प्रलोभनमा फस्छन् बढी किशोरी


प्रकाशित मिति :2015-08-25 10:41:42

खेमा बस्नेत

कैलाली,भदौ ८ । कैलालीकी १७ वर्षीया निर्मलाको एक युवकसँग प्रेम सम्बन्ध भयो । आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने मञ्जुरी भई दुबै जना कैलालीको फुलबारी खुल्ला नाका हुँदै उनीहरू दिल्ली पुगे ।
नयाँ जिन्दगीको कल्पना गरेकी निर्मला १५ दिनसम्म युवकको कोठामा बसिन् । दिन जति वित्दै गए, ती युवकको व्यवहार भने फरक–फरक हुँदै गयो । करिब दुई हप्ताको बसाईपछि उनले प्रेमीबाटै वेचिन लागेको भेउ पाइन् र बसेको कोठाबाट भागिन् । आफन्तलाई खबर गरी जेठ १३ गते कैलाली स्थित माइती नेपालको सम्पर्कमा पुगिन् ।
त्यस्तै माइतीमा बस्दै आएकी सुर्खेतकी सुशीलालाई पनि त्रिनगर नाकाबाट माईती नेपालले उद्धार ग-यो ।
सानो उमेरमै विवाह गरेकी सुशीला घरेलु हिंसा सहन गर्न नसकी माइतीमा बस्दै आएकी थिइन् । माइतीमै सुखदुःख गर्दै आएकी उनले राम्रो केटा पाए विवाह गर्ने सोच बनाएकी थिइन् । यसैवेला चितवन घर भएकी एक जना चिनजानकी महिला शर्मिला प्याकुरेलले केटाको प्रस्ताव गरिन् । भारतमा घर भएको भनेपछि शुशीलाले पनि सहजै स्वीकार गरिन्, र उनीसँगै भारत हिँडिन् ।

तर, उनीहरू भारत पस्न नपाउँदै कैलालीको त्रिनगर नाकामा माइती नेपालले रोक्यो । माइती नेपालको खोजविनपछि भारत घर भएका भनिएको ‘केटो’ गणेश प्याकुरेल उनै विवाह गराउन खोज्ने महिलाको श्रीमान भएको खुल्यो । त्यसपछि मात्रै शुशीलाले बल्ल आफू वेचिन लागेको थाहा पाइन् ।

भारतमा वेचिन लागेकी कैलालीकी निर्मला र सुर्खेतकी शुशीला दुवै जना अहिले माइति नेपालको सेफ हाउसमा बस्दै आएकी छिन् ।
शुशीलालाई वेच्न खोज्ने महिला र पुरुष दम्पत्ति भएको खुलेपछि उनीहरूलाई प्रहरीले पक्रेको छ । निर्मलालाई बेच्नको लागि सक्रिय बनेका दलाल सहित ३ जना विरुद्ध कैलाली अदालतमा मुद्धा चलिरहेको छ ।
निर्मला र शुशीला जस्तै थुप्रै चेलीहरू विभिन्न प्रलोभनमा दलालको सिकार बन्ने गरेको माइति नेपालले जनाएको छ ।
आफूले उद्धार गरेका महिलामध्ये अधिकांश प्रलोभन देखाएर फसाइएको देखिएको माइति नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले बताए ।
उनका अनुसार माइती नेपाल कैलालीले सन् २०११ देखि २०१५ अगष्ट २३ तारिख सम्ममा विभिन्न बाहनामा २९४ जना महिलाको उद्धार गरेको छ ।
माइती नेपालको तथ्याङ्क अनुसार सन् २०१२ मा ७९ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । यी मध्ये २ वटा मुद्धा चलेका थियो ।
त्यसैगरी सन २०१३ मा मा १ सय १ जनाको उद्धार भएको थियो । यस वर्ष १ जना दलालविरुद्ध मुद्धा दायर भएको थियो ।

त्यसैगरी २०१४ मा ५६ जना महिला उद्धार गरिएकोमा २ जना विरुद्ध मात्र मुद्धा चलाइएको माइती नेपालले जनाएको छ ।
सन् २०१५ अगष्ट २३ सम्ममा ५८ जना महिलाको उद्धार गरिएको छ । यस अवधिमा ७ जना दलाल विरुद्ध अदालतमा मुद्धा चलाइएको छ भने २ जनाले मुद्धामाथि पुनरावेदन गरेका छन् । बाँकी जेलमा रहेको बताइएको छ ।

त्रिनगर नाकाबाट ओसारपसार हुँदै आएका चेलीबेटीमा ८ देखि ४८ वर्ष उमेर समूहका छन् । पछिल्लो समयमा बेचबिखन पर्ने महिला तथा बालिका कैलाली अधिकांश रहेको माइती नेपालका संयोजक चौधरीले वताए ।
उनले दलालले चेलीबेटी बेचबिखनको नयाँ रणनीति अपनाएकोमा कैलाली नाकावाट उद्धार हुने चलीको कमी देखीएको जस्तो भएपनि बढीरहेको बताए ।
‘उद्धारको तथ्यांकमा गत वर्षभन्दा कमी आएको देखिए पनि बाटो र तरिका छलेर ओसारपसार भइरहेको हुनसक्छ ।’
प्रलोभन देखाएर, प्रेम जालमा पारेर विवाह गर्ने बाचा गरी हिंसा पीडित महिला दलित, जनजाति, बेसहारा र आर्थिक अवस्था कमजोर भएका महिला बेचबिखनमा पर्ने गरेका संयोजक चौधरीको भनाई छ ।
‘आफन्त तथा चिनजानकै व्यक्तिले ललाइफकाई वैदेशिक रोजगारमा लगाउने बहानामा बेचबिखन गर्ने रणनिति अपनाएर बेचबिखन गर्ने गरेको पाइएको छ ’ उनले भने ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न बनेको ऐन ०६४ मा बेचबिखन गरिसकेको अवस्थामा किन्ने र बेच्ने दुवैलाई २० वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना हुने प्रावधान छ । यस्तै, वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजारदेखि एक लाख रुपियाँ जरिवाना हुने, आर्थिक प्रलोभन देखाएर यौन शोषण) गर्नेलाई एक महिनादेखि तीन महिना कैद र दुईदेखि पाँच हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।
यस्तै, बेचबिखन गर्ने उद्देश्यले विदेश लैजानेलाई १० देखि १५ वर्ष कैद तथा ५० हजारदेखि एक लाख रुपियाँ जरिवाना र बेचबिखन गर्ने उद्देश्यले नेपालभित्र ओसारपसार गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति २०७२ भदौ ८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: