बलात्कारः पुरुषमाथिको कलंक


प्रकाशित मिति :2018-08-05 14:48:20

-सरिता दाहाल-

हेटौंडाको एउटा पत्रिका पसलको बाहिर उभिएर यशोदा अधिकारीको नागरिक दैनिकमा प्रकाशित लेख ‘छोरी जोगाउने चिन्ता’ पढिरहेकी थिएँ । पछाडीबाट आवाज आयो, ‘कहिलेकाहिँ त छोरी नभएकोमा ढुक्क लाग्छ ।’ फर्केर हेरें परिचित अनुहार थियो ।

सोधें ‘किन नि ?’ ‘मलाई कमसेकम त्यो चिन्ता छैन नि त’ उनले पत्रिकाको हेडलाइनतिर आँखाले इसारा गर्दै भने ।

‘छोरी हुनेको मात्रै चिन्ताको विषय हो र यो ?’ मैले प्रश्न गरे । उनी नसुने झैं गरी पत्रिकाको भिडबाट अर्को पत्रिका निकालेर पढ्न थाले । मलाई पढ्दै गरेको पत्रिका पढ्न छाडेर के गराै‌ गरौं भयो । फेरि लेखले मन तान्यो, पढें । मर्मस्पर्शी र सान्दर्भिक थियो ।

ती परिचित व्यक्ति, जसका दुई छोरा छन् । यसअघि धेरै पटक मसँग भनेका थिए, ‘२ छोराबीच १० वर्षको उमेर अन्तर छ । छोरा जन्मिएको १० वर्षपछि छोरीको रहर गरेको । तर छोरा नै भयो ।’

आज, त्यही मान्छे छोरी नभएकोमा निर्धक्क छ । आखिर यो अवस्था कसरी आयो ?

घर आएँ, १० महिने छोरो निदाइरहेको थियो । अबोध छोरोलाई हेरिरहें । चिन्ता लाग्यो, मेरो छोरालाई सुसंस्कृत बनाउन त चुक्दिन । छोरा र छोरीमा विभेद गर्दैनौं भन्ने मजस्ताको काँधमा छोरालाई समयमै सुसंकृत बनाउने जिम्मेवारी छ ।

जति छोरीहरू जोगाउने चिन्ता छ, छोराहरू जोगाउन पनि उत्तिकै चिन्ता किन लिँदैनौ हामी ? के हामी सबैसँग मलाई झैं छोराहरूलाई सभ्य बनाउने चिन्ता हुनुपर्दैन ? अनि सम्झें, हालै मात्रै बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका, जसको बलात्कारपछि हत्या भयो । यसको एक साता नपुग्दै काभ्रे तिमाल गाउँपालिकाकी अर्की ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो ।

हेटौंडामा पनि स्कुल पढेर घर फर्कदा, घरको बाटो बिराएकी एक बालिका बलात्कार प्रयासबाट उम्कन सफल भइन् । उनी अहिले सेफ हाउसमा छिन् ।

एक साता अगाडि हेटौंडाको एक माध्यामिक विद्यालयका शिक्षक साथीले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए, ‘पुरुष भएकोमा लज्जा बोध गरिरहेको छु ।’ बलात्कार र हत्याका घटनाहरू लगातार बाहिर आएपछि उनले लेखेको यो स्टाटसले पनि बोल्दछ कि, आदर्श पुरुषहरूलाई त्यस्ता घटनाले कति पोल्दछ भन्ने कुरा ।

अहिले सामाजिक सञ्जालभरी यसैको बहस चलेको छ । तर, यो बहस चल्छ मात्रै सरकार सुन्दैन । पटक्कै सुन्दै सुन्दैन । बलात्कृत हुने र मारिनेहरूमा उमेरको भेद छैन । शिशु उमेरका बालिकादेखि वृद्धासम्म शिकार भएका छन् ।

यसका शिकारी किशोरदेखि वृद्ध दुवै छन् । छोरीहरू, बहिनीहरू, दिदीहरू र आमाहरूमाथि यस्तो जघन्य अपराध भैरहँदाको असह्य पीडा एकातिर छँदैछ, अर्कोतिर त्यही समाजको एकाध पुरुषको कारण सबै पुरुषहरूमाथिको कलंक कत्ति असह्य छ ?

अनि किन छोरी नहुँदा यो पीडाबोध कमी हुँदो हो कसैलाई । के छोराहरूलाई त्यो कलंकबाट जोगाउन चिन्ता छैन ? के छोराहरूको चैं छोरीहरूको जसरी हाम्रो समाजमा सामाजिक हैसियत नापिन्न ?

मलाई दाजुभाइहरूलाई प्रश्न गर्न मन छ, ए दाजुभाइहरू तपाईंहरूको चाहिँ इज्जत र प्रतिष्ठा हुन्न ? तपाईंहरूको कुकृत्यले तपाईं स्वयंको इज्जतमा आँच आउँदैन ? हाम्रो समाजको सामाजिक प्राणी छोरीहरू मात्रै हुन् ? के छोराहरूलाई सामाजिक हुनु पर्दैन ?

बलात्कारजस्तो जघन्य अपराधमा संलग्न नजिकका व्यक्ति छन् । आफ्नै विश्वासिला पात्रहरूबाट छोरी मात्रै होइन, छोराहरू पनि जोगाउनु पर्ने अवस्था छ । ताकी उनीहरूबाट भोलीको दिनमा छोराहरूले पनि त्यही कुकर्म नरोजुन् । र लोग्ने मान्छेबाटै बालक (छोरा) हरू यौन दुव्र्यवहारमा परेका घटना पनि त कम छैनन् ।

छोरी नहोलान्, बहिनी वा दिदी र आमा छन् । श्रीमती छन् । भान्जीहरू, भदैहरू छन् । ती घरहरूमा परेको पीडा आफैंलाई पर्दा कस्तो हुन्छ ? मनन् गरौं त ! त्यसकारण पनि बलात्कार विरुद्ध चरित्रवान पुरुषले बोल्नै पर्छ । संस्कारी पुरुषले बोल्नै पर्छ ।

प्रविधिको प्रचुरताको कारण पनि विश्वका हरेका गतिविधि एउटै कोठामा बसेर मोबाइलमै उपलब्ध हुन संभव भएको छ । यी प्रविधिको कारण धेरै राम्रा÷राम्रा सिकाइमा फड्को मार्न सम्भव भएको छ । तर यसैबाट धेरै विकृति र विसंगतिहरू पनि भित्रिएका छन् । मोवाइलमै हेरिने अश्लिल भिडियोका कारण पनि बलात्कार बढेको छ ।

यी र यस्तै प्रकारका चुनौतीबाट छोराहरू पनि जोगाउनु/जोगिनु आवश्यक छ । हरेक आमाबुबाहरूलाई छोरा जोगाउने चिन्ता पनि उसैगरी हुनु जरुरी छ, जसरी हरेक अभिभावकलाई छोरी जोगाउने चिन्ता छ । जसरी छोरीहरू आमासँग सुरक्षित छन्, उसैगरी बाबुहरूसँग पनि सुरक्षित रहनु जरुरी छ ।

मेरो छोरी छैनन् म ढुक्क छु भन्नेलाई पनि कतै न कतैबाट समस्या आइ नलाग्ला भन्न सकिन्न । हाम्रो समाज एउटै हो । छोरी नहोलान्, बहिनी वा दिदी र आमा छन् । श्रीमती छन् । भान्जीहरू, भदैहरू छन् । ती घरहरूमा परेको पीडा आफैंलाई पर्दा कस्तो हुन्छ ? मनन् गरौं त ! त्यसकारण पनि बलात्कार विरुद्ध चरित्रवान पुरुषले बोल्नै पर्छ । संस्कारी पुरुषले बोल्नै पर्छ ।

अनि मलाई बेलाबेला झस्काउने एउटा विषय भन्छु, महिलाका विषय भन्नेबित्तिकै एकाध बाहेक अधिकांश पुरुष महिलालाई अघि लगाइदिन्छन् । तपाईं बुबा आफ्नो छोरी, पत्नी वा आमाको सवाल किन महिलाका समस्या भनेर छाडिदिनुहुन्छ ? यो त अझ धेरै तपाईंको सवाल हुनुपर्ने होइन र ? यो सवाल त महिलाको सुरक्षाको मात्रै होइन, सिङ्गो समाजको सुरक्षाको विषय हो ।

हामीकहाँ क्रूरताको हदसम्मका बलात्कार र हत्याका घटना भएका छन् । अत्याचार नै भएपछि, मानवअधिकारको सवालमा संवेदनशिल हुनेहरू मृत्युदण्डको बदलामा हुन सक्ने कडा कानूनको खोजिमा छन् ।

अचेल बलात्कारीलाई फाँसी दिनुपर्ने माग संसददेखि सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती छ । फाँसीको माग गर्नेहरूको मतलाई मानवअधिकारको सवालमा जोडेर आउने मत भन्दा बढी हुँदै पनि आएको छ । यस्तो माग स्वाभाविक पनि हो । हामीकहाँ क्रूरताको हदसम्मका बलात्कार र हत्याका घटना भएका छन् । अत्याचार नै भएपछि, मानवअधिकारको सवालमा संवेदनशिल हुनेहरू मृत्युदण्डको बदलामा हुन सक्ने कडा कानूनको खोजिमा छन् ।

नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भन्दै क्रूर यातना, बलात्कार, हत्या जस्ता अमानवीय गतिविधि कहिलेसम्म सहने ? सामाजिक न्यायको दृष्टिले पनि यो न्यायसंगत छैन । भोलीको सभ्य समाज निर्माणको लागि छोरा र छारी दुवैलाई कलंकबाट जोगाउनु आजको चुनौती हो । संसार विकासमा धेरै फड्को मारिसकेको छ, हामी भने छोराछोरीको सुरक्षाका खातिर चिन्तित भैरहनु पर्ने विवशता ।

आगामी भदौ १ बाट धेरै प्रकारका कानूनहरू संशोधन भएर कार्यान्वयनको लागि आउने क्रममा छन् । सभ्य समाज निर्माणका लागि हामीले दरिलो कानूनी आधार लिएर दोषीलाई हदैसम्मको कारबाही गरि सभ्य र नैतिक समाज निर्माण गर्न सरकारलाई थप गुहार्नु नपरोस् । कानून निर्माण र संशोधनको तहमा समयमै चेतना होस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: