जनसंख्यामा महिला बढी, घटना दर्तामा कम


प्रकाशित मिति :2018-06-08 10:54:22

–डीबी विष्ट–

मेरो नाम जुनमती बोहरा हो । म २३ वर्षकी भएँ । मेरो घर सुर्मा गाउँपालिका हो । घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले मैले पढ्न पाइन । साथीहरू स्कुल गएको देख्दा मेरो भाग्यमा लेख्ने पढ्ने कुरा अटाएन भन्दै भाग्य धिकार्थें । घरकै काममा आमाबुबालाई सघाउँथे ।

डीबी विष्ट

एक दिन अकस्मात एउटा नचिनेको केटाले प्रेम प्रस्ताव राख्यो । चिन्नु न जान्नुको व्यक्तिको प्रस्ताव स्वीकार गर्ने कुरै भएन । तर, त्यो मान्छेले मेरो पिछा छोड्दै छोडेन । नचाहँदा नचाहँदै पनि म उसँग नजिक हुन पुगें । उसको एकोहोरो प्रेमले मलाई पनि उससँग    प्रेम गर्न बाध्य बनाइदियो ।

मैले चिन्दा विरेन्द्र धामी धनगढीमा क्याम्पस पढ्दै थियो । म भने यार्सा संकलन गर्न लेक जान्थे । यार्सा संकलन गरेको केही रकम, घरमा फलेका तरकारी र अन्य समेत उसका लागि भन्दै धनगढी जाने बसमा पढाइदिन्थें । एक दिन उसले ‘म तिमी बिना बाँच्न नसक्ने भइसकेँ । हामी विवाह गरौं’ भन्यो । मैले पनि हुन्छ भनें ।

उ धनगढीबाट मलाई लिनका लागि बझाङ आयो । २०७४ पुस महिनामा हाम्ले भागेर विहे गर्यौं । विहेका चार महिना सँगै बस्यौं । त्यसपछि उसले ‘मलाई पढाईमा बाधा भो, तिमी घर जाउ’ भनेपछि म उसको घर बझाङ फर्कें ।

घर आएको केही समय राम्रै भयो । म पनि घरको सबै काम गर्थें । तर, मलाई सासू ससुराले दुःख दिन सुरु गरे । ‘तँ अनपढ, हाम्रो छोरा पढेलेखेको । तँलाई बुहारी स्वीकार्न सक्दैनौं । तँ आफ्नो बाटो लाग भन्दै कुटपिट गरे ।’ घरमा बस्नै नदिएपछि मैले श्रीमानलाई फोन गरें । तर, श्रीमानले मेरो साथ दिएनन् । उनले पनि ‘तँ जे गर्छस् गर, जता जान्छस् जा । मलाई फोन नगर्नु’ भन्न थाले । अनि फोनै उठाउन छाडे ।

सासू ससुराको कुटपिटले टाउकोमा चोट लागेको छ । बेलाबेलामा दुखिरहन्छ । नियमति औषधि खाइरहेकी छु । म अहिले माइतीमा बस्छु । मेरो जीवन न घरको भो, न घाटको ।

मसँग नागरिकता पनि छैन । न विवाह दर्ता नै छ । विहे गरेर अलपत्र पार्ने श्रीमान र कुटपिट गर्दै घर निकाला गर्ने सासू ससुराविरुद्ध मुद्दा हालौं भने कुनै कागजी प्रमाण छैन । उजुरी लिएर महिला अधिकार मञ्चमा गएको थिएँ । कर्मचारीले पछी आउनु भन्नु भो । अब प्रहरीकोमा उजुरी दिने विचार गरेकी छु । तर मसँग उसको श्रीमती हो भन्ने केही प्रमाण नै छैन । मैले अहिलेसम्म कमाएको सम्पत्ति समेत उसलाई पठाए । आफू रित्तो छु । मैले कसरी न्याय पाउँछु, केही थाहा छैन ।

०००

मेरो घर तल्कोठ गाउँपालिका हो । मेरो एउटा ६ वर्षको छोरा छ । श्रीमानले दोस्रो विवाह गरेका छन् । दोस्री श्रीमतीबाट पनि २ छोरा छन् । कान्छी श्रीमती भित्र्याएदेखि ममाथि बढेको शारीरिक र मानसिक यातना नरोकिएपछि चार वर्षदेखि छोरासहित माइतीको आश्रयमा छु ।

श्रीमानको यातना सहन नसकेर गर्भवती हुँदा म प्रहरीकोमा गएकी थिएँ । प्रहरीले अहिले तपाईं दुई जिउकी हुनुहुन्छ । मिल्नु पर्छ भन्दै मिलाएर पठाइदियो । घर फर्केपछि फेरि मलाई प्रहरीमा पुर्याइस् भन्दै कुटपिट गरे । नागरिकता नबनाइदिएको कुरा पनि प्रहरीमा राखे । सुत्केरी भइसकेपछि बनाइदिने कुरा भो । तर बनाइएन । नागरिकता बनाउनुको सट्टा सौता भित्र्याए ।

म हुँदाहुँदै दोस्री श्रीमती भित्र्याउने श्रीमानलाई कानुनी कारबाही गर्न मन छ । मलाई आफ्नो हक लिन चाहान्छु । तर मसँग नागरिकता छैन । छोराको जन्मदर्ता पनि छैन । यसका लागि के गर्ने त्यो पनि थाहा छैन । (सुरक्षाको कारण महिलाको नाम राखिएको छैन ।)

०००

मैले विवाह गरेको १४ वर्ष भो । मेरो घर मष्टा गाउँपालिकामा पर्छ । बालखमै बाआमाले बाजागाजासहित भुपेन्द्र खड्कासँग विहे गरिदिए । सानै भए पनि ठूलालाई आदर गर्नुपर्छ भन्ने जानेकी थिए । सबैलाई लागे पुगेजती आदर गरेँ । माइतीमा छँदा भन्दा तीन गुणा बढि काम गरेँ ।

परिवारमा मैले जति काम गरे पनि माया गरेनन् । बरु बिस्तारै दुःख दिन थाले । विहेको २ वर्ष जेनतेन बिते । आज नभए भोली त राम्रो होला सोच्दासोच्दै कहिले राम्रो नहुने भो । श्रीमान र घर परिवार कसैले पनि चित्त राख्ने बाटो दिएनन् । त्यसैमा श्रीमानको दिनदिनैको कुटाइ । सहन नसक्ने भएँ । त्यसपछि माइती आएँ । माइती आएको केही दिनमै श्रीमानले कान्छी भित्र्याएछन् ।

सौता हालेको थाहा पाएपछि घर फर्कें । एक्लै हुँदा त कुटपिट गर्ने श्रीमान कान्छी ल्याएपछि झन् तमासा देखाउन थाले । श्रीमानले जती कुटे पनि नकुट भन्न कोही आउँथेनन् । ‘मु केई पनि अन्र्यानाई । तमरा घर बस्नाखी मात्रै देउ । तौरै पुजा अरुला । तौरा खुट्टाईनो मुन्याठो छ’ (मलाई केही चाहिन्न । तपाईंको घरमा बस्न मात्रै दिनुस् । तपाईंकै पूजा गर्छु । तपाईंको खुट्टामा टाउको छ ।) भन्दै रोएँ, कराएँ । तर मलाई घरमा बस्न दिन कोही राजी भएनन् । दिन रात कुटाईको वर्षामात्रै । कुन दिन मार्छन् भन्ने डरले फेरि माइती फर्कें ।

अहिले म ३६ वर्ष पुग्न थाले । न नागरिकता छ । न विवाह दर्ता । श्रीमानसँग शारीरिक सम्पर्क समेत भएको थिएन । छोराछोरी हुने त कुरै भएन । म एक वर्षकी छँदा आमाको मृत्यु भएको रे । बुबा पनि हुनुहुन्न । आफन्तको नाममा एउटा भाइ मात्रै छ । उ पनि भारतमा छ । मेरो लागि न्यायको पहल गरिदिने कोही छैन । मुद्दामामिला गरे लाज हुन्छ भन्छन् । सबैले घर खान नसकेकी भन्दै हेप्छन् । कहाँ जाऔं, के गरौं केही थाहा छैन ।

०००

मेरो नाम लक्ष्मी धामी । घर भातेखोला हो । मेरो सानैमा मागी विहे भो । विहेको केही समयमै श्रीमान ज्ञानेन्द्र खड्काले दोस्रो विहे गरे । ममाथि गालीगलौज र कुटपिट गर्दै घर निकाला गरे ।

मसँग नागरिकता थियो । तर घरबाट निकाल्दा त्यो नागरिकता सासूले नै खोसेर राखिन् । मेरो साथमा ७ वर्षको एउटा छोरा छ । म माइतीको सहारामा छु ।

महिला अधिकार मञ्च र प्रहरीको सहयोगले नागरिकताको प्रतिलिपी लिएर जिल्ला अदालत बझाङमा सम्बन्ध विच्छेद र अंश मुद्दा दर्ता गराएको पाँच वर्ष भयो । छोराको जन्मदर्ता छैन । हेरौं अब के हुन्छ । न्याय पाउँछु कि पाउँदिन ।

०००

मेरो नाम सीता थापा । म २४ वर्षकी भएँ । घर कोटदेबल हो । मेरो विहे भएको ११ वर्ष भो । सानैमा बुबाआमाले विहे गरिदिएका हुन् । विहेपछि श्रीमानसँग कुनै सम्बन्ध नै भएन । श्रीमानसँग कुरा गर्न खोज्दा श्रीमानले ‘मेरो इच्छाले तँसँग विहे भएको होइन । आमाबुबाका लागि विहे भएको हो’ भन्थे । भेट्यो कि हात छोडिहाल्ने । कुटपिट गर्ने क्रम रोकिएन । माया पाउने कुरा त टाढाको विषय ।

म अहिले माइतीमै बस्छु । मसँग नागरिकता र विहे दर्ता छैन । महिला अधिकार मञ्चको सहयोगमा २०७० सालमा जिल्ला अदालत बझाङमा अंशसहित सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकी छु । अदालतले प्रमाण खोज्छ भन्छन् । खै के हुने हो केही थाहा छैन । म उसको श्रीमती हो भन्ने कुराको आफूसँग प्रमाण नहुँदा डर लागिरहेको छ ।

०००

मेरो घर दुर्गाथली गाउँपालिका हो । मेरो साथमा तीन महिनाकी छोरी छिन् । श्रीमानको नाम रमेश खाती हो । उनी मजदुरी गर्छन् । आमाबुबाको साथमा भारतमा हुर्के बढेकी मलाई बुबाआमाले विहे गरेर बझाङ पठाइदिए । श्रीमानको आफ्नो घर छैन । उनी मामाको घरमा बस्छन् । म पनि विहेपछि त्यतै बसेँ ।

श्रीमान र उनका मामा माइजुले निकै दुःख दिए । घरका सबै मिलेर मलाई पागल भन्दै गिज्याउँथे । मलाई किन पागल भनेको भन्दै गाउँले जम्मा गर्दा ‘हाम्ले कहिले भन्यौं, कहाँ भन्यौं, पागल भनेको केही प्रमाण छ ?’ भन्दै उल्टै मलाई नै मूर्ख बनाउथे ।

एक दिनको कुरा हो, म काम गरिरहेकी थिएँ । घरका सबै जम्मा थिए । अचानक सबै मिलेर ‘तँ मर्छु मर्छु भन्छेस् । आइजा, आज यही भित्रै मारिदिन्छांै’ भने । श्रीमानले समेत रसी(नाम्लो)ल्याएर ‘ल यही धुरीमा झुण्डिएर मर । आफैले आत्महत्या गरेकी हो भनांैला’ भने । मैले रोइकराई गरेँ । तपाईंहरू जे भन्नुहुन्छ, म त्यही मान्छु भनेपछि त्यो दिन केही गरेनन् । फेरि अर्को दिन पनि त्यस्तै गरे । त्यो क्रम दिनहुँ नै भो ।

म गर्भवती थिएँ । गर्भकोे सन्तानको माया लागेर मैले त्यो घर छाडें । अनि माइतीमा आएँ । माइतीमै छोरी जन्माएँ । विवाह गरेको दुई वर्ष भो । न विवाह दर्ता छ, न नागरिकता । अब त छोरीको जन्म दर्ता पनि गराउनु पर्ने । तीन चार महिना भो श्रीमान पनि सम्पर्कमा छैनन् । छोरी बोकेर म कहाँ जाने केही थाहा छैन ।

नागरिकता, बिहेदर्ता चाहियो भनेर उजुरी गर्दैनन्

जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा घरेलु हिंसाका ५३ उजुरी परे । तर, ती मध्ये एउटा मुद्दा पनि बिहे दर्ता, नागरिकता नभएको भनेर महिलाले दिएका छैनन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा पनि घरेलु हिंसा सम्बन्धी १ सय १४ उजुरी परेकोमा एउटा पनि उजुरी बिहे दर्ता, नागरिकता नबनाइदिएको भनेर नआएको जिल्ला प्रहरी कार्यालय बझाङको महिला बालबालिका सेवा केन्द्रकी प्रमुख बागमती धामीले बताईन् ।

धामीका अनुसार उजुरी दिन आउने अधिकांश महिलाहरू घरेलु हिंसामा परेको बताउँछन् । उनीहरूले बिहे दर्ता, जन्म दर्ताको विषय मुख्य बनाएर उजुरी नगर्ने बताउँदै धामीले भनिन्, ‘हिंसामा परेका महिलाहरूको उजुरी पछि अनुसन्धान गर्दै जाँदा पीडित महिलाहरूको नागरिकता, विवाह दर्ता, बालबालिकाको जन्मदर्ता समेत नभएको फेला पर्ने गरेको छ ।’

अदालतमा व्यक्तिगत घटना दर्ताको मुद्दा पर्दैन

जिल्ला अदालत बझाङमा पनि सम्बन्ध विच्छेद, अंश बण्डा, बहुविवाह, बाल विवाहका मुद्दा दर्ता हुनछन् । तर व्यक्तिगत घटना दर्ता बनाउन माग गरेर मुद्दा नै परेको छैन ।

अदालतका श्रेस्तेदार वसन्तराज जोशीका अनुसार व्यक्तिगत घटना दर्ताको माग गरेको मुद्दा दर्ता गर्न एकजना पनि महिला अदालतमा आएका छैनन् ।

विवाहपछि सम्बन्ध बिग्रिएर नागरिकता र विवाह दर्ता नभएका महिलाहरूले प्रमाण नहुने त्रासले पनि अदालतसम्म जाँदैनन् । श्रेस्तेदार जोशी भने विवाहको प्रमाणको रुपमा समाजका व्यक्ति, सरकारी तथा अन्य संघ संस्थाहरूमा श्रीमान र श्रीमतीको नाम खुलेको कुनै कागजात भए त्यस्ता प्रमाण हुनसक्ने बताउँछन् ।

साथै उनले जिल्ला अस्पतालमा बच्चा जन्माउँदा बुबा आमाको नाम खुलेको जन्म प्रमाण पनि मुद्दा दर्ता गर्ने प्रमाणका रुपमा हुनसक्ने बताए । न्यायको लागि अदालत आउने महिलालाई गाउँलेहरूको रोहबरमा सम्बन्धित वडा कार्यालयले विवाह गरेको हो वा फलानोको श्रीमती हो भनी खुलाइएको सिफारिस भए अझ बलियो प्रमाण हुनसक्ने उनले बताए ।

उजुरी आए जनप्रतिनिधिको रोहबरमा सिफारिस दिन्छौं : उपमेयर

जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले भने आफू जनप्रतिनिधीमा निर्वाचित भएपछि व्यक्तिगत घटना दर्ता, नागरिकता बनाउन माग गरेर महिलाहरू नआएका बताउँछिन् ।

निर्वाचित हुनुअघि जाग्री अधिकारकर्मी पनि थिईन् । उनले आफू महिला अधिकार मञ्चमा हुँदा श्रीमानले नागरिकता नबनाईदिएको, विवाह दर्ता नभएको, सन्तानको जन्मदर्ता नभएको घटना लिएर महिलाहरू आउने गरेका भए पनि नगरपालिकामा भने नआएको बताईन् ।

स्थानीय तहको निर्वाचनपछि हालसम्म जयपृथ्वी नगरपालिकामा महिला माथि भएका ४ घरेलु हिंसा र एउटा सामाजिक हिंसाका घटना दर्ता भएका छन् । उपप्रमुख जाग्रीले ‘नागरिकता पाउनबाट बञ्चित भएँ, विवाह दर्ता गर्न श्रीमानले मानेनन्’ भनेर कोही कसैले उजुरी नदिएको बताईन् ।

नगरपालिकामा महिलाले त्यस्तो उजुरी गरेमा बालबालिकाहरूको जन्मदर्ता, नागरिकताका लागि सिफारिस आफू नै रोहबरमा बसेर उपलब्ध गराउन सकिने उनले बताईन् ।

उनले भनिन्, ‘हामी निर्वाचित भएकोले को कसको श्रीमती हो वा होईन भन्ने थाहा हुन्छ । त्यसैले नागरिकताको सिफारिस र बालबालिकाहरूको जन्मदर्ता बनाइदिन सक्छौं ।’

बझाङ जिल्लामा लामो समयदेखि महिला अधिकारका लागि काम गर्दै आएको संस्था महिला अधिकार मञ्चमा भने आर्थिक वर्ष २०६९÷०७० देखि हालसम्म महिला हिंसा सम्बन्धि ४ सय २ उजुरी परेका छन् । ती मध्ये एउटा मात्रै उजुरी नागरिकता बनाईपाउँ भनेर परेको संस्थाले सञ्चालन गरेको हिंसा पीडित महिला लागि सुरक्षित आवास गृहकी प्रमुख सीता सिंहले बताईन् ।

नागरिकता बनाई पाउँ भनेर बझाङ सैनपसेलाकी रमा विकले उजुरी थिएकी थिईन् । रमाका तीन छोराछोरी छन् । तर उनको श्रीमानले दोस्रो विवाह गरेका कारण नागरिकता र विवाह दर्ता गर्न नमानेपछि उनले उजुरी गरेकी थिईन् । तर, पछि घरबाट नागरिकता नबनेपछि माईतीबाट आमाको नामबाट नागरिकता बनाईन् ।

माइतीबाट नागरिकता बनाउन झनै समस्या

मष्टा गाउँपालिकाकी सम्झनादेवी रोकाया ३२ वर्षकी भईन् । उनले अहिलेसम्म नागरिकता पाएकी छैनन् । श्रीमान र आफन्तहरूले घरेलु हिंसा गरी घर निकाला गरेपछि उनी माइतीमा छिन् । लामो समयदेखि माईतीमै बस्दै आएकी सम्झनादेवीले श्रीमानको नामबाट नागरिकता नलिने निर्णय गरिन् ।

उनले आमाको नामबाटै नागरिकता लिन खोज्दा वडा सचिव वीरेन्द्रबहादुर खड्काले नागरिकताको सिफारिस गर्न मानेनन् । रोकायाका दाइ भए मात्रै सिफारिस दिन सकिने भन्दै सिफारिस दिन नमानेकोले उनी नागरिकताबिहीन छिन् ।

महिला अधिकार मञ्चकी सीता सिंहको अगुवाईमा सचिव खड्कालाई भेटेर नागरिकताको सिफारिस बनाउन अनुरोध गर्दा सचिवले श्रीमानबाट नै नागरिकता बनाउनु पर्ने नभए उनको दाई वा भाई स्वयं नै उपस्थित हुनुपर्ने भनेपछि रोकायाले आमाको नागरिकता लिन नसकेकी हुन् ।

नागरिकता लिने पुरुष बढी

राष्ट्रिय जनगणना २०६८ का अनुसार बझाङ जिल्लाको कुलजनसंख्या १ लाख ९५ हजार १ सय ५९ छ । ती मध्ये महिलाको संख्या १ लाख २ हजार ३ सय ६५ छ ।

कुल जनसंख्यामा महिला बढी भए पनि व्यक्तिगत घटना दर्ता र नागरिकता लिने दर भने पुरुषको बढी छ । जिल्ला प्रशासन कार्यालय बझाङबाट २०७४ साउनदेखि २०७५ बैशाख मसान्तसम्म कुल ५ हजार २ सय ३ जनाले नागरिकता बनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरका अनुसार नागरिकता बनाउनेमा पुरुषको संख्या बढी छ । गएको १० महिनामा २ हजार २ सय ९८ महिलाले नागरिकता बनाएका छन् भने नागरिकता लिने पुरुषको संख्या ६ सय ७ जनाले बढी छन् ।

व्यक्तिगत घटना दर्तामा पनि पुरुष कै पहुँच

नागरिकता मात्रै होइन व्यक्तिगत घटना दर्तामा पनि पुरुष नै अगाडि छन् । जिल्ला समन्वय समितिको दुई वर्षको तथ्याङ्क हेर्दा जन्म दर्ता, मृत्यु दर्ता जस्ता व्यक्तिगत घटनादर्तामा पुरुषकै पहुँच बढी देखिन्छ ।

बझाङमा आर्थिक वर्ष २०७३/०७४ मा कुल २६ हजार ३ सय ९५ जनाको जन्मदर्ता भएको छ । तीमध्ये १२ हजार ७ सय ७३ जना महिला छन् । भने पुरुषको संख्या १३ हजार ६ सय २२ जना छन् ।

त्यसैगरी मृत्यु दर्ता पनि पुरुषकै बढी छ । आर्थिक वर्ष २०७३/०७४ मा २ सय ६ जना महिलाको मृत्यु दर्ता भएकोमा ४ सय ९० पुरुषको मृत्यु भएको दर्ता जिल्ला समन्वय समिति बझाङमा रहेको छ । विवाह दर्ता भने १ हजार ७ सय २३ जनाले गरेका छन् ।

त्यसैगरी आर्थिक वर्ष ०७२/०७३ मा पनि बझाङ जिल्लामा पुरुषको नै बढी व्यक्तिगत घटना दर्ता भएको देखिन्छ । सो आर्थिक वर्ष ३ हजार ५ सय ९२ महिलाको जन्म दर्ता भएको थियो । भने ४ हजार ३ सय ७३ जना पुरुषको जन्म दर्ता भएको छ । भने २ सय २६ महिलाको मृत्यु दर्ता हुँदा ५ सय ७७ जना पुरुषकोे मृत्यु दर्ता भएको जिल्ला समन्वय समितिको तथ्याङ्क छ । यस आर्थिक वर्षमा ८ सय १४ जनाले विवाह दर्ता गराएका थिए ।

यी प्रतिनिधी घटनाहरू मात्रै हुन् । समाजका जान्ने बुझ्नेहरूबाट नै महिलाहरूलाई नागरिकता दिँदा अंश दिनु पर्छ भन्ने सोचका कारण महिलाहरूलाई नागरिकता बनाई नदिने प्रचलन रही आएको समाजसेवी धर्मराज रसाईलीले बताए ।

केही महिलाहरूले नागरिकता बनाई दिनुपर्यो भन्दा नागरिकतामा नै सबै थोक बाँकी छ र तिम्रो, अब के जागिर खान्छौ नागरिकता बनाएर भन्ने गरेको पाइएको रसाईलीले बताए ।

(पत्रकार डीबी विष्ट बझाङ जिल्लाबाट पत्रकारिता गर्नुहुन्छ ।)  

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

–महिला खबर– ललितपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले दश वर्षे द्वन्द्वका क्रममा यौन हिंसामा परेका

विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी

–महिला खबर– ललितपुर । काठमाडाैं महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु

–महिला खबर– ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै

बलात्कारको आरोपमा पक्राउ

-महिला खबर- ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना

बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै

–पार्वती ऐडी– बझाङ । जिल्लाको तल्कोट गाउ“पालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: