किन आइरनले डामिन् आमाले छोरालाई ?


प्रकाशित मिति :2018-04-08 15:43:05

डिप्रेसनको बिरामी भनेर थाहा हुँदा हुँदै बिरामीका साथमा सानो बालक छाड्नु परिवारको चरम लापरबाही होइन ? यस्ता गम्भीर कुराको खोजी नगरि एकैपटक निष्कर्षमा पुगेर आरोप लगाउन मिल्ला ?

–तिलकुमारी शर्मा–

विराटनगर करिब एक हप्तादेखि भाइरल बनेको एक समाचारले सामाजिक सञ्जाल र अनलाइन मिडियाहरू अतिरञ्जित तरिकाले तताइरहेको छ । ती समाचारहरू पढ्दा मेरो मन छोयो ।

‘छोरालाई तातो आइरनले डाम्ने नागिन आमा, राक्षसनी आमा, आमाको नाममा कलंक, पापी आमा, निर्दयी आमा, मानवरुपी दानव’ लगायतका अनेकौं शिर्षकमा समाचारहरू प्रकाशन तथा प्रसारण भए ।

फोटो पनि आमाछोराकै राखियो । फोटो देख्ने बित्तिकै सरला र उनको छोरालाई चिनिहालेँ । उनीहरूको अनुहार झल्झल्ती आँखामा नाँच्न थाल्यो । पत्याउन गाह्रो भयो ।

अचानक मुखबाट निस्कियो ‘सरला ! छोरालाई के गरेको यस्तो ? किन र कसरी गर्यौ ? साह्रै गर्नै नहुने निच काम भयो सरला तिमीबाट । बालकलाई कति गाह्रो भएको होला, कहाँ र कस्तो अवस्थामा होला ?’ जस्ता अनगिन्ती सवालहरूले चिमोटिरह्यो मलाई । पटक–पटक समाचार पढें ।
एकैछिनमा त्यो समाचार भाइरल बन्यो । समाचारमा आएका कमेन्टहरू पनि पढें । तथानाम गालीहरू थिए । अश्लील र निकृष्ट शब्दहरूको प्रयोग गरिएका थिए । सरलाले सामान्य अवस्थामा यस्तो जघन्य गर्नु नपर्ने हो । पक्कै केही गडबड छ भन्ने लाग्यो ।

तिलकुमारी शर्मा

सरलाले डिप्रेसनको औषधि खाएको मलाई थाहा थियो । जस्तो अवस्था भए पनि उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको अवस्था अनुसार उनले पाउने कानुनी सजाय पाउँछिन् नै होला । मलाई अचम्म लागेको कुरा के हो भने सरलाले किन त्यसो गरिन् भनेर गहिराइमा पुगेको पाइएन । छोराले नपढ्दा र श्रीमानको रिसले त्यसो गरिएको भनिएको छ । फेरि श्रीमान बुबाआमालाई लिएर काठमाडौं बस्दै आएको कुरा पनि उल्लेख गरिएको छ ।

यदि श्रीमान् यहाँ छैनन् भने उनको रिसले छोरो किन कुट्नु ? कतै उनी असामान्य स्थितिमा त छैनन् ? मानसिक रोगको शिकार त भएकी छैनन् भनेर कतै खोजी गरेको पाइएन । समाचारमा पनि सन्तुलन भेटिएन । हामीले सिकेको पत्रकारितामा समाचार सन्तुलन मिलाएर लेख्नुपर्छ, पक्ष विपक्ष दुवैतर्फको विचार समाचारमा समावेश हुनुपर्छ भनेर सिकाइएको थियो ।

तर यहाँ त तुलाको एउटा पल्लालाई डन्डासम्म पु¥याएर अर्को पल्लालाई भूईमा टेक्ने गरि समाचार लेखिएको पाइयो । सरलाका श्रीमान् विक्रम र एकजना छिमेकी सीता अर्याल अनि उनका छोरा सिम्पल पढ्ने विद्यालयका प्रिन्सिपल अमिस रेग्मीको भनाईले मात्र समाचार पूरा भयो त ?

यहाँ न त सरलाको भनाइ छ न त उनका माइती पक्षको नै । के सरलाको भनाई वा उनका माइती पक्षको भनाइ उल्लेख गर्नु पर्दैनथ्यो ?

एउटा चेतनशील मानवले गर्नै नहुने घटना सरलाबाट भयो । यस्तो गल्ती सामान्य अवस्थाकी आमाले गर्न सक्लिन् ? तर सरलाले गरिन् । त्यसो भए सरलाको मानसिक सन्तुलनमा कमी आएको त छैन ? उनी नपत्याइदो गरि ठूलै समस्यामा त परेकी छैनन् ? खोजी गर्नु तपाईं हाम्रो कर्तव्य होइन ?

चरम घरेलु हिंसा

सरला र उनका श्रीमान् विक्रमलाई मैले पनि पटक–पटक भेटेर सम्झाएकी छु । सरला र उनको श्रीमानका बारेमा मेरो जानकारीमा भएको कुरा यहाँ राख्न चाहन्छु ।

कुरा २०७२ साल चैत २ गते मंगलबार बेलुकापखको हो । सरलाका श्रीमान् विक्रम काफ्ले हाम्रो अफिस मानव अधिकार तथा वातावरण मञ्च (फरेन) मा आएका रहेछन् । अफिसमा कुरा राख्दै गर्दा म पनि फिल्डबाट त्यही समयमा पुगें । सरलाका विरुद्ध मौखिक उजुरी लिएर आएका रहेछन् उनी ।

अफिसमा म मनोसामाजिककर्ताको रुपमा कार्यरत थिएँ । त्यसैले म पुगेपछि उनको गुनासो सुन्ने जिम्मा मलाई आयो । श्रीमतीले छोरालाई कुट्ने, खान नदिने, भोकै अनि ढिला स्कुल पठाउने, घरको र छोराको सरसफाइ नगर्ने जस्ता गुनासा राखे उनले ।

मैले उनको कुरा सुनेर एक दुई दिनभित्र सरलालाई सम्झाउने वचन दिएँ । उनको घरको ठेगाना र सरलाको फोन नम्बर लिएर उनलाई विदा दिएँ । बालक कुटपिटमा परिरहेको थाहा पाएपछि अरु कामलाई बिसाएर भोलिपल्टै उनलाई भेट्न गएँ ।

एउटा महिलासम्बन्धी काम गर्ने सामाजिक संस्थामा सरलाले केही महिना काम गरेको कुरा पनि विक्रमले चुहाएका थिए । पहिला उनले काम गरेको अफिसमा बुझ्ने र सरलालाई भेट्ने निधो गरेँ र उक्त अफिस गएँ । सरलाको बारेमा कुरा राखें । त्यहाँका एकजना पुरुष कर्मचारीले त सरलाका बारेमा यति घृणित शब्दहरू बोले । महिला सम्बन्धी काम गर्ने प्रतिष्ठित संस्थामा कार्यरत व्यक्तिले यस्तो शब्द बोल्छन् भन्ने कल्पना समेत गर्न सकिँदैन ।

त्यहाँ भएका अन्यले पनि सही थापे । मलाई शिरदेखि पाउसम्म नियाल्दै, ‘तपाईं सरलालाई सम्झाउन आउनु भएको ? सक्नुहुन्छ ? के भनेर सम्झाउनुहुन्छ ?’ जस्ता प्रश्नले घेरे ।

जवाफमा मैले ‘म प्रयास गर्छु’ मात्र भनेँ ।

उनीहरूले यसरी मलाई तर्साए की सरला भनेको बाघ भालु हो या त्यस्तै जंगली जनावर, जसले देख्ने बित्तिकै चिथोर्छ । तै पनि सोही अफिसका अर्का एक जना दाइलाई सरलाको घर देखाइदिन भनेँ । बाटोमा सरलाको बारेमा कुरा गर्दा उनले आफुले सरलालाई सानैदेखि चिनेको बताए । उनका अनुसार सरला खराब होइन । तर उनलाई घर परिवार र श्रीमानको व्यवहारले खराब बनाएको हो ।

‘बाबु अलि ठूलो भएपछि राम्रो जागिर खान्छु । त्यसको लागि लोकसेवाको तयारी गर्दैछु । छोरोलाई पढाएर राम्रो मान्छे बनाएर विक्रमलाई देखाउँछु’ भन्थिन् सरला । उनले थपिन् ‘वर्षौंदेखिको पीडा पोख्न पाउँदा मेरो मन त रुवा जस्तै हलुका भयो ।’ यति कुराकानीपछि म बिदा भएँ उनीसँग ।

हामी विराटनगर ३ स्थित सरलाको घरमा पुग्दा उनी छोरो स्कुल पठाएर भाँडावर्तन र कोठा सफाई गर्न व्यस्त थिइन् । तिनै दाइले उनलाई बाहिर बोलाए । उनी काममा व्यस्त भएकाले ‘पहिला काम सक्नु, त्यसपछि कुरा गरौला’ भनेर काम सक्न पठाएँ । एकछिनमा काम सकेर हँसिलो मुद्रामा प्रस्तुत हुँदै परिचय मागिन् ।

अफिसमा काम भएको भन्दै त्यतिबेलासम्म ती दाइ गइसकेका थिए । सरलाका विरुद्ध बोलिएका कुरालाई उनको व्यवहारसँग तुलना गर्न थालेँ । क्रमशः फरक पाउँदै गएँ । कुरा कसरी गर्ने भनेर अप्ठ्यारो लागिरहेको थियो । उनलाई र उनको व्यवहार देखेपछि बिस्तारै सहज हुँदै गयो ।

मैले उनका श्रीमानको मौखिक उजुरीका आधारमा आएको कुरा र फरेन संस्थाको कुरा नभनी उनले चलाएको कार्यक्रमको बारेमा लेख लेख्न मन लागेकाले आएको भन्दै पत्रकारको परिचय दिएँ ।

उनी पनि बढो खुशीका साथ आफूले चलाएको ‘सुनौलो भविष्य छनौट’ कार्यक्रमबाट बालबालिकाहरूले सिकेको फेहरिस्त बताउन थालिन् । कुरै कुरामा ‘घरमा एक्लै बस्न टेन्सन भएकाले काम गरेको र कार्यक्रम सकिएपछि फेरि टेन्सन थपिएको’ भनिन् । मैले त्यहि कुरा समाएँ । त्यसपछिको कुराकानीमा उनी घरेलु हिंसाको शिकार भएको थाहा भयो ।

श्रीमानको वेवास्ता, सासूससुराको अवहेलना

घटनाक्रम अनुसार दुवईमा काम गर्दै गरेका विक्रम विवाह गर्न भनेर ०६७ मा नेपाल आए । सरला काठमाडौंमा बसेर पढ्थिन् । एअरपोर्टमा नै केटी हरेर विवाह पक्का गरियो । विवाह गरेर आएको वर्ष दिनसम्म विक्रमसँग सम्बन्ध राम्रै थियो ।

त्यही बिचमा छोरा सिम्पलको जन्म भयो । छोरा स्याहार्न सरलाकी आमा काठमाडौं गइन् । सरलालाई काठमाडौंमा आमाको जिम्मा लगाएर विक्रमका बुबाआमा सुत्केरी छोरी स्याहार्न अष्ट्रेलिया गए । त्यसबेला विक्रम पुनः दुवई जाने भए । उनी जाँदा सरलालाई पनि साथै लगे ।

तर त्यहाँ पनि त्यति राम्रो व्यवहार नगर्ने, कतै पिकनिकमा या घुम्न जाँदा साथमा लाने तर वेवास्ता गर्ने । साथीहरूसँग बोल्ने, घुम्ने, राती पनि अबेरसम्म साथीहरूसँग रहने बानी भएकाले आफूलाई दिक्क लागेर छ सात महिनापछि घर जाने भनेर सरलाले जिद्दी गरेपछि दुवै जना घर फर्किएको कुरा बताइन् ।

घरमा आएपछि विक्रमको व्यवहारमा परिवर्तन आयो । केही महिनापछि आमाबुबा पनि अष्ट्रेलियाबाट आए । त्यसपछि फेरि विक्रमको व्यवहार बदलियो । उनका अनुसार विक्रमको व्यवहार राम्रो हुन छाडेको थियो । उनले सरलाको वास्ता गर्दैनथे । बाहिरबाट आउँदा आफ्नो कोठामा नपसी आमाबाबुको कोठामा जाने र उतै कपडा बदल्ने गर्थे । उनले पकाएको खानेकुरामा खोट लगाउने, श्रीमतीसँग पनि त्यति राम्रो बोल्दैनथे विक्रम ।

विस्तारै विवाद बढ्दै जान थाल्यो । त्यस्तै अवस्थामा पनि उनले आफूलाई व्यस्त राख्न संस्थामा काम गर्न थालिन् । केही महिनापछि उनले चलाउने गरेको कार्यक्रमको अवधि सकिएपछि उनी फेरि त्यही शिकारमा परिन् ।

डिप्रेसनको रोगी थिईन् सरला

लगभग साढे दुई वर्ष अगाडि सरलामा अस्वाभाविक परिवर्तनहरू देखिन थाल्यो । त्यसपछि बुबाले विराटनगरमै जचाँए । विराटनगरका मानसिक चिकित्सक रजन थापाले परीक्षण गर्दा उनलाई डिप्रेसन भएको बताएका थिए ।

डेढ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने भयो । औषधि थपिएपछि फलोअपमा ल्याउन भनेका थिए डाक्टरले । छोरीलाई केही समय माइतीमै राखेर बुबा आमाले घर पठाइदिए । बुहारीलाई औषधि खुवाईदिने जिम्मा सासूलाई सुम्पियो ।

‘डाक्टरले फेरि जँचाउन ल्याउ भनेका थिए । तर काफ्ले परिवारले छोरीलाई जँचाउन लगेनन्’ बुबा मातृका पौडेलले भने । डिप्रेसनको यस्तो अवस्थामा पनि उनीमाथि हुने हिंसा कम नभएपछि उनले छुट्टिने विचार गरिन् । छुट्याइयो पनि । तर सरला र उनका छोरा सिम्पल एक ठाउँमा खान्थे भने विक्रम आमा बुबासँग नै खाना खान्थे भन्थिन् सरला ।

विस्तारै विक्रमको घर आउनेक्रम कम हुन थाल्यो । फ्लास बोर्ड बनाउने अफिसमा काम गर्छु भन्ने विक्रम आफ्नो घर विराटनगरमै हुँदा हुँदै पनि अफिसतिरै कोठा लिएर बस्न थाले । कहिलेकाहीँ घर जाँदा पनि श्रीमती तथा छोरालाई वेवास्ता गर्दै आमाबुबाका साथमा जाने र बिहान उतैबाट काममा जान्थे ।

छुट्टिएर बसेका बेला खर्च स्वरुप मासिक छ हजार रुपैयाँ दिने कागज गरेका थिए विक्रमले । त्यही अफिसको रोहवरमा दुई ÷तीन महिना दिए । त्यसपछि त्यो पनि दिएनन् । सरलालाई उक्त रकम दिनबाट विक्रमलाई आफ्ना बुबाले रोकेका थिए । ‘सम्धीले रोकेपछि ज्वाईंले सरलालाई पैसा दिन छाड्नु भएको हो । यो कुरा सम्धी आफैले स्वीकार्नु भएको हो’ सरलाका बुवा मातृका पौडेलले भने ।

सरलालाई घर व्यवहार चलाउन कठिन थियो । सरलाको भनाइमा विक्रमले खर्च नदिएपछि आफूलाई आवश्यक पर्ने अन्न तथा खर्च माइतीबाट ल्याएर गुजारा चलाउँथिन् । कहिलेकाहीँ छोराको लागि सामान्य खाने तथा खेल्ने कुराहरू भने छोराको आग्रहमा ल्याइदिन्थे विक्रमले । यसरी उनले आफ्ना पीडाहरू बताइरहँदा मलाई ‘दिदी’ भनी सम्बोधन गर्दै आफ्ना योजना पनि सुनाउँथिन् ।

‘बाबु अलि ठूलो भएपछि राम्रो जागिर खान्छु । त्यसको लागि लोकसेवाको तयारी गर्दैछु । छोरोलाई पढाएर राम्रो मान्छे बनाएर विक्रमलाई देखाउँछु’ भन्थिन् सरला । उनले थपिन् ‘वर्षौंदेखिको पीडा पोख्न पाउँदा मेरो मन त रुवा जस्तै हलुका भयो ।’ यति कुराकानीपछि म बिदा भएँ उनीसँग ।

बेला बेला फोन गरेर छोरालाई कुटे नकुटेको बारेमा सोध्दा कुट्न छाडेको बताउँथिन् ।

उनी भन्ने गर्थिन् ‘पहिला त कुट्थें तर अब कुट्न छाडें । अब त दुःख बिसाउने ठाउँ पाएकी छु नि दिदी ! त्यति रिस पनि उठ्दैन मलाई ।’

मेलमिलापको कोशिश

पहिलो भेटपछि उनलाई तीन चार पटक भेटेर सम्झाएकी थिएँ । विक्रमलाई पनि दुई पटक बोलाएर उनीहरूलाई मिलाउन सहयोग गर्ने वचन दिएकी थिएँ ।

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेसँग पनि दुवैजनालाई छुट्टा छुट्टै तरिकाको एड्भोकेसी फोरमको अफिसमा भेटाएर कुराकानी गराई दिएकी थिएँ । सरलाले विक्रमका परिवारका सदस्यले आफूलाई राम्रो गरे आफू परिवारसँग बस्न मन्जुर रहेको बताएकी थिइन् ।

तर विक्रमले भने कुनै हालतमा सरलासँग बस्न नसक्ने भन्दै जिकिर गरका थिए । उनको भनाइ सुन्दा अर्कै महिलासँग सम्बन्ध बनाएका छन् कि भन्ने आशंका हुन्थ्यो । सरलाले पनि यो कुरा गरेकी थिइन् । यद्यपि आधिकारिक रुपमा यस्तो कुरा बाहिर नआएकाले केही भन्न सकिन्न ।

बढ्दो हिंसा र डिप्रेसनको परिणाम

सरलासँग डेढ वर्ष यता सम्पर्क भएको थिएन । गत वर्ष चैतमा म सिटी सफारीमा घर जाँदै थिएँ । उनी पनि सोही सफारीमा रहिछन् । अँध्यारो भएकाले चिनिएन । तर मेरो बोलीले उनले चिनिन् । उनैले बोलाइन् र पुनः आफूमाथि विभिन्न दबाब र तनाब भएको बताइन् ।

सफारीमा अरु पनि तीनजना अपरिचित थिए । घरभित्रको कुरा अपरिचितका अगाडि गर्न त्यति राम्रो नहोला भन्ने मनसायले उनलाई रोक्दै पछि फोनमा या भेटमा कुरा गरौंला भनेँ । पछि म आफ्नै समस्यामा अल्झिएर उनीसँग सम्पर्क गर्न सकेको थिइन ।

सरलाले पति विक्रम विरुद्ध जिल्ला अदालतमा दिएको मानाचामलको मुद्धा अदालतमा विचाराधीन छ । अब दोषी को हो ? मानसिक रुपमा सन्तुलन कम भएकी रोगी या मानसिक रोगी बनाउने पति र परिवार ? यदि विक्रमलाई आफ्नो छोराको यति विघ्न माया थियो भने त्यही छोरा पालन पोषण गरिरहेकी सरलालाई मासिक रुपमा दिने भनिएको ६ हजार पनि किन दिएनन् ? आफ्ना स–साना आवश्यकता पुर्ति गर्न पनि त्यही छोराले बुबालाई किन आग्रह गरिरहनुपर्दथ्यो ? आफ्नो सन्तानप्रति माया हुने श्रीमानले त्यही सन्तानकी आमालाई भने कसरी घृणा गर्न सक्छ ? यो विषयमा कसले सोचिदिने ?

त्यसबेला उनलाई आफ्नै समस्याको कारण उनलाई सहयोग गर्न सकिन । उनका लागि केही गर्न नसकेको र अहिले अबोध बालकले यति ठूलो पीडा भोग्नु परेकामा अपसोच लागेको छ ।

सरलाको यो कार्य निन्दनीय छ । तर उनी विवाह गरेर आएको लगभग एक वर्षदेखि नै घरेलु हिंसाको शिकार भएकी थिइन् । परिवारबाट चरम हिंसाा भएपछि डिप्रेसनको शिकार भइन् । त्यही रोगको परिणाम स्वरुप यस्तो घटना हुनपुग्यो ।

कारबाही सरलालाई मात्र होइन, सरलालाई त्यस स्थितिसम्म पु¥याउने र हरेक अवस्थामा सरलालाई गलत सावित गर्न हरेक तरिका अपनाइरहने विक्रमलाई पनि हुनुपर्छ ।

सरलाका बुबाले पत्रकार सम्मेलन गरेर आफ्नी सद्दे छोरी घरेलु हिंसाको शिकार भएर डिप्रेसनमा परेकी बताएका छन् । सर्वत्र उनको आलोचना र तिखो प्रहारले सरलामाथि अझै पीडामा नूनचुक छरिएको बुबाको गुनासो छ । घटनाको गहिराईसम्म पुग्ने कोशिश कसैबाट भएन । मानसिक सन्तुलन नभएकी एउटी बिरामीको पछाडी लागेर खेदी रहन कत्तिको उचित होला ?

दैनिक औषधि सेवन गर्नुपर्ने सरलालाई औषधि खुवाईदिने मान्छे त घरमा कोही थिएनन् । बरु यस्तो अवस्थामा एक्लै छाडेर विक्रमका बुबाआमा अष्ट्रेलिया जाने तयारीमा काठमाडौंमा गएको बुझिएको छ । तर सरलाको अत्याचारले घरमा बस्न नसकेर काठमाडौंमा बस्न थालेको भनेर झुठो प्रचार गरिएको छ ।

डिप्रेसनको बिरामी भनेर थाहा हुँदा हुँदै पनि बिरामीका साथमा सानो बालक छाड्नु परिवारको चरम लापरबाही होइन र ? यस्ता गम्भीर कुराको खोजी नगरि एकैपटक निष्कर्षमा पुगेर आरोप लगाउन मिल्ला ?

अझ उनलाई उपचार गर्नुको सट्टामा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका छन् विक्रमले । अनि विक्रमले सरलालाई कडा भन्दा कडा कारवाहीको माग राख्दै आएका छन् ।

सरलाले पति विक्रम विरुद्ध जिल्ला अदालतमा दिएको मानाचामलको मुद्धा अदालतमा विचाराधीन छ । अब दोषी को हो ? मानसिक रुपमा सन्तुलन कम भएकी रोगी या मानसिक रोगी बनाउने पति र परिवार ? यदि विक्रमलाई आफ्नो छोराको यति विघ्न माया थियो भने त्यही छोरा पालन पोषण गरिरहेकी सरलालाई मासिक रुपमा दिने भनिएको ६ हजार पनि किन दिएनन् ? आफ्ना स–साना आवश्यकता पुर्ति गर्न पनि त्यही छोराले बुबालाई किन आग्रह गरिरहनुपर्दथ्यो ? आफ्नो सन्तानप्रति माया हुने श्रीमानले त्यही सन्तानकी आमालाई भने कसरी घृणा गर्न सक्छ ? यो विषयमा कसले सोचिदिने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: