सूचना प्रविधिमा महिला


प्रकाशित मिति :2015-04-22 10:27:01

दुर्गा कार्की
अमृत साइन्स क्याम्पसमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको चौथो वर्षको सातौँ सेमेस्टरमा अध्ययनरत ४७ जनामा तीनजना मात्रै महिला छन् । यो विषय लिएर पढ्ने पाटन क्याम्पसका ४८ विद्यार्थीमध्ये नौजना र क्याथफोर्ड कलेजका ३० जनामध्ये नौजना मात्र छात्रा छन् ।

यो विषय लिएर पढेका थोरै छात्रामध्ये पनि धेरैले यो पेसा लिँदैैनन् । यस्तो किन हुँदोरहेछ भनी स्मार्ट समाजले ६० जना छात्राबीच अध्ययन गर्दा के पायो भने छात्राले यो पेसा आफ्ना लागि होइन भन्ने ठान्दछन् ।

‘घरमा आफू हुर्केको वातावरणले गर्दा महिलाले यस्तो ठान्दारहेछन्,’ समाजका सज्जन लामिछानेले भन्नुभयो । केटाहरू सानैदेखि भिडियो गेम खेलेर हुर्कन्छन् भने केटीहरू त्यसो गर्न पाउँदैनन् । बाबुआमाले छोरालाई भिडियो गेम किनिदिन्छन्, तर त्यही गेम छोरीले खेल्न थाली भने बिग्रिन्छ भनेर छुन दिँदैनन् । यसको छाप उनीहरूलाई पछिसम्म पर्दाेरहेछ ।

‘कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय पढे पनि केटीहरू हत्तपत्त कम्प्युटर बुट गर्न डराउँछन् जुन काम केटाहरूले नडराई गर्ने गर्छन्,’ सज्जनले भन्नुभयो ।

यस क्षेत्रमा महिला बढाउन स्मार्ट समाजका केही सदस्यले जी ह्याकेडेमी नामक संस्था स्थापना गरे । सो संस्थाले दशजना महिलालाई तीन महिना तालिम दियो । तालिममा उनीहरूलाई चाहिने सबै साधनस्रोत सुपरभाइजर, मेन्टर, कम्प्युटर र इन्टरनेट उपलब्ध गराइएको थियो । तालिम लिएपछि उनीहरू कम्प्युटर प्रोग्रामिङ गर्न, मोबाइल एप बनाउन, ग्राफिक तथा वेब डिजाइन गर्न पोख्त भए ।

अहिले त्यहाँ तालिम लिएका दशैजनाले सूचना प्रविधिका क्षेत्रमा काम गर्न थालेका छन् । तालिम सुरु गर्नुअघि जी ह्याकेडेमीले ठूला कम्पनीमा सूचना प्रविधिका क्षेत्रमा महिला कति छन् भनी अध्ययन गर्दा यस क्षेत्रमा महिला एकदमै कम भएको पाएको थियो ।

जी ह्याकेडेमीका संस्थापक सज्जन लामिछाने भन्नुहुन्छ, ‘हामीले कम्पनी मालिकहरूलाई महिलालाई किन काम नलगाएको भनेर सोधेका थियौँ । उनीहरूले महिलाले समय दिन सक्दैनन्, उनीहरू चाहिनेजति योग्य पनि छैनन् भनेर जवाफ दिए ।’

‘अहिले ह्याकेडेमीबाट तालिम लिएका महिला तिनै कम्पनीमा काम गर्दै छन् जसले पहिले महिलाले काम गर्न सक्दैनन् भन्ने ठानेका थिए,’ सज्जन सम्झनुहुन्छ ।

सुमिना तुलाधर ह्याकेडेमीबाट तालिम लिएकामध्येकी एक हुनुहुन्छ । उहाँलाई प्लस टु सकेपछि नर्सिङ पढ्ने विचार थियो । उहाँका धेरै साथी नर्स हुन गए । उहाँको परिवारले पनि नर्सिङ पढ्न जोड दिएको थियो ।

काममा सुरक्षित हुन र जोखिम कम लिनुपर्ने भएकाले अरू धेरै महिलाले जस्तै उहाँले पनि यो विषय रोज्नुभएको हो । तर, अस्कलमा सूचना प्रविधि विषय पढिरहेका साथीबाट यस विषयबारे थाहा पाएपछि सुमिनाले जोखिम मोलेरै सूचना प्रविधि पढ्ने विचार गर्नुभयो ।

अहिले उहाँ अमृत साइन्स क्याम्पसमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय लिएर स्नातक चौथो वर्षमा पढ्दै हुनुहुन्छ । पढाइसँगै वेबसाइट डिजाइन गर्ने र कम्प्युटर प्रोग्राम बनाउने काम पनि गर्नुहुन्छ । ‘कलेज पढ्न थाल्दासम्म यही पेसा लिउँला भनेर सोचेकी थिइनँ, तर जी ह्याकेडेमीमा तालिम लिएपछि यस पेसामा लागेँ,’ तुलाधरले भन्नुभयो ।

पाटन क्याम्पसमा यही विषय पढ्ने कृति नेमकुलका विचारमा कलेजमा व्यावहारिक ज्ञान राम्रोसँग दिइँदैन । ल्याबमा कम्प्युटर र अन्य उपकरण हुँदैनन् । यसले गर्दा कलेजको पढाइ पर्याप्त छैन । जी ह्याकेडेमीको तालिमबाट सीप सिकेपछि र कम्पनीलाई आवश्यकताअनुसार समय दिएपछि अहिले उहाँलाई कम्पनीले पत्याएको छ ।

ह्याकेडेमीमै तालिम लिएपछि क्याथफोर्ड इन्टरन्यासनल कलेजमा पढिरहेकी सिल्भिया शाक्य अहिले डिजाइनर हुनुहुन्छ । वेब डेभलपर बन्ने रहर लागेर अहिले सो काम सिक्दै हुनुहुन्छ । ‘पढ्न गाह्रो छ । मिहिनेत धेरै गर्नुपर्छ । त्यति गरेपछि अवसर पनि धेरै छन् । अहिले यस क्षेत्रमा काम गर्दा एकदम रमाइलो लागिरहेको छ,’ शाक्यले भन्नुभयो ।

तालिमका मेन्टर उत्सव भेटवालका विचारमा सिक्ने चाहना महिला र पुरुष दुवैमा उत्तिकै हुन्छ । तर, केटीहरूलाई सानैदेखि उनीहरूले पढ्ने विषय र काम गर्ने क्षेत्र नर्सिङ र कमर्स मात्र हुन् भनेर घोकाइन्छ । सूचना प्रविधिका क्षेत्रमा महिलाले राम्रो काम गर्न सक्छन् भन्ने कुरा बुझाउनुुपरेको छ ।

सूचना प्रविधिमा नेपालमा मात्रै होइन विश्वमै पुरुषको दबदबा छ । सूचना प्रविधिमा महिलाको सहभागिता बढाउने अभियानमा लाग्नुभएका भूतपूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहका विचारमा सूचना प्रविधि महिलालाई सबैभन्दा धेरै सजिलो हुने क्षेत्र हो । सीप भएका खण्डमा महिलाले घरमै बसेर पनि, अफिस नखुल्ने तर आफूलाई फुर्सद भएको समयमा काम गर्न सक्छन् ।

शाह भन्नुहुन्छ, ‘अहिले त्यो मान्छे बलियो हुन्छ जसले सूचना प्रविधिको उपयोग गर्न सक्छ । यसले प्रतिष्ठा पनि बढाउँछ । यो निकै सस्तो र सुलभ माध्यम हो ।’

सूचना प्रविधिलाई महिलाले पेसाका रूपमा अपनाउन सक्छन्, अरू पेसामा लागेका महिलाले पनि यस प्रविधिको उपयोग गरेर उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन सक्छन् । सूचना प्रविधिको उपयोग गरेर उनीहरूले आफूमाथि भइरहेका हिंसाको प्रमाण जुटाउन सक्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: