टिनएजर्स आमा !


प्रकाशित मिति :2018-05-25 17:28:37

– शिवकुमार काशी-

मकवानपुर । राममाया चेपाङको उमेर ४५ वर्ष भयो । गाउँकी अगुवा भनेर उनलाई सबैले मान्छन् । छरछिमेकमा केही समस्या पर्यो कि दौडेर राममायाको घरमा पुग्छन् । गाउँलेहरुका निम्ति उनी एक आदर्श पात्र पनि हुन् ।

मनहरी गाउँपालिका वडा नं ६ पोलाघारीकी राममाया सामु गाउँलेहरुले त्यसै समस्या सुनाएका होइनन् । चेपाङ समुदायमा महिलातर्फ उनले मनहरी गाउँपालिकामा एउटा रेकर्ड नै कायम राखिन् । गतवर्षको स्थानीय तहको चुनावमा महिला सदस्य पदमा निर्वाचित मात्र भइनन् । गाउँपालिका सदस्यमा समेत निर्वाचित भएपछि त गाउँकै ‘आइकन’ बनिन् ।

गाउँकै नेता राममाया भने आफैले भोगेको बालविवाह र जन्मान्तर बिना सन्तान जन्माउँदाको असरबारे अहिले आएर बुझ्दैछन् । १४ वर्षको उमेरमा गाउँकै युवकले विहेको प्रस्ताव राखे । राममायाको पनि राजीखुसी भयो । चेपाङ जातिको परम्परा अनुसार नै वैवाहिक जीवनमा गाँसिइन् । विवाहपछि वर्षेनी ७ जना सन्तान जन्माइन् ।

४ छोरी र ३ छोराकी आमा राममायाले लजाउँदै भनिन्–‘बिहे गर्ने र बच्चा पाउने उमेरै भएको रहेनछ, बाउआमाले विहे गरिदिए ।’ हुन त आमाबुबाको प्रस्ताव राममायाले नै स्वीकारेकी थिईन् । यतिबेला उनलाई लाग्छ, ‘ विवाह स्वीकार गर्नु आफ्नै पनि गल्ती हो । तर, १४ वर्षकी किशोरी उमेरमा विवाह गर्दा हुने फाइदा वा बेफाइदाबारे उनलाई जानकारी थिएन । रामायाको जेठो छोरोको पनि विवाह भइसकेको छ ।

    राममाया चेपाङ

लगातारको सन्तान उत्पादनले राममायाको ज्यान कमजोर भएको छ । ‘त्यतिखेर बाहिरका धेरै कुरा थाहा थिएन ।’ राममाया भन्छिन्, ‘परिवार नियोजनका साधनहरुबारे पनि म र श्रीमानले थाहा पाएनौं । त्यसपछि वर्षेनी बच्चा जन्मिए ।’ ७ वटा सन्तान जन्माउँदा आफ्नो स्वास्थ्य र पारिवारको आर्थिक अवस्था समेत कष्टकर बनेको उनले बताईन् ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका ६ बालगाती घर भएकी सुविक्षा चेपाङको उमेर २० वर्ष पुग्यो । उनको काखमा यतिखेर ४५ दिने छोरी मनिषा छिन् । भने ३ वर्षकी छोरी पनि छिन् । १६ वर्षको हुँदा उनले जेठी छोरी मौसम जन्माईन् ।

सुविक्षाको विवाह १५ वर्षमा भएको थियो । उनको स्वास्थ्य कमजोर छ । हेर्दा पनि पौष्टिक आहार नपुगेजस्ता ख्याउटे शरीर छ । घरमा पनि आम्दानीको दह्रो स्रोत छैन । विहे गर्ने उमेरमा पारिवारिक बोझले थिचिएकी सुविक्षा भन्छिन्–‘छोरी हुक्र्याे भन्दै बाउआमा नै विहेका लागि हतारिन्छन् । बाउआमाकै कुरामा सबैले हो मा हो लगाउँछन् ।’

मकवानपुरकै राक्सिराङ गाउँपालिका ६ बालगाती घर भएकी सुविक्षा चेपाङको उमेर २० वर्ष पुग्यो । उनको काखमा यतिखेर ४५ दिने छोरी मनिषा छिन् । भने उनकाे पहिलाे छाेरी ३ वर्षकी छिन् । १६ वर्षमा उनले जेठी छोरी मौसम जन्माएकी थिईन् ।

सुविक्षाको गाउँमा १५ वर्ष कटेपछि छोरीको विवाहको उमेर घर्कियो भन्ने ठानिन्छ । ‘इज्जत’ फाल्छे कि भनेर छोरी चिन्ताको विषय बन्छिन् । सुवेक्षाले गाउँघरमा १४÷१५ बर्षकै उमेरमा विवाह हुने गरेकाले आफू पनि विवाहका लागि बाध्य भएको उनले सुनाइन् । तर, अर्काको घरमा कम उमेरमै दुलही भएर गएपछि आइपरेको सकस र कामको बोझ सम्झँदा उनलाई बिरक्त लाग्छ । उनले भनिन्, ‘सानै उमेरमा विहे गर्दा धेरै समस्या आउने रहेछ । आफैले भोग्न परेपछि बल्ल कुरा बुझें ।’

       सुविक्षा चेपाङ

१४ वर्ष पूरा हुन नपाउँदै राक्सिराङ गाउँपालिका ७ गर्लिङकी सरिता चेपाङलाई माग्न गाउँकै गजेन्द्र चेपाङ रक्सी, मासु र कोल्ड ड्रिंक्स लिएर गए । हुर्केकी चेलीलाई विवाह प्रस्ताव गर्न जाँदा मासु, रक्सी तथा अन्य खानेकुरा (सगुन) लैजानुपर्छ । यसरी छोरी माग्ने चलनलाई चेपाङ संस्कारमा ‘पोङ’ राख्ने भनिन्छ । केटापक्षबाट लिएर गएको पोङ बाबुआमाले स्वीकृत गर्छन् । त्यसपछि केटीले विवाहको इन्कारी गर्न सक्दिन, पाउँदिन ।

सरिताका लागि पनि गजेन्द्रले राखेको ‘पोङ’ बाबुआमाबाट स्वीकृत भयो । त्यसपछि उनीहरुको विवाह पक्का भयो । गाउँकै धिराङ प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी सरिताका लागि ‘पोङ’ स्वीकृत भएपछि बाबुआमाले संस्कार अनुसार विवाह गरेर पठाइदिए ।

१४ वर्षकै उमेरमा विवाह भएपछि सुरु भयो सरिताको दुःख । हरेक दिन उनी आफ्नो माइतीघर सम्झन्थिन् । किनकी, माइतीमा काम गर्नुपर्दैनथ्ये । गजेन्द्रको घरमा गएपछि कामको बोझ थपिएन मात्रै, कम उमेरमै प्रजनन सामथ्र्य पनि देखाउनुपर्यो ।

विवाह लगत्तै उनको गर्भ बस्यो । वर्षदिन भित्रै छोरा जन्माइन् । उनी सम्झिन्छिन्–‘स्कुल पढिरहेकी केटी म कसरी आमा बन्न सकूँला भनेर निकै डर लागिरह्यो ।’ १४ वर्षमा सन्तान जन्माउँदा जोखिमको संभावना भएपनि उनी सुत्केरी हुन अस्पताल गइनन् । न त परिवारका सदस्यले नै अस्पताल जानुपर्छ भने । सरिताले थपिन्, ‘प्राण नै जालाजस्तो भए पनि घरमै छोरा जन्माएँ ।’

सामान्यतया जंगल फँडानी गरेर खोरियामा चेपाङ समुदायको बसोबास हुन्छ । सरिताको परिवार पनि खोरियामा नै सानो छाप्रो हालेर बस्छन् । उनीहरुको उब्जनी हुने जग्गा अत्यन्त कम छ । अर्काको घरमा मजदुरी नगरी बिहान बेलुकाको छाक टर्दैन ।

सुत्केरी बेला देखि नै अरुको घरमा गएर ज्यालामजदुरी गर्नुपर्ने बाध्यताले छोराको स्याहार तथा सुत्केरी सरिताको ज्यानको हेरचाह राम्ररी हुन सकेन । पोषिलो खानेकुरा पाइनन् जसका कारण सरिताको ज्यान बलियो छैन । सुनाउँदै सरिता भन्छिन्–‘पहिला पहिला जस्तो ठूला भारी बोक्ने र बलले गर्ने काममा आँटै आउँदैन ।’

राममाया, सरिता र सुबिक्षा त चेपाङ समुदायमा हुने बालविवाहको प्रतिनिधि मात्र हुन् । मकवानपुरको मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकामा बाक्लो बसोबास रहेको चेपाङ समुदायमा बालविवाह सामान्य जस्तै छ ।

विवाह लगत्तै उनको गर्भ बस्यो । वर्षदिन भित्रै छोरा जन्माइन् । उनी सम्झिन्छिन्–‘स्कुल पढिरहेकी केटी म कसरी आमा बन्न सकूँला भनेर निकै डर लागिरह्यो ।’ १४ वर्षमा सन्तान जन्माउँदा जोखिमको संभावना भएपनि उनी सुत्केरी हुन अस्पताल गइनन् । न त परिवारका सदस्यले नै अस्पताल जानुपर्छ भने ।

बालविवाह र त्यसले ल्याउने प्रजनन स्वास्थ्य सम्बन्धी समस्याले आक्रान्त महिलाहरु बग्रेल्ती भेटिन्छन् । कतिपय शिशु र आमाको मृत्यु हुने गरेको छ । तर, त्यसको अभिलेख सरकारसँग पनि हुँदैन । किनकी गर्भवती महिलाहरु नियमित रुपमा स्वास्थ्य संस्थामा जाँच गर्न जाँदैनन् । न त सुत्केरी हुन नै स्वास्थ्य संस्था जान्छन् ।

स्थानीय तहको निर्वाचन पछि भने बालविवाह र प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि निगरानी बढ्न थालेको बताउँछन् कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान । ‘गर्भवती महिलाहरु विगतमा धामी झाँक्रीको भर पर्ने अवस्था थियो, अहिले बिस्तारै त्यो क्रम हराएको छ’, अध्यक्ष मुक्तान भन्छन्–‘गाउँपालिकाले पनि स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई बृद्धि गर्ने र निगरानी गर्ने कामलाई अघि बढाइरहेको छ ।’

                                                                                                            सरिता चेपाङ

अबको केही समयमा महिलाको प्रजनन् स्वास्थ्य क्षेत्रमा सुधार हुने उनको दाबी छ । प्रजनन् स्वास्थ्यमा देखिने समस्याको प्रमुख जड भनेको बालविवाह अन्त्यको लागि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने तयारी भइरहेको सुनाए । बालमैत्री स्थानीय शासन अबलम्बन गर्दा बालविवाह अन्त्य हुनुपर्ने सूचक अनिवार्य परिपालन गर्नुपर्छ ।

राक्सिराङ गाउँपालिका ६ मा रहेका चेपाङ बस्तीहरुमा देखिएको बालविवाह र प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या निराकरणका लागि वडातहमा पहल चालेको वडा अध्यक्ष सिंगलाल चेपाङ बताउँछन् । ‘पहिलोकोे तुलनामा बालविवाह त धेरै कम भयो’, १० वर्षअघिको बालविवाहको अवस्थासँग तुलना गर्दै वडा अध्यक्ष चेपाङ भन्छन्, ‘अहिले त धेरै सुधार भएको हो ।’

मनहरी गाउँपालिकामा पनि बालविवाहलाई रोक्न गाउँ बाल संरक्षण समितिलाई सक्रिय पारिएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष एवं समितिका संयोजक मनिला बिष्टका अनुसार आगामी २०७६ सालको मंसिर महिनाभित्रमा गाउँपालिकामा बालमैत्री स्थानीय शासन लागू हुनेछ ।

अहिले गाउँपालिकाभित्र जोखिममा रहेका बालबालिकाहरुको तथ्याङ्क उतार्ने काम भइरहेको भन्दै बालबिबाह रोक्न ९ वटै वडामा बाल संरक्षण समिति सक्रिय रहेको उनले बताए । ‘आजकाल बाल विवाह हुँववाह हुँदैछ भने उनीहरुकै साथीहरुले समेत फोन गरेर रोक्नका लागि दबाब दिन थालेका उदाहरण पनि छन्’ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहूँ र लमजुङ जिल्लामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । चेपाङ समुदायमा खासगरी बालविवाह तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । नेपाल चेपाङ संघ मकवानपुरका अनुसार २०६८ को जनगणनामा जिल्लामा चेपाङको संख्या २२ हजार २ सय २३ छ । अहिले यो संख्या बढेर ३५ हजार पुगेको अनुमान गरिएको संघका जिल्ला अध्यक्ष खेमबहादुर चेपाङ बताउँछन् ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था सिविन हेल्पलाइनका अनुसार मकवानपुर जिल्लामा एकवर्षको अवधिमा हुन लागेका ८ वटा बालविवाहका घटना रोकियो । ३ वटा विवाह चाँहि भएरै छाड्यो । यो तथ्याङ्का २०१७ जनवरी देखि डिसेम्बरसम्मको हो ।

(शिवकुमार काशी मकवानपुरबाट पत्रकारिता गर्नुहुन्छ ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

–महिला खबर– ललितपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले दश वर्षे द्वन्द्वका क्रममा यौन हिंसामा परेका

विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी

–महिला खबर– ललितपुर । काठमाडाैं महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु

–महिला खबर– ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै

बलात्कारको आरोपमा पक्राउ

-महिला खबर- ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना

बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै

–पार्वती ऐडी– बझाङ । जिल्लाको तल्कोट गाउ“पालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: