अधिकार खोज्ने छोराबुहारीले कर्तव्य भुलेपछि……


७५ वर्षीया वृद्धालाई ज्यान जोगाउनै मुस्किल

प्रकाशित मिति :2018-07-05 13:58:57

–महिला खबर–

ललितपुर । माइतीले दिएको पेवामा छोराबुहारीले आँखा गाडेपछि ७५ वर्षीया तारादेवी खड्कीलाई ज्यान जोगाउनै मुस्किल भएको छ ।

ललितपुरको लगनखेल थापाहटीकी ७५ वर्षीया तारादेवीलाई सम्पत्तिका लागि आफ्नै छोराबुहारी दुस्मन हुँदा कतिखेर ज्यान जाने हो भन्ने पिरलो भएको हो ।

‘कपाल सेताम्मे छ । आँखा पनि राम्ररी देख्दिनन् । गाला खुम्चिएर मुजा परेका छन् । तर बुढेसकालमा उनको मनमा शान्ति छैन । आफ्नै छोराले कतिखेर मार्ने हो । कति खेर पिट्ने हो भन्ने त्रासमा छन्, उनी ।

‘के गर्ने नानी, सम्पत्तिकै कारण अहिले छोराहरु सत्रु भएका छन् । कतिखेर मार्छन् थाहा छैन’ दुई हप्ताअघि ललितपुरको लगनखेलस्थित वकिल कार्यालयमा भेटिएकी खड्कीले दुःखको पोको यसरी फुकाइन् ।

१३ वर्षको उमेरमा विवाह गरेकी खड्कीले दश सन्तान जन्माइन् । तर अहिले चार छोरा र तीन छोरी गरी सात सन्तान मात्रै जीवित छन् । छोरा र छोरी मध्ये कान्छो छोरा र एक छोरी मात्रै उनीसँगै बस्दछन् ।

आफूसँग भएका छोराछोरीको कमाइ नहुँदा र अन्य विवाह गरेर अन्यत्र बसेपछि उनी विचल्लीमा छिन् । विचल्लीमा मात्रै होइन, सन्तानबाटै असुरक्षामा छन् ।

आफ्नै सन्तानबाट मार्ने धम्की

सम्पत्तिमै कुरा नमिल्दा काइलो छोरा मनोजले मार्ने धम्की दिन्छन् । ‘चक्कु देखाएर यही चक्कुले काट्छु भन्छ । कुट्छ । लात्ताले छातीमा हिर्काउँछ’ तारादेवीले आँशु चुहाउँदै भनिन् ।

मनोजले रातीको समयमा घरमा आएर डरत्रास देखाउँने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘मार्दिन्छु भन्छ । उसलाई देख्यो कि आधा प्राण जान्छ । आफैले जन्माएको सन्तानले यसो गर्दा निकै पीडा हुन्छ ।’

छोराले घरमै पुलिसको भ्यान ल्याएर आफूलाई प्रहरीबाट पक्राउ गराएको पनि तारादेवीले बताइन् ।

२०५५ साल साउनमा श्रीमान पूर्ण बहादुरको मृत्यु भएपछि आम्दानीको स्रोत नहुँदा श्रीमानको नाममा रहेको सम्पत्ति बेचबिखन गरी खड्कीले छोराछोरीलाई लालन पालन गर्दै आएको बताइन् ।

अहिले उनीसँग माइतीले दिएको आठ आना जग्गा छ । उनको आमा पनि माइतीमै बस्दै आएकी थिइन् । उनी पनि सोही घरमा बसेकी थिइन् ।

माइतीपट्टिकी हजुर आमाको एक मात्रै छोरी भएकाले पनि तारादेवीले सो सम्पत्ति पाएकी थिइन् । सोही सम्पत्तिकै कारण घरले जाजा र घाटले आइजा भन्ने उमेरमा छोराहरुले शारीरिक र मानसिक यातना दिने गरेको बताइन् ।

‘मेरो पेवालाई अंशबण्डा गर्नुपर्छ भन्छन् । तर आमाको रेखदेख गर्नुपर्छ भन्ने ज्ञान छैन । उल्टै छात्तीमा लात्ताले हान्दै मार्न खोज्छ छोराले’ तारादेवीले दुखेसो पोखिन् ।

आफूलाई आमाले अंश नदिएको र आमा बस्दै गरेको घरलाई नै भाग लगाएर बाँडफाँड गर्नुपर्ने भन्दै छोरा मनोजले पाँच वर्षअघि जिल्ला अदालत ललितपुरमा मुद्दा समेत हालेको उनले बताइन् ।

अदालतले मनोजकै पक्षमा फैसला गरिदियो । तर उनले घर नै आधा पाउनुपर्ने माग राखेसँगै सम्पत्ति भने बाँडफाँड हुन नसकेको उनी बताउँछिन् ।

अल्सरको बिरामी

७५ वर्षीया खड्की लामो समयदेखि अल्सरको बिरामी हुन् । दायाँ खुट्टामा किला बिझेसँगै उनको खुट्टामा अल्सर भएको छ । उनी काभ्रेस्थित आनन्दवन हस्पिटलमा उपचाररत छिन् । उपचारमा कुनै पनि छोरा बुहरीले सहयोग नगरेको उनले बताइन् ।

स्वेच्छाले बेच्ने चाहाना

खड्की आफ्नो आमाले दिएको सम्पत्ति स्वेच्छाले बेच्न चाहान्छिन् । उनी भन्छिन्, ‘यो घरजग्गा मेरो माइतीले दाइजोका रुपमा दिएकाले म स्वेच्छाले बेच्न चाहन्छु ।’ आफू बिरामी हुँदा समेत छोराहरुको हेरचाह नपाउँदा स्वेच्छाले घर र जग्गा बेच्न चाहेको उनले बताइन् ।

उनका अनुसार सोही सम्पत्तिका लागि जेठी बुहारीले समेत मुद्दा दर्ता गराएकी थिइन् ।

जीवन रक्षाको माग गर्दै प्रशासनमा निवेदन

खड्कीले छोराबाटै असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय ललिपपुरमा २०७४ असोजमा आफ्नै छोरालाई विपक्षी बनाएर निवदेन दिइन् ।

निवदेनमा यस कार्यालयबाट यथाशिघ्र पक्राउ गरी जीउ ज्यान, धन सम्पत्तिको रक्षा गरी शान्ति सुरक्षा कायम गरी यस्तो अमानवीय किसिमको कार्य भएको भन्दै बारबाहीको माग गरिएको थियो ।

प्रशासनले छोरालाई समेत प्रशासनमा झिकायो । वृद्धा आमालाई डरधम्की नदिने र लालनपालन गर्ने कागज पनि भयो । तर छोरा मनोजले भने आफूलाई शारीरिक र मानसिक यातना दिन नछोडेको उनी बताउँछिन् ।

के छ कानूनमा
मूलुकी ऐनको महल १४ को स्त्री अंश धन सम्बन्धि व्यवस्थामा कन्या, सधवा वा विधवा स्वास्नीमानिसले आफनो आर्जनको चल अचल आफनो खुश गर्न पाउँछन् भनेर उल्लेख छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: