‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’


सन्दर्भ अन्तर्राष्ट्रिय एकल महिला दिवस

प्रकाशित मिति :2018-06-23 10:00:20

–महिला खबर संवाद–

नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ । आफू र छोराछोरीको पेट पाल्न संघर्ष गर्नुपरेको छ ।

२५ वर्षकै उमेरमा विधवा भएकी शान्ति महर्जनले पनि श्रीमान टोकेका आरोपमा घरदेखि समाजको कुरा सुन्नुपर्यो । छोराको मृत्युपछि परिवारले अंश दिन नमान्दा अंशकै लागि कानुनी लडाइँ लड्नु पर्यो । आज पनि उनी आफू र आफूजस्तै अन्य एकल महिलाको हक हितका लागि लडिरहेकी छन् र समाजमा उदाहरणीय महिलाको रुपमा पहिचान बनाएकी छन् ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह काठमाडौं चन्द्रागिरी नगरपालिका ९ की अध्यक्ष शान्तिसँग विधवा भएपछि उनले गर्नुपरेको संघर्ष, नेपालका अन्य एकल महिलाको अवस्था र राज्यले गर्नुपर्ने कामका विषयमा महिला खबरका लागि सन्दिप विकले गर्नुभएको कुराकानीको सारसंक्षेपः

एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको हो ?

एकल महिलालाई पहिलेदेखि नै नराम्रो तरिकाले हेरिन्थ्यो । अहिले पहिलो जस्तो छैन । केही परिवर्तन भएको छ । एकल महिलाका नाममा विभिन्न संस्थाहरुले पनि काम गर्दै आएका छन् । मलाई पनि २०६२ मा विधुवा हुँदा एकदम गाह्रो थियो । अहिले पहिले जस्तो छैन । छि छि र दूर दूरको अवस्था कम भएको छ ।

मेरो श्रीमान सशस्त्र द्वन्द्वमा बित्नुभयो । त्यो बेला धेरै गाह्रो भएको थियो । घरबाट बाहिर निस्कन समस्या थियो । रातो टीका लगाउँदा पनि सबै हेरिरहने । सबैले लगाउँदा मलाई पनि रातो टीका लगाउन मन लाग्थ्यो । तर ससुराले तैले लगाउनु हुँदैन भन्नुहुन्थ्यो । मेरो मनमा झन् ए म त एकल भएछु भन्ने हुन्थ्यो । केही समयपछि मैले बिर्सिसकेको थिए ।

एक वर्षपछि मैले रातो टीका लगाउँदा सबैले मलाई मात्र हेर्थे । साँच्चै म विधवा भएको रहेछु भन्ने लाग्थ्यो । पूजामा जाँदा तिमी जानुहँुदैन भन्थे । धर्म संस्कारदेखि लिएर हरेक तवरबाट मैले आफू एकल भएको महसुस गरे । घरपरिवारबाट नै धेरै अपहेलना पाए ।

पछि छोरीको बेल विवाह गर्नुपर्ने भयो । आमाबाबुले कन्यादान गर्नुपर्ने । श्रीमान छैनन् । मैले कन्यादान दिन मिल्दैन भने । मलाई ४÷५ दिनसम्म निन्द्रा नै लागेन । फेरि के गर्ने भन्ने भयो । अनि मैले छोरीको बेल विवाह नै गरिन । अर्काको घरमा गुफामा मात्रै छोरी राखे ।

श्रीमानको मृत्युपछि महिलालाई सम्पत्ति पाउन मुस्किल छ भनिन्न । तपाईंले सम्पत्ति पाउनु भयो कि भएन ?

सम्पत्तिका लागि मैले त मुद्दा नै लड्नुपर्यो । त्यो बेला छोरी ३ वर्षको थिइन् । म २५ वर्षकी थिएँ । केहि थाहा थिएन । श्रीमानका दुई दाजुभाई । श्रीमान सशस्त्र द्वन्द्वमा वित्नुभयो ।

देवरले पनि आत्महत्या गर्नुभयो । घरमा सासू ससुरा मात्रै । उहाँहरुले अंश दिनुभएन । तलाई किन चाहियो अंश भन्नुभयो । उहाँहरु दिनै नमान्ने । त्यसैले मुद्दा हाले । मैले सासू ससुराबाट केही सहयोग पाइन ।

अहिले म जस्ता धेरै एकल महिलालाई घरपरिवारबाट सम्पत्ति पाउन गाह्रो छ । किनभने छोरो रुहुन्जेल महिला बुहारी हुन्छे । छोरो बितेपछि काम लाग्दिन ।

सम्पत्ति दिनुपर्छ भनेर बुहारी नै होइनन् । छोराले विवाह गरेकै होइन जस्तो गर्छन् । सम्पत्ति दियो भने अरुलाई खुवाउछ भन्ने सोच्छन् ।

अझ एकल महिलाहरु अशिक्षित छन् । त्यसैले पनि उनीहरुलाई गाह्रो छ । छोरा हुन्जेल, बुहारी हो लक्ष्मी हो । छोरा बितेपछि कोहि न कोहि । अहिले पनि अंशवण्डामा नराम्रो सोच छ । अझै परिवर्तन गर्न सकेका छैनौ ।

– तपाईं काठमाडौं चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउँको एकल महिला समूहको अध्यक्ष हुनुहुन्छ । तपाईंको समाजमा एकल महिलाको अवस्था के छ ? उनीहरुका समस्या के छन् ?

पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ । किनकी हामी एकल महिलाहरु एकजुट भएका छौ । हामीले खाना लगाउनुपर्छ भनेर आफ्नो हक अधिकार खोज्न थालेका छौ । कसैले केही भन्यो भने यो जन्मशिद्ध अधिकार हो भनेर आवाज उठाउँछौ ।

एकल महिलालाई ठूलो समस्या भनेको अंशकै कुरा हो । सम्पत्ति नभई केही गर्न सकिदैन । घरबाटै सम्पत्ति दिन मान्दैनन् । अशिक्षाकै कारण रोजगारी पाउन सक्दैनौ ।

आज कमायो । आजै खाइसकेको हुन्छ । बालबच्चालाई शिक्षा दिन सकिरहेका छैनन् । बच्चाहरु ५÷६ कक्षा पढ्छन् । आर्थिक अभावकै कारण पढाई छोड्न बाध्य छन् । एकल भइसकेपछि त्यो एकल महिला कहाँ जान्छ । के गर्छ । हेर्ने दृष्टिकोण नै फरक छ, समाजदेखि घरपरिवारसम्मको ।

सरकारले दिने एकल महिला सुरक्षा कोषको रकम झिक्न कत्तिको सजिलो छ ?

पाँच हजार लिनका लागि धेरै दिन धाउनुपर्छ । एकल महिलाका लागि शिक्षा, रोजगारी, भनेर, औषधी, कृषिमा रकम छुट्याइएको छ । त्यति पाउनका लागि पनि हामी धेरै धाउनुपर्ने छ । झन्झटिलो छ । कहिले केही नमिल्ने, कहिले केही नमिल्ने । एक दिन काम गर्न गएन भने आफ्नो छाक टार्नै गाह्रो हुन्छ । त्यसले गर्दा यो रकम लिन गाह्रो छ ।

एकल महिलाका समस्या समाधान गर्न राज्य, समाज, घरपरिवारले कस्तो भूमिका खेल्नुपर्ला ?

मृत्यु अकाट्य कुरा हो र अनिश्चित पनि । सबैका छोरी बुहारी विधवा हुन सक्छन् । समस्या सबैलाई पर्ने हो । त्यसैले हरेक आमाबुबा, दाजुभाई तथा दिदीबहिनीले आज उसलाई परेको समस्या भोली मेरै छोरी र दिदीबहिनीलाई पर्न सक्छ भन्ने बुझ्नु पर्छ । घरपरिवार राम्रो भएमात्रै समाज परिवर्तन हुने हो । परिवारको एकदम साथ चाहिन्छ । हरेक घरले परिवर्तन हुनुपर्छ । अनिमात्रै समाज बोल्न सक्दैन ।

एकल महिलाका लागि यति बजेट छुट्याउँछौ भन्नुपर्यो । एकल महिलाका नाममा बजेट छुट्याइन्छ । लक्षित वर्ग महिला भनेर आउँछ । १० प्रतिशत लक्षित महिलालाई आयो भने तिमीहरु एकल महिलाको लागि आएको हो र भन्ने गरिन्छ ।

आखिर एकल महिलाले कहाँ गएर माग्ने त । एकल महिलाको लागि हेर्ने, नगरपालिका, वडा भनिएको हुन्छ । तर त्यो ठाउँमा एकल महिलाका लागि बजेट छुट्टिदैन ।

हाम्रो लागि खै बजेट ? तिमीहरुको लागि बजेट आएको छैन । एकल महिला भनेर कहाँ छ भन्ने हुन्छ । राज्यले एकल महिलाकै लागि भनेर बजेट छुट्याउनुपर्छ । नगरपालिकामा एकल महिलाका लागि नै दिनुपर्यो । अहिले आमाको नामबाट नागरिकता पाउने भन्ने छ । त्यसले पनि केही परिवर्तन भएको छ जस्तो लाग्छ ।

भन्ने बेला एकल महिला भनेर आएको हुन्छ । तर एकल महिलाले पाएको हुँदैन । बजेटमा भयो । ट्रेनिङमा भयो । एक दुई जना एकल महिला हुन्छन् । अरु अन्य नै हुन्छ । यसमा आर्थिक पाटो नै एकल महिला । नाम नै एकल महिला शिर्षक दिनुपर्छ । सरकारले एकल महिला घरमुलि एकल महिलाको बच्चालाई तिनिहरुलाई शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्छ ।

एकल महिलामाथिका कुरीति, कुसंस्कार तोड्न स्वंय एकल महिला कसरी लाग्नुपर्ला ?
एकल महिलाहरु डराउँने हुन्छन् । उनीहरुलाई सहयोगको आवश्यकता छ । उनीहलाई अंश लिनेदेखि हरेक कुरामा समस्या हुन्छ । तर पनि सहयोग पाउँदैनन् । घरबाट निकालिन्छन् कि भन्ने हुन्छ । उनीहरुलाई सर्पोटको आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: