सावधान महिला ! सौता जाने गल्ती नगर्नुस्


प्रकाशित मिति :2018-08-02 15:28:37

-प्रतिमा सिलवाल-

असार महिनाको मध्यतिर एक महिला कार्यालयमा नै आइपुगिन् । आफूलाई सौताको परिवारले खान लाउन अनि अंश नदिएको गुनासो उनको थियो । जिल्ला अदालत ललितपुरमा पनि उनले अंश मुद्दा हालेकी रहिछन् । तर, उनलाई सबैभन्दा समस्या अदालती प्रकृयामा प्रमाण जुटाउन परेको छ ।

सरकारी जागिरे ती पुरुषको घरमा सरसफाइको काम गर्न जाने क्रममा उनीहरूबीच सम्बन्ध भयो । उनीहरूबीचको सम्बन्ध थाहा भएपछि श्रीमानले श्रीमतीलाई घरबाट निकालिदिए ।

उनी काम गर्ने घरको पुरुषले श्रीमती स्वीकार गरे । तर ती व्यक्तिले महिलासँग सामान्य हिन्दु वैवाहिक प्रकृया पनि पुरा गरेनन् । न त कानूनी प्रकृया नै । विवाहको प्रमाण जुटाउन आवश्यक कुनै कागजात तयार गरेनछन् ।

यद्यपि, ललितपुरको गाउँमा घर बनाएर उनसँगै बस्न थाले । छरछिमेकले उनीहरूलाई पति पत्नीको रुपमा देखेका छन्, बुझेका छन् । श्रीमानको मृत्यु नहुन्जेल सोझी महिलालाई विवाहको प्रमाणबारे कुनै आवश्यकता भएन, न त श्रीमानले नै बनाईदिए ।

अहिले श्रीमानको मृत्युपछि जेठी तर्फकाले घर आफ्नो भनी दाबी गरेपछि उनी प्रमाण जुटाउने समस्यामा छिन् ।

हुन त कानूनतः बहुविवाह अपराध हो । तर भदौको १ गतेसम्म कार्यान्वयनमा रहने मूलुकी ऐन २०२० ले बहुविवाहलाई अपराध परिभाषित गरेर पनि मान्यता दिने व्यवस्था गरेको छ ।

त्यसैले ती महिला आफूले पनि पत्नीको हैसियतमा अधिकार पाउनुपर्ने भनी कानूनी लडाईमा छिन् । उनी जस्ता धेरै महिला छन्, जो पुरुषको, ‘जेठी’, माइली, साईली… कान्छी बनेर बसिरहेका छन् । आफ्नो र सन्तानको पहिचान तिनै पुरुषको नाममा लिइरहेका छन् ।

अधिवक्ता सविन श्रेष्ठ भन्छन्, ‘मूलुकी ऐनले बहुविवाहलाई अपराध परिभाषित गरे पनि जति पनि श्रीमती राख्न पाउने व्यवस्था गरेको छ ।’ अर्थात् एउटा पुरुषले एक भन्दा बढी महिलालाई पत्नीको पहिचान दिन मिल्ने गरी ऐनको व्यवस्था छ ।

आजको ठ्याक्कै १४ दिनपछि अर्थात् भदौ १ गतेदेखि यो व्यवस्था खारेज हुँदैछ । अब पुरुषले एक महिलासँग कानूनी रुपमा पत्नीको सम्बन्धमा रहँदा रहँदै अर्की श्रीमती विवाह गर्न पाउँदैनन् । 

आजको ठ्याक्कै १४ दिनपछि अर्थात् भदौ १ गतेदेखि यो व्यवस्था खारेज हुँदैछ । अब पुरुषले एक महिलासँग कानूनी रुपमा पत्नीको सम्बन्धमा रहँदा रहँदै अर्की श्रीमती विवाह गर्न पाउँदैनन् । पत्नीको हैसियतमा तिनको कुनै अधिकार रहँदैन ।

झुक्याएरै विवाह गरेको भए पनि केही महिना वा दिन जेल बसेर जरिवाना तिरेर कान्छी श्रीमती कायम हुँदैन । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले एउटी श्रीमती हुँदाहुँदै अर्की विवाह गरेमा स्वतः बदरको व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ११, विवाह सम्बन्धी व्यवस्थाको दफा १७५ ले वहुविवाह गर्न नहुने अवस्थाहरूको उल्लेख गरेको छ । उपदफा (१) मा भनिएको छ, ‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन ।’

यदि विवाह गरेमा ? यसको जवाफ पनि सोही दफाको उपदफा (५) ले दिएको छ । जसमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ ।’ यसको अर्थ एउटा वैवाहिक सम्बन्धमा रहँदा रहँदै अर्को विवाह गरेमा उक्त विवाहले कानूनी रुपमा विवाहले मान्यता पाउँदैन । महिलाले विवाहितको पहिचान पनि पाउँदिनन् ।

मुलुकी अपराध संहिता निर्माणको क्रममा अपराध संहिताको विधेयक समितिमा सभापति रहेका सांसद कृष्णभक्त पोखरेल भन्छन्, ‘विवाह स्वतः बदर हुने व्यवस्था मात्रै होइन यो अपराध गर्नेलाई कारबाहीको पनि व्यवस्था छ ।’

दफा १७५ कै उपदफा ४ ले भनेको छ, ‘उपदफा १ वा २ बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई एक देखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

यदि विवाहित पुरुषले श्रीमतीसँग कानूनी सम्बन्धमा रहँदा रहँदै अर्को विवाह गरेको खण्डमा एकातिर महिला पुरुष दुबै अपराधी ठहरिने भए । भने, विवाह त स्वतः बदर भइहाल्छ ।

हाम्रो समाजमा महिला सँधै तल्लो वर्गको ठानिन्छिन् । पुरुष अधिकार दिने तहको । त्यसैले पनि उसको अधिनमा धेरै महिलाले आफ्नो पहिचान गुमाएका थिए । 

अब हामीले यसअघि पनि बेहोर्दै आएको नेपाली समाजको तथ्यमा जाउँ – उमेर पुगेकी युवती महिलाको कुरा त छाडौं, एउटी बालिका, किशोरी बलात्कृत भएमा बलात्कार गर्ने पुरुषको हैसियत नहेरी ‘जिम्मा’ लगाउने समाज हाम्रो छ । यस्तो समाजमा यदि पुरुषले झुक्याएर विवाह गर्यो भने पनि विवाह स्वतः बदर भएपछि महिलाको अवस्था के होला ?

अधिवक्ता श्रेष्ठ भन्छन्, ‘अब महिलाले कानून जानिन भनेर सुख पाउँदैनन् । आफू सम्बन्धमा रहनुअघि पुरुषको वैवाहिक अवस्थाबारे जानकार हुनै पर्छ ।’

सांसद कृष्णभक्त पोखरेलको भनाइ पनि अधिवक्ता श्रेष्ठसँग मेल खान्छ । ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ उनी थप्छन्, ‘आफ्नो न्यायको खातिर पनि अब महिला सचेत बन्नैपर्छ ।’

हाम्रो समाजमा महिला सँधै तल्लो वर्गको ठानिन्छिन् । पुरुष अधिकार दिने तहको । त्यसैले पनि उसको अधिनमा धेरै महिलाले आफ्नो पहिचान गुमाएका थिए । कानूनले एकभन्दा बढि महिलालाई पहिचान दिने स्वीकृति पुरुषलाई दिएको थियो । अब त्यो अवस्था रहँदैन ।

तर, यो व्यवस्था पूर्ण कार्यान्वयन होला त ? कानूनका जानकारहरूको अनुमान, यो व्यवस्थाले ५० देखि ५५ प्रतिशत बहुविवाह रोकिन्छ । यसलाई पूर्ण कार्यान्वयन ल्याई महिलालाई थप हिंसामा पर्नबाट जोगाउन के गर्ने त ?

अधिवक्ता शशी अधिकारी भन्छिन्, ‘महिला पुरुष दुवैलाई सचेत गराउने ।’ उनका अनुसार अब सरकार र यो विषयसँग काम गर्ने गैर सरकारी संस्थाहरूको पनि मुख्य भूमिका कार्यान्वयनमा आउने नयाँ कानूनबारे जनसाधारणमा जानकारी गराउने हो ।

कानूनी व्यवस्थाबारे जानकारी भएमा झुक्याएर वा जानकारी नभएर विवाहित पुरुषसँग सम्बन्ध भएकै कारण महिलाको थप विचल्ली हुनबाट महिला जोगिन सक्छन् ।

त्यसैले अब महिलाहरू सावधान ! वैवाहिक सम्बन्धमा जोडिनुअघि भावनामा आएर निर्णय नगर्नुस् । पुरुषको वास्तविक अवस्थाबारे जानकारी लिनुस् अनि विवेकले निर्णय लिएर सम्बन्ध स्थापित गर्नुस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: