गल्ती श्रीमानको, सजाय श्रीमतीलाई


फेरिदै एचआइभी संक्रमितलाई गर्ने व्यवहार

प्रकाशित मिति :2018-06-22 14:24:55

-मेनुका ढुंगाना-

अछाम । मंगलसेन नगरपालिका ४ की शारदा आउजीलाई २०६५ सालमा एचआइभी देखा पर्यो । त्यतिबेला उनका श्रीमान कम्मने आउजी काम गर्न भारत थिए ।

शारदालाई एचआइभी भएको थाहा हुनेबित्तिकै परिवारका अन्य सदस्यले उनका श्रीमानलाई तत्काल चिठी । लेखे अनि भने ‘तिम्रो श्रीमतीलाई एचआइभी भयो । तुरुन्त घर आउ’ ।

शारदाका श्रीमान पनि श्रीमतीलाई एचआइभी भएको खबर पाउनेबित्तिकै घर आए । एचआइभी भएको थाहा भएदेखि शारदालाई मान्छे जम्मा भएका ठाउँमा अनुहार देखाउन समेत बञ्चित गरिएको थियो । कम्मनेलाई घर बोलाउनुको उद्देश्य शारदाको उपचारको लागि थिएन । शारदालाई गाउँ निकाला गर्नको लागि थियो ।

शारदालाई माइतीघर जान पनि रोक लगाईयो । उनलाई गाउँ छोड्न परिवार र गाउँलेको चेतावनी थियो ।

‘श्रीमान घर आइपुग्नेबित्तिकै मलाई कुट्न थालिहाले । नानाथरी आरोप लगाए । मैले सहनुको विकल्प थिएन’ शारदाले भावुक हँुदै भनिन्, ‘म घर छोडेर जान सकिन, श्रीमान र परिवारले कुटपिट गर्न छोडेनन् । शरीर कुटेर धुलो जस्तै बनाए ।’

संक्रमित भएपछिको ३ वर्ष परिवारको निरन्तर यातना सहिन् । आफूलाई एचआइभी देखिएपछि श्रीमानलाई पनि रगत जाँच गर्न पटकपटक अनुरोध गरेकी थिईन् । तर, श्रीमान कम्मनेले कुरै सुनेनन् ।

शारदालाई एचआइभी देखा परेको ३ वर्षपछि मात्रै उनका श्रीमानले रगत जाँच गरे । उनलाई पनि एचआइभी देखियो । ‘उहाँलाई पनि एचआइभी देखिएपछि ममाथि झन् आरोप थपियो । मैले नै एचआइभी सारें भन्ने आरोप लाग्यो’ शारदाले भनिन्, ‘गाउँलेको पनि कुटाई खाएँ । म माथि लागेको आरोप अहिलेसम्म मेटिन सकेको छैन । तर, श्रीमानलाई एचआइभी देखिएपछि मलाई गर्ने व्यवहार भने बदलियो ।’

त्यतिखेर गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम, बैठक लगायतमा सहभागी हुन उनलाई बन्देज गरियो । मेलपात सँगै जाँदा जेठानी देवरानीहरू मलाई छोए एचआइभी सर्छ भनेर अलग हुन्थे । अहिले व्यवहार केही बदलिएको छ । तर, चरित्रमा प्रश्न उठाएर हेर्ने नजर भने पुरानै भएको उनको भनाइ छ ।

उनी एचआइभी संक्रमित हुँदा त्यसको बारेमा अलिअलि थाहा थियो । यौन सम्पर्कबाट मात्रै सर्छ भन्ने थाहा पाएकी शारदाले एचआइभीलाई ‘नौलौ रोग’ भनेर बुझेकी थिईन् । पछि रगत जाँच, स्वास्थ्यकर्मीको काउन्सेलिङपछि यो रोग रगतबाट पनि सर्ने रहेछ भनेर बुझिन् ।

एआरटी (एन्टी रेट्रोभाइरल थेरापी) खान सुरु गरेपछि अहिले उनको र श्रीमानको स्वास्थ्य अवस्था सामान्य छ । उनका एक छोरा (१२) र एक छोरी (१४) छन् । उनीहरूलाई भने एचआइभी छैन ।

०००

एचआइभी संक्रमित पुरुष भन्दा महिलालाई समाजमा घुलमिल हुन र सामान्य झैँ जीवनयापन गर्न निकै कठिन छ । तिनैमध्ये प्रतिनिधि हुन्, पूर्वी अछामको तुर्माखाँद गाउँपालिका १ रहफकी धनसरा विष्ट ।

धनसराले २५ वर्षकी हुँदा श्रीमान गुमाईन् । १५ वर्षमा बिहे भएको थियो । त्यसपछि उनका दुखका दिन सुरु भए । अहिले धनसरा ४२ वर्षकी भईन् । श्रीमानको मृत्यु भएको ६ वर्षपछि विसन्चो भएर उनले रगत जाँच गराईन् । जिल्ला स्वास्थ्य कार्यालय अछामले गरेको स्वास्थ्य शिविरमा रगत जाँच गराउँदा धनसरामा एचआइभीको जीवाणु देखियो ।

२ सन्तानकी आमा धनसरालाई एचआइभीको संक्रमण भएको थाहा भएपछि गाउँमा बस्न सक्ने अवस्था नै भएन । चरित्र गुमाएको नाममा नानाथरी आरोप लागे । गाउँमा उनको लागि बोलिदिने कोही भएन ।

उनलाई थाहा थियो, एचआइभी भएका व्यक्तिसँग यौन सम्पर्क गरे एचआइभी सर्न सक्छ । कि एचआइभी भएका व्यक्तिको रगत लिँदा वा एचआइभी भएका व्यक्तिलाई प्रयोग गरी निर्मलीकरण नगरेको सुई प्रयोग गर्दा पनि एचआइभी सर्छ ।

रगत वा यौन सम्पर्क एचआइभी लाग्ने मुख्य माध्यम हो । तर यो बीचमा उनले न त रगत लिनेदिने गरेकी थिईन् न त यौन सम्पर्क नै । त्यसैले उनलाई आफ्नो शरीरमा एचआइभीको जीवाणु छ भन्ने विश्वास लागेन । २ दिन हिँडेर सदरमुकाम मंगलसेन पुगिन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट आफ्नो रगत जाँच गरेको लिखित रिपोर्ट मागिन् । रिपोर्टमा नै एचआइभी संक्रमित भएको तथ्य थियो । त्यसपछि आफूलाई सम्हालिन् । अनि घर फर्किइन् ।

‘श्रीमान बिरामी भइराख्नु हुन्थ्यो । ३ वर्ष भारतमा पनि बस्नु भएको हो । उपचारको लागि धामी झाँक्रीको विश्वासमा परेर जताजता ठूला झाँक्री, उतैउतै पुर्याईयो’ उनले भनिन् ‘अहिलेको जस्तो अस्पताल पनि थिएनन् । जानेबुझेका मान्छे पनि थिएनन् । मेरो श्रीमानलाई नै एचआइभी भएर मलाई सरेको हो । तर रगत परीक्षण नै नगरी उहाँको मृत्यु भयो ।’

एचआइभी संक्रमण भएपछि उनको दुर्दिन सुरु भए । उनी सम्झिन्छिन्, ‘कस्तोसम्म दिन आयो भने एचआईभी संक्रमित भएको अवस्थामा औषधि त परको कुरा, पेटभरि खानासमेत खान पाइन ।’

यी समस्याका बाबजुद उनले जीउने कोशिस गरिन् । सासू ससुराले घरमा बस्न दिएनन् । यद्यपि उनले हिम्मत हारिनन् । रोगले गाँजे पनि मान्छेलाई हिम्मतले जीउने प्रेरणा दिने रहेछ । मेलापात गरिन् । आफन्तको काम गरिन् । माइतीबाट केही सहयोग मागिन् । अनि छुट्टै घर बनाएर छोराछोरी लिएर बसिन् ।

अहिले उनका छोराछारीको पढाइ पनि राम्रो छ । समाजले उनलाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन । तर उनले हिम्मत हारेकी छैनन् । आफ्नाले राम्रो गरे समाजको प्रश्न दोस्रो हो । उनले पनि एआरटी (एन्ट्री रेट्रोभाइरल थेरापी) खान सुरु गरेपछि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।

छोराछोरीलाई पनि आमाको शरीरमा एचआइभी भएको कुरा थाहा छ । अहिलेसम्म छोराछोरीले पनि राम्रै व्यवहार गरेका छन् । तर छोराछोरी हुर्कदै जाँदा आफूलाई गर्ने व्यवहार बदलिन्छ कि भन्ने चिन्ता भने उनलाई लागिरहन्छ ।

०००

तुर्माखाँद गाउँपालिका १ रहफकी ३७ वर्षीया धर्मा विक पनि एचआइभी संक्रमित हुन् । ७ वर्ष अघि उनका श्रीमानको निधनपछि उनलाई पनि संक्रमण भएको थाहा भयो । त्यतिमात्रै कहाँ, छोरी पनि जन्मँदै संक्रमित भइन् । अहिले छोरी ७ वर्षकी छिन् ।

उनका श्रीमानले लामो समय भारतमा काम गरे । रोगले थिलथिलो भएपछि घर फर्किए । उनको शरीरमा एचआइभी रहेछ । धर्मालाई पनि एचआइभी सर्यो । छोरी पनि संक्रमित नै जन्मिइन् । एचआइभीकै कारण श्रीमानको ज्यान गयो ।

एचआइभीको जीवाणु शरीरमा आउनुमा धर्माको कुनै दोष छैन । न त उनकी नाबालक छोरीको । दोष थियो त भारत छँदा बिना सावधानी परस्त्रीसँग यौन सम्पर्क गर्ने श्रीमानको । तर, अहिले त्यही जीवाणुका कारण पाइला पाइलामा आफ्ना र पराइको हेला र अपमान सहेर बाँचिरहेकी छन् उनी ।

‘यसै पनि महिलालाई कमजोर ठान्ने समाजमा एकल अनि एचआइभी संक्रमित भएर बाँच्न साह्रै गाह्रो रैछ’ धर्माले भनिन्, ‘भर्खर जन्मिएकी छोरीलाई पनि एचआइभी । त्यो बेला आफन्त र अरुले गरेको व्यवहार सम्झिँदा अहिले पनि भक्कानो छुट्छ ।’

हामी अहिले समाज परिवर्तन भएको ठान्दछौं । एचआइभी लागेका व्यक्तिलाई गर्ने व्यवहार पनि परिवर्तन हुँदै गएको भनिन्छ । तर, सामान्य अवस्थाका महिलालाई त दोस्रो दर्जाको नागरिक ठान्ने समाजमा एचआइभी संक्रमितले भोग्ने विभेद र हिंसाको पहाड सानो छैन ।

‘मभन्दा टाढा बस्न खोज्ने, समूहमा रहँदा फरक व्यवहार गर्ने लगायतका विभेद हुन्छन्’ धर्मा थप्छिन्, ‘एकै गाउँमा एचआइभी संक्रमित अलि धेरै भएको ठाउँमा विभेद अलि कम छ । तर, एक दुई जना मात्रै संक्रमित भएको गाउँमा त संक्रमितलाई रोग भन्दा ठूलो पीडा आफन्तको अपमानले र हेला भइरहेको छ ।’

अहिले धर्मा आफ्नै घरमा छन् । शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सेवन गर्ने एआरटीले उनको शरीरमा रोगसँग लड्ने क्षमता टिकाइराखेको छ । त्यसैले अहिले आमाछोरी दुवैको स्वास्थ्य राम्रो छ ।

तर, धर्मालाई आफ्नो भन्दा बढि चिन्ता छोरीको लाग्छ । समाजले छोरीलाई हेर्ने नजर उसै पनि फरक छ । त्यसमाथि संक्रमित छोरीलाई अरुले फरक व्यवहार गर्ने गरेको धर्मा बताउँछिन् ।

बालबालिकामाथि थप विभेद

अछाममा एचआइभी संक्रमित महिला मात्रै छैनन् । यसको मारमा बालबालिका पनि छन् । बाबुआमाका कारण एचआइभी संक्रमित बनेका बेकसुर बालबालिका त्यही कारणले नैसर्गिक अधिकारबाट समेत बञ्चित छन् ।

उनीहरूलाई छरछिमेकका बालबालिकाबाट टाढा बनाइन्छ । सँगै खेल्न दिइदैन । यी त सामान्य विभेद हुन् । संविधानले राज्यका सबै नागरिकलाई आधरभूत शिक्षामा पहुँचको हक हुनेछ भनेको छ । तर, एचआइभी संक्रमित बालबालिकालाई विद्यालयले समेत विभेद गरेको छ ।

यसैको उदाहरण हुन्, साविकको सान्तडा गाविसकी ४५ वर्षीया इन्द्रसरा साउदका २ छोरा । उनको श्रीमानलाई २०५९ सालमा एचआइभीको जीवाणु देखियो । त्यसको ३ वर्षपछि एचआइभीकै कारण उनको निधन भयो ।

त्यसपछि उनले थुप्रै भेदभाव र लाञ्छना सहनुपर्यो । उनले मात्रै होइन, २ छोराले थप विभेद भोगे । ‘एचआईभी संक्रमितको छोरा हो भनेर मेरो छोरालाई त विद्यालयले पढ्नै दिएन,’ इन्द्रसराले भनिन् ।

एचआइभी भएकै कारण उनीहरु दुबैले २ वर्षसम्म विद्यालय जान पाएनन् । अहिले भने अर्को विद्यालयमा पढिरहेका छन् ।

श्रीमानको निधनपछि परिवारका अन्य सदस्यले २ छोरा र उनलाई घरबाट निकालिदिए । उनी माइतीको सहारामा बसिन् । अहिले छोराको उमेर १४ र १६ वर्ष भयो ।

‘श्रीमानको एचआइभीकै कारण निधन भयो । मलाइ पनि एचआइभी देखियो । यतिसम्म त ठिकै थियो । परिवारको दबाब र गाउँका मान्छेका वचन सहेर बसेकै थिएँ । जब दुई छोरालाई पनि एचआइभी देखियो, तब मेरो विचल्ली भयो’ इन्द्रसराले भनिन्, ‘आज सम्झिँदा पनि कहाली लाग्छ । ती दिन मैले कसरी बिताएँ भनेर ।’

संघर्षले घट्दैछ भेदभाव

अछामका युवाहरूको मुख्य मजदुरी गर्ने थलो भारत हो । किशोरावस्थामै विवाह गर्ने अनि श्रीमती घर छोडेर कमाउन भारत जाने गर्थे । भारत रहँदा असुरक्षित यौन सम्पर्कका कारण एचआइभीको उच्च जोखिममा हुन्थे । धेरैजसो शरीरमा एचआइभीको जीवाणुु पनि लिएर घर फर्किन्थे ।

घर धानेर बसेकी श्रीमतीले कमाउन गएका श्रीमानलाई शंका र प्रश्न गर्ने कुरै भएन । रगत परीक्षण त परको कुरा । अनि श्रीमतीहरू पनि श्रीमानको शरीरमा रहेको एचआइभी बोक्न बाध्य हुन्थे । गल्ती श्रीमानको तर एचआइभी संक्रमित भएपछि लान्छना तथा विभेद भोग्ने चाहिँ महिला ।

अझ ७/८ वर्ष अघिसम्म अछाममा एचआईभी संक्रमित भएका व्यक्तिलाई सार्वजनिक ठाउँमा जान छुट थिएन । उनीहरूले गाउँ समाज भन्दा टाढा रहनुपथ्र्यो । कतिपय परिवारमा त संक्रमित भएको थाहा पाए घर निकाला हुन्थ्यो नै ।

पुरुष त सम्पत्तिको मालिक अनि समाजमा विशेष स्थान हुने व्यक्ति । उनीहरूमा एचआइभी भए त्यति बिघ्न विभेद हुन्थेन, जति महिलाले भोग्नु पथ्र्यो । पछिल्लो केही समययता अछाममा त्यो अवस्था फेरिदैं गएको छ ।

एचआईभी संक्रमितहरू खुलेर औषधि (एआरटी) सेवन गर्छन् । सार्वजनिक ठाँउमा आफ्ना विचार प्रष्टरुपमा राख्छन् । त्यतिमात्रै होइन, निर्णय गर्ने ठाउँमा आफ्नो भनाइ राख्न र उपस्थिती जनाउन उनीहरू अघि सर्छन् ।

बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव र समस्यासँग जुधेर आएका महिलाहरू पनि आफू एचआइभी संक्रमित छु भन्न लजाउँदैनन्, डराउँदैनन् र पछि हट्दैनन् ।

मंगलसेन नगरपालिका ३ की ३४ वर्षीया कित्थी साउद आमा समूहकी अध्यक्ष हुन् । ८ वर्ष पहिले एचआईभी संक्रमित भएको थाहा पाएपछि उनी त्यही आमा समूहबाट निकालिएकी थिइन् ।

‘अब यसले सबैलाई छोएर एचआईभी सार्ने भई भनेर आमा समूहबाट निकाले’ उनले भनिन्, ‘त्यो बेला आफू मान्छे भएर जन्मनु नै ठूलो अपराध हो जस्तो लाग्थ्यो । यसरी बाँच्नु भन्दा मर्न पाए नी हुन्थ्यो सोच्थें ।’

अहिले सोचेभन्दा धेरै परिवर्तन भएको उनले महशुस गरेकी छन् । ‘संघर्ष गर्नुपर्छ पछुताउनु पर्दैन । अहिले दिदीबहिनीले पनि कुरा बुझे । मलाई जुन समूहबाट निकालेका थिए, त्यही समूहको अध्यक्ष बनाए’ उनले भनिन् ।

एचआइभी संक्रमित व्यक्ति सबैको माया, हौसला सम्मान पाए अरु व्यक्ति सरह नै जीउन सक्छन् भन्ने सत्यदेवी ओडलाई राम्रोसँग थाहा छ ।

बान्नीगढी जयगढ गाउँपालिका ४ की ओडले एचआइभी संक्रमित जेठाजुका २ सन्तानको हेरचाह गरेकी छिन् । एचआइभीकै कारण उनका जेठाजुको २०६७ र जेठानीको २०६६ सालमा निधन भयो । त्यसयता २ सन्तानको हेरचाहको जिम्मा उनकै काँधमा आयो ।

‘पहिले त गाउँका मान्छे सबै एक भएर मलाई यी छोराछोरी सँगै राखे गाउँभरी एचआइभी सार्छ भनेर एक्लो बनाए’ उनले भनिन्, ‘मेरै आधारमा बसेका २ छोराछोरीलाई मैले नै टाढा राखे कसले हेथ्र्यो र ! त्यसैले सहेरै बसें ।’

अहिले एचआइभी सर्ने कारण र चेतनाको विस्तारले धेरै परिवर्तन भएको उनी बताउँछिन् । ‘स्कुलदेखि गाउँघरसम्म सबैले राम्रै व्यवहार गर्छन् । सबैको घरमा जाने खेल्ने गर्छन्’ उनले भनिन् ।

वाक नेपाल अछामले मंगलसेनमा स्थापना गरेको स्याहार केन्द्रमा औषधि सेवन गर्ने एचआइभी संक्रमितहरू बस्छन् । उनीहरूलाई खाना पकाउने, हेरचाह गर्ने स्याहार गर्ने काम गर्छिन् मंगलसैन ८ की भगवती बोहरा ।

उनी एकल महिला हुन् । श्रीमानको मृत्युपछि छोराछोरीको पालन पोषणमा समस्या आयो । रोजगारीकै सिलसिलामा वाक नेपालले स्थापना गरेको एचआइभी संक्रमितहरूलाई स्याहार गर्ने स्याहार केन्द्रमा पुगिन् ।

सुरुमा संक्रमितलाई खाना पकाउनु पर्ने खुवाउनु पर्ने भन्दा उनी झस्केकी थिईन् । ‘काम नगरौैं छोराछोरी पाल्ने बाटो छैन । काम गरौं भने एभआइभी संक्रमितकोबीचमा कसरी बस्नु भन्ने सोचेर बस्थें’ उनले भनिन् ।

अन्ततः उनले त्यही स्याहार केन्द्रमा बस्नेगरी जागिर थालिन् । त्यतिबेला उनलाई गाउँलेले ‘एड्स ल्याउने भइ’ भनेर आरोप पनि लगाए । तर उनी एचआइभी संक्रमित महिलाहरूसँग काम गर्न थालेको ५ वर्ष भयो । संक्रमित महिलाका दुःखसुख सुन्छिन् । उनलाई कुनै किसिमको चिन्ता छैन ।’

कुल संक्रमित मध्ये ६२ प्रतिशत महिलामा एचआइभी

जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्क अनुसार अछाममा एक हजार ६ सय २२ जना एचआइभी संक्रमित छन् । गत वर्ष १ हजार ६ सय ११ जना एचआइभी संक्रमित रहेका थिए ।

०७४ साल चैतसम्म ३ जना महिला नयाँ संक्रमित पहिचान भएका जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए । उनका अनुसार गत वर्ष जम्मा संक्रमित संख्यामध्ये महिलाको संख्या ६२ प्रतिशत थियो ।

२०६१ सालदेखि हालसम्म एआरटी (एन्ट्री रेट्रोभाइरल थेरापी) औषधी सेवन गरेका ९ सय ९८ जनामध्ये १ सय ९४ जनाको ज्यान गएको उनले बताए ।

(पत्रकार मेनुका ढुंगाना कान्तिपुर दैनिकका अछाम संवाददाता हुनुहुन्छ )

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: