रात केटाहरूको मात्रै हो ?


प्रकाशित मिति :2018-05-21 14:47:11

– राधा खनाल

‘हेल्लो कता हो यति बेला ?’

हामी सुन्धारामा हिँड्दै थियौं । भलाद्मी जस्ता देखिने अधबैँशे पुरुषले हामीलाई बोलाए । स्मीताले ‘नबोल छोडिदेउ’ भनेकी त थिईन् । मैले चाहिँ सोझै हिसाबले पछाडि फर्किएर भने, ‘हजुर, के थियो होला ? तपाईं हामीलाई चिन्नुहुन्छ ?’

ती अधबैँशेको जवाफ आयो, – ओहो ! यहाँ पनि मान्छे चिनिराख्नु पर्छ ?

मेरी साथी स्मीता र म अफिसियल काम विशेषले महिना दिन अघि ३ दिन २ रातको लागि काठमाडौं थियौँ । काठमाडौं बसाई हाम्रो लागि नयाँ होईन । तर सुन्धारा क्षेत्रको बसाई भने बिल्कुलै पहिलो पटक थियो ।

अफिसले सुन्धाराको होटलमा खाने बस्ने व्यवस्था गरेको थियो । त्यहाँ हामी मात्रै थिएनौं । अरु साथीहरू पनि हुनुहुन्थ्यो । अफिसको कार्यक्रम राती अबेरसम्म चलेकाले राती आफन्तकोमा गएनौं ।

नेपाल सरकारका फष्ट क्लास अफिसर पुरुषसँग स्मीताको भेट्नुपर्ने काम रहेछ । होटलतर्पm मोडिनु अघि काठमाडौं मलमा कफी पिउन गयौं । कफी पिउँदै कुरा भइरहेको थियो ।

उहाँले सोध्नुभयो – तपाईंहरूको बसाई कता छ ? हातमा लगाएको घडी पनि हेर्दै हुनुहुन्थ्यो । थप्नुभयो, ‘आफन्तहरूको घर नजिकै छ ? फेरि पुग्दा ढिला होला नि ?’

मैले नै जवाफ फर्काएँ, – हामी सुन्धाराको होटलमा नै बस्ने हो सर । हतार छैन । ५ मिनेटको न बाटो हो । मैले भनि नसक्दै उहाँले जिब्रो टोक्नुभयो ।

‘के भन्या होटलमा ?

‘हजुर, किन सर ? कुनै आपत्ति ? मेरो प्रतिप्रश्न ।

आपत्ति त हैैन । तर, कति सजिलै भन्नुभयो त्यो सुनेर छक्क परें । उहाँले अझ थप्नुभयो, – तपाईहरू यहाँ बस्दै गरेको तपार्इंहरूका श्रीमानलाई थाहा छ ?’

‘लौ ! यहाँ बस्दै छौँ भनेर भनिराख्नु जरुरी हो र ? अफिसको कामले काठमाडौं छौँ भन्ने उहाँहरूलाई थाहा छ, त्यति हो ।’ स्मीताले यति भनेपछि उहाँले –‘तपाईहरूको बहादुरीलाई सलाम छ ।’ भनेर हिँड्नुभयो ।

हामी एक अर्कोलाई हेर्यौं । हामीले होटलमा बसेर के बहादुरी गर्यौं पत्तो पाएनौं ।

त्यसपछि होटेल गयौं । होटल पुग्दा रातीको ८ः३० भईसकेको थियो । होटलमा झोला थन्क्यायौं । बाहिरतिरै केही खाउँ भनेर न्यूरोडतिर लाग्यौं ।

न्यूरोडमा प्राय दोकान बन्द भईसकेका थिए । फाट्टफुट्ट होटलहरू भने खुल्लै रहेछन् । हामी भने आफ्नै सुरमा थियौं । बाटोमा हिड्ने महिला हामी मात्रै देखिन्थ्यौं ।

एउटा दोकान खुला रहेछ । सामान हेर्न पस्यौं । ओहो दिदीहरू यति राती पो ! दोकान त बन्द गर्न आँटेको । साहुजीको जवाफमा मैले ‘ठिकै छ त फलानो सामान दिनु न’ भनें ।

सामान दिने क्रममा उनले भने – यति राती दुईजना केटी यो क्षेत्रमा किन हिँड्नु भा ?

‘किन के छ र यहाँ त्यस्तो ?’ हामीले सोध्यौँ ।

उनको जवाफ –‘केटीहरूको लागि सुरक्षित ठाउँ होईन यो ।’

हामी वसन्तपुरसम्म गयौं । अलि अगाडिको ग्राउण्डमा गएर आधा घण्टा जति शान्तसँग २ जना नै नबोली बस्यौं ।

त्यति बेला मेरो दिमागमा अनेक कुरा खेल्न थाले । हामी २ जना केटी मात्र रातमा यो ठाउँमा आयौं । यसकारण यो ठाउँ असुरक्षित कि, केटाहरूले राती बाहिर निस्किएका महिलालाई गलत दृष्टिले हेर्छन्, यस कारणले असुरक्षित ? के हामी महिला भएकै कारणले रातमा बाहिर निस्किन बन्देज लगाईनुपर्ने हो ?

बसन्तपुरमा एकछिन टहलिएपछि नजिकै रहेको निरलज रेष्टुरेन्टमा केही खाउँ भनेर छिर्यौं । घडीमा रातको ९ बज्दै थियो । त्यहाँ पनि हामीले महिला देखेनौं ।

पुरुषहरू मात्रै थिए । प्रायको अगाडि रक्सीका बोतल । हातमा चुरोट । हामी होटल छिरे पछि सबैका आँखा हामीतिर मोडिए । मानौं हामी सामान्य महिला होइनौं । तेस्रो ग्रहबाट आएका अचम्मका प्राणी हौं ।

हामीले भो आफूलाई नर्मल नै बनाएका थियौं । सिजलर र मःम मगायौं । हामीप्रतिको व्यवहार देखेर मैले स्मीतालाई भने, ‘ओई हामी काठमाडौं मै त छौं ?’

किन ? स्मीताले प्रश्न गरिन् ।

भर्खरै ९ बज्दैछ । तर सहरमा एउटै महिला देखिदैनन् । साँझ परे पछिको समय पुरुषको मात्रै हो ? हामी महिलालाई पाठेघर र योनी भएकै कारण पाइला पाइलामा त्रसित हुनुपर्ने ? हाम्रो स्वतन्त्रता खै ?

शुरुमा हामीले भेटेका अफिसरदेखि यहाँ आँखा तन्काउने पुरुषहरूको शब्द चयन र सम्बोधन कस्ता छन् । निर्लज्ज, निर्धक्क अर्काको स्वास्नी, प्रेमिका अथवा छोरीलाई कुदृष्टिको नजरले मात्र हेर्या देख्छु ।

स्मीताले भनिन् ‘हाम्रा आमाहरूले व्यहोरेको भन्दा केही फरक छैन । जुन हाम्रा आमाहरूले व्यहोर्दै आएका थिए । अहिले बाहिर देखिएको खोकाइ त सशुल्क खोकाइ हो । अफिसको चौकोसबाट बाहिर निस्के पछि उनीहरूको निःशुल्क खोकान शुरु हुन्छ । जुन आज हामीले भोग्दै छौं ।’

हामी कुरा गर्दै थियौं, नमस्कार ! गर्दै एक जना पुरुष साथी झुल्किनुभयो । उहाँको पहिलो शिष्टाचार, ‘यति बेला दुई जनामात्रै कता ?’
‘हामी मात्र कहाँ हो र हेर्नुन कति छन् रेष्टुरेन्टमा ।’ मेरो उत्तर ।

‘त्यो त मैले नि देखें । यी त सबै केटाहरू । यिनलाई के छ र ! रातभर हल्लिराखेका हुन्छन् ।’

मैले व्यङ्ग्य पनि गरें, ‘ए ए त्यही त यी त केटा पो त !’

‘यो सुन्धारामा रहेका होटलहरूलाई तपाईंहरूले किन बद्नामीको अखडा बनाउनु भएको ? यो क्षेत्रमा छिर्ने बित्तिकै मान्छेहरूको सोच्ने र हेर्ने दृष्टिकोण किन परिवर्तन हुन्छ ? हामी त केटी छौं । यहाँ त श्रीमान् श्रीमती पनि सँगै आउन नहुने जस्तो पो रहेछ । झन् हामी जस्ता एक्लै दुक्लै महिला त आउनै नहुने रै’छ । तपाईहरू आफ्नो व्यवसायलाई किन पारदर्शी बनाउनुहुन्न ?’

अनि थपें, ‘अँ हामी नि अफिसको कामले आएका थियौं । यहि सुन्धारामा बस्ने व्यवस्था छ । अनि खाना खान बाहिर निस्केका । अनि तपाईं कता नि ?’

उनले भने, ‘म नि यसो केही खाउँ भनेर निस्केको । अब खाएर ठमेलसम्म पुगेर उतैउतै कोठातिर लाग्छु ।’

त्यसपछि हामी होटल गयौं । काउण्टरको भाईलाई ‘भाई खोई चाबी दिनुहोस् त कोठाको’ भनेका के थियौं । उसले जिब्रो टोक्यो, ‘ओहो ! यसबेलासम्म तपाईंहरू कता पुगेर !

किन ? मैले सोधें ।

‘यति राती हिँडेको राम्रो हैन नि दिदी ।’ उसले हामीलाई सम्झाउन थाल्यो ।

होटलका मालिक पनि काउण्टरमा आईपुगे । ‘पत्रकारहरूको गु्रपमा तपाईंहरू नि हो ?’

हामीले हो भन्यौं ।

शुरुमै भेटेका सरकारी कर्मचारीदेखि होटलकै काउण्टरको भाईले भनेका शब्दले मेरो दिमागमा गज्जबको डेरा जमाएको थियो ।

मैले उनको सोचाईको ख्याल नराखि सिधै सोधें, ‘यो सुन्धारामा रहेका होटलहरूलाई तपाईंहरूले किन बद्नामीको अखडा बनाउनु भएको ? यो क्षेत्रमा छिर्ने बित्तिकै मान्छेहरूको सोच्ने र हेर्ने दृष्टिकोण किन परिवर्तन हुन्छ ? हामी त केटी छौं । यहाँ त श्रीमान् श्रीमती पनि सँगै आउन नहुने जस्तो पो रहेछ । झन् हामी जस्ता एक्लै दुक्लै महिला त आउनै नहुने रै’छ । तपाईहरू आफ्नो व्यवसायलाई किन पारदर्शी बनाउनुहुन्न ?’

मैले यो आक्रोशसहितको प्रश्न गरिरहँदा होटल साहुजीसँग भने कुनै जवाफै थिएन । बस् ट्वाल्ल परेर हेरिरहे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न माग

–महिला खबर– ललितपुर । कानूनमा रहेका विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

बोक्सीको प्रमाणपत्र माग्दै लिरा राजधानीमा

–इन्द्रसरा खड्का– यदी बोक्सी हुन्छ र म बोक्सी नै हो भने मलाई सरकारले प्रमाणपत्र दिनुपर्छ ।

महिला सुरक्षाका लागि आत्मरक्षा

हार र जीतका लागि खेलिने खेल भन्दा महिलालाई संभावित हिंसाबाट जोगिन सिकाउने आत्मरक्षा सीप आजको

आमाको नाममा नागरिकता दिन माग (फोटो फिचर)

–महिला खबर– ललितपुर । नागरिकता विधेयक संशोधनको माग गर्दै काठमाडौंमा दबाव र्‍याली प्रदर्शन गरिएको छ

‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहनालाई

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: