श्रीमानको उपहारले धोका दिएपछि‍‍…….


प्रकाशित मिति :2015-08-19 12:13:45

खेमा बस्नेत

कैलाली। फुलवारीकी ४० वर्षीया सरिता भट्टका श्रीमान कमाउन भारत पुगे । श्रीमानले कमाएको पैसाले घरधन्दा धानेकी उनले पैसासँगै एचआइभी पनि भारतवाट ल्याएर दिएको कुरा श्रीमानको मुत्युपछिमात्र थाहा भयो ।

उनले भनिन् ‘पहिला श्रीमानको मुत्युको कारण थाहा पाइन । पछी म विरामी परे चेकजाँच गराउँदा थाहा भो मलाई एचआइभी लागेको रहेछ । कमाउन गएका श्रीमान् रोग ल्याएर मलाई सार्ने थाहा पाएको भए भारत पठाउनी थिईन ।’ ‘उनले अहिले नियमित रुपमा औषधी खाँदै आएकी छन् ।

यस्तै अत्तरिया १३ चैतन्यपुरकी ४२ वर्षीया माया विक आफ्नो विवाह भएदेखि नै श्रीमान भारतमा कमाउन जान थालेको याद अझै ताजै छ । घरमा सम्पत्ति नभएकाले भारतबाट श्रीमानले पठाएको पैसाले जीविका चलेको छ । कहिलेकाहीँ श्रीमान घर आउँथे भेटघाटका लागि । फेरी फर्कन्थे कमाउन भारततिरै । यसरी मायाको जीवन चलेको थियो ।

सुःखदुःखमा चलेको मायाको परिवारमा त्यतिवेला ठूलो संकट आयो । जब जिन्दगीको सहारा श्रीमान बिक्रम विक नै परलोक भए । ‘आफू त गए गए, तर मलाई पनि कहिल्यै निको नहुँने उपहार दिएर गए’ उनले भनिन् ।

उनका श्रमिानकोे १२ वर्ष अघि एचआइभी संक्रमणबाटै मृत्यु भयो । श्रीमानको निधनबाट शोकाकुल मायालाई अर्को पीडा थपियो, आफू पनि एचआइभी संक्रमित भइसकेको थाहा पाएपछि ।

माया एचआईभीबाट संक्रमित भएको सात वर्ष भइसकेको छ । अहिले उनी धनगढीमा रहेको सेती अञ्चल अस्पतामा ६÷६ महिनामा नियमित चेकजाच गराउँछिन् । औषधी खाँदै आएकी छन् । ‘विवाह भएदेखि कमाउन भारत जान्थे, एकदिन भारतमा विरामी भएको खवर आयो । उनलाई त एचआईभी लागेको रहेछ, उनले भनिन् पछि म विरामी पर्दा थाहा भो, श्रीमानले एचआईभी सारेर गएका रैछन् ।’ ३ सन्तानकी आमा मायाका सन्तान भने स्वस्थ नै छन् ।

सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमा आर्थिक वर्ष २०७०/७१ मा रगत परिक्षण गर्ने आउनेमा १ सय १० जनामा एचआइभी संक्रमित भेटिएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा ८ सय ९१ जनामा रगत परिक्षण गर्दा ६३ जनामा एचआइभी संक्रमित भएको र यी मध्ये १९ जना महिला रहेका छन् ।

चालु वर्षको साउन महिनामा ८ जनामा एचआइभी संक्रमित देखिएको छ जसमा १ जना महिला छन् । सेती अञ्चल एआरटी सेन्टरको तथ्याकं अनुसार ६ सय ६५ जना नियमित औषधी खाईरहेको, ४ सय ७५ सुदूरपश्चिमको अन्य एआरटी सेन्टरबाट औषधी खाइरहेको, ५६ जना अहिलेसम्म सम्पर्कमानै नआएको र ७ जनाको विभिन्न कारण रोकिएको फोकल पर्सन पनेरुले वताए ।

एआरटी सेन्टरका फोकल पर्सन लोकराज पनेरुले ९० प्रतिशत महिलामा उनकै श्रीमानले एचआइभी सार्ने गरेको बताउँछन् । उनले रगत परिक्षण गर्न आउने आधारमा यो कुरा भनेको बताए । उनले अहिले भारतवाट आएका श्रीमानलाई श्रीमतीले आफैँ रगत परिक्षण गराउन आउने गरेको समेत जानकारी गराए ।

फोकल पर्सन पनेरुले भने ‘एचआइभी संक्रमित हुनुको प्रमुख कारणमा असुरक्षित यौनसम्पर्क, लागुऔषध र अप्रशोधित सुईको प्रयोग बढी देखिएको छ । एचआइभी संक्रमित बढी २५ देखि ४५ वर्ष उमेर समूहका महिला पुरुष रहेका छन् ।’
प्राय जसो सुदूरपश्चिमका ग्रामिण क्षेत्रका मानिस अशिक्षा र गरिबीका कारण घर परिवारका छाक टार्न भारतका विभिन्न सहर तथा तेस्रो मुलुक रोजगारीका लागि जाने गर्दछन् ।

रोजगारीमा रहँदा असुरक्षित यौन सम्पर्क वा जोखिमपूर्ण व्यवहारमा लाग्ने कारण उनीहरू अन्जानमै एचआइभी संक्रमित भएर स्वदेश फर्कने गरेको उनी बताउँछन् । क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलको २०७०/७१ तथ्यांक अनुसार ६ हजार २ सय ३८ जनामा रगत परिक्षणपछि एचआइभी संक्रमण देखिएको छ । २०६९/७० मा संक्रमितको संख्या ५ हजार ९ सय ४ थियो । सुदूरपश्चिममा संक्रमितको संख्या बढी भएका जिल्लामा कैलाली, कञ्चनपुर, अछाम र डोटी हुन् ।

संक्रमितको संख्या वृद्धिदर पनि अन्य जिल्लाको तुलनामा यी चार वटै जिल्लामा बढी रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७०/७१ मा कैलालीमा सबैभन्दा बढी २ हजार ९ सय ४८ संक्रमितको संख्यामा १ हजार ३ सय ४७ महिला रहेका छन् भने हालसम्म १ सय ७० जनाको मुत्यु भएको छ जसमा ३९ जना महिला तथा ८ जना बालबाललिका रहेका छन् । अछाममा १ हजार ३ सय ९१, डोटीमा ९ सय ९५, कञ्चनपुरमा ४ सय २०, बैतडीमा १ सय ५६ र डडेल्धुरामा १ सय ४९ जना संक्रमित छन् । एक वर्षको अवधिमा कैलालीमा मात्रै १ सय ५० जना संक्रमित थपिएका छन् ।
यस्तै बझाङमा ८२, बाजुरामा ७४ र दाुर्चलामा २३ जनामा एचआइभी संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार संक्रमित मध्ये करिब ३ हजारले एआरटी सेवा लिइरहेका छन् । आर्थिक वर्ष २०७१/०७२ को तथ्याङक आउन समय लाग्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायले जनाएको छ । (यहाँ उल्लेख गरिएका सवै पात्रको नाम परिवर्तन गरिएको छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: