चाडबाडको खुसियाली, कहाँ छन् महिला ?


प्रकाशित मिति :2015-10-20 08:00:47

घरका पुरुष सदस्यले छोरी–बुहारीको व्यस्तता बुझेर उनीहरुको दुःखलाई सजिलो बनाउने सानो मात्रै प्रयास गरेमा चाडबाडमा परिवारमा भित्रिने खुसियालीमा महिला पनि उत्तिकै सहभागीहुन पाउँथे ।
ममता शर्मा नेपाल

असोज र कात्तिक महिना नेपाली हिन्दुहरूका लागि महत्वपूर्ण समय हो । यसबेला दसैं, तिहार, छठ जस्ता ठूला चाडपर्व पर्दछन् । यी चाडपर्वले मानिस र समाजलाई एकीकरण गर्ने काम गर्दछन् । किसानको खेतीपाती थन्क्याउने र जागिरेले जागिरबाट फुर्सद पाउने भएकाले यो समयको रसमाधुर्य अझ बढ्छ । वर्षौंदेखि टाढा रहेका परिवारका सदस्य तथा आफन्तसँग भेटघाट हुने हुँदा यी चाडपर्वको विशेष महत्व छ ।

यी सबै चाडपर्वका आ–आफ्नै किसिमका धार्मिक, सांस्कृतिक र सामाजिक विशेषताहरू छन् । दसैं, तिहार र छठसित आर्थिक पक्षको नजिकको सम्बन्ध हुन्छ । यी पर्वमा मनोरञ्जनात्मक पक्ष पनि गाँसिएको छ । एकातिर खर्च व्यवस्थापन अर्को तिर मनोरञ्जन । यी दुईको सम्मिश्रणले नै यी चाडहरू नेपाली हिन्दूहरूकालागि विशेष चाड बन्न पुगेका हुन् । समाजको सवै वर्गका मानिसले दुःखसुख यी पर्वलाई हासीखुसी मनाउने प्रयास गर्ने हुँदा यिनलाई राष्ट्रियस्तरको सांस्कृतिक–सामाजिक घटना मानिँदै आएको हो ।

यी चाडले मनोरञ्जन दिन्छन् । तर, समाजको कुन हिस्सा यस्तो मनोरञ्जनको बढी हकदार बन्छ ? चाडबाडको मनोरञ्जनात्मक पक्षलाई जोड दिइरहँदा महिलाले यसलाई कसरी आत्मसात गर्न पाएका हुन्छन् ? यस्ता प्रश्न अनावश्यक झै लाग्न सक्छन् तर गहिरिएर हेर्दा यसको जवाफ महिलामैत्री हुँदैन । जुनसुकै चाडवाड हुन् तिनमा प्रत्यक्ष रुपले महिलाकोमात्रै ढाड सेकिन्छ । चाडवाड आयो कि महिलाको जिम्मेवारी दोब्बर बढ्यो ।

चाडवाड र रितिरिवाजलाई नेपाली महिलाले धानेका छन् भन्ने कुरामा दुईमत हुन सक्दैन । अझ स्पष्ट रुपले, संस्कृति धान्ने जिम्मेवारी महिला कै काँधमा छ भन्दा अन्यथा हुँदैन । घरभित्र वा घरबाहिर दुवैतिर उनीहरू व्यस्त रहन्छन् । थोरै पैसामा कसरी किफायत गर्ने र परिवारलाई कसरी रमाइलो वातावरण प्रदान गर्ने भन्नेमा उनीहरूको सुझबुझ रहन्छ र यसलाई सफलतापूर्वक व्यवस्थापन पनि गर्दछन् ।

यसरी परिवारलाई रमणीय वातावरण बनाइरँहदा के उनीहरू पनि रमाउन पाएका हुन्छन् ? यो कोणबाट सोच्नेहरू हाम्रो समाजमा विरलै फेला पर्लान् । अवश्य पनि महिलाहरू परिवारभित्र खुशी दिने र खुशी बाँड्ने कोटीमा पर्छन् । उनीहरू आफूले लिने र पाउने भन्दा पनि अरुलाई दिने कुरामा केन्द्रित हुन्छन् । तर, परिवारमा सुख, खुशी र रमाइलो वातावरण परिवारका हरेक सदस्यको भागमा बराबरी प¥यो परेन भनेर हेर्नु जरुरी छ ।

तर, पितृप्रधान समाजले यो पक्षतिर हेरेको पाइन्न । घरका अन्य पुरुष सदस्यले छोरी र बुहारीका व्यस्तता बुझेर उनीहरूको दुःखलाई सजिलो बनाउने प्रयास गरेको भए कुनै पनि राष्ट्रिय चाड र त्यसबाट पाइने खुसियालीमा महिला पनि उत्तिकै सहभागी हुन पाउँथे ।

महिला शक्तिको पूजा हुने पर्व दशैं–तिहारमा हाम्रो समाजमा प्रायः यस्तो दृश्य देखिन्छ – पुरुषहरूले आर्थिक जोहो गर्ने, खसी–बोका किन्ने, काट्ने र कसै कसैले घर सजावटमा मद्दत गर्ने । महिलाले घरको सरसफाइ गर्ने, खाना तयार पार्ने र खुवाउने । आजकलका सीप भएका र पढेलेखेका महिलाले खर्च पनि जुटाउँछन्, घर सफा गर्ने, लुगाकपडा किन्ने, मरमसला किन्ने, खाना पकाउने–खुवाउने र त्यसपछिको जटिल काम भान्साको सफाइ र भाँडा माझ्ने ।

चाडवाडमा घरमा सँधै भन्दा धेरै मानिसको जमघट हुन्छ । यसबाट भान्साको काम थपिन्छ । धेरै परिकार पकाउने, खुवाउने गर्दा समय बढी लाग्छ । खाना खाएपछि धेरै भाँडा माझ्नु पर्दा महिलाको सबै समय भान्सामै बित्छ । अनि रमाइलो गर्ने समय खोइ ! पुरुषको हकमा अर्कै परिदृश्य हुन्छ । प्राय सबै चाडवाडमा पुरुषहरू मोजमस्तीमा हुन्छन् । यो सोचनीय पक्ष हो । यस्तो असन्तुलनलाई सन्तुलित बनाएमा महिलाहरूको पनि खुशी बढाउन सकिन्छ ।

हाम्रो समाजमा चाडवाडको बेलामा रमाइलो वातावरणलाई सन्तुलित किसिमले व्यवस्थापन गर्न ध्यान दिइँदैन । महिला र पुरुषवीच समानता ल्याउन अनेक अभियानहरू थालिए तर संरचनागत रुपमा चलिआएका असमान व्यवहारलाई हटाउने प्रयास भएनन् । पुरुषहरू तास खेल्ने वा अन्य रमाइला खेलहरूमा रमाइरहँदा उनीहरूका निम्ति खाजा–खानाको तयारी र खेल्ने ठाउँसम्म पस्केर पु¥याउने काम महिलाले गरिरहेका छन् । यसरी रमाइलो गर्ने मौकामा महिला वञ्चित हुन पुग्छन् । त्यसैगरि जूठा भाँडाको सरसफाइमा पनि अधिकांश समय खर्च हुन्छ ।

चाडवाडमा महिलाले एकतर्फी रुपमा बेहोर्नु परेको दुःखको एकमात्र कारण हो –पितृसत्ता । यसको सोझो साइनो राजनीतिसँग जोडिएको छ । समाज र राजनीतिको शक्ति संरचनामा अमिल्दो अवस्था रहेसम्म यो विसंगति निरन्तर रहिरहन्छ । वास्तवमा भन्ने हो भने चाडवाडबाहेक अघिपछि पनि महिलाले तुलनात्मक रुपमै बढी काम गर्ने गर्दछन् ।

विश्वको हालै उपलब्ध तथ्यांकअनुसार दक्षिण एसियाका महिलाले धेरै काम गर्दछन् । अझ नेपालका महिलाहरू चौबिस घण्टामा औसत १७ घण्टा काम गर्छन् । जबकि पुरुषहरू यसको आधा समयमात्र काम गर्छन् । यति धेरै कार्य व्यस्तता हँुदा पनि समाजमा महिलाको कामको मूल्यांकन हुन सकेको छैन । उनीहरूले गर्ने श्रम राष्ट्रिय उत्पादनमा गणना हुन्न ।

यति हुँदाहुँदै पनि हाम्रो अगाडि आइरहेका चाडवाडलाई महिलामैत्री बनाउन सामान्य ध्यान दिन सकेमा केही मात्रामा सुधार ल्याउन सकिन्छ । महिलाका कामलाई सहज गर्न र उनीहरूको समय बचाउन ‘यूज एण्ड थ्रो’ किसिमका भाँडाहरू प्रयोग गर्न सकिन्छ । त्यस्ता भाँडामा रेडिमेड दुना–बोता–टपरी, कागज तथा प्लास्टिकका भाँडाहरू प्रयोग गर्न सकिन्छ । यसले एकातिर महिलाका कामको बोझमा कमी ल्याउन सकिन्छ र उनीहरू पनि चाडवाडमा रमाउने वातावरण बन्छ भने अर्को तिर हाम्रा घरेलु उद्योगलाई पनि टेवा पुग्छ ।

यस्ता ठूला चाडवाडमा यदी हामी हजारौं, लाखौं रुपैयाँ खर्च गरेर खाना र मनोरञ्जनका लागि छुट्ट्याउन सक्छौं भने त्यहीँ अलिकति खर्च छुट्ट्याएर महिलाका मनोरञ्जनका लागि पनि सोच्न सक्छौं ।

महिला र पुरुषवीच असमानता जारी रहनु विडम्बना हो । न्यायपूर्ण र उन्नत समाजमा यस्तो रहनु ठूलै कलंक हो । तसर्थ अब हामीले आफ्नै घरबाट महिलाका कार्यबोझलाई सघाउने र सरलीकरण गर्ने उपायहरू अवलम्बन गर्न सक्नुपर्छ । हामीले यति मात्र ध्यान पु¥याउन सकेमा पनि चाडवाडको रौनक बढ्छ र समाजको चरित्र र विसंगति पनि धेरै कम हुन्छ ।

प्रकाशित मिति: २०७२ कात्तिक ३ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: