्देश हो । मेहनत, लगाव र तपस्या गरे कुनैपनि महिलालाई सामाजिक विभेद र रूढीवादीहरूको अवरोधले राज्यको उच्च तहसम्म पुग्नबाट छेक्न सक्दैन, महिलामाझ सकारात्मक सन्देश गएको छ ।

नीतिनिर्माण तहमा महिलालाई पुग्नबाट धेरै छेकबार छन् । घर, समाज र राज्यको तहबाटै निरूत्साहित गर्ने पितृसत्तात्मक शैली व्याप्त छ । राजनीति र प्रशासनिक क्षेत्र महिलामैत्री नरहेपनि कुनै महिला ती क्षेत्रको शिखरमा पुग्छिन् भने सामान्य उपलब्धि होइन ।

पितृसत्तात्मक घरपरिवारमा अझै पनि महिलालाई राजनीतिमा लाग्न प्रेरित गर्ने अपवादमा होलान् । चुलोचौकाभन्दा माथि उठ्ने महिलालाई समाजमा पाइलैपिच्छे औंला ठड्याउनेको कमी छैन । पुरूषहरूको बहुमत रहेको राजनीतिक वृत्तमा तिनीहरूबाटै विभेदको शिकार हुनुपर्छ । हिलोमा उम्रेको कमलको फूल बनेर राजनीतिमा सक्रिय छन् औंलाले गन्न सकिने महिलाहरू । चुनौतीको पहाड नाघ्ने साहस थोरैले गरेका छन् । काँग्रेसबाट सुजाता कोइराला, चित्रलेखा यादव, मीना पाण्डे, कमला पन्तलगायत संघर्षरत छन् । कम्युनिष्ट पार्टीहरूबाट अष्टलक्ष्मी शाक्य, हिसिया यमी, पम्फा भुषाल, रामकुमारी झाक्रीलगायत निरन्तर सक्रिय छन् । रेणु यादव, सरिता गिरी, कुन्ति शाहीलगायतको राजनीतिमा निरन्तर सक्रियता छ । तथापि राजनीतिमा महिलाको सहभागिता उत्साहजनक छैन । मुख्य दलहरूमा पार्टीको उच्च नेतृत्वमा पुग्ने दिशामा एकाध महिलामात्र छन् । बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । त्यहीं चाँदीको घेरा भएपनि आशा हो जसले महिलालाई निकट भविष्यमै कार्यकारी अधिकारको तहसम्म पुर्‍याउला ।

अझै असुरक्षित

महिला राष्ट्रपति बनेपछि राजनीतिमा लागेका महिलामा उत्साह थपिएको छ भने नयाँ पिढींका महिला प्रेरित हुने बलियो आधार बनेको छ । यति भन्दैमा महिलामाथि घरपरिवार र राज्यको विभिन्न तह र तप्कासम्म विद्यमान विभेद रोकिइहाल्छ भन्ने होइन । दक्षिण एशियाभित्र महिलाहरू राजनीतिको उच्च तहमा पुगेको किर्तिमान छ । तथापि महिलामाथि सबैभन्दा विभेद यही क्षेत्रमा छ । पाकिस्तानमा बेनजिर भुट्टो प्रधानमन्त्री बनेको समयमा कतिपय क्षेत्रमा महिलालाई विद्यालय जानबाट रोक्ने देखि धर्मको नाममा ढुंगाले हिर्काएर हत्या गर्नेसम्मको नृशंश गतिविधि भए । बङ्गलादेशमा महिला प्रधानमन्त्री भएपनि तसलिमा नसरिनलाई लेखेकै आधारमा फतवा जारी गरी ज्यान मार्ने धम्की आयो । देश छाड्न वाध्य बनाइयाे । त्यहाँ तल्लो तहका महिलामाथि विभेद र अन्यायको पराकाष्ठ अझै छ । भारतमा इन्दिरा गान्धीको प्रत्यक्ष शासन होस् या सोनिया गान्धीको अप्रत्यक्ष शासनमै किन नहोस् महिलाहरू हदैसम्मको विभेदको शिकार भइराखे । यतिसम्मकी कँग्रेस आईको शासनकाल अर्थात् २०१२ मा दिल्लीमा बलात्कारपछि विभत्स आक्रमण गरेर फालिएकी युवतीको उपचारका क्रममा निधन भयो । उक्त घटनाले भारत महिलाका लागि असुरक्षित देशका रूपमा बदनाम भयो ।

प्रेम गरेको वा प्रेमीसँग विवाह गर्न खोजेकोमा धेरै महिलाले आफन्तबाटै मारिनुपरेको घटना भारतमा दर्ज छन् । जसलाई प्रतिष्ठा बचाउने नाममा हत्या अर्थात् ‘अनर किलिङ्ग’ भन्ने गरिन्छ । किशोरावस्थाको मध्यम उमेरमा पुगेको भाईबाट बालिग दिदीको हत्या भएको छ । महिलाको हातमा सत्ताको साँचो भएकै बखत महिला असुरक्षित हुनु दक्षिण एशियाका कतिपय समाजको पीडा हो । अफगानिस्तान होस् या पाकिस्तान महिलाहरू घरदेखि सडकसम्म असुरक्षित छन् ।

पितृसत्तात्मक पूर्वाग्रह

नेतृत्वमा महिला भएपनि नीतिनिर्माणका अन्य तहमा पुरूषबाहुल्य छ । सबैभन्दा ठूलो समस्या हो–पितृसत्तात्मक सोच र संस्कारले परिवर्तन र विकासको गतिमाथि पारेको अवरोध । सत्ताको शिखरमा महिला हुनुले महिला हकहितका लागि सकारात्मक सन्देश जान्छ नै । साथै महिलाका लागि धेरथोर काम अगाडि बढ्छ । तर, पितृसत्तात्मक पूर्वाग्रही सोचमा पूर्णविराम लागेर समानताको सोचले जग नहालेसम्म कुनैपनि देश वा समाजमा दिगो विकास र शान्ति असम्भव छ ।

अब रह्यो महिला शासन र शक्तिको उच्च तहमा पुग्ने विषय । संसारको कुनैपनि कुनामा रहेका, कुनैपनि वर्ग, समुदाय, क्षेत्र, जातिका महिला राजनीतिको उच्च तहमा पुग्नु आफैमा ठूलो उपलब्धि हो । उनीहरूको प्रगतिलाई कसैको बुई चढेर वा विरासतको आडभरोसाको कारण मात्र मान्नु पितृसत्तात्मक पूर्वाग्रहसिवाय केही होइन । बाबुको वा पतिको निधनपछि सत्ता संचालनसम्म पुग्ने महिलाहरू दक्षिण एशियामा बढी छन् । दाजु थाक्सिन सिनावात्रा निर्वासनमा जान वाध्य पारिएपछि इङ्गलुक सिनावात्रा पार्टी नेतृत्व हाँक्दै कठिन चुनौती पार गर्दै प्रधानमन्त्री बन्न सफल भएकी थिइन् ।

श्रीलंकामा चन्द्रिका बन्दरनाइके कुमारातुंगा र बङ्गलादेशमा शेख हसिना वाजेद बाबुको हत्यापछि उदाए । पिता जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि बेनजिर भुट्टोको राजनीतिमा बलियो उपस्थिति बन्यो । आङ साङ सुकी बाबु जनरल अङ्ग सुङ मारिएपछि राजनीतिमा अप्रत्याशित घटनाका कारण उदाइन् । सोनिया गान्धी पति राजीव गान्धी र बेगम खालिदाजिया पति जिआउर रहमानको हत्यापछि राजनीतिमा होमिए । इन्डोनेशियाकी पूर्व राष्ट्रपति मेघावती सुकार्नोपुत्री त्यहाँका प्रथम राष्ट्रपति सुकार्नोकी छोरी हुन् । तानाशाही शासक सुहार्तोको तारोमा परेर हटाइएका थिए सुकार्नो । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद हत्या गरिएका बङ्गलादेशका पूर्व प्रधानमन्त्री तथा राष्ट्रपिता शेख मुजिबर रहमानकी छोरी हुन् । बाबुको हत्यापछि वाजेद राजनीतिमा उदाइन् । काकताली र कुनै अप्रत्याशित घटनाले महिलाहरू राजनीतिमा होमिने र सफल हुने घटना एशियाली देशहरूमा भए ।

वैधानिक रूपमा महिलाका लागि आधा हिस्साको सुनिश्चितता नभएसम्म यस्ता घटना भइरहन्छन् । एकातर्फ आधा हिस्सा नहुनु र अर्कोतर्फ सफल भएकाहरूप्रति पूर्वाग्रही चश्माले हेर्नेहरूले महिलाको राजनीतिमा प्राप्त सफलतालाई पुरूषकै देन वा विरासत हो भनी प्रस्तुत गर्ने मौका पाए । राजनीतिको तल्लोदेखि माथिल्लो तहसम्म वैधानिक तरिकाले आधा स्थान सुनिश्चित भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मको नेतृत्वमा महिलाको प्रत्याशित प्रवेश सहज हुनसक्छ । समग्र समाजले महिला राजनीतिको उच्च तहमा पुग्नुलाई सामान्य मान्ने अवस्था निर्माण हुन्छ । महिलाले मौका पाउन वंशको टेको टेक्नुपर्ने वा कुनै संकटबाट विकल्प बनेर प्रवेश गर्नुपर्ने अवस्थाको अन्त हुन्छ ।

नेपालको सन्दर्भमा पनि मदन भण्डारीको दासढुंगा घटनामा निधन भएपछि विद्या भण्डारीको राजनीतिमा सक्रियता बढ्यो । विद्याको दुई दशक लामो संघर्षलाई समेत मदनको विरासत भन्दै नदरअन्दाज गर्नेहरूको कमी छैन । राजनीतिमा सफल महिलालाई दयाको पात्र बनाइन्छ । यसलाई मेट्न वैधानिक परिवर्तनको जरूरी छ । भागवण्डा वा कुनै अप्रत्याशित घटनाका कारण महिलाको राजनीतिमा उदय र सफलताभन्दा तल्लोदेखि माथिल्लो तहसम्म महिला सहभागिताको वैधानिक सुनिश्चितता जरूरी छ । नेपालको सन्दर्भमा आधा जनसंख्या ओगट्ने महिलाका लागि राजनीतिमा आधा सहभागिता अनिवार्य हुनेगरी ऐतिहासिक र प्रगतिशिल कदम चाल्नुपर्छ । नयाँ संविधानमा संशोधन गरी सुनिश्चतता जरूरी छ । राजनीति वा प्रशासनिक सेवाहरूमा आधा जनसंख्या ओगट्ने महिलाको आधा हिस्सा न्यायोचित र वैज्ञानिक तरिकाले उचित हो ।

लैङ्गिक समानताको दीप

महिलाको राजनीतिमा सहभागिता निरन्तरता र परिवर्तनमा आधारित हुनुपर्छ । जतिसुकै छेकबार हालेपनि महिलाहरूको राजनीतिलगायत नीतिनिर्माणका अन्य तहमा संख्यात्मक र गुणात्मक रूपमा बढ्दो वेगलाई कसैले छेकबार हाल्न सक्दैन । तथापि, मूल विषय भनेको महिला अधिकार र यथार्थबारे सकारात्मक परिवर्तन सृजना गर्नु हो । पुरूषहरू घरदेखि राज्यसम्मका प्रधान निर्णयकर्ता हुन् भन्ने मानसिकता विद्यमान पितृसत्तात्मक लैङि्गक सम्बन्धमा परिवर्तन अनिवार्य आवश्यकता हो ।

महिलाको प्रगतिमा पुरूष मुख्य कारक ठान्ने प्रवृत्तिको अन्तका लागि राजनीतिक, प्रशासनिक, प्राज्ञिक, संचार, कानुनलगायतका क्षेत्रमा महिलाहरूको उल्लेख्य सहभागिता हुनुपर्छ । अब राज्यको सबैभन्दा उच्च तहमा महिला पुगिन् भनी चित्त बुझाएर बस्नु हुँदैन । महिला अधिकार र समानताको पक्षमा आशाको दीप बलेको छ निभ्न दिनुहुँदैन ।

विद्या भण्डारी राष्ट्रपति र ओनसरी घर्ती सभामुख हुँदा देशभरका धेरै महिलाहरूले दीपप्रज्ववलन गरे । त्यो दीपले लैङि्गक समानताका लागि चेतनाको प्रकाश छरोस् । नीतिनिर्माण तहमा पुगेका महिलाले समानता र अधिकारका पक्षमा डटेर पाइला चालुन् । हरेक नेपालीको मनमा परोस् कि कुनै दिन आफ्नी छोरी, दिदी वा बहिनी राज्यको उच्च तहमा पुग्ने सम्भावना बोकेकी छे । कुनैपनि नारी दयाकी पात्र होइनन् न कि कुनै पुरूषको सुरक्षाछातामुनी रहनुपर्ने अवस्थाकी छे । यी सबै तिनको स्वतन्त्रतामाथि बन्देज लगाउने पितृसत्तात्मक रणनीति हो ।

हरेक बालिकाको मनमा गडोस् कि उनी राज्यको हरेक निकायका लागि योग्य र क्षमतावान् छिन् र आफ्नो सुरक्षा गर्न आफै सक्षम छिन् । पहिलो महिला राष्ट्रपति निर्वाचित भएसँगै नेपालको हरेक घरमा विद्यमान पुरूषप्रधान सोचले बढाएको भ्रुण हत्याको अन्त होस् । छोरी जन्मिएमा दाइजो वा तिलकको भार बोकाउँछे र समाजमा कथित इज्जतको रक्षामै चिन्ता बोक्नुपर्ने सोच त्याग्ने मानसिकताको विकास हरेक दम्पत्तिले गरेमा मात्र लैङि्गक विभेद अन्तमा सम्भावनाको ढोका खुल्छ । त्यतिबेला महिलाहरू उच्च पदमा पुगेको सार्थक ठहर्छ ।

(लेखक जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधी गर्दैहुनुहुन्छ )                                                     [email protected]

 प्रकाशित मिति: २०७२ कात्तिक १९ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: