भान्से ससुरा, तारिफ मेरो


प्रकाशित मिति :2018-05-16 16:04:45

– बिना बास्तोला, उपमेयर, चाँगुनारायण नगरपालिका

उमेर ठ्याक्कै १४ वर्ष थियो । उनी कक्षा ६ मा पढ्दै थिइन् । महिनावारी नहुँदै छोरीको कन्यादान गरिदिए मरे पछि स्वर्गको ढोका खुल्छ भन्ने रुढिवादी मान्यता अंगालेका बुबाआमाले उनको विवाह गरिदिने सोच बनाएँ ।

२०१५ सालमा काभ्रेमा जन्मिएकी बिनाको भक्तपुर चाँगुनारायणका अर्जुन बास्तोलासँग विवाह भयो । जतिबेला उनी महिनावारी समेत भएकी थिइनन् ।

विहे गरेर आएको घरमा उनले बुहारीको भूमिका त निर्वाह गर्नु नै पर्यो । तर श्रीमान भन्दा १० वर्ष कान्छी उनले घरपरिवार शिक्षित भएका कारण अनावश्यक दुःख कष्ट भने झेल्नु परेन ।

सानै उमेरकी छे भन्दै सासूससुरा र श्रीमानले माया नै गरेको उनले स्मरण गरिन् । जसका कारण विवाह हुँदा ६ कक्षा पढ्दै गरेकी उनले विहे पछि नन्दहरूसँगै विद्यालय जाने अवसर पाइन् र आठ कक्षासम्म पास गरिन् ।

त्यसपछि भने बिनालाई घरपरिवार र खेतीपातीको जिम्मा आईलाग्यो । उनले पढाइलाई अगाडि बढाउन सकिनन् । उनमा बुहारीको कर्तव्य पूरा गर्नुपर्ने चुनौती थपियो । तर महिलाले किन पढ्नुपर्यो र भन्ने त्यतिबेलाको सोचले पनि आफूले पढ्ने अवसर गुमाएको हुनसक्ने उनको अनुमान छ ।

त्यसबेला सासूससुराले धेरै सहयोग गरेको उनी सम्झिन्छिन् । सबै जहान आफ्नो काम गर्न बाहिर जान्थे । उनलाई खाना पकाउनको लागि छोडिदिन्थे । तर ससुराले उनलाई सानासाना काममा व्यस्त बनाएर आफै खाना बनाउँथे ।

सबैले खाना खाने बेला बिनाले पकाएको खाना कति मिठो भनेर तारिफ गर्थे । सबैलाई बिनाले नै खाना बनाउँछिन् भन्ने भ्रम थियो । तर उनले ससुराले अह्राएको सानोतिनो काममात्रै गरेकी हुन्थिन् । बिनाले बनाएको भनिएको मिठो खाना ससुराले बनाएको हुन्थ्यो ।

बिनाका श्रीमानका दाजुभाई नै सात जना । विवाहपछि ४० जनाको परिवार एउटै घरमा बस्थे । ‘ठूलो परिवारमा बाहिर निस्किने फुर्सद कसलाई मिल्छ र ! त्यसमाथि जमिनदारको घर’ विगत सम्झदै उनले भनिन् ।

घरपरिवारका सबै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्था राख्ने । जेठाजु प्रधानपञ्च । उनी भने एमालेमा आस्था राख्थिन् । धनी, गरिब भन्ने कुरा उनलाई मन पर्दैनथ्यो । सबै मान्छेको आर्थिक हैसियत एकै खालको हुनुपर्छ भन्ने बारेमा सोच्थिन् । सम्पन्न परिवारकी बुहारी भए पनि उनलाई घरायसी सुखसयल भन्दा समाजका दुःखी गरिबहरूको नेतृत्व गर्ने इच्छा मनमनै हुन्थ्यो ।

राजनीतिक जीवन यात्रा

२०५४ सालको निर्वाचनमा बिनाले एमालेबाट महिला वडा सदस्यको टिकट पाइन् । जेठाजुले आफ्नै प्रस्तावमा बिनालाई वडा सदस्यका लागि उठाएका थिए । पुरै वडामा १ सय ८० मतदाता भएकोमा उनको घरमै ५० भोट थिए । त्यसबेलाको निर्वाचनमा बास्तोला परिवारको भोट नै निर्णायक थियो ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नकै लागि पनि नेकपा एमालेले आफूलाई अगाडि सारेको उनले बताइन् । नभन्दै बिनाले चुनाब जितिन् । त्यो जित उनलाई राजनीतिक र सामाजिक रुपमा अगाडि बढ्ने अवसर बनिदियो ।

वडा सदस्य पद सुन्दा सानै जस्तो लाग्ने भए पनि काम र इमान्दारिताले आफूलाई चिनाउने मौका पाइन् उनले । समाज कस्तो रहेछ ? महिलाहरू कस्तो अवस्थामा रहेछन् भन्ने बुझ्न धेरै सजिलो भयो उनलाई ।

उनी एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघमा आबद्ध भइन् । अखिल नेपाल महिला संघको इकाई कमिटीबाट उनको राजनीतिक जीवन शुरु भयो ।

लामो समय यही कमिटीमा काम गर्दा भक्तपुरमा राजनीतिमा सक्रिय हुन थालिन् । अनेमसंघको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हँुदै अध्यक्षसम्म भईन् ।

एमालेको सक्रिया कार्यकर्ता, नेताको रुपमा मात्र नभई सामाजिक कार्यकर्ताको रुपमा कुशलतापूर्वक निर्वाह गरेको जिम्मेवारीले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनले नगरपालिकाको नेतृत्व गर्ने मौका पाईन् । उपमेयर पदमा बहुमतले विजयी भईन् ।

उपमेयर भएपछिको दैनिकी

बिनाको दैनिकी बिहान चार बजेदेखि नै शुरु हुन्छ । घरको सरसफाई, नुहाईधुवाई गरेपछी पुजापाठमा लाग्छिन् । त्यसपछि सबैजना उठ्छन् । चिया खादै एकछिन फोन गर्छिन् । १५ मिनेट जति फोन गर्न बसेपछि श्रीमानसँगै मिलेर खाना पकाउँछिन् । सात बजेसम्म खाना पाकिसक्छ ।

तीन छोराकी आमा बिनाका एउटा छोरा डाक्टर, अर्को छोरा मेनेजर छन् । तर कान्छो छोराको भने दुखदायी अवस्था । सानैमा म्यानेन्जाईटीस रोगले ग्रस्रित भए पछी २९ वर्षको लक्का जवान छोरा सुस्त मनस्थिती । ‘उसका सम्पूर्ण काम आफैले गर्छु । आफ्नै हातले खाना खुवाउनु पर्छ’ मधुरो स्वरमा उनले भनिन् । छोराले दुध र भातमात्रै खाने भएकाले घरमै गाई पनि पालेकी छन् बिनाले ।
छोराको उपचारको लागी उनले सकेसम्म सबैथोक गरिन् । नेपालमा उपचार नभएपछी अमेरीकासम्म पुर्याईन् । तर केही गरे पनि सञ्चो भएन । सब थोक हुँदाहुँदै पनि छोरालाई तंग्रयाउँन सकिएन । ‘यो छातीमा पोलिरहने सदाबहार घाउ भएको छ’ उनले भनिन् ।

उपमेयर भएपछि धेरै जिम्मेवारी थपिएको अनुभव भएको छ उनलाई । मेयरको भन्दा पदीय हिसाबले उपमेयर सानो भए पनि जिम्मेवारी बढी नै हुने गरेको उनले अनुभव गरेकी छन् ।

महिलाले हिंसा सहनु हुँदैन

महिलाले सबैभन्दा पहिला परिवार नै मिलाउनुपर्ने धारणा बिनाको छ । परिवार मिलाउने जिम्मा किन महिला मात्रैको त ? उत्तरमा उनी प्रष्ट्याउँछिन्, ‘परिवारलाई हातमा लिन सक्ने महिलाले मात्रै समाज हाँक्न सक्छन् । जसको वशमा परिवार छ, समाजमा बलियो पनि उ नै हुन्छ । चाहे महिला होस् या पुरुष । त्यसकारण परिवारलाई एक ढिक्का बनाउने तर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ महिलाले ।’

अगुवा महिलाले परिवार त्याग्ने होइन्, मिलाउन सक्नुपर्छ । तर परिवार मिलाउने नाममा महिलाले हिंसा सहनु पर्छ भन्दिन म । कसैले पनि कसैलाई हिंसा गर्न प्रोत्साहित गर्ने वा हिंसा सहन बाध्य पार्ने होइन । घरमा हुने सानातिना विवादलाई हिंसाको नाम पनि दिनुहुँदैन ।

त्यसपछी महिलाको लागि अध्ययन महत्वपूर्ण कुरा हो । अध्ययन नगरी त राजनीतिमा पनि अगाडि बढ्न सक्दैन । जो अध्ययनशील छैन, हुन सक्दैन उसले कुनै पनि कुरामा सही धारणा पनि बनाउन सक्दैन । त्यसकारण अहिलेको प्रतिस्पर्धी युगमा हरेक महिलाले पढ्न जरुरी छ । पढ्ने मान्छे कहिल्यै पनि पछाडि पर्न सक्दैन । दुखी हुन सक्दैन ।

न्यायाधीशको भूमिकामा

स्थनीय तहमा उपप्रमुख न्यायाधीशको भूमिकामा हुन्छ । उपमेयरको जिम्मेवारी पनि नगरपालिकाको न्यायाधीश सरह हो । उपप्रमुख नगरपालिकाको न्यायीक समितिको संयोजक हुने भएकाले पनि न्याय सम्पादन गर्ने जिम्मेवारी यतिबेला बिनाको उनको काँधमा छ ।

त्यसैले कानुनका किताबहरू अध्ययन गर्नैपर्ने बाध्यता पनि आइलागेको छ । तर त्यसलाई बोझको रुपमा नभई अवसरको रुपमा लिएकी छन् उनले ।

कानुन सम्बन्धी नयाँनयाँ किताबहरू खोजेर, किनेर, मागेर खुसीका साथ अध्ययन गरिरहेकी छन् उनले । किनकी न्यायका लागि न्यायीक समितिमा आउने व्यक्ति कानुनी ज्ञानको अभावका कारण अन्यायमा नपरोस्, न्यायाधीशको भूमिका निर्वाह गर्ने अवसर जुन पाइएको छ, सफलतापूर्वक निर्वाह गर्न पाइयोस् । र अन्यायमा परेकाको पक्षमा न्याय गर्न पाइयोस् भन्ने उद्देश्यका साथ उनी सफल उपमेयर हुने अभ्यासमा तल्लीन छन् ।

बाहिर आउनै समस्या

धेरैजसो महिलाहरूलाई अहिले पनि घरबाहिर आउन गाह्रो छ । पढेलेखेका छोरी बुहारीहरू पनि घरको छोरी बुहारीको भूमिकामै सिमित छन् । उनीहरूले आर्जेको ज्ञान सीप बन्द कोठामै सिमित छ ।

महिलालाई घरबाहिर जाने वातावरणको सृजना गर्न श्रीमानको महत्वपूर्ण हात रहन्छ । तर पितृसत्तात्मक सोचले गर्दा पुरुषहरू सहजै महिलालाई अगाडि बढाउन हच्किन्छन् । कतिपय पुरुष त झन् श्रीमतीलाई सपोर्ट गरेको अरुले देख्यो भने ‘जोइटिंग्रे’ पो भनिदिन्छन् कि भन्ने डरले खुलेर सपोर्टै गर्न सक्दैनन् ।

त्यसैले निर्णय गर्ने ठाउँमा महिलाहरूको संख्या न्यून भएको हो । अबका केही वर्ष महिलाहरूका लागि आरक्षण अनिवार्य नै छ । होइन भने अहिले महिलाले पाएको पदमा पनि पुरुषहरू नै हुने निश्चित छ भन्छिन्, बिना ।

आफ्नो नगरपालिकाभित्र कुनै पनि महिलाले हिंसा सहन नपरोस् भनेर उनी हरेक समय जागरुक छिन् । विशेष गरि दलित बस्तिमा महिलाहरूले आर्थिक अभाव झेल्नु नपरोस् भनेर नगरपालिकाका लक्षित कार्यक्रमहरूमा दलित महिलाकै उपस्थित अनिवार्य बनाएको उनी बताउँछिन् ।

अबका चार वर्षभित्र चाँगुनारायण नगरपालिकाको मुहार फेर्ने काममा दत्तचित्त भएर लाग्ने उनको योजना छ । चाँगुनारायण नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा चिनाउने लक्ष्यका साथ लागेकी छन्–बिना ।

प्रस्तुति : मञ्जु मिश्र

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: