एउटै काम : पुरुषलाई बढी तलब, महिलालाई कम


प्रकाशित मिति :2018-08-10 12:44:15

–इन्द्रसरा खड्का–

ललितपुर । सप्तरीकी चन्दन झा एउटा कारखानामा लेखापालको रुपमा काम गर्छिन् । उनीसँगै एउटै पदमा काम गर्ने पुरुष र उनले पाउने पारिश्रमिकमा फरक छ ।

नियुक्तिपत्रमा काम गरेबापत मासिक तलब ९ हजार ७ सय रुपैयाँ पाउने उल्लेख छ । तर उनको हातमा त्यति रकम कहिल्यै परेको छैन ।

कारखानाले मासिक तलब खामभित्र राखेर दिन्छ । कहिले ६ हजार, कहिले ७ हजार यस्तै हुन्छ । तर, एउटै काम र पदमा रहेका पुरुष सहकर्मीले भने खाम मै ९ हजार ७ सय रुपैयाँ बुझ्दै आएको उनले बताईन् ।

‘अफिस एउटै । काम एउटै । पद एउटै । तर पुरुषलाई बढी तलब मलाई कम । नियुक्तिपत्रमा उल्लेख भए अनुसारको रकम समेत पाउँदिन ।’ उनले प्रश्न गरिन्, ‘आखिर किन यस्तो ? पुरुष सहकर्मीले भन्दा मैले कम पैसा पाउनु पर्ने कुनै कारण नै छैन । यो सोझै श्रम शोषण हो ।’

४ वर्षदेखि काठमाडौंमा रहेको ग्लोबल आइएमई बैंकमा सुरक्षा गार्डमा कार्यरत एक युवतीको समस्या चन्दनको जस्तै छ ।

उनलाई दिइएको नियुक्तिपत्रमा ११ हजार ३ सय तलब पाउने उल्लेख छ । तर भन्छिन्, ‘नियुक्तिपत्रमा ११ हजार ३ सय मध्ये के के काटेर १० हजार २ सय पाउनुपर्ने हो उल्लेख छ । तर कहिले ६ हजार त कहिले ७ हजार बुझ्दै आएकी छु ।’

   अाशा घिमिरे

शनिबारको दिन पनि काममै खटिनु पर्दा समेत पारिश्रमिक कम दिँदा निकै दुःख लागेको उनले बताइन् । तलब कटाएर किन दिएको भन्ने कुरा गर्दा जागिरबाटै निकालिनुपर्ने त्रास भएकाले त्यत्तिकै चुप लागेर बसेको उनले सुनाइन् ।

‘एक त भने जति पैसा पाईंदैन । अर्को ३ सय ६५ दिनमै काममा जोतिनुपर्छ । सञ्चो नभएर नगएको दिनको पनि तलब काटिन्छ । श्रम चाहिँ मरेरै गर्नुपर्ने । ज्यालामा भने शोषण ।’

आफूले नियक्तिपत्र अनुसार नपाएको तलबबारे कुरा गर्दा पेट पाल्न र घर व्यवहार चलाउन बल्ल तल्ल पाएको जागिर छोड्नुपर्छ भन्ने डर उनलाई छ ।

काठमाडौंकी आशा घिमिरे लाहुरे सेक्युरिटी प्राईभेट कम्पनीमा १६ वर्षदेखि काम गर्दै आएकी छिन् । तर अहिले भने कम्पनीले उनलाई कामबाटै हटाइदिएको छ ।

गार्डहरूले पाउने मासिक पारिश्रमिक बढाईनुपर्छ भन्दै आवाज उठाउँदा जागिरबाटै हात धुनुपरेको उनले दुःखेसो पोखिन् । दैनिक १२ घण्टा सुरक्षा गार्डको रुपमा काम गर्दै आएकी उनले पाउने तलब, उपदान लगायत पाउनु पर्ने पारिश्रमिक पाएकी छैनन् ।

सेक्युरिटी गार्डको २०७२ सालमा बढेको तलब कार्यान्वन गर्नुपर्छ । सेवा सुविधा बढाईनुपर्छ भन्दा जागिरबाट निकालिनु परेको गुनासो उनको छ ।

कहिलेकाहिँको बिदा बाहेक नियमित काममा खट्ने आफूले अहिलेसम्म खाईपाई आएको तलब समेत नपाएको बताईन् । कामबाट निकालिए पनि उनले कम्पनीबट २ लाख २४ हजार ७ सय २५ रुपैयाँ पाउन बाँकी रहेको छ ।

उनले आफूले गरेको श्रमको ज्याला पाउँ भन्दै श्रम कार्यालयमा निवेदन समेत दिएकी बताइन् । काठमाडौंको दोहोरी साँझमा काम गर्ने देवकी भण्डारीले पनि ५ महिनाको पारिश्रमिक पाएकी छैनन् । काठमाडौंको बालाजुमा रहेको दोहोरी साँझमा गीत गाउने काम गर्दै आएकी उनले ५ महिनाको पैसा नपाउँदा समस्या भएको बताइन् ।

गीत गाए बापत उनले मासिक ८ हजार पाउँछिन् । काम गर्न थालेको लामो समय भए पनि नियुक्तिपत्र समेत पाएकी छैनन् । मालिकसँग तलबको कुरा गर्दा व्यापार नभएको भन्दै कुरा टार्ने गरेको उनले सुनाइन् ।

पैसा पाइएला र खर्च चलाउन सजिलो होला भन्दै दोहोरी साँझमा काम गर्न थाले पनि ५ महिनाको तलब नै नपाउँदा काठमाडौंमा बस्न खान समस्या भएको उनले बताइन् ।

तर उनले उजुरी भने कतै गरेकी छैनन् । तलब नपाएको उजुरी गर्न कहाँ जाने, के गर्ने भन्ने थाहा नहुँदा त्यत्तिकै बसिरहेको उनले बताइन् ।

श्रम शोषण गर्नेलाई कारबाही हुन्छ : मन्त्री बिष्ट

श्रम तथा रोजगर मन्त्री गोकर्ण बिष्टले नियुक्तिपत्रमा उल्लेख गरिएको जति पारिश्रमिक नपाए उजुरी गरे तुरुन्तै छानबिन हुने बताएका छन् ।

गाेकर्ण विष्ट, मन्त्री

विभिन्न प्राईभेट कम्पनीमा काम गर्ने श्रमिकहरूले श्रम गरे बापतको ज्याला अहिलेसम्म पनि नपाएकोमा उनले दुःख व्यक्त गर्दै श्रम शोषण गर्ने जो कोहीलाई कारबाही गरिने बताए ।

सरकारले अहिले श्रमिकहरूको पारिश्रमिक बढाएर ९ हजारबाट १३ हजार पुर्याएकाले साउन महिनादेखि यसको कार्यान्वन हुनेमा उनले विश्वास दिलाए । यसका लागि सरकारले हरेक स्थानीय तहमा रहेका बैंकमा श्रमिकको खाता खोल्ने व्यवस्था गर्न थालेको बताए ।

हरेक श्रमिकले पाउने तलब बैंकबाटै उपलब्ध गराउँदा कसले कति पायो भन्ने कुरा प्रष्ट हुने भएकाले सरकारले यो नीति ल्याउन लागेको उनको भनाई छ ।

श्रम मन्त्रालयले अब पीडित श्रमिकको गुनासो सुन्नका लागि छुट्टै सेन्टर बनाउन लागेको समेत मन्त्री बिष्टले जानकारी गराए । सो गुनासो सेन्टरमा श्रमिकले पारिश्रमिक पाए नपाएको र उनीहरूका मुद्दा सुनुवाई भए नभएको गुनासो राख्न सक्नेछन् ।

कुनै पनि श्रमिकको श्रम शोषण गर्नेलाई मन्त्रालयले छानबिन गरि कडा कारबाही गर्ने प्रतिबद्धता समेत उनले गरे ।

निजी क्षेत्रमा काम गर्ने श्रमिक शोषणमा

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष आशासिंह राठौरले कृषि, होमस्टे, बोर्डिङ स्कूल, निजी अस्पताल लगायत निजी क्षेत्रका श्रमिकहरूको श्रम बढी शोषण भइरहेको बताएकी छन् ।

अाशासिंह राठाैर

सो क्षेत्रमा महिला पुरुष दुवैले न्युनतम पारिश्रमिक नपाउने गरेको उनले बताईन् ।

‘अहिलेसम्म पारिश्रमिक नपाएको उजुरी केन्द्रमा परेको छैन । तर, जिल्लामा आबद्ध ट्रेड युनियनमा भने श्रम शोषण भएको उजुरी थुपै्र परेका छन्’ उनले भनिन् ।

श्रमिकको हकहित र उनीहरूले पाउनुपर्ने पारिश्रमिकका लागि आफूहरूले पनि आवाज उठाएको बताउँदै उनले यसका लागि सरकारले कडा कानुन बनाएर कार्यान्वन गर्नुपर्नेमा जोड दिइन् ।

विद्यमान अवस्था

मजदुरलाई महिना बित्नासाथ तलब नदिने, नियुक्तिपत्र नदिने, तोकिएको बिदा पनि नदिने प्रचलन विद्यमान छ । उनीहरूको सम्बन्ध कामदार र व्यवस्थापक नभई मालिक र मजदुरको जस्तो रहने गरेको छ ।

सबैभन्दा बढी श्रम शोषण निजी तथा आवासिय विद्यालय, मन्टेश्वरी, दिवा सेवा केन्द्र, सहकारी, वित्तीय संघसंस्था र बैंकहरू, निजी अस्पताल र क्लिनिकहरू, होटल, सेवा क्षेत्र, सञ्चार क्षेत्रमा काम गर्ने श्रमिकहरूको भइरहेको पाइएको छ ।

श्रम अदालत काठमाडौंमा आर्थिक वर्ष २०७३/०७४ मा १ सय ९३ वटा श्रम शोषणको उजुरी परेकोमा आर्थिक वर्ष २०७४/०७५ मा २ सय १६ वटा उजुरी पुगेका छन् ।

कानुनमा यस्तो छ

श्रम ऐन २०७४ को दफा ६ मा ‘रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै सोहि ऐनको दफा ७ मा समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुनेः (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वयल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन । भन्ने लेखिएको छ ।

श्रम ऐन २०७४ को दफा २८ मा ‘रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा अठ्चालीस घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन’ भन्ने पनि लेखिएको छ ।

यस्तै दफा २८ को उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनु पर्नेछ । भनिएको छ भने उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनु पर्नेछ । भन्ने लेखिएको छ । तर पनि यो कानुनको कार्यन्वयन भने भएको पाईंदैन ।

यसै विषयमा संचारिका समूहले तयार गरेको कार्यक्रम ‘समकोण’ आज शुक्रबार राती ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: