डिम्पल झाको रवाफ र महिलाका अपेक्षा


प्रकाशित मिति :2018-08-04 07:00:16

-दुर्गा कार्की-

यो हप्ता एउटा भिडियो भाइरल भयो, राष्ट्रिय जनता पार्टी प्रदेश नम्बर २ की सांसद डिम्पलकुमारी झा राज्यमन्त्रीमा नियुक्त भएपछि गाडीको लावालस्करसहित आफ्नो गृह जिल्ला रौतहट गएको ।

उनी साउनको ९ गते प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएकी थिइन् । नियुक्तिपछि ५८ वटा गाडीको लावालस्करसहित रवाफ देखाउदै, पति अनिल कुमार झासँगै उनी आफ्नो गृह जिल्ला रौतहट पुगिन् । झा राजपाकी समानुपातिक सांसद हुन् । यस अघि संविधानसभामा पनि उनी समानुपातिकबाट सभासद भएकी थिइन् ।

उनको त्यो भिडियो शक्तिमा पुगेपछि यसको चरम् दुरुपयोग कसरी हुन्छ भन्ने एउटा नमुना हो । हुन त पुरुषले सदियौंदेखि सत्तामा रहेर गरेको दुरुपयोग विरुद्धको आवाज नउठाउनेले महिलाले गरेको एउटा सानो कुरालाई बढाइचढाइ गरियो भन्ने आरोप आउन सक्छ ।

अझै मधेशी महिला विरुद्ध पहाडियाले गरेको तुच्छ टिप्पणी भन्ने आरोप पनि आउन सक्छ । तर एउटा कुरा के बुझ्नु जरुरी छ भने गलत कामको नक्कल गर्नु झन् ठूलो गल्ती हो । पुरुषले यस्तो गर्न हुने हामीले नहुने भन्ने सोचाइले न समाजको प्रगति हुन्छ न त आफ्नो राम्रो छाप नै समाजमा पर्छ । मन्त्री भएपछि गाडी नचढ्नुु भन्न खोजेको पटक्कै होइन । सरकारले उपलब्ध गराएको सामान्य सुरक्षा लिनु अस्वाभाविक हुँदै होइन । त्यो भएको भए यहाँ यत्रो लेख लेख्नु जरुरी नै थिएन ।

प्रदेश सरकारका राज्यमन्त्रीले सुरु मै यो शक्ति प्रदर्शन गर्नुलाई त्यहाँका जनताले कति सकारात्मक लिए होलान ? त्यसैले यसमा बहस हुनु जरुरी छ ।

तर, आफ्नो ठाउँका समस्याको गाम्भिर्यता, जसले त्यो पदमा पुर्याए उनीहरूको अवस्थालाई पूर्ण रुपमा अवज्ञा गर्दै पचासौं गाडीको लावालस्कर लगाएर जिल्ला जानु कति उचित थियो वा आवश्यक ? मानव विकास सूचाकाकंको १४४ औ स्थानमा रहेको देशमा एउटा सामान्य राज्यमन्त्रीले पचासौं गाडी पछि लगाएर हिँड्नु सुहाउँदो काम हो त ?

यसमाथि मधेश जसलाई केन्द्रले सँधै कम प्राथमिकतामा राख्यो र मधेशीले अधिकार पाएनन् भनेर ठूलठूला आन्दोलन भए । सयौं शहिद भए । अहिले स्वनिर्णयको अधिकारसहित गठन भएको प्रदेश सरकारका राज्यमन्त्रीले सुरु मै यो शक्ति प्रदर्शन गर्नुलाई त्यहाँका जनताले कति सकारात्मक लिए होलान ? त्यसैले यसमा बहस हुनु जरुरी छ । यो प्रबृत्ति विरुद्ध बोलिएन र खबरदारी गरिएन भने यो दोहोरिने निश्चित छ ।

अनियमितता, भ्रष्टाचार, नचाहिँदो रवाफ र शक्तिको दुरुपयोग गर्ने महिला हुन् वा पुरुष, सबैका विरुद्ध आवाज उठ्न जरुरी छ । उठाइएन भने त्यो हामीले खोजेको समानता होइन । न महिलाले गरेका गल्ती माफी हुन्छन् ।

यसै पनि महिलाहरू कम भ्रष्टाचार गर्ने, शक्तिको दुरुपयोग नगर्ने सदाचार हुन्छन् भन्ने छाप समाजमा बसेको छ । किनकी अहिलेसम्म जति महिला शक्तिमा गएका छन् पुरुषको तुलनामा निकै कम विवादमा पर्ने काम गरेका छन् ।

अलिकति महिला आन्दोलनको पृष्ठभुमिमा जाउँ । अधिकारका लागि योगमायाको त्यागदेखि अहिलेसम्म आइपुग्दा नेपालमा महिलाका लागि जति उपलब्धी भएका छन्, त्यसको उपभोग यो पुस्ताले सजिलै गर्न पाएको छ । सहाना प्रधान, मंगलादेवी सिंह, शैलजा आचार्यलगायत थुप्रै महिलाले गरेको कठोर योगदानको पृष्ठभूमिले हामी महिला अहिले यो अवस्थासम्म आइपुगेको कुरा बिर्सन हुँदैन ।

महिला आफ्नो अधिकारका लागि मात्रै हैन, पंचायतविरुद्ध, प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि पनि पुरुष बराबर आन्दोलनमा सहभागी भएका हुन् । यी सबै योगदान गरेर यहाँसम्म आइपुग्दा योगदानजतिको अधिकार नपाएको पक्कै हो र त अझै सत्तासँगको संघर्ष जारी छ ।

धेरै महिलालाई ती ठाउँमा पुर्याउनु छ, जहाँ एकलौटी पुरुषहरूको सहभागिता छ । यदि अब अधिकार र सहभागिताका लागि हुने संघर्षले झा जस्ता महिलालाई ती ठाउँमा पुर्यायो भने आउँदा दिनमा महिलालाई ती स्थानमा पुर्याउनका लागि उठ्ने आवाज झनै कमजोर हुनेछ र अहिलेसम्म जुन नैतिक बल छ त्यो पनि ध्वस्त हुनेछ ।

२०७० सालपछि संविधानसभामा महिलाको उपस्थितिपछि फाट्टफुट्ट रुपमा उठेको संसदमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज २०७२ सम्म आउँदा प्रखर भएको थियो । निर्वाचनमा जथाभावी खर्च गर्न र अस्वस्थ प्रतिस्पर्धा जस्ता विकृतिले प्रत्यक्ष निर्वाचनमा महिला उठ्न सक्ने वातावरण नदेखिएपछि धेरैजसो महिलाले समानुपातिकमा आउने मनस्थिति बनाए ।

महिलालाई टिकट दिए पनि जितेर आउन नसक्ने भन्दै दलहरूको रुचि पनि यही थियो । तर समानुपातिक निर्वाचन प्रणालीमा पनि विकृति देखियो । योग्य महिला भन्दा नेताका श्रीमती, बुहारी र सम्धिनीले समेत अवसर पाए, जसको न महिला आन्दोलन, न त कुनै पनि राजनीतिक आन्दोलमा योगदान थियो ।

तैपनि ती महिला संसदमा जाँदा हामीले भनेका थियौं, त्यहाँ महिला त पुगे, सिक्दै जान्छन् । जन्मदै सिकेर को आएको हुन्छ ? अवसर नपाइ कसले सिक्छ ?

निकै प्रतिवाद गरिएको थियो । संसदमा समसामयिक राजनीतिक अवस्था, महिला लगायगतका सवालमा आवाज बुलन्द नहुँदा मुद्दाहरू कमजोर भए, बन्नु पर्ने र सुधार्नु पर्ने कानुनका पक्षमा आवाज बलियो भएन भन्ने अनुभूति बाहिर नभएको भने होइन ।

महिला सहभागिताका लागि संविधानले गरेका कतिपय व्यवस्थाको पालना समेत भएको छैन । सरकारबाटै यसको अवज्ञा भइरहेको छ । तर जति महिला नीतिगत तहमा पुगेका छन्, उनीहरूले इमान्दारीपुर्वक महिलाका पक्षमा काम गरे हुन्थ्यो भन्ने सामान्य चाहाना हुनु अस्वाभाविक होइन । डिम्पल झा प्रवृत्तिले आममधेशी महिलाको यो चाहानामा पानी खन्याएको छ ।

बालिकाहरूलाई आफ्नै बाबु दाजु, छिमेकी र नजिकका अन्य आफन्तबाट धेरै जोखिम भइरहेको छ । बलात्कारमा धेरै बालिका परेका कुरा नवनियुक्त राज्यमन्त्री झाको गृह जिल्ला रौतहट कै तथ्याकंले पुष्टि गरेको छ ।

भर्खरै कन्चनपुरमा १३ वर्षकी बालिकालाई बलात्कार गरि हत्या गरेर झाडीमा मिल्काएको खबरले बनाएको घाउ आलै छ । केही अघि कैलालीमा अर्की किशोरी बलात्कार गरेर हत्या भएको अवस्थामा जंगलमा फेला परेकी थिइन् । तराइमा दाइजो कम ल्याएको निहुँमा महिलालाई जिउँदै जलाउने प्रवृत्तिमा कमी आएको छैन । न बोक्सी आरोपमा मलमुत्र खुवाउने र अमानवीय तरिकाले कुटपिट गर्ने प्रवृत्ति नै कम भएको छ । महिलाहरू आफ्नैबाट असुरक्षित हुने क्रम बढदो छ ।

बालिकाहरूलाई आफ्नै बाबु दाजु, छिमेकी र नजिकका अन्य आफन्तबाट धेरै जोखिम भइरहेको छ । बलात्कारमा धेरै बालिका परेका कुरा नवनियुक्त राज्यमन्त्री झाको गृह जिल्ला रौतहट कै तथ्याकंले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत वर्षको साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा रौतहटमा १५ वटा बलात्कारका घटना प्रहरीमा आए । यी मध्ये ११ जना बालिका थिए ।

गतवर्ष पुसमा बारा प्रष्टोकाकी बन्दु ठाकुर जलेको अवस्थामा झाडीमा फेला परिन् । एसइइको तयारीका लागि बिहान ट्युसन पढ्न निस्केकी उनी भोलीपल्ट जलाएर फालेको अवस्थामा फेला परेकी थिइन् ।

गर्भदेखि, कोक्रो र बृद्धा अवस्थासम्मका महिला चौतर्फी रुपमा असुरक्षित भइरहँदा राज्यमन्त्री डिम्पल कुमारी झालाई यतिविधि गाडीको लावालस्करसहितको रवाफ देखाउन मनले कसरी मानेको होला ? ती तमाम महिला जसले उनलाई त्यहाँसम्म पुर्याउन आ–आफ्नो ठाउँबाट योगदान दिए, तिनलाई आउँदा दिनमा झाजस्तै महिलाका पक्षमा आवाज उठाउन जाँगर चल्ला कि नचल्ला ?

प्रत्येक आन्दोलनमा घरबाट कुचो, थाल र नाङ्लो ठटाउँदै नानी पिठ्यूँमा बोकेर सडकमा निस्केका ती महिला सबै आफू पदमा पुग्नका लागि निस्केका थिएनन् । यो संभव पनि छैन । आन्दोलनमा सहिद भएका महिलाले केही महिलालाई शक्तिमा पुर्याएर यस्तो रवाफ देखाउ भनेर ज्यानको बाजी लगाएका थिएनन् ।

उनीहरूले त यस्ता महिला पदमा पुगुन र ती आम महिला जो संधै थिचोमिचोमा बसेका छन्, आवाजविहिन छन् तिनको आवाज त्यो ठाउँमा पुर्याउन् भनेर छातीमा गोली थाप्न तयार भएका थिए ।

बालिका बलात्कार भएर मारिएको अवस्थामा जंगलमा भेटिएको, दाइजो कम ल्याएको निहुँमा जलाइएको र घरबाट निकालिएका खबर दिनहुँ सुन्दा सामान्य महिला हुन् कि पुरुष हुन्, सबैको निद्रा हराम भइरहेका बेला डिम्पल झाहरूलाई यस्तो रवाफ देखाउन के ले प्रोत्साहित गर्यो होला ? आफ्नो यो रवाफ देखेर ती रातदिन हिंसा सहेर बसेका महिलाले के भन्लान् भनेर सोचिन् होला कि नाई ?

शक्तिमा पुगेपछि आफै र आफ्नाका लागि मात्रै फाइदा हुने काम गर्ने चलन नौलो होइन । सायद पुरुषले नै यस्तो रवाफ देखाएको भए उनीविरुद्ध अहिले भइरहेका भन्दा धेरै आलोचना हुन्थ्यो । जति हुनुपर्ने हो अझै भइरहेको छैन । गलत प्रवृत्ति विरुद्ध जो सुकै होस् अब नागरिकले निश्चित वर्ग वा जात भनेर छुट दिने हो भने भविष्यमा यसको परिणाम भयावह हुन सक्छ । त्यसकारण बोलौं ।

देशले राजनीतिक संक्रमणकाल पार गरेको अवस्थामा महिला आन्दोलनलाई गतिदिन, अधिकारलाई संस्थागत गर्न अब सहभागिताका लागि सहभागितामात्रै नभई अर्थपूर्ण सहभागिताका लागि आवाज उठाउन ढिला भइसकेको छ ।

महिलामात्रै भनेर राजनीतिक र महिला आन्दोलनमा योगदान र योग्यता बिनाका महिलालाई शक्तिमा पुर्याउँदा महिला आन्दोलनलाई नै घाटा नपुग्ला भन्न सकिँदैन । त्यसैले अब सहभागितामात्रै होइन अर्थपूर्ण सहभागिताको पक्षमा बोलौं । योग्य सवाल बुझेका महिलालाई पदमा पुर्याउँ ।

(पत्रकार दुर्गा कार्की काठमाडाैंबाट पत्रकारिता गर्नुहुन्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: