बौद्धिक अपांगताः कहाँ छ राज्य ?


प्रकाशित मिति :2018-06-08 17:36:34

–इन्द्रसरा खड्का–

ललितपुर । महोत्तरीको बर्दिवासकी सरीता खतिवडा छोराछोरी बोकेर काठ्माडौं पुगिन् । बौद्धिक अपांग १२ वर्षीया छोरी र ४ वर्षको छोराको हेरचाहका लागि उनी काठमाडौं आइपुगिन् ।

‘गाउँमा भएको जागिर छोडेर राजधानी पसे । यता पनि अवस्था उस्तै । दिनभरी छोराछोरी हेर्दै समय जान्छ । काम नगरे कसरी छोराछोरी पाल्ने भन्ने चिन्ता । काम गर्न जाउँ भने छोराछोरी कहाँ राख्ने भन्ने चिन्ता’ उनले दुखेसो सुनाइन् ।

१२ वर्षकी छोरी झट्ट हेर्दा ६\७ वर्ष जस्तै देखिन्छिन । न त खाना खान आउँछ, न त बोल्न । अर्कोतिर छोरा पनि उस्तै हुँदा छोराछोरीकै हेरचाह बाहेक अरु काम गर्न नसकेको उनी बताउँछिन् ।

छोरीलाई बौद्धिक अपांग विद्यालय काँडाघारीमा राखेकी छन् । स्कुलको शुल्क छोइ नसक्नु महंगो छ । छोरीको लागि मात्रै साढे ८ हजार मासिक शुल्क बुझाउने गरेको उनले बताइन् ।

इलामकी बिमला वस्तीको दुखेसो पनि यस्तै छ । उनकी १० वर्षकी छोरी बौद्धिक अपांग छन् । गाउँमा बौद्धिक अपांगता भएका व्यक्तिका लागि स्कुल नहुँदा उनी पनि सरीता जस्तै अपांग छोरीको शिक्षा र सुरक्षाको लागि काठमाडौँ पुगिन् ।

छोरीलाइ छोडर काम गर्न जाँदा छोरी असुरक्षित हुने भएकाले उनको दिन पनि छोरीलाइ हेर्दैमा ठिक्क हुन्छ ।

‘कतै जानै परे कोठाभित्र चुक्कुल लगाएर जान्छु । पुर्व जन्मको पापले मेरो छोरी अपांग भएको भन्दै समाजले कुरा काटेको सुनेकी छु । निकै दुख लाग्छ यस्तो सुन्दा’ उनले भनिन् ।

इलामबाट राजधानी आए पनि अपांगता भएकी छोरीले पाउने २ हजार रुपैयाँ बुझ्न ४ हजार खर्च गरेर गाउँमै जानुपर्ने समस्या रहेको उनले सुनाइन् ।

राज्य कहाँ छ ?

बौद्धिक अपांगता भएका बालबालिकाका लागि राज्यले शिक्षा, स्वास्थ्यमा लगानी नगरेको भन्दै उनीहरुका अभिभावक भन्छन्, ‘सरकार रमिते भएर छ ।’

भक्तपुरको एक इटा भट्टामा काम गर्ने सल्यानका बौद्धिक अपांग किशोरी एकै हप्तामा दुईपटक बलात्कृत भइन् । दोषीले सजाय त पाए । तर उनको असुरक्षा उस्तै छ । इटा भट्टामा काम गर्ने किशोरीकी आमा छोरीलाई सुरक्षितसँग राखिदिने आवास गृहको खोजीमा छिन् ।

बौद्धिक अपांग आमा समाजका सचिव सिर्जना केसीले बौद्धिक अपांगता भएका व्यक्ति र तिनका परिवार समस्यामा रहेको बताइन् ।

हुन त शारीरिक अपांगता भएका बालबालिकाहरु पनि निकै जोखिम मोलेर घरमा बसिरहेका छन् । तर बौद्धिक अपांगता भएका बालिका र महिला भने अन्यको तुलनामा निकै समस्यामा रहेको उनले अनुभव सुनाइन् ।

नेपालमा बौद्धिक अपांगता भएका मानिस कति छन् भन्ने यकिन तथ्यांक छैन । तर बौद्धिक अपांगता भएका पुरुष भन्दा महिला निकै जोखिममा रहेको सिर्जनाको भनाइ छ ।

महिला महिनावारी हुँदा सबैभन्दा बढी समस्या हुन्छ । महिनावारी हुँदा आफ्नो रगत आफै खाने, जताततै लिप्ने गर्दा परिवारलाइ पनि समस्या हुने गरेको उनको भनाइ छ । यस्ता महिला बलात्कार हुँदा पनि न्याय नपाउने गरेको उनले बताइन् ।

नेपालको जनगणना २०६८ अनुसार देशको कुल जनसङ्ख्याको १.९४ प्रतिशत (५,१३,९९३) हिस्सामा कुनै एक वा बढी प्रकारको अपाङ्गता रहेको देखिएको छ । २०५८ सालको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरू ०.४६ प्रतिशत थिए । शारीरिक तथा मानसिक अपाङ्गता भएका कुल व्यक्ति मध्ये ५४.५६ प्रतिशत पुरूष र बाँकी ४५.४४ प्रतिशत महिला रहेको देखिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरू मध्ये २.९० प्रतिशतमा वौद्धिक अपाङ्गता भएको पाइएको छ ।

बौद्धिक अपांग भएका व्यक्ति केही पनि बुझ्न सक्ने हुँदैनन । मिठो नमिठो, राम्रो नराम्रो पनि छुट्याउन सक्दैनन् । आगोले पोल्छ भन्ने समेत थाहा पाउदैनन् । आगो, पानी जेमा पनि उनीहरु खेल्न सक्छन् । उमेरले ठूलो भए पनि मस्तिष्कको विकास नहुने भएकाले साना बालबालिका जस्तै व्यवहार गर्छन् ।

परिवारबाटै अपहेलना भोः प्रदिप ज्ञवाली, परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीकी ३० वर्षीया छोरी क्षितिज ज्ञवाली पनि बौद्धिक अपांग छन् । अपांगता भएका व्यक्ति र परिवारलाइ हेर्ने दृष्टिकोणबाट आफू टाढा नरहेको उनले बताए । छोरी अपांग भएकै कारण आफ्नै आफन्तबाट आफू पनि अपहेलित हुनुपरेको अनुभव सुनाए उनले ।

सञ्चारिका समूकको टेलिभिजन कार्यक्रम ‘समकोण’ को छायांकन कार्यक्तममा बोल्दै मन्त्री ज्ञवालीले छोरी गर्भमा रहेको ७ महिनामा श्रीमती चिप्लिएर लड्दा गर्भदेखिनै छोरीराई मस्तिष्क पक्षघात भएको ज्ञवालीले बताए । मस्तिष्कको बैकल्पिक उपाय भनेको मस्तिष्क प्रत्यारोपण गर्नुमात्रै भएकाले छोरीको उपचार गर्न असम्भव रहेको उनको भनाइ छ ।

छोरीको हेरचाहकै लागि श्रीमती सरस्वती ज्ञवालीले जागिर छोड्नु परेको उनले बताए । ‘अपांगता भएको छोरा भन्दा छोरी असुरक्षित छन् । त्यसैले छोरीकै हेरचाहका लागि मेरो श्रीमतीले जागिर छोड्नुपर्यो ।’

ज्ञवालीले अपांगता भएका व्यक्तिको लागि थुप्रै कानुन बनेको बताए । अपांगता भएका व्यक्ति र परिवारलाई हुने समस्याबारे आफू जानकार रहेकाले कानुन कार्यन्वयनका लागि प्रतिबद्ध रहने ज्ञवालीको भनाइ छ ।

बौद्धिक अपांगता भएका व्यक्तिका लागि सुरक्षित आवास गृह र विद्यालयको व्यवस्था गनुपर्ने जरुरी रहेको बताउँदै त्यसका लागि काम गर्न सरकारलाई सल्लाह, सुझाव दिने उनले बताए ।

जिम्मेवारी राज्यले लिनुपर्छः सुमन खरेल, वरिष्ठ पत्रकार

वरिष्ठ पत्रकार सुमन खरेलले नेपालमा अपांगता भएका महिलाको अवस्था दर्दनाक रहेको बताए ।

खरेलकी ३० वर्षीया छोरी स्मारिका खरेल अपांग छन् । उनी अहिले बेलायतमा बस्छिन् ।

बेलायतबाट नेपाल आएपछि छोरीलाई हेर्न निकै समस्या भएकोले फेरि फर्केर बेलायत गएको अनुभव सुनाउँदै खरेलले भने, ‘कोठा भन्दा बाहिर अपांगता भएका व्यक्तिलाई घुमाउन सडक, भौतिक संरचना केही नहुँदा निकै समस्या भयो ।’

बेलायतमा रहेकी छोरीको सम्पूर्ण जिम्मेवारी सरकारले लिएका कारण आफूलाई खासै समस्या नभएको उनले बताए ।

नेपाल सरकारले पनि अपांगता भएका व्यक्तिको सम्पूर्ण जिम्मेवारी लिनु पर्ने खरेलले बताए ।

बीबीसी नेपाली सेवामा कार्यरत रहेका बेला लण्डन जान पाउँदा त्यहाँको सरकारले छोरीको सबै व्यवस्था गरिदिएको उनले सुनाए ।

अपांग छोरालाई देख्दा साइत बिग्रने भन्छन्ः राजु बस्नेत, अपांग महासंघ

अपांग महासंघका महासचि राजु बस्नेतले नेपालमा ५६ प्रतिशत अपांगता भएका व्यक्तिले परिचय पत्र पाउन नसकेको बताए । अपांगता भएका व्यक्तिका लागि राजधानीभित्र नीजि विद्यालय रहेका भन्दै सरकारले नै विद्यालय खोल्नुपर्ने उनले बताए ।

आफ्नो छोरा पनि अपांग भएको बताउँदै उनले अपांग छोरालाई देख्दा साइत बिग्रने भन्दै गाउँका मान्छे फर्केर जाने गरेको तितो अनुभव सुनाए ।

के भन्छ ऐनले ?

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा १० मा अपाङ्गता भएका व्यक्तिलाई परिवार, संरक्षक वा अन्य व्यक्तिबाट हुने अपमानजनक व्यवहार, शारीरिक वा मानसिक हिंसा, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार भए तत्काल प्रभावकारी रुपमा सुरक्षा, उद्धार, संरक्षण तथा पुनस्र्थापना गर्ने उल्लेख गरीएको छ ।

यस्तै दफा २९को पुनस्र्थापना सम्बन्धी व्यवस्थामा बौद्धिक अपाङ्गता भएका र मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापना गर्न सरकारले आवश्यकता अनुसार पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने, दफा ३० मा अन्य पीडित भन्दा अपाङ्गता भएका व्यक्तिका लागि विशेष आवास गृहको आवश्यक पर्ने हुँदा शिक्षा निशुल्क गर्ने, दफा २०(५) मा बौद्धिक अपाङ्गता, मानसिक अपाङ्गता, अटिज्म, मस्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ लगायतका विषयमा उपयुक्त व्यवस्था गर्ने दफा ३२(च) मा तोकिएको अवस्थाका अपाङ्गता भएका व्यक्तिका सहयोगीका लागि भत्ता उपलब्ध गराउन सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरेपनि अहिलेसम्म कार्यन्व्यन हुन सकेको छैन ।

आज समकोण

‘बौद्धिक अपांगता भएका सन्तानः परिवार र राज्यको दायित्व’ सम्बन्धी सञ्चारिका समूहको टेलिभिजन कार्यक्तम आज बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

–महिला खबर– ललितपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले दश वर्षे द्वन्द्वका क्रममा यौन हिंसामा परेका

विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी

–महिला खबर– ललितपुर । काठमाडाैं महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु

–महिला खबर– ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै

बलात्कारको आरोपमा पक्राउ

-महिला खबर- ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना

बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै

–पार्वती ऐडी– बझाङ । जिल्लाको तल्कोट गाउ“पालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: