१९ वर्षमै तेस्रो विवाह, वर्षै पिच्छे सन्तान


प्रकाशित मिति :2018-05-14 15:27:30

–उमा पौडेल–

सिन्धुली । जिरामाया घिसिङ । उनलाई आफ्नो वास्तविक उमेर थाहा छैन । चाउरिएको अनुहारले ६०÷६५ वर्ष पुगेको इंगित गर्छ ।

उमेर अन्दाज गरेर बनाएको नागरिकतामा २०१९ साल लेखिएको छ । जन्म सालको अड्कल गरिदिने कोहि नभए पछि आफ्नै अन्दाजले २२ वर्ष पहिले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता लिईन् ।

विवाह ११\१२ वर्षको उमेर तिर भएको हुँदो हो । अहिले ११ वर्ष भए भन्ने बालिकालाई देखाउँदै भनिन् ‘विवाह गर्दा ठ्याक्कै यत्रै थिएँ ।’ छोरी रजस्वला नहँदै विवाह गरिदिए स्वर्ग पुगिन्छ भन्ने परम्परागत सामाजिक विश्वासका कारण बाबुआमाले सानैमा विवाह गरिदिए ।
भनिन्, ‘श्रीमान् बाउको उमेरको थियो, देख्दै डर लाग्थ्यो । कसरी बोल्नु ? शिर ठाडो पारेर समेत हेर्न सक्दिनथें ।’

हेर्र्दा समेत डर लाग्ने मान्छेलाई श्रीमान् स्वीकारेर १४ महिना बसेपछि भागेर आफन्त कहाँ गईन् उनी । आफन्तले फेरि विवाहको कुरा गरे ।

जिरामाया भन्छिन् ‘केटो अति नै सज्जन छ भनेर आफन्तकहाँ बसेको ६ महिनामै विहे गरिदिए ।’ दोस्रो विवाह हुँदा १३ उनी वर्ष लागेकी थिईन् ।

जीवनका कठिन परिस्थितीहरू रुँदैरुँदै पार गरेकी उनले हाँस्दैहाँस्दै विगत सुनाउँदा कहानी झैं लाग्छ । ‘दोस्रो पटक विवाह गरेको श्रीमान्को त पहिले नै श्रीमती रहिछन् ।’ जिरामाया भन्छिन्, ‘उमेर भएकी केटी घर व्यवहार धान्छे, खेतिपातीमा सजिलो हुन्छ भनेर आफन्त र केटापक्ष मिलेर विवाह गराएका रहेछन् ।’

दुलही बनेर भित्रीएको महिना दिन नहुँदै सबै कुरा थाहा पाए पनि इज्जतको डरले केहि गर्न सकिनन् उनले ।

‘पहिलो श्रीमान् छाडेको, दोस्रो पनि छाडेर गए भने मलाई मान्छेले के भन्लान् ? भन्ने डर मात्रै लाग्यो’ जिरामाया भन्छिन् ‘श्रीमान्ले मलाई कुनै वास्ता गर्दैनथे । हामीबीच सामान्य बोलचाल भए पनि शारीरिक सम्पर्क भएन । करिब २ वर्ष सँगै बसियो ।’

१६ वर्ष लागे पछि अलिअलि कुरा बुझ्ने भईन् जिरामाया । उनलाई जिन्दगी लामो भएको र यसैगरी बस्न नसक्ने आभास भयो । अनि भागेर माईती गइन् । बुबाको ३ वर्ष अघि नै मृत्यु भई सकेको थियो । आमाको खासै भर थिएन ।

उनकी आमा मादकपदार्थ सेवन गर्थिन् । छोरीलाई तथानाम गाली गर्थिन् । माईतीमा समेत बस्न नसके पछि फेरि विवाह नै विकल्प भयो । १९ वर्षमा तेस्रो विवाह गरिन् ।

ओखलढुंगा घर भएका एकजना पुरुष उनको माईती नजिकै एउटा परिवारमा घरायसी कामको लागि राखिएको थियो । निकै सोझो तर इमानदार ती व्यक्तिसँग विवाह गर्न उनलाई सबैले कर लगाए । अन्ततः उनको सामान्य टीकाटालो गरेर आफन्तले नै विवाह गरिदिए ।

तेस्रो विवाह हुँदा महिनावारी भइसकेकी थिईन् । परिवार नियोजनका अस्थायी साधनबारे जानकारी थिएन । वर्षेनी सन्तान जन्माउन थालिन् ।

कुनै पनि छोराछोरीको जन्म मिति उनलाई थाहा छैन । भन्छिन् ‘वर्षेनी जस्तै ९ वटा छोराछोरी जन्मिए । कान्छो सन्तान खेर गयो । अहिले ६ छोरी र २ छोरा छन् ।’

विहेपछि वर्षैपिच्छे जन्मिएका सबै सन्तान एक्लैले हुर्काईन् उनले । उनी थप्छिन्, ‘श्रीमान् पनि टुहुरो । कसैको साथ सहयोग पाईएन । घर व्यवहार धान्दै सुत्केरी नि तन्किए, बालबच्चा नि हुर्किए ।’

उनको एउटा छोरा कमाउन विदेश छन् । ४ छोराछोरीको विहे भइसक्यो । कान्छो छोरा र दुईटी छोरी काठमाडौैमा बढ्दै काम गरिरहेका छन् ।

सिन्धुलीको हर्षाही घर भएका उनीहरूसँग नम्बरी जग्गा छैन । बाटोले छोएको अहिलेको घर पनि ऐलानी जग्गामा बनेको छ । विवाह गरेका छोराछोरी आफ्नै घर गरी खा’छन् । श्रीमान् श्रीमती ऐलानी जग्गामा खेतीपाती गर्दै गुजारा चलाईरहेका छन् ।

…………………….

१६ वर्षमा विवाह गरेकी पवित्री शाहले वर्षैपिच्छे ८ सन्तान जन्माईन् । पहिलो सन्तान खेर गयो । अहिले ४ छोरी र २ छोरा सहित ७ जना छन् ।

पवित्री शाह

प्रशस्तै सम्पत्तिको मोह देखाएर धनुषाबाट सिन्धुली भित्राईएकी पवित्रीको जीवनमा ठ्याक्कै उल्टो भयो । मरिमेटेर वर्षभरी खेतमा काम गर्दा पनि उब्जनीबाट बल्लतल्ल खान पुग्थ्योे । इमानदार भनिएका श्रीमानले उज्यालो भएदेखि राती अबेरसम्म रक्सी नखाएको दिनै हुँदैनथ्यो ।

दिनभरीको थकानबाट साँझ घर आईपुग्ने पवित्रीले श्रीमान्को कुटपिट पनि सहनै पथ्र्यो । सन्तान जन्मिएसँगै खर्च, आवश्यकता बढ्दै गयो । भएको खेतीले धानेन । अनि आम्दानीका लागि पवित्री डोकोमा तरकारी बोकेर गाउँगाउँ डुल्न थालिन् ।

‘न छोराछोरी हुर्काउन सहारा पाएँ, न घरव्यवहार चलाउन आड भरोसा’ पवित्रीले भनिन्, ‘भएको अलिकति जग्गा जमिन समेत श्रीमानको उपचार गर्दागर्दै सकियो । श्रीमान् पनि बाँचेनन् ।’

जीवन यात्रा सुनाउँदै उनले थपिन्, ‘छोराछोरीलाई तरकारी बेचेरै पढाएँ ।’ छोरीलाई भने किशोरावस्थामै विवाह गरिदिईन् उनले । ‘७ सन्तानको खर्च थेग्न सकिन । त्यसैले १३\१४ वर्षमै छोरीको विवाह गरिदिएँ’ पवित्रीले प्रष्ट पारिन् ।

अहिले पवित्रीका २ छोरा वैदेशिक रोजगारीमा छन् । जेठी बुहारी, एउटी नातिनीसहित उनी गाउँमै कोठा भाडामा लिएर बसेकी छन् । सम्पत्तिको नाममा एउटा सानो किराना पसल छ ।

पवित्री जस्तै अधिकांश महिलाको यस्तै कथा छ–सिन्धुलीको हर्षाही गाउँमा । १६\१७ वर्षीया युवतीका काख खाली छैनन् । वृद्धावस्थाका महिलाका विगत दर्दनाक छ ।

कानुनले २० वर्ष उमेर पूरा नभई विवाह गर्न रोक लगाएको छ । तर २० कटेर विवाह गर्नेहरू निकै कम पाईन्छन् हर्षाहीमा । कानुनमा विवाह गर्ने, गराउनेदेखि कर्म चलाईदिने पुरोहितसम्मलाई सजाय तोकिएको छ ।

तर कानुन वकिल र पहुँचवालाको झोलामा मात्रै बोकिएको छ । गाउँमा त समस्या अनगिन्ती छन् । न कसैले उजुरी गर्छन्, न कोही सजायको भागिदार नै हुन्छन् ।

सरकार कानुन बनाउँछ, गजक्क पर्छ । अधिकारकर्मी यसो गर्यौं र उसो गर्यौं भन्छन् भाषण ठोक्छन् । बनेका कानुन कत्तिको प्रभावकारी छ ? कानुनबारे सर्वसाधारण जानकार छन् कि छैन कसैलाई चासो छैन ।

गाउँका नेता, भद्रभलाद्मीहरू राजनीतिक दबाब, प्रभावमा परेर धेरै घटना थामथुम पार्छन् र मिलापत्र गर्छन् । तर गाउँमा महिलाहरू अनेकौ दुःखका पहाडहरू छिचोल्दै हाँसीहाँसी सृष्टि धानी दिन्छन् । खोई कसले बुझिदिने यस्ता कुरा ?

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: