स्थायी बन्ध्याकरणमा डर, अस्थायीको बहुअसर


प्रकाशित मिति :2018-05-11 14:58:50

-इन्द्रसरा खड्का-

ललितपुर । बैतडीको पाटन नगरपालिका ५ की ३५ वर्षीया पार्वती बोहराले एक वर्ष अघि गर्भ निरोधको अस्थायी साधन इम्प्लान्ट राखिन् । ३ सन्तानको जन्म भइसकेपछि सन्तानको रहर पुगेकोले उनले इम्प्लान्ट राखेकी हुन् ।

पाखुरामा इम्प्लान्ट राखे पछि उनको तौल बढ्दै गयो । बैशाखमा ५० केजी तौल भएकी उनको ६ महिनामा १५ केजी तौल बढ्यो । कात्तिकमा उनको तौल ६५ केजी भयो । तौल बढ्दै गए पछि उनलाई श्वासप्रश्वासमा समेत गाह्रो पर्‍यो।

पार्वतीले भनिन्, ‘उकालोमा हिँड्न नसक्ने, दम लागे जस्तै हुने, सास रोकिने, हुन थाल्यो । दिनहुँ मोटाउदै गएँ । महिनावारी पनि अनियमित हुन थाले पछि ११ महिना पछि गएको फागुनमा इम्प्लान्ट झिकें ।’

उनलाई स्थायी बन्ध्याकरण गर्न भने डर लाग्यो । श्रीमान पनि स्थायी बन्ध्याकरण गर्न राजी भएनन् । ‘घरको सबै कामको जिम्मेवारी आफ्नै काँधमा हुन्छ’ पार्वतीले भनिन्, ‘अप्रेशन गर्न श्रीमान पनि डराउनुभयो । मलाई पनि कमजोर हुन्छ भन्ने लागेर डराएँ ।’

परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा झनै समस्या भयो । उनका अनुसार सुरुमा उनले तीन महिने सुई (डिपोप्रोभेरा) पनि लगाएकी थिईन् । उनले थपिन्, ‘पछि इम्प्लान्ट लगाएँ । डीपो भन्दा इम्प्लान्टले धेरै असर गर्‍यो। ’

अस्थायी साधनको प्रयोगले उनलाई शारीरिकसँगै मानसिक समस्या पनि थपियो । पटकपटक अस्थायी साधन राख्दै झिक्दै गर्दा गर्भ बस्ने हो कि ! भन्ने चिन्ता बढ्ने गरेको उनले बताईन् ।

दार्चुलाको मार्मा गाउँपालिका ३ की राजमती वड पनि गर्भ निरोधक साधन प्रयोगपछि थप समस्यामा परिन् । उनले ४ महिना अघि इम्प्लान्ट राखेकी थिईन् । पाखुरामा इम्प्लान्ट राखेदेखि नै उनलाइ रगत बग्ने समस्याले सताएको छ ।
‘पुस महिनामा इम्प्लान्ट लगाएँ । त्यसयता रगत नरोकिने गरी बग्न थाल्यो ।’ राजमतीले भनिन्, ‘बैशाख ४ गते इम्प्लान्ट निकालेर अहिले डिपो सुई लगाएकी छु ।’

उनका चार सन्तान छ । अब सन्तान जन्माउने रहर छैन । त्यसैले गर्भ निरोधक साधनको प्रयोग गरिन् । तर उनलाई गर्भ निरोधको साधनले असर गर्यो । उनले थपिन्, ‘दिनहुँ रगत बग्न थालेपछि रिंगटा लाग्ने, टाउँको दुख्ने, वाकवाकी लाग्ने भयो । कम्जोर हुँदै गए पछि अहिले इम्प्लान्ट निकालेर तीन महिने सुई लगाएकी छु ।’

४ सन्तान जन्माइसकेका वड दम्पतीलाई अब सन्तान जन्माउने रहर छैन । तर, स्थायी शल्यक्रिया गर्न पनि सकेका छैनन् । उनीहरूमा भ्रम छ, स्थायी बन्ध्याकरण गरे पछि कमजोर भइन्छ । वड भन्छिन्, ‘दिनभरी गिट्टी फोडेर छोराछोरी पाल्नुपर्छ । अप्रेशन गरेर कमजोर भइयो भने काम गर्न सकिँदैन । त्यसैले मैले नै अस्थायी साधन प्रयोग गरेकी हुँ ।’

गर्भ निरोधको अस्थायी साधन लामो समयसम्म प्रयोग गर्न हुँदैन । विशेष गरेर सन्तानको जन्मान्तरको लागि अस्थायी साधन प्रयोग गर्नुपर्ने हो । तर, अधिकांश महिलाले परिवार नियोजनका स्थायी साधन झैं अस्थायी साधनको प्रयोग गर्ने गरेका छन् ।

अछाम साँफेबगरकी जानकी कुँवरले ११ वर्षदेखि गर्भ निरोधको अस्थायी साधन प्रयोग गर्दै आएकी छिन् । कुँवरले अहिले तीन महिने सुई लगाएकी छिन् । पार्वती र राजमती जस्तै जानकीलाई पनि इम्प्लान्ट राख्दा असर प¥यो । उनले धेरै पटक पिल्स चक्की पनि खाइन् । पिल्स खाँदा उनलाइ वाकवाकी लाग्ने, रिंगटा लाग्ने, खाना रुची नहुनेभयो ।

परिवार नियोजनका अस्थायी साधनले समस्या भोग्दै आएकी उनले अहिले पनि तीन महिने सुई लगाएकी छिन् । श्रीमानले प्रयोग गर्ने अस्थायी साधन कण्डम मात्रै भएकाले जतिसुकै असर परे पनि आफूले नै साधन प्रयोग गर्नुपरेको उनले बताइन ।

छोरा १५ र छोरी १२ वर्षका छन् । कुँवर दम्पतीलाई सन्तानको रहर छैन । तर, श्रीमानले स्थायी बन्ध्यारकण गर्न मान्दैनन् । ‘श्रीमानलाई अप्रेशन गर्न भन्दा नसुने जस्तै गर्छन्’ कुँवर भन्छिन, ‘लामो समयदेखि अस्थायी साधन प्रयोग गर्दा महिनावारी अनियमित हुन थालेको छ । ३/४ महिनामा एक पटक मात्रै महिनावारी हुन्छु ।’

परिवार नियोजनका अस्थायी साधनले महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको सार्वजनिक भएपछि २०७३ साल असार १२ गते तत्कालिन संसदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिले सरकारलाई गुणस्तरीय अस्थायी साधन उपलब्ध गराउन निर्देशन दिएको थियो ।

समितिको निर्देशनमा भनिएको थियो ‘अस्थायी साधनहरूले महिलाको स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरी गुणस्तरीय सेवाका लागि विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप प्रि क्वालिफाइड कै डिपोप्रोभेरा लगायत सबै गर्भनिरोधक साधन उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाइ निर्देशन गर्दछ ।’

तत्कालिन महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु ठाकुरले गर्भ निरोधको अस्थायी साधनले महिलाको स्वास्थ्यमा असर परेको सार्वजनिक भए पछि समितिको निर्देशन सरकारले कार्यान्वयन गरेको उनले बताईन् ।

नेपालमा गर्भ निरोधका लागि महिलाले प्रयोग गर्ने विभिन्न प्रकारका अस्थायी साधन छन् । पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, कण्डम, आईयूसीडी अन्तर्गत कपरटी, लुप रहेका छन् । भने पुरुषका लागि गर्भ निरोधको अस्थायी साधन कण्डम मात्र उपलब्ध छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर जमुना पौडेलका अनुसार गर्भ निरोधका अस्थायी साधन हर्मोनल र ननहर्मोनल गरी २ प्रकारका छन् ।
पौडेलका अनुसार हर्मोनलले महिलाको शरीरमा उत्पादन हुने सन्तान उत्पादन गर्ने हर्मोनलाई असन्तुलन बनाएर प्रजनन् क्षमता ह्रास गर्दछ । भने ननहर्मोनल अस्थायी साधनले सिधै पुरुषबाट आउने शुक्रकिटलाई निष्क्रिय गरिदिन्छ ।

त्यसैले महिलाले सकेसम्म हर्मोनको असन्तुलन गर्ने भन्दा ननहर्मोनल अस्थायी साधन प्रयोग गर्न उनको सुझाव छ । हर्मोनल अस्थायी साधन प्रयोग गर्नुअघि भने चिकित्सकसँग आफ्नो स्वास्थ्य अवस्थाको अनिवार्य जाँच गराई नकारात्मक प्रभाव पार्ने नपार्ने बुझेर मात्रै प्रयोग गर्नुपर्ने उनले बताईन् ।

चिकित्सकको परामर्श बिना नै परिवार नियोजनका अस्थाई साधन प्रयोग गर्दा रगत बगिरहने, तौल बढ्ने, रिंगटा लाग्ने लगायतका समस्या हुन्छन् । ‘मेरो शरीरले कुन अस्थायी साधन थेग्न सक्छ भन्ने कुरा बुझेर मात्रै प्रयोग गर्ने हो भने यस्तो समस्या आउदैन’ डाक्टर पौडेलले भनिन् ।

डाक्टर पौडेल भन्छिन, ‘पुरुषका लागि परिवार नियोजनको अस्थायी साधन कण्डम मात्रै भएकाले पनि महिलाले धेरै अस्थायी साधन प्रयोग गरिरहेका छन् ।’ उनका अनुसार अधिकांश पुरुषमा स्थायी बन्ध्याकरण गर्दा कमजोर होइन्छ भन्ने मानसिकताका कारण अस्थायी साधनको प्रयोग महिलाकै ठेक्का भएको छ ।

त्यसो त स्थायी बन्ध्याकरण गर्न पुरुष मात्रै नभएर महिला पनि डराउने गरेको उनले बताइन् । अस्थायी साधनले महिलामा असर पर्ने हुँदा सन्तानको रहर पुगिसकेका दम्पती दुइ मध्ये १ ले स्थाइ बन्ध्याकरण गर्दा सबैभन्दा उत्तम हुने उनले बताईन् । उनले स्थायी बन्ध्याकरणले पुरुष वा महिला कोही पनि कमजोर नहुने पनि बताईन् । ‘कमजोर भइन्छ भन्ने भ्रम मात्रै हो’ उनले भनिन् ।

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार १५ देखि ४९ वर्ष (प्रजनन् उमेर) का महिला मध्ये ५३ प्रतिशतले कुनै न कुनै परिवार नियोजनका अस्थायी साधन प्रयोग गरिरहेका छन् । उनीहरूमध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा १० प्रतिशतले परम्परागत विधीको प्रयोग गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार नेपालमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने पुरुषको संख्याभन्दा महिलाको सख्या बढी छ । सबैभन्दा बढी प्रयोग हुने साधन तथा सेवामा महिला बन्ध्याकरण १५ प्रतिशत, ३ महिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खाने चक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्प्लान्ट ४ प्रतिशत र आइयूसीडी १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: