बोक्सा–बोक्सी आरोपमा गाउँलेको यातना, न्याय माग्न काठमाडौं


प्रकाशित मिति :2018-05-15 17:50:54

–महिला खबर–

ललितपुर । बोक्सीको आरोपमा एक दशकदेखि छिमेकीको यातना सहदै आएका दम्पती न्याय खोज्दै राजधानी आइपुगेका छन् ।

बोक्सी आरोपमा छिमेकीकै यातना सहदै आएका सर्लाहीको इश्वरपुर नगरपालिका ४, सागरनाथका जयबहादुर योञ्जन र गोरीमाया योञ्जन न्यायका लागि राजधानी पुगेका हुन् ।

योञ्जन दम्पतीले गाउँलेले आफ्नो परिवारलाई बोक्सी भन्दै यातना दिने क्रम नरोकिए पछि न्यायको पहल गरिदिन आग्रह समेत गरेका छन् ।

बोक्सी आरोपमा २०६४ सालदेखि कुटपिट, गाली बेइज्जती र अपमान सहदै आएका योञ्जन दम्पतीले न्यायका लागि ईलाका प्रहरी कार्यालय भक्तिपुर जाने गरेको तर पटकपटकको उजुरीलाई वेवास्ता गर्दै प्रहरीले मिलापत्र गराएर फर्काउने गरेको गुनासो गरे ।

‘प्रहरीले उल्टै हाम्लाई नै थर्काउँछ । तिमीहरू नै दोषी हो भन्छ । मिल्नु पर्छ भन्दै हाम्लाई कुटपिट गर्ने र गाली बेइजती गर्नेहरूसँग माफी माग्न लगाउँछ’ गोरीमाया योञ्जनले महिला खबरसँग भनिन् ।

जिल्लामा प्रहरीले पीडककै पक्षमा बोल्ने र आफूलाई थुनामा समेत राखेर यातना दिए पछि काठमाडौं गएर आफ्ना कुरा राख्नुपर्छ भन्दै राजधानी पुगेको गोरीमायाले बताइन् ।

बोक्सी आरोप लगाउनेलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालयमा जाँदा प्रहरीले जयबहादुर र उनका छोरालाई उल्टै थुनामा राखेको गोरीमायाले बताइन् ।

यो दम्पतीले २०६४ सालमा स्थानीय अमित योञ्जन, धनबहादुर पाख्रिन देवे भनिने देवु योञ्जनबाट पहिलोपटक बोक्सा बोक्सी भन्दै यातना पाएको बताए । आफूहरू मात्रै नभएर आफ्ना दुई छोरा र तीन छोरीहरू समेतले बोक्सा बोक्सीको आरोपमा गाउँमा हेला, यातना र कुटपिट सहनु परेको उनीहरूले बताए ।

स्थानीय सीता भण्डारी, धनबहादुर पाख्रिन, मनोज योञ्जन, लक्ष्मी वम्जन लगायतले समेत बोक्सीको आरोपमा पटकपटक कुटपिट र गालीबेइजती गर्दै आएको जयबहादुरले बताए ।

बोक्सी हुन्छ वा हुन्न भन्ने बारेमा समेत अनभिज्ञ गरिब तथा अशिक्षित योञ्जन दम्पती गाउँलेको यातनाको श्रृंखला नरोकिए पछि काठमाडौंका मान्छेले आफ्नो पीडा सुनिदिन्छन् कि भन्दै आएको बताए ।

‘उजुरी कहाँ दिने पनि थाहा छैन । कसैले सहयोग गरिदिए हुन्थ्यो’ ५६ वर्षीय जयबहादुर योञ्जनले भने, ‘१० वर्ष भन्दा बढी सहेरै बस्यौं । तर पनि हाम्लाई आरोप लगाउने र कुटपिट गर्ने काम रोकिन्न । आखिर हाम्रो के दोष छ ?’ उनले आफूहरू गरिब र लेखपढ गर्न समेत नजान्ने भएकै कारण स्थानीय प्रहरीले उल्टै डर धम्की देखाएर आफ्ना कुरा नसुनेको आरोप लगाए ।

जयबहादुर योञ्जनले २०७४ पुस १७ गते बोक्सीको आरोप लगाई समाजबाट बहिष्कार समेत गर्न खोजेको भन्दै आवश्यक कारबाहीका लागि इश्वरपुर नगरपालिकाको कार्यालय केशरजंग वयलवास सर्लाहीमा समेत उजुरी दिएका छन् ।

उनले बोक्सीको आरोप लगाई समाजबाट बहिष्कार गर्न खोज्ने लंकमान योञ्जन, अमित योञ्जन र कान्छा भनेर बोलाइने अमर भण्डारी विरुद्ध नगरपालिकामा दिइएको उजुरीको अहिलेसम्म कुनै सुनवाई नभएको गुनासो गरे ।

त्यसका साथै स्थानीय सीता भण्डारी, धनबहादुर पाख्रिन, मनोज योञ्जन, लक्ष्मी वम्जन लगायतले समेत बोक्सीको आरोपमा पटकपटक कुटपिट र गालीबेइजती गर्दै आएको जयबहादुरले बताए ।

आफूहरूलाई बोक्सी आरोपमा एक दशकदेखि दुःख दिने व्यक्तिलाई कारबाही गरी न्यायको लागि पहल गरिदिन आग्रह गर्दै राजधानी पुगेको योञ्जन दम्पतीले अब कुनै पनि हालतमा पीडकलाई माफी नदिने अडान कसेका छन् । उनीहरूले कानुनी लडाइँमा सहयोग गरि न्याय दिलाइदिन सरोकालवाला पक्षसँग आग्रह समेत गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: