कहिले रोकिएला मान्छेको बिक्री ?


प्रकाशित मिति :2018-04-12 12:00:21

–सुरक्षा बराल–

विगतमा मानव बेचबिखन भारतीय बजारसँग सम्बन्धित हुन्थ्यो । डेढ दशक अगाडिबाट भने खाडी मुलुकमा पनि नेपाली चेलीहरू बेचिन थाले । पछिल्लो समय त अफगानस्तान, सिरिया र ईराक जस्ता मुलुकहरू हुँदै अफ्रिकी मुलुकहरूसम्म पनि नेपाली चेलीहरू बेचिन थालेका छन् । यसको अर्थ नेपालको मानव बेचबिखनको सवाल झनै पेचिलो र गम्भीर बन्दै गइरहेको छ ।

–सुरक्षा बराल–

राज्य तथा गैरसरकारी तवरबाट थालिएका विभिन्न प्रयत्न, अभियान र कार्यक्रमहरूले भारतीय बजारमा हुने चेलिबेटी बेचबिखन नियन्त्रणमा केही सुधारहरू देखिएका छन् । तर, अन्य मुलुकहरूमा बढ्दै गएको बेचबिखनको तीब्रताले मानव बेचबिखन नियन्त्रण तथा न्यूनिकरणमा थप चुनौती र जोखिम थपिएका छन् ।

कानूनी व्यवस्था

मानव बेचबिखन तथा ओसार पसारलाई लिएर कठोर कानूनी प्रावधान पनि निर्माण भएको छ । विगतमा जस्तो फितलो कानूनका कारण अपराधीलाई दण्डित गराउन सकिएन भन्ने अवस्था पनि छैन । मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्नलाई २० वर्ष जेल र २ लाखसम्म जरिवाना हुने स्पष्ट कानूनी व्यवस्था पनि छ ।

त्यसैगरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ कार्यान्वयनमा आइसकेको छ । अर्काेतफ बेचबिखनमा जोखिममा परिसकेकाहरूलाई पुनस्र्थापित गराउने उद्देश्यले पुनस्र्थापना केन्द्र संचालक निर्देशिका २०६८ समेत लागू भइसकेको छ ।

राज्यले नीतिगत र संरचनागतरूपमा मानव बेचबिखन नियन्त्रण तथा न्यूनिकरणका लागि विभिन्न अवधारणा र योजनाहरू अगाडि सारिरहेको छ भने सयौंको सङ्यामा गैर सरकारी संस्थाहरू मानव बेचबिखनको विरुद्धमा क्रियाशील छन् ।

अर्काेतर्फ बेचबिखनको सबैभन्दा जोखिममा रहेका महिला र बालबालिकाहरूको सुरक्षा, क्षमता अभिबृद्धी र आत्म निर्भतासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू समुदायस्तरमा संचालित छन् । यस्ता कार्यक्रमहरूले सचेतना र ज्ञानको क्षेत्रमा उल्लेख्य सुधार पनि ल्याएका छन् । सूचना र प्रविधिको बढ्दो प्रयोग र पँहुचले मानिसको ज्ञानको दायरालाई पनि निकै फराकिलो बनाउँदै लगेको छ ।

मानव बेचबिखनका कारण

विभिन्न अनुसन्धान र अध्ययनहरूले साक्षरता तथा शैक्षिक क्षेत्रमा पनि आशा लाग्दो परिवर्तनलाई देखाइरहेका छन् । अर्काेतर्फ निकै छोटो समयमा भएका विभिन्न राजनीतिक आन्दोलन र परिर्वनहरूले पनि नेपाली समाजको चेतना स्तरमा ठूलो रुपान्तरण ल्याएको पनि बताईन्छ । तर, यति हुँदाहुँदै पनि मानवबेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अपराधमा किन न्यूनिकरण हुन सकिरहेको छैन ? बेचबिखनको सवाल विगतको भन्दा झनै जटिल किन बनिरहेको छ ? किन नेपाली महिला र बालबालिका बेचबिखनको शिकार भइरहेका छन् ?

विगतमा मानव वेचखिनका पछाडि गरिवी र अशिक्षालाई प्रमुख कारक तत्वको रूपमा लिइन्थ्यो । आज पनि मानव बेचबिखनका पछाडि गरिवी र अशिक्षा नै महत्वपूर्ण कारणहरू हुन् । तर, पढेका र बुझेका भनिएकाहरू पनि बेचबिखनमा पर्नु तथा मध्यम वर्गीय परिवारका सदस्यहरू पनि बेचबिखनको शिकार हुनुले गरिवी र अशिक्षालाई मात्र मानव बेचबिखनको कारण मान्न सकिदैंन ।

अर्थात् पछिल्लो समय भइरहेको मानव बेचबिखमा गरिवी र अशिक्षा मात्र कारण होइनन्, अन्य कारणहरू पनि थपिएका छन् । जसको भारत बाहेकका अन्य मुलुकमा हुने बेचबिखनमा महत्वपूर्ण भूमिका छ ।

जटिल बन्दैछ बेचबिखनका स्वरुप

मानव बेचबिखनको विरुद्धमा क्रियाशील अभियन्ताहरू पछिल्लो समय वैदेशिक रोजगारीका कारण बेचविखन विरुद्धको अभियान झनै जटिल भएको बताउँछन् ।

उनीहरूका अनुसार बैदेशिक रोजगारी सम्बद्ध बेचबिखनका अपराधमा बेचबिखन विरुद्धको कानूनलाई आकर्षित गर्न गाह्रो भइरहेको छ । कतिपय बेचबिखन कै अपराधहरूमा पनि ठगी मुद्दा लगाउनु पर्ने अवस्था छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले वैदेशिक रोजगारीका नाममा मानव बेचविखन बढेको स्वीकार्छन् । काफ्लेका अनुसार वैदेशिक रोजगारका नाममा हुने बेचबिखन दुई किसिमले हुँदै आएका छन् ।

‘एकथरी विशुद्ध बेचबिखन गर्ने गिरोहले भारत हुँदै तेस्रो मुलुक ओसार पसार गरिरहेका छन् भने अर्काेथरीले आधिकारिक संयन्त्रको माध्यमबाट विदेश लैजाने गरेका छन् ।’ काफ्ले भन्छन् – ‘यसरी वैदेशिक रोजगारीमा पठाउनेहरूले एक देश भनेर अर्काे देशमा पठाउने, एउटा काम भनेर अर्काे काममा लगाउने र सम्बन्धित देशभित्र एउटा समूहले अर्काे समूहलाई बेच्ने कार्य गरिरहेका छन् ।’
देशको अर्थतन्त्र धान्ने प्रमुख श्रोत बनिरहेको वैदेशिक रोजगारी मानव बेचबिखनको माध्यम बन्नु चिन्ताजनक विषय भएको भन्दै राज्यस्तर गम्भीर बन्नुपर्ने उनी बताउँछन् ।

पैसा कमाउन जे पनि गर्नुपर्छ भन्ने महत्वकांक्षाले बेचबिखन नियन्त्रणलाई झनै कठिन बनाएको नेपाल प्रहरीको महिला तथा बालबालिका सेलका एसएसपी कृष्णप्रसाद गौतमको भनाइ छ ।

गौतमका अनुसार बेचबिखनमा परेर विदेश पुग्ने पीडित विदेशमा झनै पीडित बन्नु पर्छ । विदेशको जेलमा बस्नुपर्दा र विभिन्न तनावहरू झेल्नु पर्दा पीडितको मनोवल निकै कमजोर बन्न पुग्छ । जसले गर्दा देश फर्किए पछि यस्ता पीडितहरूले कानूनी लँडाई लड्न हिचकिचाउने गरेको गौतमको भनाइ छ ।

खुला सीमा बेचविखनको मुख्य बाटो

छिमेकी मुलुक भारतसँगको खुला सीमानाकाका कारण पनि बेचबिखनका गिरोहलाई सहज भएको जानकारहरू बताउँछन् । खुला सिमाका कारण भारतीय बजारहरूमा हुने बेचबिखन त छँदैछ छ, अर्काेतर्फ पछिल्लो समय भारतीय बाटोलाई प्रयोग गरेर तेस्रो मुलुकमा पनि मानव बेचबिखनले तीब्रता पाईरहेको छ ।

मानव बेचबिखन विरुद्ध काम गरिरहेको संस्था माइती नेपालले सन् २०१७ मा ३६ हजार ४५ जना महिला तथा बालिकालाई उद्धार गरेको छ ।
तिमध्ये बेचबिखनमा परेका एक हजार ८ सय जनाले कानूनी सहायता लिएका छन् । भने मानव बेचबिखनमा संलग्न भनेर दोषी प्रमाणित भएको एक हजार ५ सय ७१ जना छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार खुला सीमाका कारण मानव बेचबिखन नियन्त्रणलाई अझै प्रभावकारी बनाउन सकिएको छैन ।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भूजेल पनि खुला सीमाका कारण बेचबिखन नियन्त्रणमा समस्या पैदा भइरहेको स्वीकार्छन् ।
भूजेल भन्छन् ‘बेचबिखन विरुद्धको गतिविधी मुख्य नाकामा मात्रै केन्द्रित छ । दलालहरूले अन्य साना र चोरी नाकाहरू पनि प्रयोग गरिरहेका छन ।’ केन्द्रीय तहबाट बेचबिखन नियन्त्रणका लागि कडा प्रयास हुन आवश्यक रहेको उनको राय छ ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद सिंहको भनाइ पनि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसँग मिल्दो छ । सिंहका अनुसार दलालहरूले संस्थाहरूको क्रियाशीलता भएको नाकाभन्दा अन्य नाकाहरूको प्रयोग गरिहेका छन् ।
प्रमुख जिल्ला अधिकारी सिंह रोजगारीको अवसर नहुनु र समाजमा विदेश जाने लहड चल्नुले बेचबिखन नियन्त्रण गर्न गाह्रो भइरहेको बताउँछन् ।

माईती नेपालकी सजनी जोशी पनि प्रशासनिक सहयोग चुस्त हुनुपर्ने बताउँछिन् । प्रशासनले दरो रूपमा बेचबिखन विरुद्ध अभियान संचालन गर्ने हो भने धेरै दलाल र मानव बेचबिखनको सञ्जाललाई नियन्त्रण गर्न सक्ने उनको दावी छ ।

बाँके जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा मात्रै नेपालगञ्जको जमुनाहा नाकाबाट प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा उच्च जोखिममा रहेका २ हजार ४० जना महिला, ३ सय ४५ बालिका र १ सय ८ जना बालकलाई उद्धार गरी घर फिर्ता गरिएको छ ।

मानव बेचबिखन सिङ्गो मानव समुदायका लागि पेचिलो मुद्दा हो । तर, अल्पविकसित मुलुकहरूका लागि भने बेचबिखन न्यूनिकरण तथा नियन्त्रण झनै जटिल मुद्दा बनिरहेको छ ।

समाजमा व्याप्त गरिबी र बेरोजगारीले मात्र होइन नैतिक र जीवन मुल्यमा आएको ह्रासले पनि बेचबिखनलाई सहयोग पुर्याई रहेको छ ।
अर्काेतर्फ विश्वव्यापीकरणको प्रभावले समाजमा बढ्दै गएको उपभोगवादी प्रवृत्ति पनि बेचबिखनका लागि उर्भर भूमी भइरहेको छ ।

बदलिँदो समय र चुनौती अनुरुप बेचबिखन न्यूनिकरण वा नियन्त्रका प्रयासहरू थालिनु अति आवश्यक भइसकेको छ । यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा सरोकारवालाहरूले ध्यान पुर्‍याउनु जरुरी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: