नयाँ इतिहासको रचना


प्रकाशित मिति :2015-10-29 13:20:00

‘केही’ महिला राज्यसत्ताको अलंकारिक पदमा पुग्दैमा सताब्दियौंदेखि सामाजिक, सांस्कृतिक रुपले थिचिँदै आएका महिलाले स्वतन्त्र उन्मूक्ति पाउन सक्दैनन्। यसको लागि उनीहरूका आवाजलाई ‘माथि पुगेका’ महिलाले संबोधन गर्न सक्नुपर्छ।

रामेश्वरी पन्त

rameshoriमातृशक्ति पुजिने महान पर्व विजयादशमीले यसपाली नेपाली राजनीतिको फाँटमा महिलाका लागि विशेष खुशियाली छरेर गएको छ। नवरात्रको अवसरमै सभामुख जस्तो गरिमामय पदमा महिला (एनेकपा माओवादीकी सांसद एवम् पूर्व उपसभामुख ओनसरी घर्ती) निर्विरोध निर्वाचित हुनु नेपाली महिलाहरूको लागि गौरवको विषय हुन पुग्यो। यसैगरि दसैं लगत्तै शुरु भएको राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रकृयाले पूर्णता पाउँदै गएको अवस्थामा देशकै उच्च राजनीतिक पद (राष्ट्रपति)मा नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी निर्वाचित हुनुले नेपालको इतिहासमै एउटा सुनौलो पाना थपिएको महशुस भैरहेको छ।

सभामुख र राष्ट्रपति जस्तो उच्च र गरिमामय पदमा महिलाको उपस्थितिलाई नेपाली महिला आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ। वास्तवमै यो क्षणले एउटा नयाँ इतिहास रचेको छ र यसले विश्व परिवेशलाई नौलो सन्देश दिएको छ। पश्चिमाहरूको व्याख्यामा ‘व्याकवार्डेड’ रहेका पूर्वीय संस्कृतिभित्रका नेपाली महिलाहरू आज राज्यको शीर्ष तहमा पुग्नुले पक्कै पनि उनीहरूलाई गतिलो जवाफ दिने विश्वास गर्न सकिन्छ। समाज परिवर्तनको लागि संघर्षको दियो बाल्ने योगमाया हुन् वा निरंकुश जहानीया राणाशासनको अन्त्यकोलागि र लोकतन्त्रको स्थापनाकोलागि पुरुषहरूसँगै संघर्षको मैदानमा सहयात्रा गरेका मंगलादेवी, साहना वा शैलजा आदिको आत्मा पनि आज निकै खुसी भएको होला भन्ने लागिरहेछ।

त्यसो त दशवर्षे माओवादी विद्रोह र २०६२–६३ को आन्दोलनमा देखिएको महिला सहभागिता र उनीहरूको त्याग र वलिदानको उपजको रुपमा यो ऐतिहासिक क्षणलाई लिन सकिन्छ। विभिन्न संघर्ष, कठिनाई र आरोह–अवरोहका बावजूद जननिर्वाचित जनप्रतिनिधिहरूद्वारा निर्मित नेपालको नयाँ संविधानले राज्य संरचनाका हरेक अंगमा समानुपातिक समावेशीताको आधारमा नियुक्ति वा निर्वाचित गर्नुपर्ने व्यवस्था गरेकाले पनि यतिबेला सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने, त्यसैगरि राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एकजना महिला हुनुपर्ने भन्ने महिलाहरूको आवाजलाई बल पुर्‍यायो र आज राज्यव्यवस्थाको उच्च पदमा महिला आसिन हुन पुगे।

तर यतिलाई मात्र महिला आन्दोलनको उपलब्धि ठानेर फुर्किने अवस्था भने छैन किनकी कुनै एकजना महिला सभामुख बन्दैमा वा एकजना महिला राष्ट्रपति बन्दैमा आम नेपाली महिलाको जीवनस्तर चौतर्फी रुपमा उकासिन सक्दैन। नयाँ संविधानमा महिलाका लागि जेजति हक र अधिकार स्थापित हुन पुगे त्यहाँसम्म आइपुग्न महिलाले गरेका संघर्ष र नेपालको राजनीतिमा जरो गाडेर बसेको पुरुषवादी मानसिकताविरुद्धको लडाईँ त्यति सजिलो पक्कै थिएन।

जे जति उपलब्धिहरू भए तिनलाई केवल कागजमा मात्र सिमित नराखेर व्यवहारमा उतार्न अझै धेरै संघर्ष गर्नुपर्ने अवस्था विद्यमान नै छ। महिलाहरू सत्तामा पुग्नुलाई मात्र पूर्णता ठान्न सकिंदैन। राज्यशक्तिमा कति महिला पुगे र उनीहरूको भूमिका कस्तो रह्यो भन्ने कुराले अहम् भूमिका खेल्छ।

यस अघि संविधानसभामा उपसभामुख रहेकी ओनसरी घर्तीले संविधान निर्माणका वर्षहरूमा केवल सभामुख सुवास नेम्वाङको अनुपस्थिति रहेका कुनै दिनमा मात्र सभापतित्व गर्न पाइहोलिन् नत्र उनी ‘उप’मा मात्रै सिमित रहिन् र उनको भूमिका खासै देखिएन। सभामुखकै कुरा गर्नेहो भने पनि आफ्नो कार्यकालभरि उनले कुनै चमत्कार गर्न सकेनन्।

पटक पटक संविधानसभामा सभासदहरूले ताण्डव देखाउँदा निरिह बनेर बरु आँसु खसालेको देखियो तर त्यो ताण्डवलाई रोक्ने वा दोषीलाई कारबाही गर्ने आँट गरेको देखिएन। यसरी हेर्दा सभामुखको पद पनि केवल अलंकार मात्रै पो रहेछ कि? भन्ने आम बुझाई रह्यो।

त्यसैले अबका दिनमा पनि संसदमा प्रस्तुत हुने कुनैपनि महत्वपूर्ण प्रस्तावहरू, अझ महिलाहरूको हकहितकोलागि लगिएका महत्वपूर्ण प्रस्तावहरू पारित गराउनुपर्ने अवस्था आएमा नेपालको इतिहासमा पहिलो महिला सभामुख बन्न पुगेकी ओनसरीको भूमिका केवल ‘तटस्थ’को रुपमा मात्र रहने पक्का छ किनकी उनी आफ्नो अधिकारक्षेत्रले बाँधिएकी हुनेछन्।

यसैगरि राष्ट्रपतिको रुपमा रहेकी विद्या भण्डारीको भूमिका पनि केवल ‘रबर स्टाम्प’ कै रुपमा रहने छ। उनलाई पनि संविधान र कानुनले बाँधेको हुनेछ। कार्यकारी अधिकारजति प्रधानमन्त्री र मन्त्रीहरूमै रहेको हुँदा मन्त्री परिषदका निर्णय र सिफारिसमा लालमोहर लगाउनु मात्र उनको काम हुनेछ। पूर्णता पाउन बाँकी महिलाका हक अधिकारको स्थापनामा उनको खासै भूमिका रहने छैन। नेपाली महिला आन्दोलनको इतिहासमा विद्या भण्डारीको भूमिका केकस्तो रह्यो र अधिकार प्राप्तीका लागि लडिएको संघर्षको मैदानमा उनी कत्तिको दौडिन् त्यो त इतिहासले कुनै दिन समिक्षा गर्ने नै छ। तर अब भने विद्या भण्डारीको राजनीतिक यात्रा राष्ट्रपतिको पदावधिसँगै अन्त्य हुनेछ भन्दा अन्यथा हुनेछैन।

यसर्थ राष्ट्रपति र सभामुखका पद केवल महिलाहरूलाई सजाएर राख्ने ‘अलंकार’ मात्र हुन्। राज्यशक्तिका डाडु पन्यूँ त अझै पनि पुरुषहरूकै हातमा रहे। के साँच्ची नै संविधानमा कार्यकारी राष्ट्रपतिको व्यवस्था भएको भए महिलाहरूले यति सजिलै त्यो पद पाउँथे होलान् त? छातीमा हात राखेर कुनै पुरुष नेताले यसको जवाफ दिन सक्लान्? शंकै लाग्छ। किनकी महिलालाई कमजोर र असक्षम देख्ने मानसिकताले नेपालको राजनीतिलाई ढपक्कै ढाकेको छ र यही मानसिकताको जाँतोमा पिँधिइरहेका राजनीतिकर्मी महिलाहरू पनि आफ्नो क्षमतामाथि शंका गर्छन् र पाएसम्म ‘उप’ मै चित्त बुझाउन पुग्छन्। एकपाइलो अघि बढेर ‘म पनि सक्छु’ भन्ने गरेको अहिलेसम्म देख्न पाइएन।

यहाँ भन्नैपर्ने कुरा के छ भने संविधान घोषणाको लगत्तै प्रधानमन्त्रीको निर्वाचन भयो। कुनै पनि दलले महिलालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएनन् र बनाउन पनि खोजेनन्। किनकी त्यो देशकै शक्तिशाली पद थियो। र कुनै महिला नेताले यो हिम्मत गरेनन् कि ‘म पनि प्रधानमन्त्री बन्न सक्षम छु र म उम्मेदवार बन्छु।’

त्यसपछि उपप्रधानमन्त्रीको चयन प्रकृया चल्यो र हरेक दलको चित्त बुझाउन सत्तारुढ दलैपिच्छेका उपप्रधानमन्त्री नियुक्त भए। यो संख्या करिब आधा दर्जन पुग्यो र अझै बढ्न सक्ने हल्ला सुनिन्छ। तर यो आधादर्जन भित्र एकजना महिला पनि पर्न सकेनन्। यो लाजमर्दो खडेरीलाई आफूलाई महिलानेता भन्नेहरूले कसरी लिएका छन् कुन्नी? धन्न एकजना महिलालाई मन्त्रीमण्डलमा समावेश गर्ने …कृपा’ गरियो!

जबसम्म नीतिनिर्माणको तहमा महिलाहरू पुग्दैनन्, जबसम्म उनीहरूको हातमा महत्वपूर्ण निर्णय गर्ने अधिकार पर्दैन तबसम्म महिला आन्दोलनले पूर्णता पाएको मानिने छैन। किनकी ‘केही’ महिला माथि पुग्दैमा वा राज्यसत्ताको अलंकारिक पदमा पुग्दैमा सताब्दियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवम् विभिन्न रुपले थिचिँदै आएका महिलाहरूले स्वतन्त्र उन्मूक्ति पाउन सक्दैनन्।

यसको लागि त उनीहरूका आवाजलाई ‘माथि पुगेका’ महिलाहरूले संबोधन गर्न सक्नुपर्छ र कानूनी रुपमा मात्र नभै व्यवहारिक रुपमा पनि उनीहरूलाई अधिकारसम्पन्न गराउन सक्नुपर्छ। त्यसकारण सभामुख र राष्ट्रपति जस्तो गरिमामय पदमा आफूलाई आसिन गराउन सफल भएसँगै अभाव, गरिबी, सामाजिक उत्पीडन र हिंसाको जाँतोमा पिँधिएका आम महिलाको मुक्तिको लागि आगामी दिनमा महिला नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सकेमा साँच्ची नै नेपाली महिलाहरूले विश्वसामू एउटा नौलो र गौरवशाली इतिहास रच्ने छन् भन्ने विश्वास लागेको छ।
लोकतन्त्रलाई संस्थागत गर्ने संघर्षमा लागिरहेको नेपालमा भर्खरै राष्ट्रपतिको निर्वाचन भएको छ र विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी छन्। अलंकारिक नै सही नेपाली महिलाहरूको लागि यो गर्व र गौरबको विषय हो। यसैगरि आफूलाई लोकतन्त्रको मशिहा ठान्ने अमेरिकामा पनि निकट भविष्यमा हुन गैरहेको राष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवार हिलारी क्लिन्टन चुनावको मैदानमा उत्रेकी छन्।

उनले जितिन् भने उनी विश्वकै शक्तिशाली शासक बन्नेछन्। जितुन् उनले! यो जीत पनि सारा विश्वका महिलाको लागि गर्वको विषय हुनेछ। यो कामनासँगै नेपालमा भर्खरै निर्वाचित भएका (शक्तिविहीन नै सही) सभामुख ओनसरी घर्ती र राष्ट्रपति विद्या भण्डारीलाई हार्दिक बधाई !! उहाँहरूको कार्यकाल सफल रहोस् र उल्लेख्य रहोस्।

प्रकाशित मितिः २०७२ कात्तिक १२ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: