७ वर्ष जेठाजुबाट यौन यातना, जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन


प्रकाशित मिति :2018-05-10 18:11:47

– लोग्शरी कुँवर –

सुखी, सफल र खुसी मान्छेहरुसँग संगत नभएको होइन । तर दुःख र पीडाका श्रृखंलाहरु पार गर्न नसक्दा थाक्नै लागेका, निरास भएका, न्यायको खोजीमा भौंतारिएका र खुसी खोज्दा सुख गुमाएकाहरु नै मेरो जीवनका सहयात्री हुन् की ! जस्तो लाग्न थालेको छ ।

यसै हप्ताको सोमबार बेलुकी ६ बजेर ५६ मिनेटमा अपरिचित नम्बरबाट फोन आयो । फोन उठाएँ । परिपक्क पुरुषको आवाज । को बोल्नु भो भन्न नपाउँदै उहाँले एकै सासमा भन्नुभो–म पीडित…..को श्रीमान म्याम । मेरो सहोदर दाईले ७ वर्षदेखि मेरै श्रीमतीमाथि गरेको जबरजस्ती करणी सम्बन्धमा कुरा गर्न हजुरलाई फोन गरेको । हजुरले यस्तो कुरा उठाइदिनु हुन्छ र न्यायका लागि लागिदिनु हुन्छ भन्ने थाहा पाएपछि फोन गरेको ।

सुदूरपूर्वको एक पहाडी जिल्लाबाट फोन गरेका उनको कुराले झसङ्ग बनायो । श्रीमतीलाई न्याय दिलाउन अदालतको ढोका ढक्ढकाउँदा समेत न्याय नपाएको अनुभूति गरे पछि विरक्तिएका उनलाई न्यायालयप्रति अझैं पनि झिनो आसा बाँकी रहेछ ।

कानुनी लडाईं लड्दाका सबै कागज पत्रहरु समेत सुरक्षित रहेछन् । अनि टाढाबाट फोनमा गरेको कुराकानीले चित्त नबुझे पछि काठमाडौं आएरै घटनाको बेलिबिस्तार सुनाउने निधो गरे उनले । र आए आठ वर्ष जेठाजुको यौन यातना सहेर बसेकी श्रीमतीलाई डोर्याउँदै ।

बिहीबार बिहान १० नबज्दै महिलाखबरको कार्यालयमा आइपुगेका दम्पतीसँग घटना क्रम बुझ्ने सिलसिला शुरु भयो । भर्खरै २३ वर्ष पुगेकी उनकी श्रीमतीले गहभरी आँशु पार्दै वैवाहिक जीवनको सुरुआतदेखि नै जेठाजुले दिएको पीडाको पोको यसरी फुकाइन् ।
…………..

म १६ वर्षकी थिएँ । मेरो परिवारले सर्लाहीका म भन्दा १६ वर्ष जेठो व्यक्तिसँग परम्परागत तरिकाले विहे गरिदिए । त्यतिबेला मैले एसएसली दिएकी थिएँ ।

बुबा आमाले त भन्नु भएको छैन । अरुले भने अनुसार मेरो विहेमा करिब १७ लाख खर्च गरेको थियो रे मेरो परिवारले । सुन, चाँदी, फर्निचर किन्न र मेरो श्रीमानको परिवारलाई नगद दिनका लागि ।

२०६७ असार ७ गते राती अबेरसम्म धुमधामले विहे भो । राती नै विहे फर्किने कुरा भएन । अर्को दिन मंगलबार थियो । मंगलबार नराम्रो दिन मानिने हुँदा त्यो दिन पनि जन्ती बुबाआमाकै घरमा बस्यो । ९ गते मलाई लिएर जन्ती फर्कियो ।

विहेको पाँचौ दिन असार १४ गते म र मेरो श्रीमानलाई जेठाजु रामकल्याण राय यादवले काठमाडौं बोलाए । काठमाडौंको टोखास्थित धापासीमा उनको घर छ । १४ गते गते रात्री बस चढेका हामी १५ गते काठमाडौं आइपुग्यौं । १७ गतेसम्म श्रीमान र म सँगै बस्यौं । त्यो अवधिमा श्रीमानले गरेको माया र हेरचाह अहिले पनि झल्झली याद आइरहन्छ ।

मेरो श्रीमान स्वास्थ्यकर्मी । उहाँ विदामा विहे गर्न आएका थिए । विदा सक्किएको थिएन । १७ गते जेठाजुले श्रीमानलाई उनको कार्य क्षेत्र काभ्रे जान कर गरे । श्रीमान जानु भो । भर्खरै नजिक भएका श्रीमान छोडेर गए पछि मन खिन्न भइरह्यो ।

१८ गते दिउँसोको समय थियो । म जेठाजुको तीन तले घरको दोस्रो तलामा मलाई दिइएको कोठामा थिएँ । जेठानी दिदी मेरो विहेमा सर्लाही गएपछि काठमाडौं फर्किनु भएको थिएन । घरमा भएका भाञ्जा काममा गएका थिए, भतिजा स्कुल । जेठाजु मेरो कोठामा आए । मेरो हात समाते । र मलाई आफूतिर ताने । म तर्सिएँ । जेठाजु देख्दा मुख छोप्ने हाम्रो चलनमा जेठाजुसँग नजिकबाट बोल्ने कुरा त परै जाओस् फोनमा समेत कुरा गर्नुहुन्न भन्ने सुने बुझेकी थिएँ ।

उनको झम्टाइले म आत्तिएँ । म तपाईंको भाइ बुहारी हो । यस्तो के गर्दैहुनुहुन्छ भने । उनी मेरो कुरा मान्न तयार भएनन् । आफ्ना बलिया हातले मलाई बेडमा फ्याके । एक हातले मुखमा कपडाको बुजो कोचिदिए । अनि मेरा दुबै हात जोरले च्यापेर मलाई टोक्दै बलात्कार गरिरहे घण्टौंसम्म ।

म धेरै रोएँ । कराएँ । चिच्याएँ । अहिले जस्तो घर नजिकै अरु घर थिएनन् । मेरो चिच्याहट सायद कसैले सुनेनन् वा वास्ता भएन । तर जसले सुनिरहे (जेठाजुले) उनले मजा लुटिरहे ।

जेठाजुले धेरै फकाउने कोशीस गरे कि यो घटना कसैलाई पनि नभन भनेर । मैले म भनिदिन्छ भने पछि त र तेरो श्रीमानलाई मारिदिन्छु । नत्र भाइलाई बोलाएर तेरो श्रीमतीले मलाई आफ्नो कोठामा बोलाएर जवरजस्ती यौन सम्पर्क गर्न लगायो भन्छु । अनि तँलाई उसले छोड्छ । त्यस पछि तेरो जीवन के हुन्छ ? त्यो भन्दा मसँग मिल । मैले भनेअनुसार काम गर्दै जा भन्दै डर धम्की देखाए ।

श्रीमानलाई भनौं भने कसरी भनौं ? न फोन छ । न उनी कहाँ छन् भन्ने थाहा छ । घरमा बुबाआमालाई भनौं फोन छैन घरमा थुनिएकी छु । जेठाजु राती सबै सुतिसके पछि मेरो कोठामा आउँथे ।

मैले प्रतिकार गर्दा बेहोस हुने गरेर कुट्थे । भाञ्जा, भतिजाले म रोएको थाहा पाएर किन रोएको हो भनि सोध्दा मलाई बोल्नै नदिएर ‘भर्खर विहे भएको । आमाबुबाको याद आएर रोएको’ भनिदिन्थे । अनि सबै सुत्न गए पछि फेरी शुरु हुन्थ्यो उनको यौन आतंक ।

उनी असाध्यै पीडा दिएर यौन सम्पर्क गर्थे । विहे पछि करिब ५ दिन समेत श्रीमानसँग यौन सम्बन्ध राख्न नपाएकी मैले यौनमा पीडा मात्रै हुन्छ भन्ने बुझे । जेठाजुले मलाई फरक फरक तरिकाले अप्राकृतिक यौन सम्बन्ध राख्थे । दिउँसो घरमा कोही नभएको बेला अफिसबाट आएर समेत बलात्कार गर्थे । दिसा र पिसाब गर्न समेत निकै समस्या हुन्थ्यो, रगत बगिरहन्थ्यो ।

सासू र जेठानी मौन

नेपालस्थित अमेरिकन राजदुतावासमा एसी मर्मतको काम गर्थे जेठाजुले । एक दिन रातको समयमा बलात्कारकै बेला मैले प्रतिकार गरेको सुने पछि के भो भनि हेर्न आउँदा सासूले घटनाबारे थाहा पाउनु भो । सासूले जेठाजुलाई गाली गर्न थाल्नु भो । यदि यो कुरा भाइ वा अरुलाई भने आफूले आत्महत्या गर्ने धम्की दिइरहे । त्यस पछि मेरो सासूले ममाथिको घटना कसैलाई सुनाउने हिम्मत गर्नुभएन ।

सासूले थाहा पाएको केही दिनमै जेठानी दिदीले समेत आफ्नो श्रीमानको अपराध थाहा पाउनु भो । दिदी म त केही गर्न सक्दिन । हजुर त केही गर्नुस् न भन्दै रोइ कराई गरेँ । तर उहाँले पनि केही गर्नुभएन । उल्टै म पनि केही गर्न सक्दिन, तँ पनि चुप लाग । जे हुन्छ, सहेर बस भनिन् । प्रत्यक्ष घटना देखेका सासू र जेठानी समेत जेठाजुको विरोधमा नबोलिदिए पछि मैले केही गर्न सम्भवै थिएन ।

श्रीमानसँग झगडा शुरु

जागिरमा जिल्ला बाहिर बस्ने श्रीमानलाई जेठाजुले घरमा आउने वातावरण नै दिँदैनथे । श्रीमान काठमाडौं आउँदैछन् भन्ने थाहा पाएपछि मलाई सर्लाही पठाइदिने र श्रीमान सर्लाही आउँदैछन् भन्ने थाहा पाए पछि मलाई काठमाडौं बोलाइहाल्थे । केही गरेर सँगै भेट भो भने सधैं बिरामी भइरहने सासूको उपचार गर्नुपर्ने भो भन्ने बहाना बनाएर आएकै दिनमा मसँग एकछिन पनि बस्न नदिई श्रीमानलाई सासूको उपचारका लागि अस्पताल पठाइदिन्थे अनि फेरि मलाई उही डर, धम्की र बलात्कार ।

मेरो श्रीमान पनि दाइको भक्त । जेठाजुको विरोधमा बोल्ने हिम्मत ससुरा, सासू, जेठानी लगायत कसैलाई थिएन र छैन पनि । उनी यति नाटक रच्न सक्ने मान्छे कि उनको कुरा सुनेर जो कोहीलाई उनको कुरा हो जस्तै लाग्छ ।

उनकै कुराले मेरो श्रीमानको मेरो कुरा प्रति विश्वासै थिएन । जेठाजुले दाइले जे भन्यो त्यही मान्ने । तैंले भाइलाई केही भनिस् भने उसले त मेरै कुरा मान्छ । तँ उल्टै गलत हुन्छेस् भन्दै डर, त्रास देखाइरहन्थे जेठाजुले ।

श्रीमानलाई फोनबाटै जानकारी

२०७२ सालमा श्रीमान पढाइको लागि भारतमा थिए । भारत जानु अघि श्रीमानले मोबाइल किनिदिनुभएको थियो । ममाथिको यातना नरोकिए पछि एक दिन मैले श्रीमानलाई तपाईंको दाइले यस्तो यस्तो गर्दै आउनुभएको छ । मैले डर धम्कीका कारण अहिलेसम्म मुख खोलिन । अब सहन सक्दिन भने । श्रीमान उल्टै मलाई गाली गर्न थाल्नु भो । तँ नै गलत होस् भन्नु भो । त्यस पछि मेरो फोन राखेर दाइलाई पनि गाली गर्न थाल्नु भो । फोनमै दाजुभाइको झगडा पर्यो । अनि जेठाजुले अब तेरो श्रीमानलाई मार्न मान्छे पठाउँछु । कि त तँलाई मार्छु भने । गाली गरे । धम्क्याए । नत्र भने मैले जेठाजुको बारेमा गलत कुरा बोलेकी हुँ । मैले झुटो बोलेकी हुँ भन भन्न थाले । मेरो केही लागेन । त्यस पछि मैले श्रीमानलाई फोन गरेर आफूले बोलेका सबै कुरा सत्य होइनन् भने । तर श्रीमान मान्न तयार हुनुभएन ।

त्यसको करिब २ वर्ष उहाँ र म बीच न भेट भयो, न कुराकानी । तर त्यो बीचमा मेरो श्रीमानलाई समेत घरमा आउन दिइएन । असाध्यै बिरामी भएर बोलचाल समेत गर्न नसक्ने हुँदा समेत सासूसँग मेरो श्रीमानको भेट हुन दिइएन, सासूले घटना सुनाइदिन्छन् भन्ने डरले ।

किरियामा जुरेको सम्बन्ध

२०७४ भदौ २९ गते काठमाडौंको टिचिङ् अस्पतालमा सासूको मृत्यु भो । संयोगवस् त्यो बेलामा जेठाजु र उहाँको छोरा अमेरिका हुनुहुन्थ्यो । किरिया गर्नका लागि मेरो श्रीमानलाई बोलाइयो । उहाँ सर्लाहीको घरमा आमाको किरिया बस्नुभो । त्यही अवसर बनिदियो मेरो भोगाइ श्रीमानलाई सुनाउने र मप्रति विश्वास दिलाउने । मैले घटनाको सबै बेली बिस्तार सुनाएँ । तर उहाँ मान्न तयार हुनुभएन । किनभने मैले पहिले नै उहाँको विश्वास गुमाइसकेकी थिएँ कि जेठाजुको बारेमा भनेको कुरा गलत हो भने ।

मेरो कुरा सुने पछि श्रीमानले मेरो घटना सबै साँचो हो भनेर कागजमा लेखेर सही छाप गरे पछि विश्वास गर्छु, नत्र मौखिक कुरामा विश्वास गर्दिन । भोली फेरि तिमीले दाइको कुरामा लागेर होइन भन्यौ भने म के गर्ने भन्नुभयो । मैले भनेका सबै कुरा सही हुन् भनि मैले कागजमा लेखेर सही गरेँ । अनि श्रीमान मेरो पक्षमा बोल्न थाल्नुभो ।

आमाको किरियामा बसिरहेको १० दिनमा जेठाजु आइपुग्नुभयो । ममाथिको अन्यायका बारेमा श्रीमानले दाइ विरुद्ध उजुरी गर्छु भने पछि जेठाजुले किरियामै बसेको मेरो श्रीमानलाई कुटपिटको प्रयास र गाली बेइज्जत गर्दै घरबाट धपाउनु भो । श्रीमान किरियामै घर छोड्न बाध्य हुनुभयो, ज्यान जोगाउनका लागि । त्यसपछि कार्तिक २० गते मलंगवा सर्लाहीमा म श्रीमान भएको ठाउँमा पुगे । अनि सात वर्षे घटनाको थप जानकारी श्रीमानलाई गराए ।

त्यसपछि हामी राष्ट्रिय महिला आयोगमा उजुरी गर्न कार्तिक २६ गते काठमाडौं आयौं । सर्लाहीबाट मुद्दा दर्ता गर्नु पर्ने भो । मंसिर २२ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ‘हाड नाताभित्रको जबरजस्ती करणी’ अन्तरगत जाहेरी दियौं ।

पुस ९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । पुस १३ गते प्रतिवादीको नाममा अदालतले वारेन्ट काट्यो । प्रहरीले घर र गाउँमा खोज्दै नखोजी प्रतिवादी फेला नपरेको जानकारी जिल्ला प्रहरीलाई गरायो ।

माफी माग्ने निहुँमा हात भाँचियो

मुद्दा दर्ता भइसकेपछि जेठाजुले मिलापत्रका लागि धेरै कोशीस गर्नु भो । घटना अगाडि नबढाए काठमाडौं अथवा हामीले भनेको ठाउँमा घर जमिन किनिदिने लालच देखाउनु भो । तर म र मेरो श्रीमान पैसा चाहँदैनौं । उहाँलाई कानुनी कारबाही चाहन्छौं ।

जे भो भो । बसेर केही कुरा गरौं भन्दै जेठाजु र ससुराले आफन्तसँग कर गर्नु भो । दबाब दिनु भो । हामीलाई ज्यान जोगाएर हिँड्नै मुस्किल । कानुनी लडाईं जारी रहे पनि घरकै मान्छेसँग लुकेर बस्नु पर्ने अवस्था आए पछि जेठाजुले के भन्छन् त सुनौं न भनेर जेठाजुको साढु भाइको घरमा चैत्र १८ गते वीरगञ्जको बसपार्कमा बस्यौं । त्यो दिन केही भएन । शान्त वातावरणमा कुरा भो । हामी मुद्दाबाट पछाडि नजाने अडान राख्यौं ।

अर्को दिन फेरि भेट्ने कुरा भो । त्यो भेटमा धेरै मान्छे थिएनन् । मेरो भतिजा (जेठाजुको छोरा) सन्नी यादवले काकामाथि हातपात गर्यो । मेरो श्रीमानको बायाँ हात नै भाँच्चियो । तर मेरो श्रीमानको हात भाँचिदिएको कुराको उजुरी दिँदा जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी नै दर्ता गर्न मानेन ।

अदालतबाट आदेश

हामी न्याय पाउने आसामा थियौं । घरको मान्छेले गरेको अपराध विरुद्ध न्यायालयले न्याय दिन्छ भन्ने विश्वास थियो । तर यही बैशाख ६ गते जिल्ला अदालत सर्लाहीले ७० हजार धरौटीमा बलात्कारी जेठाजुलाई छोड्ने आदेश दियो । जेठाजु एक दिन पनि पक्राउ परेनन् । जिल्ला अदालतमा हाजिर भएकै दिन धरौटी बुझाएर घर फर्के । र खुलेआम हिँडिरहेका छन् । मेरो पक्षका साक्षीलाई अदालत गएर कसैले पनि मेरो विरुद्धमा बोलेको खण्डमा ठीक हुन्दै धम्काएको सुन्छु । थुनामा राखेर कार्वाही गर्नु पर्ने मान्छेलाई अदालतले धरौटीमा छोड्न आदेश दिए पछि आफ्नो पक्षमा बलियो प्रमाण जुटाउन र मेरो पक्षका प्रमाण कमजोर बनाउने खेलमा उनी लागिपरेका छन् ।

अदालतको आदेशको आधार

जिल्ला अदालतले घटनाका प्रतिवादीका साक्षीले जेठाजुले बलात्कार गरेको कुरा पीडित महिलाबाट सुनेका हौं तर यसमा विश्वास लाग्दैन भनि दिएको बयान, प्रतिवादी राम कल्याण राय भाइको विवाह पछि काठमाडौं मै र वादी पक्ष सर्लाहीमै बसेको, प्रतिवादीले घटना स्वीकार नगरेको र पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य देखिएको कुरालाई आधार मान्दै प्रतिवादीको पक्षमा आदेश गर्यो ।

अबको बाटो

हामीलाई जिल्ला अदालतकोे आदेश चित्त बुझेको थिएन । जिल्ला अदालतको आदेशको निर्णय विरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको छ । सरकारी वकिल बाबुराम अधिकारीले जिल्ला अदालतको फैसला आएको हप्ता दिन भित्रै पुनरावेदन दिएको जानकारी दिनुभएको छ ।

म निर्दोष छुः यादव

जवरजस्ती करणीको आरोप लागेका राम कल्याण राय यादवले भने आफूलाई फसाउन भाइ र भाइ बुहारीले यस्तो आरोप लगाएको बताए । उनले महिला खबरसँग भने, ‘म निर्दोष छु । जसले जसरी छानबिन गर्दा पनि हुन्छ । मलाई फसाउनकै लागि यो सबै भएको हो ।’

भाइ बुहारीको आरोपकै कारण अमेरिकन दुतावासको आफ्नो जागिर समेत गएको पनि राम कल्याण राय यादवले बताए ।

केही प्रश्न ?

  • हाड नाताभित्रको जवरजस्ती करणी जस्तो विषयमा प्रहरीले पीडित महिलाको बयानलाई आधार नमान्नुको कारण के ?
  • घटनाका प्रत्यक्षदर्शी पीडककी आमा र श्रीमती हुन् । जुन कुरा पीडित महिलाले पटक–पटक भनेकी छन् । प्रत्यक्षदर्शी मध्ये पीडितकी सासूको मुद्दा नचल्दै मृत्यु भइसकेको छ भने अर्को साक्षी पीडककी श्रीमती श्रीमान विरुद्ध आवाज उठाउने पक्षमा छैनन् । प्रत्यक्षदर्शी नै पीडकको पक्षका मान्छे भएका कारण पीडितले कसरी बलियो प्रमाण पेस गर्न सक्छिन् ?
  • पीडकका छोराले पीडितका श्रीमानको हात भाँचिदिएको घटना जिल्ला प्रहरी कार्यालय पर्साले किन दर्ता गर्न मानेन ?
  • बलात्कार जस्तो जघन्य अपराध के सार्वजनिक ठाउँ, मान्छेको भिडभाडमा हुन्छ ? यदि त्यसो होइन भने बलात्कारको पहिलो र सबैभन्दा बलियो प्रमाण बलात्कृतको बयान भन्दा ठूलो अरु के नै हुन सक्ला र ?
  • ७ वर्ष जेठाजुको यौन यातना सहेकी महिला, उनका श्रीमान र अन्याय विरुद्ध आवाज उठाउने व्यक्तिलाई यो घटनाका प्रतिवादीले सफाइ पाएको कुराले हुन सक्ने निरासाको क्षति बारे कसले सोचिदिने ?
  • हाड नाता करणी जस्तो अपराधका आरोपितलाई थुनामा राखेर छानबिन गर्नुको सट्टा धरौटीमा छोड्नुको कारण के ?

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: