पत्रकारिताबाट किन पलायन हुन्छन् महिला ?


प्रकाशित मिति :2018-05-03 17:24:45

-सम्झना रसाइली-

पत्रकारिता चुनौतीपूर्ण पेसा हो । पीडित वर्गको आवाज बाहिर ल्याउँदा अर्को पक्षको आँखाको तारो बन्नुपर्छ । भौतिक जोखिम मोल्न पत्रकारितामा आउनेले तयार हुनैपर्छ ।

अर्को तर्फ घण्टा गनेर काम गर्छु भन्ने हो भने पत्रकारिता हुँदैन । हाम्रोजस्तो पत्रकारिता पूर्ण रुपमा व्यवसायिक नभइसकेको देशमा काम गरेबापतको आर्थिक सुरक्षा पनि कम छ ।

अब कुरा गरौं महिला र पत्रकारिताको । हाम्रो समाजमा धेरै महिला अझै पनि घरभित्रै सीमित छन् । काममा निस्किएका पनि दोहोरो जिम्मेवारीका कारण ‘कार्यालय समय’ हिसाब गरेर जागिरे जीवन गुजार्नुपर्ने स्थितीमा छन् । त्यसैले महिलाका लागि पत्रकारिता पेसा झनै चुनौतीपूर्ण मानिन्छ ।

पत्रकारितामा चुनौती हुँदाहुँदै महिलाहरुले पत्रकारितालाई पेसा बनाएका छन्, बनाउन थालेका छन् । बढ्दो प्रविधिको प्रयोग र प्रतिस्पर्धात्मक रुपमा सञ्चार क्षेत्र अगाडि बढेकाले समाज र पत्रकारितामा महिला पनि उत्तिकै प्रतिस्पर्धी बन्नु परेको छ ।

छोरीलाई प्रायः घरेलु कार्यमा सिमित राख्नुपर्ने भन्ने परिवार र सामाजिक परम्परागत सोचाइ अझै पनि यथावत छ । यही परम्परागत सोचाइ र सामाजिक दृष्टिमा परिवर्तन आउन नसक्दा राज्यको चौथो अंगका रुपमा लिइने पत्रकारिता क्षेत्रलाई नेपाली महिलाहरुले पेसाका रुपमा अंगाल्न अझै पनि सकेका छैनन् ।

महिलाले पत्रकारिता क्षेत्रलाई पेसाका रुपमा अंगालेर किन अडिन सकेका छैनन् ? अहिलेको आधुनिक युगमा पनि यो एक गम्भीर प्रश्न अगाडि तेर्सिएर बसेको छ । महिलाहरु ठुलो जोश र आँटकासाथ पत्रकारिता क्षेत्रमा प्रवेश गरेको केही समयमै पेसा छाड्नुपर्ने अवस्था छ ।

पत्रकार भएकै नाताले उनीहरुलाई कुनै छुट्टै सम्मान चाहिएको छैन् । चाहेका छन् त केवल आत्मसम्मान अनि पुरुष पत्रकारका माझ समाजको सूचनाका पहरेदार बन्ने समान अवसर र वातावरण ।

हामी र हाम्रो समाजमा अझै पनि महिलाप्रति गर्ने व्यवहार र सामाजिक दृष्टिमा परिवर्तन आउन सकेको छैन । महिला पत्रकार यदि पुरुष पत्रकारसँग समन्वय गरी समाचार संकलन तथा कार्यक्रममा जाँदा अस्वभाविक प्रसंगहरु जोडेर कुरा काट्ने, चरित्रमाथि नै औंला उठाउने प्रवृत्तिमा सुधार आउन सकेको छैन् ।

सञ्चारको क्षेत्रमा केही गर्ने इच्छा र आँटका साथ मैदानमा उत्रिएका र पत्रकारिता क्षेत्रमा आउन चाहेका महिलाहरुलाई यी र यस्ता व्यवहारले निरुत्साहित बनाउने गरेका छन् ।

पत्रकारिता पेसामा लागेका महिला पत्रकारको कामको मुल्याङ्कनसँगै प्रोत्साहन गर्ने संस्कार भएमा पेशाप्रति महिलाको आकर्षण बढ्ने सञ्चारिका समूह तनहुँकी अध्यक्ष सन्तोषी श्रेष्ठको भनाई छ ।

बदलिँदो परिवेश, मानिसका असिमित इच्छा, आकांक्षाहरु बढ्दै गएका छन् । दैनिक गुजरा चलाउन तथा आवश्यकता परिपूर्तिका लागि सञ्चार माध्यममा काम गरेर हुने आम्दानी निकै न्यून छ । त्यसमा पनि पत्रकार महिलाले पाउने पारिश्रमिकमा पनि फरक छ ।

तलबमा असमानता, समयमा नपाउनु, पाएपनि दैनिकी व्यवस्थापनमा अपुग हुनु जस्ता समस्याले महिला पत्रकार गुज्रिरहेका हुन्छन् ।

त्यस्तै, विवाहित पत्रकार महिला तथा सञ्चारकर्मीले घरबार र सञ्चार क्षेत्रको पेसाबीच तालमेल मिलाउन कठिनाई छ । विवाह पश्चात घरपरिवारले पारिश्रमिक तथा अन्य विषयवस्तुलाई जोडेर पेसा छोड्न दबाब दिने कारणले महिलाहरु पत्रकारिता पेसाबाट पलायन हुनुपर्ने अवस्था रहेको क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अञ्जना तिमल्सेना बताउँछिन् ।

सञ्चार क्षेत्रलाई पेसा बनाएका महिलाहरुलाई घर परिवार, समाज तथा सहकर्मीहरुले साथ र हौसला दिनुपर्ने देखिन्छ । यो पेसा महिलाहरुका लागि चुनौतीपूर्ण भएपनि सञ्चार क्षेत्रमा आइपर्ने हरेक समस्यालाई झेल्दै आम नागरिकलाई सहि सूचना दिई समाजलाई सकारात्मक बाटोमा डो¥याउन महिलाहरु पनि सक्षम छन् ।

आफुले कुन पेसा अंगालेको छु, त्यो पेसामा आफुलाई के कस्ता अवसर, चुनौती छन् त्यसको आँकलन गरी हिम्मतका साथ आई परेको वातावरणमा सहज रुपमा घुलमिल भई महिलाहरु पनि अगाडि बढ्न अध्यक्ष तिमल्सेना आग्रह गर्छिन् ।

तनहुँको हकमा हेर्दा जिल्लामा कार्यरत महिला पत्रकारको संख्या पुरुषको तुलनामा न्यून छ । सञ्चार क्षेत्रलाई जिल्लाका महिलाहरुले पेसाकै रुपमा अंगाल्न सकेका छैनन् । जिल्लाका सञ्चार माध्यममा कार्यरत महिलाहरु केही समय काम गर्ने र पेसाबाट विस्थापित हुँदै आएका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको तथ्याङ्कलाई हेर्ने हो भने १ सय ९ जना साधारण सदस्य छन् ।

त्यसमा पुरुषको संख्या ९० जना र महिला सदस्यको संख्या जम्मा १९ जना देखिन्छ । तनहुँ शाखाको १५ सदस्य संख्याको कार्यसमितिमा ३ जना मात्र महिला छन् । खुल्लामा भन्दा आरक्षण र कोटा तोकिएको पदमा मात्र महिलाहरु सिमित हुनु परेको छ ।

त्यस्तै तनहुँबाट अहिले ८ दैनिक, ८ साप्ताहिक पत्रिका प्रकाशित छन् । जिल्लामा १२ वटा रेडियो र एक केवल टेलिभिजन सञ्चालनमा छन् । यी सञ्चार माध्यममा करिब ५०/५५ जनाको संख्यामा महिला सञ्चारकर्मीहरु आबद्ध छन् । तर, यी सञ्चार गृहमा एक जना पनि महिलाले मुख्य भूमिका निर्वाह गर्न सकेको अवस्था देखिदैन ।

महिलाहरु सक्षम नभएर वा अवसर नपाएर यी सञ्चार गृहबाट प्रकाशित-प्रशारित हुने पत्रपत्रिका तथा रेडियोमा मुख्य जिम्मेवारी निर्वाह गर्न सकेका छैनन्, यो सोचनीय र खोजनीय विषय हो ।

जिल्लाका सञ्चार माध्यममा महिलाहरुको संख्या राम्रै उपस्थिति देखिन्छ । तर, धेरैजसो औपचारिक र अनौपचारिक बैठक, गोष्ठी, प्रशिक्षण जस्ता कार्यक्रममा कोटा तोकिएका बाहेक महिला पत्रकारहरुको उपस्थिति न्यून हुने गर्दछ । महिला सञ्चारकर्मीहरु सञ्चार गृहमा कार्यक्रम प्रस्तोता, समाचार वाचक, प्राविधिककै भूमिकामा बढी सिमित भएका छन् ।

समाचार संकलन र सम्पादनको भूमिकामा नगन्य मात्रामा महिला पत्रकारले जिम्मेवारी पाएको देखिन्छ । संख्याका आधारमा सञ्चार माध्यममा आवद्ध महिला सञ्चारकर्मीहरु पुरुष पत्रकारकै हाराहारीमा भएपनि मुख्य भूमिकामा उत्रने अवसरबाट प्रायः बञ्चित नै छन् ।

महिला पत्रकारहरुलाई प्रायः कार्यालय भित्रकै काममा अल्झाइन्छ । पत्रकारिता पेसामा निरन्तरता दिन र टिकाई राख्न समाचार लेख्नमा दक्षता, खोजमुलक समाचार संकलन र खोज्ने वातावरणको खाँचो हो ।

कति महिला पत्रकारहरु फिल्डमा खोजमुलक समाचार संकलनका लागि जाने अवसर पाए पनि सामाजिक दृष्टि तथा सकरात्मक सोच नभएका केही सहकर्मी साथीहरुका कारण पनि पुरुष पत्रकार सरह पेसागत जिम्मेवारी पुरा गर्न डराउनुपर्ने अवस्था छ ।

सञ्चार क्षेत्रमा महिलाहरुलाई टिकाई राख्न र पेशागत हकहितका लागि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पनि जिल्लाका सञ्चार गृहमा कार्यरत महिला पत्रकारलाई लक्षित गरी केही कार्यक्रम गर्न नसकेको तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य स्वीकार गर्छन् ।

महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइ राख्न र पत्रकारिता क्षेत्रलाई नै पेसाका रुपमा अंगाल्ने वातावरण निर्माणका लागि महासंघ तनहुँ शाखाले क्षमता अभिवृद्धिका तालिम, समान अवसर र सहभागिता जस्ता कार्यक्रमलाई अगाडि बढाउने तयारीमा शाखा रहेको अध्यक्ष आचार्य बताउँछन् ।

अरु ठाउँमा काम गर्न नपाउँदा सम्मका लागि मात्र पत्रकारिता हो भन्ने मान्यता छ । साथै विवाह नहुँदसम्मका लागि मात्रै यो पेसा अवलम्बन गर्ने पत्रकार महिलाहरुको संख्या पनि धेरै नै छ ।

पेसागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई सञ्चार क्षेत्रमा अवसर दिँदै र लैङ्गिक विभेदरहित कार्यलय हुने हो भने पत्रकारिता पेसालाई अंगाल्ने महिलाहरुको संख्यामा पनि वृद्धि हुनुका साथै सञ्चार क्षेत्र पनि महिलामैत्री बन्दै जाने आशा गर्न सकिन्छ ।

(सम्झना सञ्चारिका समूह नेपाल तनहुँकी सचिव हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: