‘लेखककी स्वास्नी’


प्रकाशित मिति :2015-10-06 12:32:51

निर्मला ठकुराठी

काठमाडौं, असोज १९ । लेखककी स्वास्नी लेखकको दुरावस्था र एकजना महिलाको संघर्षपूर्ण जीवनमा आधारित भएर लेखिएको उपन्यास हो । लेखक प्रगति राई महिलाचेतनाका लागि लेख्ने लेखिका हुन् । उनले यस अघि वादी विज्ञप्ति शीर्षकको कविता संग्रह लेखेकी छिन् । त्यस कृतिमार्फत्   उनी नेपाली साहित्यमा सशक्त भूमिका खेलेकी छिन् । यो उनको पहिलो उपन्यास हो ।

12124567_913104455447280_1876171066_o

यो उपन्यास सजिलो भाषामा लेखिएको छ । थुप्रै ठाउँमा उखान टुक्काको प्रयोग गरेकी छन् । साथै उनले किराँती भाषाका ठेट शब्द र बोली व्यवहारका कुरा राखेकी छन् । ती शब्दको अर्थ थाहा नहुने पाठकलाई बुझ्न  अप्ठेरो पर्छ । पाठकले अन्दाज गर्नुपर्छ ।

उपन्यासमा लेखककी श्रीमती मुख्य पात्रका रुपमा छन् । लेखक सहायक पात्रका रुपमा रहेका छन् भने छोरीहरू, प्रभाकर, दिवाकर, सुधा शर्मा लगायतका पात्र गौण पात्र हुन् । उपन्यासकार प्रगति राईले किराँती समाजको यथार्थ उपन्यासमा समेटेकी छन् । उपन्यासको तीन चौथाइ अंश काठमाडौंको परिवेशले ढाकेको छ भने एक चौथाइ गाउँको परिवेश समेटिएको छ ।

उपन्यासमा लेखकका माध्यमबाट पत्रकारिता, उपन्यास लेखन, कविता र राजनीतिक अवस्थालाई उजागर गरिएको छ । लेखककी श्रीमतीका माध्यमबाट काठमाडौंको व्यस्तता, मानवीय जीवनशैली, मानवीय व्यवहार, पैसाको महत्व, हाकिमहरूको ज्यादती जस्ता कुरालाई राम्ररी चित्रित गरिएको छ । यी सबैका बिच लेखककी श्रीमतीले आफ्नो परिचय भेट्टाएकी छैनन् । यसले हाम्रो समाजका अधिकांश महिला अझै परिचय विहिन छन् भन्ने कुराको चित्रण गरेको छ ।

उपन्यासमा लेखकको गाउँको वर्णनले नेपाली ग्रामीण बस्तीको अवस्थालाई उतारिएको छ । सहर र गाउँको परिवेशलाई नितान्त फरक ढङ्गले प्रस्तुत गरिएको छ । उपन्यासमा सहरको शैक्षिकस्तरलाई माथि देखाइएको छ भने ग्रामीण भाग अझै धेरै पछाडी छ । लेखककी आमाले भन्छिन्, ‘नातिनीहरू जति भएपनि अर्काको भैजान्छ । एक दुई जना बंश थाम्ने त चाहिन्छ ।’ यसबाट लैङि्गक भेदभावको झल्को देखिन्छ ।

यस उपन्यासले हाम्रो समाजको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र बालमनोवैज्ञानिक पक्षको चित्रण गरेको छ ।
उपन्यासकारले आर्थिक अवस्थालाई मुख्य बिषयबस्तु बनाएकी छिन् । लेखक र महिलाले भोग्नुपरेका समय उतारेकी छन् । उपन्यासका पात्र लेखकले आफ्नो लेखनलाइ मात्रै ध्यान दिँदा लेखककी श्रीमतीले घरव्यवहार चलाउनु परेको छ ।

सानोतिनो जागीर गरेर उनले घर खर्च, घरभाडा, सँगै छोरीहरूको स्कुल फी पनि जुटाउनु परेको छ । लेखकले सुर्ती र खैनीको माग समेत श्रीमतीबाट गरेकोले घरको अभिभावकको भूमिकामा लेखककी स्वास्नी रहेकी छन् । श्रीमानले सहयोग नगर्दा पनि उनी पैसा नभएको समयमा उधारोमा घर खर्च जुटाइ रहेकी हुन्छिन् ।

लेखककी श्रीमतीले पारिवारीक जिम्मेवारी उठाउन धेरै समस्याको सामना गरेर महिला हुनुको परिचय दिएकी छन् । तर, उनी प्रभाकरसँग छोटो समयमा नै नजिकिएर विश्वास गरेको प्रसङ्ले हाम्रो समाजको यथार्थको झल्को दिएको देखिएन । उनले प्रभाकरसँग बसेर रक्सी खाएको, मोटरसाइकलमा हिँडेको, उसबाट पैसा सापटी लिएको र श्रीमान घरमा नहुँदा कोठामा नै स्वागत गरेको प्रसङ्ग नेपाली समाजको लागि अलि असहज छ ।
अन्तरजातीय विवाह गरेकी लेखककी स्वास्नीले समाजबाट हेपिनु परेको छैन । यो कुराले भबिष्यको राम्रो पक्षलाई देखाएको छ ।

उपन्यासकारले उपन्यासको बिचबिचमा कबिताको स्वाद प्रशस्तै चखाएका छन । उपन्यासकै बिषयबस्तुसँगै रहेर लेखिएका कविताले लेखक कवि पनि हुन् भन्ने कुरा प्रस्ट्याउछ । उपन्यासमा अहिले फेसनको रुपमा रहेको मायाप्रेमलाई पनि छोरीको माध्यमबाट देखाइएको छ । छोरीहरूले बाल मनस्थितिको चित्रण गरेका छन् ।

बेला बेला लेखककी श्रीमतीले विदेश जाने इच्छा गर्दा र श्रीमानले विदेश नगएकोमा पछुतो गर्दा हाम्रो देशको गरीबी झल्किएको छ । नेपालीको दिनचर्या र व्यवहारका प्राय सबै कुरा समेटीएको यो उपन्यासमा महिलाका हरेक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ र महिला अधिकारको विषयमा विशेष वकालत गरिएको छ ।

श्रीमानबाट नै महिला जलाइएको प्रसङ्गले नेपाली समाजमा बेला बेला घटिरहने यस्तै कुराको चित्र उतारेको छ । लेखककी श्रीमती र लेखकको बिचमा झगडा भएको प्रसङ्गमा दिवाकरले ‘आइमाइले अलि निच्चै बसिदिनुपर्छ’ र ‘लेखकको खुट्टा छोएर माफी माग’ भन्ने भनाइले पुरुषले अझै महिलालाई तल्लो दर्जामै राखेको कुरा झल्काएको छ । लेखककी श्रीमतीले त्यो कुरालाइ अस्वीकार गर्दा अब महिला पुरुषको अगाडी बिना गल्ती झुक्न चाँहादैनन् भन्ने कुरालाई देखाइएको छ ।

काकाकै मेनपावर कम्पनीमा काम गरिरहँदा पनि धेरै तनाव झेलेकी लेखककी स्वास्नीे आमाले पैसा पठाइदिने भनेपछि घमण्डी बनेकी छन् । उनले आफूलाई ठुलो बन्धनबाट मुक्त भएको आभाष गरेकी छन् । उनले पैसा पाउने भनेपछि त्यतीखेरै आफ्नो योजना बनाइ सकेकी छन् ।

उपन्यासको अन्त्यमा महिलाले केही गर्न अरुमै भर पर्नुपर्छ भन्ने सन्देश दिएको आभाष भयो । अरुको सम्पतिमा महिला रमाउँछन भन्ने कुरालाई लेखककी स्वास्नीलाई आमाले पैसा पठाइ दिने भनेपछि उनले गरेको काकाप्रतिको व्यवहार र प्रभाकरसँगको व्यवहारमा परिवर्तन ल्याउनुले प्रस्ट्याएको छ ।

उपन्यास : लेखककी स्वास्नी
लेखक : प्रगति राई
प्रकाशक : याम्बुरी बुक प्वाइन्ट, अनामनगर, काठमान्डौ
मूल्य : २८५
पेज : २२८

प्रकाशित मितिः २०७२ असोज १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: