बलात्कार न्यूनीकरणको बाटो


प्रकाशित मिति :2018-04-19 10:55:21

-राधा पौडेल-

नेपालमा बलात्कार आजभोलि बढ्यो भन्ने म मान्दिन, पक्कै पनि समाज परिवर्तन हुदै गर्दा केही अवयव परिवर्तन हुन्छन् र त्यहाँ शक्तिको नयाँ स्वरूप सिर्जना हुन्छ, अनि हिंसा वा अर्को रूप बलात्कार ।

नेपाली समाज बलात्कार स्वीकारेको समाज हो, सुन्दा अप्ठ्यारो लागे पनि वास्तविकता त्यही हो । यसबारे मैले पहिल्यै लेखिसकेकी छु । बलात्कार किन हुन्छ भन्नेतिर नलागी के र कसरी काम गर्‍यो भने बलात्कार न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा यहाँ आफ्नो विचार राख्दैछु ।

सरकारको दायित्व

हरेक नागरिकको सुरक्षा सरकारको हुन्छ, जुन संविधानले ग्यारेन्टी गरेको छ । कानुन कति छैनन् भने कति अपुरा छन्, तथापि गर्न सकिने प्रशस्त बाटा वा माध्यम छन् । सरकारले तुरुन्तै गर्नसक्ने मसिना तर महत्त्वपूर्ण काम यस्ता छन्–पीडितलाइ केन्द्रित गरेर बलात्कार विरुद्ध लड्न छुट्टै डेस्क गृह मन्त्रालय अन्तर्गत खडा गर्ने, २४ घन्टा सेवा लागू गर्ने, जो कसैले फोन वा मेसेज गरेर सूचना दिनसक्ने, सूचना दिनेको जानकारी गोप्य राख्ने, सूचना पाएको एक घन्टामा पुलिस घटनास्थलमा पुग्ने (नेपालभरि नै पुलिसको संरचना भएकाले हिमाली जिल्लामा पनि हिउँ परेका बेलाबाहेक खासै समस्या हुँदैन), सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने, निर्धारित समयमा काम फत्ते गर्ने पुलिसलाई पनि पुरस्कृत गर्ने, पीडितको सुरक्षा, मानसिक, शारीरिक उपचारको ग्यारेन्टी गर्ने, पीडितको अभिभावकलाई सुरक्षासहित व्यवसाय गर्न बिना धितो निब्र्याजी ऋण व्यवस्था गर्ने । यस्तै डेस्कले स्थानीय पुलिसलाई परिचालन गरेर २४ घन्टाभित्र नै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सक्छ ।

जुन पुलिसले मिलेमतोमा प्रेरित गर्छ वा तुरुन्तै काम गर्दैन वा नेताको भनसुनपट्टि लाग्छ भने त्यसलाई कारबाही गर्नुपर्छ । भनसुन गर्ने नेताको नाम गोरखापत्र र पुलिसको वेबसाइटमा प्रकाशित गर्नुपर्छ । त्यसैगरी पीडकको नाम र फोटो पुलिसको वेबसाइटमा प्रकाशित गरेर, जेलबाट निस्केपछि पनि पेसागत काम गर्ने, कुनै महिला वा केटी काम गर्ने वा रमाइलो गर्ने कुनै ठाउँमा जान निषेध गर्नुपर्छ । विगतमा पुलिसले केही काम गर्न नखोजेको हैन, तर ती संस्थागत भएनन् । कुनै व्यक्ति विशेषको शक्ति वरपर मात्र घुमे ।

नेता वा स्थानीय सरकारको दायित्व

नेपाली नागरिकको सेवक हुँ भनेर नथाक्ने नेता र तिनै तहमा निर्वाचित जनप्रतिनिधि जवाफदेही हुनु पहिलो न्यायको अनुभूति दिनु हो । उनीहरूले नेतृत्व गरेको ठाउँमा कुनै पनि महिला वा पुरुष बलात्कारको सिकार हुनुहुँदैन । तसर्थ पुलिसमा खबर आउने बित्तिकै पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा नेताले सहजीकरण गर्नुपर्छ । सरकारी संयन्त्रलाई चलायमान गराउन सहयोग गर्नुपर्छ, नकि व्यक्ति विशेष । महिलाको सम्मान नगरिकनै समृद्धि कल्पना पनि गर्न सकिँदैन ।

गैरसरकारी वा निजी क्षेत्रको दायित्व सरकार बलियो हुनुपर्छ । अहिले सरकारमा इच्छाशक्ति नभएको र कतिपय सन्दर्भमा कमजोर भएको अवस्था छ । सरकार बाहेकका सस्थाले खबरदारी गर्ने भूमिका निर्वाह गर्नुपर्छ । केटा वा पुरुषलाई मानव सम्वेदना नियन्त्रण राख्न, समाजमा घटेका घटनाको जवाफदेही हुन सिकाउने वा ससूचित गर्ने, पुरुषहरू नै परिचालन गरेर उनीहरूकै नेतृत्वमा अभियान सञ्चालन गर्न, महिलाको सम्मान हुनेगरी घरायसी काम बाँडफाँड गर्न प्रेरित गर्ने काम पनि गैरसरकारी क्षेत्रले गर्नुपर्छ । पुरुषको अग्रगामी भूमिकामा महिलाको सशक्तीकरण हुनुपर्छ । सँंगसँंगै केटी वा महिलालाई आफ्नो शरीरको बनोट, भूमिका सुसूचित गर्दै, परम्परावादी ढोंगी सस्कृतिलाई वैज्ञानिक दृष्टिकोणले विश्लेषण गर्न प्रोत्साहन गर्नुपर्छ । आत्मरक्षाका लागि मार्सल आर्ट सिकाउन पनि जरुरी छ । घटना घट्यो भने कहाँ, कसरी उजुरी गर्ने विषयमा जानकार बनाउनुपर्छ । घटना घट्नु उसको कुनै अपराध होइन भन्ने बुझाएर आत्मविश्वास जगाउने खालका कम गर्नुपर्छ ।

मिडियाको दायित्व

मिडिया बलात्कार भयो भन्ने अनि हराउने वा बोल्दै नबोल्ने वा यो त मेरो आफ्नो मान्छेसँंग पो जोडिएको रहेछ भनेर भाग्न खोज्ने परिपाटीबाट माथि उठ्नुपर्छ । सरकार, नेता र सरकार बाहेकका संस्थालाई निरन्तर खबरदारी गरेर मिडियाले घटनालाई निष्कर्षमा पुर्‍याउन सक्छ । समाजमा दिनदिनै देखिने, सुनिने बलात्कारका घटनाले यति आक्रान्त भइएको छ कि सिधा आँखाले छोरीहरूको अनुहारमा हेर्ने हिम्मत छैन, अभिभावकामा । कोही, कसैलाई, कतै विश्वास गर्न सकिने अवस्था छैन, अधिकांशको मनमा । बलात्कार विरुद्ध अबको उत्तम बाटो यही हो । बलात्कारको घटना सुन्दा रिस उठ्छ, फाँसी दिन मन लाग्छ । तर यसले समाधान दिँदैन । माथि उल्लेख गरिएका केही कुरा स्थानीय परिवेश अनुसार फरक हुन सक्लान्, तर नसकिने र नहुने भन्ने छैनन् ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: