नाङ्गै घुमाउनेहरू नाङि्गएको त्यो क्षण


प्रकाशित मिति :2015-05-14 12:57:08

unnamed_9
आफ्नो कुरा राख्दा रुँदै गरेकी पीडित बासुदेवी चौधरी
दाङ, वैशाख ३१। गाउँभरिका सबै महिलाहरुले गिद्धले सिनो लुछेझैँ लुछ्न कालोमोसो लगाएर गाउँ घुमाउन थालेपछि उनले नाइनास्ती गर्न पाइनन्। यो गर्मीमा त्यसरी घुमाएर यातना दिएपछि तिर्खाले प्याकप्याक पर्दा उनले पानीसम्म पनि पाइनन्।
 हरेक दिनझै बिहानको १० बजे। सतबरिया–२ वनघुस्रीकी बासुदेवी चौधरी (३४)ले आफ्ना १५ वर्षका छोरा र ११ वर्षकी छोरीलाई खाना खुवाएर स्कुल पठाइन्।
छोराछोरी स्कुल गइसकेपछि घर अगाडि रहेको धारामा लुगा धुन बाल्टीमा सर्फ पानीमा भिजाएर घरभित्र जान खोजिन्। तर उनी आफ्नै घरभित्र जान पाइनन्। गाउँका करिब दुई सय महिलाहरुले उनलाई चारैतिरबाट घेरा हालिसकेका थिए।
घरको ढोकाभित्र पस्न खोजिन् तर, ‘तँ किन घरभित्र जान्छेस्’ भनेर उनलाई पस्न दिएन त्यो महिलाको हुलले। घर वरिपरि जताततैबाट महिलाको भीडले बासुदेवीलाई घेरेको थियो।
पीडित बासुदेवीका श्रीमान धनीराम
भीडको नेतृत्व गरिरहेकी सीतारामी चौधरीले ‘पैसा किन दिइनस्’ भनेर सोधिन्। जवाफमा बासुदेवीले आफूलाई किन ‘चरित्रहिन’र बोक्सीको आरोप लगाउछौ ? भनेर प्रश्न गरिन्।
‘कागज होइन, यही हो प्रमाण,’ नजिकै रहेकी प्रेम लालकी श्रीमतीलाई देखाउँदै सबैजना महिला बासुदेवीमाथि खनिए।
भीडको नेतृत्व गरिरहेकी सीतारामीले धोतीको सप्कोबाट कैँची निकालिन्। ६/७ जनाले बासुदेवीका हात खुट्टा समाएर आँगनमा लडाए। सीतारामी, पानमती, हिरामोती, जानकी, दिकुमारी, आशाकुमारी चौधरी ६ जनाले बासुदेवीको लामो कपाल काट्न थाले।
आफ्नो कपाल काट्न थाल्दा उनले रोक्न खोजिन्। उल्टै टाउकोको छालासमेत काटिदिए। कसैले उनको म्याक्सी च्याते भने कसैले ब्लाउज च्यातिदिए। एक बोतल मोबिल टाउकोबाट खन्याइदिए। त्यो आँखा र अनुहारभरि पर्‍यो।
पीडित बासुदेवी र श्रीमान धनीराम
त्यतिञ्जेलमा कपडा च्यातिइसकेको थियो। ब्लाउजको पछाडितिरको भाग सबै च्यात्तिएको थियो। उनको कपाल काटिदिइसकेपछि महिलाहरूको भीडले जुत्ताको माला लगाइदियो। त्यतिले पनि चित्त नबुझेर तिनलाई गाउँभरि डुलाउन थाले।
पूर्व–पश्चिम राजमार्गबाट मुस्किलले २५ मिटरभित्र रहेको बनघुस्री गाउँका करिब दुई सय धुरीका सबै महिला बासुदेवीलाई नङ्ग्याउन आएका थिए। तिनीहरू उनलाई बेइज्जती गर्न आएका थिए। आएका प्रत्येक व्यक्तिले बासुदेवीलाई गाली गरिरहेका थिए। कोही उनलाई अपशब्द बोलिरहेका थिए भने कोही ‘२५ हजारेनी’ भन्दै थिए। कसैले उनलाई बोक्सीको आरोप समेत लगाए।
गाउँले महिलाहरुको हुल पछिपछि थियो। बासुदेवी पेटीकोट र च्यात्तिएको ब्लाउजमा खाली खुट्टा हिडिरहेकी थिइन्। त्यो बेला बासुदेवीका निम्ती न राज्य न कोही सहारा। उनी रुँदै महिलाहरुको भिडले जस्तो आदेश दिन्छ, त्यसै गर्दै गइन्। देउखुरीको मध्यान्हको गर्मी, त्यसमा पनि खाली खुट्टा। उनलाई पानी प्यास लाग्यो। जबर्जस्ती हिडाइँदा खुट्टा दुख्यो।
त्यो भीडमा उनका निम्ति दयादृष्टि राख्ने कोही थिएन। ती सबै उनलाई सजाय दिन भन्दै आफैँ कानुन हातमा लिएर आएकाहरू मात्र थिए। कसैले उनलाई यता धकेल्छ, कसैले उता। मानौं उनी फुटबल हुन्। उनलाई पीडा दिँदै भीडले मनोरञ्जन लिइरहेको थियो।
पीडित बासुदेवीको घर
‘म पनि मान्छे हुँ। मलाई पनि पिडा हुन्छ। प्यास लाग्छ। दुख्छ। यो भन्दा अगाडी जान सक्दैन, खुट्टा दुखिसक्यो भनेँ तर कसैले केही सुनेनन्’ बासुदेवीले भनिन्, ‘वनघुर्सी गाउँको पूर्व गल्ली र पश्चिम दुबै गल्ली पुरै घुमाए। त्यत्तिमात्र नभएर राजमार्गमा पनि लगे। गर्मी निकै थियो। प्यास निकै लाग्यो। पानी खान खोजे पानी खान दिएनन्। खुट्टा दुख्यो एकछिन बस्न दिएनन्।’
यी असहाय महिलामाथिको दुर्व्यवहार दुईघण्टा भन्दा बढी समयसम्म चल्यो। गाउँ घुमाएर उनलाई राजमार्गको बस बिसौनीसम्म ल्याइपुर्‍याएपछि मात्र पत्रकार दशरथ घिमिरेले आएर फोटो खिची सोधपुछ गर्न थालेपछि भीड थोरै तितरबितर भयो।
 ‘पत्रकार आएर फर्किएको केही समयपछि गाउँमा प्रहरी आयो। करिब अढाई बजेतिर। किन यस्तो भयो भनेर प्रहरीले सोध्यो’ उनले भनिन्, ‘बोक्सीको आरोप लगाएपछि पहिले दिनेभनेको पैसा दिन सकिँन भनेर मैले भनँे। गाउँ समाजलाई ठगेको भनेर महिलाहरुको भीडले भन्यो। सीतारामीले यसलाई कपाल काटेर, कालोमोसो दलेर गाउँ घुमाएपछि अब मेरो इच्छा पुग्यो भनिन्। प्रहरीले दुवै पक्षको गल्ती रै’छ अब दुवै मिलेर बस भनेर गयो।’
घटनास्थल निरीक्षण गर्दै प्रहरी र जिल्लाको अध्ययन टोली
प्रहरी गाउँबाट फर्केपछि बासुदेवी नुहाइधुवाइ गरेर कोठामा चुकुल लगाएर सुतिरहेकी थिइन्। दोस्रोपटक वडा प्रहरी कार्यालय लमहीको टोली गाउँमा पुग्यो। त्यसपछि उक्त घटनामा संलग्नहरु कोको हुन् र मुख्य कोको हो भनेर गाउँघरमै पुगेर व्यक्ति किटान गर्न लगायो।
दोस्रोपटक प्रहरी आउँदा पनि गाउँमा महिलाहरु जुटे तर पहिलेभन्दा निकै कम संख्यामा। गाउँमा पुलिस पुगेर केरकार गर्न थालेपछि  ती महिलाहरुले मिलिसकेको कुरामा किन फेरि पुलिस बोलाइस् भन्दै उफ्रन थाले। उनीहरूले उनलाई धम्क्याउँदै भने, ‘कपाल काटेर, कालो मोसो दलेर भएन? तँ जस्तो ठूलो बेइमान कोही छैन। तँ बोक्सी होस्।’
बासुदेवीले भनिन्, ‘मैले यत्रो अन्याय, हिंसा भोगे। त्यो पनि आफ्नै गाउँका महिलाहरूबाट’ उनले भनिन्, तर पनि धम्की दिन छाडेनन्। मलाई बोक्सी र चरित्रहिन भन्छन्। मरो सारा बेइज्जती गरे, गाउँ घुमाए।’
यसरी सुरु भयो घटना 
केही समय अगाडि सरकारले घोषणा गरेका नगरपालिकाहरु मध्येको एक दाङको लमही नगरपालिकाबाट करिब १० किलोमिटर पश्चिमतिर पूर्व–पश्चिम राजमार्गछेउमै एउटा महिलामाथि यत्रो ठूलो अन्याय भयो। यहाँ थारु जातिको मात्र बस्ती छ।
 बासुदेवीको परिवार खुसी थियो। श्रीमान धनीराम चौधरी (३४) घोराहीमा टायर मार्वल बिच्छ्याउने काम गर्छन्। २ छोराछोरी र श्रीमान श्रीमती गरी उनीहरुको परिवारले गुजारा गर्दै आएको थियो।
घटनामा संकलन गाउँका अन्य महिलाहरु जिल्लाको अध्ययनटोलीसमक्ष
बासुदेवी छोराछोरी पढाउने र आफ्नो ४ कट्ठा खेतमा खेतीपाती गर्थिन्। २०७० माघ ७ गते छिमेकी लोकबहादुर चौधरी र बासुदेवीको अनैतिक सम्बन्ध छ भनेर लोकबहादुरकी पत्नी सीतारामीले आरोप लगाइन्। गाउँभरि हल्ला चलाइयो।
गाउँमा तीन पटक गाउँले कचहरी बस्यो। नाताले लोकबहादुर र बासुदेवीको सम्बन्ध जेठाजु र बुहारीको छ। बासुदेवीको जेठाजुसँग राम्रो सम्बन्ध भएका कारण लोकबहादुर उनीहरुको घरमा आइरहन्थे।
तेस्रो पटकको छलफलमा फेरि पनि यस्तो खबर आए जसको कमजोरी देखिन्छ उसले २५ हजार रुपैयाँ तिर्नुपर्ने भनेर मौखिक सहमति भयो। चौथोपटक लोकबहादुरकी पत्नी सीतारामीले उजुरी गरिन्।यसपटक उजुरी वडा प्रहरी कार्यालय लमहीमा परेको थियो। लमही प्रहरीले कुनै प्रमाण फेला नपारेपछि महिला बासुदेवीमाथि अन्याय भएको ठहर गर्दै २५ हजार रुपैयाँ जरिवाना लोकबहादुरले बासुदेवीलाई तिर्ने सहमति गरेर मिलापत्र गर्‍यो।
मिलापत्र भइसकेपछि पनि उनले सुख पाइनन्। घर घेरेर गाली गर्ने, २५ हजारे भन्ने। राति सुत्दा बाहिरबाट ढोकामा हान्ने गतिविधिहरु भइरहे। ‘मिलापत्र भएपछि पनि मलाई सुःख दिएनन्। गाउलेहरुले प्रहरी कार्यालयमा मिलापत्र हुँदा दिएको २५ हजार रुपैयाँलाई दिएर २५ हजारे भन्ने, मेरा छोराछोरीलाई समेत तेरो बाआमा २५ हजारे भन्ने, राति सुत्दा ढोकामा हान्ने, घर घेरीघेरी तथानाम गाली गर्ने काम भइरह्यो,’ बासुदेवीले भनिन्।
गएको २०७१ चैत्र २३ गते गाउँबाट लोकबहादुर हराए। २४ गते नजिकैको जंगलबाट उनी झुण्डिएको अवस्थामा लास फेला पर्‍यो।
त्यसपछि लोकबहादुरको परिवारले उनको मृत्युको दोष बासुदेवीमाथि लगाउन थाल्यो। ‘मेरो श्रीमान मार्ने तै होस् ५ लाख रुपैयाँ ले’ भन्न थाले। २०७१ चैत्र ३० गते यसपटक बासुदेवीले वडा प्रहरी लमहीमा उजुरी गरिन्।
फेरि अब झगडा नगर्ने शर्तमा प्रहरीले २०७२ वैशाख १ गते मिलापत्र गरेर पठायो। जतिपटक मिलापत्र गरे पनि गाउँलेहरुले उनलाई आरोप लगाउन छाडेनन्। गाउँमा पुनः बैठक बस्यो पैसाको विषयलाई लिएर।
‘गाउँको बैठकमा २५ हजार लोकबहादुरले दिएका हुन्। यसले फिर्ता गर्नुपर्छ भनेर उनका श्रीमती सीतारामीले भनिन्। गाउँले अगुवाहरुले पनि दिनुपर्छ भनेर दबाद दिए,’ उनले भनिन्, ‘तर म त गरिब मान्छे कसरी दिन सक्थेँ त्यत्रो पैसा। ५० होइन २५ लिएको हुँ त्यति नै दिन्छु भनेँ। तर कसैले पनि मानेनन् र ३७ हजार रुपैयाँ दिने सहमति गरियो।’
बैठकले १५ दिनको म्याद दिएको थियो। आर्थिक अवस्था कमजोर भएकी बासुदेवीले १५ दिनको म्यादमा पैसा तिर्न सकिनन्। वैशाख १५ गते ग्रामीण महिला उत्थान केन्द्रमा ४० हजार ऋणको माग गरिन्। वैशाख १८ गते ऋण पनि पाइन्।
उनी पैसा तिरेर आनन्दले आरोपहरुबाट मुक्ति पाएर बस्ने सोचमा थिइन्। उनलाई फेरी आरोप लगाउन गाउलेहरुले सुरु गरे। उनको पक्षमा बोलिदिने कोही भएन। गाउँलेहरु जे मन लाग्यो त्यही गर्थे।
२७ वैशाखमा अर्को बैठक बस्यो गाउँका मतहवा (अगुवा) शालिकराम चौधरी (६४) को नेतृत्वमा। बैठकमा आफूले पैसा तिर्छु भन्दाभन्दै किन बोक्सिनी भनियो भनेर उनले सोधिन्। त्यसैले उनले ३७ होइन २५ हजार मात्र दिन्छु भनिन्। त्यसको भोलिपल्ट वैशाख २८ गते उनीमाथि यस्तो घटना भयो। आफू घोराहीमा मजदुरी गर्ने भएकाले घटनाको जानकारी पछि मात्र पाएर घरमा आएको बासुदेवीका श्रीमान धनीरामले बताए।
‘हामीलाई पहिलेदेखि यस्तै केके भनेर तनाव दिइरन्थे’ उनले भने, ‘धेरै पटक मिलाए पनि गाउँमा, प्रहरीमा। मजदुरी गरेर खाने मान्छे हामी। हप्तामा एकपटक घरमा आउछु।’उनले आफू काममा गएको र छोराछोरी स्कुल गएका बेला पत्नीमाथि यस्तो ज्यादति भएको उनले बताए। उनले आफुहरु माथि भएको अन्यायमा न्याय पाउनुपर्ने माग गरे।
गाउँका पुरुष तैँ चुप मैँ चुप
गाउँकी एक महिलामाथि यत्रो अमानवीय यातना दिँदा कुनै पनि पुरुषले आएर यस्तो गर्न हुँदैन भनेनन्। बरु महिलाहरूले यस्तो गर्लान् भन्ने आफूलाई नलागेको भन्दै पन्छिए।
‘यो महिलाहरुले गरेका काम हो’ गाउँका महतवा शालिकराम चौधरी भने, …खै हामीलाई त थाहै छैन, हामी त त्यो महिलाहरुको भीडमा पस्न सक्ने अवस्था थिएन। सबै एकजुट थिए।’ ‘धेरैपटक मिलाउने कोसिस गरेका हौं। गाउँमा मिल्न सकेन। त्यही भएर महिलाहरुले यस्तो गरेका होलान्,’ चौधरीले भने।
मोवाइल रेकर्डको भरमा यातना
 मृतक लोकबहादुर र बासुदेवीबीच भएको मोवाइल कुराकानीको रेकर्डका आधारमा गाउँका सबै महिलाहरुले उनकै कारणले लोकबहादुरको मृत्यु भएको भनेर खनिएका थिए। मोवाइल रकेर्ड सुन्दा लोकबहादुर निकै रोएका छन्। रेकर्डमा उनले बारबार जीवनदेखि हार खाएको, बासुदेवीका कारण परिवारबाट मानसिक दबाब भएको आदि बोलेको सुनिन्छ। तर उनीहरुले भनेजस्तो अनैतिक सम्बन्ध पुष्टि हुने कुनै पनि कुराकानी मोवाइल रेकर्डमा छैन।
कालोमोसो दलेर गाउँ घुमाउने काममा उपस्थित नभए पाँच सय रुपैयाँ जरिवाना लाग्ने खबर गाउँका प्रत्येक महिलालाई गएपछि भेला भएको जानकारी महिलाहरूले दिए। ‘हामीले कसम खुवाउदा कसैले नखाएपछि यस्तो गरेका हौं,’ उनीहरुले भने।
‘रीस लाग्ली फेन काट्ली’
 पहिलेदेखि आरोप लगाउदै आएका महिलाहरु मोवाइल रेकर्ड सुनेपछि झनै उत्तेजित भएर उक्त घटना गराएको देखिन्छ। मोवाइल रेकर्ड सामान्य भए पनि उनीहरुले मृतक लोकबहादुर र बासुदेवी गलत भएको ठहर गर्दै भनेजतिको पैसा नतिरेका कारण उनको कपाल काटेर कालो मोसो दली घुमाएको महिलाहरुले बताए। ‘रीस लाग्ली फेन काट्ली’– गाउँकी महिला बेनी चौधरीले थारु भाषामा भनिन्।
जिल्लाका महिला तथा अधिकारकर्मीद्वारा स्थलगत अध्ययन
 यसैबीच जिल्लामा यस्तो बर्बर अमानवीय घटना भएपछि महिला तथा मानव अधिकारकर्मी, पत्रकार सहितको टोलीले मंगलवार घटनास्थल पुगेर घटनाको विस्तृत अध्ययन गरेको छ। सभासद् पार्वती डिसी चौधरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला विकास अधिकृत विना श्रेष्ठ, मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा, लैंगिक हिंसासम्बन्धी एकद्धार संकट ब्यवस्थापन केन्द्र राप्ती उपक्षेत्रीय अस्पताल दाङका इञ्चार्ज राधा पौडेल, ओरेक दाङका संयोजक लक्ष्मी अर्याल, पद्मा चौधरी, इन्सेक दाङका संयोजक जयनारायाण पुन लगायतको टोलीले घटनाबारे पीडित, पीडक पक्ष दुवैसँग जानकारी लिएको थियो।
घटनाका मुख्य दोषी ठहरिएका सीतारामी चौधरी, पानमती चौधरी, हिरामोती चौधरी, जानकी चौधरी, दिलकुमारी चौधरी, आशाकुमारी चौधरीलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत प्रहरीले मुद्दा चलाएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालल घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गरिने विश्वास दिएका छन्। ‘अहिलेको जमानामा पनि यस्तो घटना हुनु भनेको मानवजातिका निमित्त लज्जास्पद हो’ उनले भने, ‘यो घटनाले मलाई लज्जित पारेको छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: