जातीय विभेदः महिला थप पीडामा


प्रकाशित मिति :2018-03-21 09:00:01

–सन्दिप वि.क–

ललितपुर । नेपालको जनगणना २०६८ अनुसार कुल जनसंख्याको १३.१ प्रतिशत दलितको छ । यो जनसंख्याको आधाभन्दा बढी संख्या महिलाले ओगटेका छन् ।

संविधानले नै नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि छुवाछुतका घटनाहरु भने हुन छोडेका छैनन् । ग्रामिण क्षेत्रमा दलित महिला पानी छोएकै निहुँमा, बोक्सिको आरोपमा कुटिएका छन् भने शहरी क्षेत्रमा दलित भएकै कारण डेरा नपाएको र डेराबाट निकालिएका थुप्रै उदाहरण छन् ।

पानी छोएको निहुँमा कुटपिट

गत भदौ ३ गते तनहुँको व्यास नगरपालिका १० की २७ वर्षीया प्रतिक्षा परियार धारामा पानी छोएको निहुँमा छिमेकीबाटै कुटिइन् । स्थानीय ३० वर्षीया रुपा गुरुङले पानी छोएको निहँुमा प्रतिक्षालाई कुटपिट गरिन् । कुटपिटबाट घाइते परियारको गर्धन र टाउकोमा चोट लागेको थियो ।

परियारले धारामा बोतल भर्दै गरेको अवस्थामा गुरुङले पानी थापिरहेको बोतमामाथि अर्को बोतल थापेपछि विवाद भएको थियो । दुई जनाको भनाभनपछि गुरुङले परियारमाथि कुटपिट गरेकी थिइन् । पुजा गर्ने पानी छोएपछि पानी अशुद्ध भएको भन्दै कुटपिटका साथै गाली गलौच गरेको परियारले बताएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन परेसँगै पीडक पक्ष र पीडित पक्षबीच छलफलपछि गुरुङले माफी माग्दै, ‘आउँदा दिनमा यस्तो गल्ती नदोहोराउने र जातिय विभेद नगर्ने’ प्रतिबद्धता जनाएकी थिइन् । प्रतिक्षाको उपचारको लागि रुपाले ५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

गत असारमै सुर्खेत लेकवेशी नगरपालिका साटाखानीमा पानी छोएको निहुँमा २७ वर्षीया टीकाकुमारी मिजार धारामा पानी छोएकै निहुँमा कुटपिटमा परिन् । उनलाई स्थानीय मनकुमारी राई र उनका छोरा मनबहादुर राईले कुटपिट गरेका थिए । कुटपिटकै कारण टीकाको टाउको, छोती र शरीरमा गहिरो चोट लागेको थियो ।
बेहोस भएकी टीकालाई आफन्तले मेडिकलसम्म पुर्याएका थिए । नाक र मुखबाट रगत बगेर होस नखुलेपछि उनलाई थप उपचारका लागि क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।

डेराका लागि भौतारिदा

सांसद कलुदेवी विश्वकर्माले काठमाडौंमा कोठा खोज्दा दलित भएकै कारण कोठा पाइनन् ।
उनले भनिन् ‘म विश्वकर्मा अर्थात् दलित जाती भएकै कारण कोठा पाइनँ । राजधानीमै यस्तो समस्या छ । देशको दूर दराजका गाउँमा दलित समुदायले भोग्ने पीडा झन् कस्तो होला भन्ने अनुमान सहजै गर्न सकिन्छ ।’

अन्तरजातिय विवाहः परिवारले स्वीकारेनन्

अन्तरजातिय विवाह गरेकी म्याग्दीकी भिमकुमारी वि.कले नागरिकताकै लागि प्रहरी कार्यालय र जिल्ला अदालत धाउन थालेको लामो समय भयो । तर अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । उनीसँग न श्रीमान छन् न त नागरिकता ।

म्याग्दीको भदौरे घर भएकी भिमकुमारीले २०६२ सालमा बाग्लुङका प्रदिप कुमार सुवेदीसँग प्रेम विवाह गरिन् । अन्तरजातिय विवाह गरेकै कारण प्रदिपले भिमकुमारीलाई गाउँमा राख्न सकेनन् । उनीहरू दुवैजना काठमाडौं आएर बस्न थाले ।

काठमाडौंमा पाँच महिनाको बसाइपछि श्रीमान सुवेदी रोजगारीका लागि साउदी गए । काम राम्रो नभएको भन्दै सुवेदी पुनः नेपाल फर्किए । तर उनी भिमकुमारीलाई भेट्न आएनन् । श्रीमान आएको थाहा पाएपछि भिमकुमारी आफै श्रीमानको घर खोज्दै म्याग्दी पुगिन् । प्रदिपकुमारले आफूले भिमकुमारीसँग विवाह गरेको स्वीकारेनन् । गाउँमा भद्रभलादमी समेत जम्मा भए । प्रदिपले भिमकुमारीलाई सँगै मिलेर बस्ने, गाउँमा कुरा काट्छन् भनेर काठमाडौं जाऊ, म आउँछु भनेर आश्वासन देखाए । उनी श्रीमानको विश्वास लागेर काठमाडौं आइन तर श्रीमान आइनन् । बरु उनले अर्को विवाह गरे ।

त्यसपछि भिमकुमारीले नाता कायम गरी अंश पाँऊ भन्दै २०६४ सालमा म्याग्दी प्रहरी कार्यालयमा निवेदन दिईन् । प्रहरीमा कुरा मिल्न सकेन् । मुद्धा अदालतमा पुग्यो । पाँच वर्षपछि जिल्ला अदालतले नाता कायम गरी भिमकुमारीलाई पाँच आना जग्गा उपलव्ध गरायो ।

श्रीमानको परिवारले सम्बन्ध विच्छेद गरिपाउँ भन्दै जिल्ला अदालत बाग्लुङमा निवेदन हाल्यो । त्यहाँ भिमकुमारीको पक्षमा फैसला भएपछि फेरि मुद्धा पुनरावेदन अदालत बाग्लुङमै पुग्यो । अहिले त्यही मुद्धा फैसला सुन्नकै लागि भिमकुमारी पुनरावेदन अदालतमा धाइ रहेकी छिन् ।

भिमकुमारीले नागरिकता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालयमा बाग्लुङमा निवेदन हालेको डेढ वर्ष बित्यो । तर अहिलेसम्म नागरिकता पाएकी छैनन् । श्रीमानले नागरिकतामा हस्ताक्षर नगरेकै कारण उनी नागरिकता पाउनबाट बञ्चित भएकी हुन् ।

‘प्रशासन कार्यालय गयो श्रीमान ल्याउनुपर्छ भन्छ’ उनले भनिन् । नागरिकता दिलाउन आग्रह गर्दै उनले राष्ट्रिय दलित आयोगमा समेत निवेदन हालेकी छिन् । तर अहिलेसम्म उनले नागरिकता पाउन सकेकी छैनन् ।

सन् २०१७ मा जातीय विभेदका ४५ घटना

अनौपचारिक सेवा केन्द्र(इन्सेक)को मानव अधिकार वर्ष पुस्तक २०१८ का अनुसार नेपालमा जातीय विभेदका ४५ वटा घटना घटेको पाइएको छ ।
जसमा १८ जना महिला पीडित रहेका छन् भने २७ जना पुरुष पीडित रहेको पाइएको छ ।
यस्तै केन्द्रकै तथ्यांक अनुसार स्न २०१६ मा ५१ वटा जातीय विभेदका घटना घटेका थिए । जसमा १८ महिला र ३३ पुरुषहरु पीडित रहेको पाइएको थियो ।

प्रदेश ७ मा जातीय विभेद बढी

इन्सेकको स्न २०१७ को तथ्यांक अनुसार सबैभन्दा बढी जातीय विभेदको घटना प्रदेश नं ७ मा घटेको पाइएको छ । जहाँ १७ वटा जातीय विभेदका घटना घटेका थिए । यस्तै प्रदेश नं ६ मा १२ वटा, प्रदेश नं ५ मा ९ वटा, प्रदेश नं २, ३, र ४ मा २-२ वटा र प्रदेश नं १ मा १ वटा मात्रै जातीय विभेदका घटना घटेका थिए ।

जातीय विभेदका ६९ वटा उजुरी

राष्ट्रिय दलित आयोगमा आर्थिक वर्ष २०७३-०७४ जातीय विभेदका ६९ वटा उजुरी परेका थिए । सो मध्ये जातीय भेदभाव तथा छुवाछुत कसूरका १४ वटा, अ न्तरजातीय विवाहको कारण विस्तापीतका ७ वटा, बोक्सी आरोपमा पीडित २, दलित आरक्षणमा गैर दलित सिफारिसका २ वटा, दलित हक अधिकार हनन्सँग सम्बन्धीत ४४ वटा घटना दर्ता भएका थिए । जातीय भेदभाव तथा छुवाछुत कसूरका १४ घटनामा ५ महिलाहरु पीडित रहेको पाइएको थियो ।
आर्थिक वर्ष ७४÷७५ मा २६ वटा जातीय विभेदका घटना घटेका थिए । जसमा जातीय भेदभाव तथा छुवाछुत कसूरका ४ वटा घटना दर्ता भएको आयोगका सूचना अधिकृत रामबहादुर विश्वकर्माले बताए । यस्तै आयोगमै आर्थिक वर्ष ०७२÷७३ मा जातीय विभेदका ४४ वटा घटना दर्ता भएको थियो ।

के छ संविधानमा ?

नेपालको संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा (१) मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनिएको छ ।
उपधारा (२) मा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन । (३) उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।
(४) जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन । (५) यस धाराकोप्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ ।

कानूनी व्यवस्था

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ले जातिय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजार सम्म नगर जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म केद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ । यस्तै पीडकबाट असुल गरेर पीडितलाई २५ हजारदेखि एक लाख रुपैँयासम्म क्षतिपूर्ति दिने कानुनी व्यवस्था रहेको छ ।

‘कानूनी पक्ष फितलो हुँदा समस्या’

राष्ट्रिय दलित आयोगका कानून अधिकृत राम मिजार कानुनी पक्ष फितलो हुँदा छुवाछुतका घटना हुने गरेको बताउँछन् ।
दलितहरु आफ्नै समुदायबाट पीडित भएको भन्दै कहिले बोक्सीको आरोपमा होस् त कहिले धारामा पानी छोएको निहुँमा, मन्दिर छोएको निहुँमा पीडामा पर्ने गरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘पछिल्लो समय छुवाछुतका घटनामा प्रहरीले जाहेरी दर्ता गर्दैछौ भने जस्तो गर्ने प्रतिवादिलाई पक्राउ नगर्ने, म्याद सकिने बेलामा लगेर मुद्धा पेश गर्ने पवृति छ । यसले कस्टडि बस्ने नपर्ने स्थिति हुन्छ र पीडक धरौटि छुट्ने हुन्छ । जसले अनुसन्धान राम्रो हुन सक्दैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

बुधबारदेखि लागु भयो मौलिक हक सम्बन्धी कानून

–महिला खबर– ललितपुर । संविधानले ग्यारेन्टी गरेका मौलिक हक सम्वन्धी कानून आज बुधबारदेखि लागू भएको

कुन पापीले हान्यो ६ महिने नाबालकलाई एसिड ?

–महिला खबर– ललितपुर । रौतहटमा एसिड घटना सेलाउन नपाउँदै अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु

संविधान कार्यान्वयनको लागि ऐन बनाइसक्यौं

अहिले हामी यहाँ संंघीय संसदमा प्रदेश, स्थानीय तहका सरकार यी तिनै सरकारहरुले र जनप्रतिनिधिहरुले काम

एसिड प्रकरण : पक्राउ परेका पासवानलाई म्याद थपेर अनुसन्धान

–महिला खबर– ललितपुर । रौतहटमा दुई दिदीबहिनीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले

बलात्कार विरुद्धको हस्ताक्षर मुख्य मन्त्रीलाई बुझाईयो

–अस्मिना पाण्डे– बुटवल । सञ्चारिका समूह लुम्बिनीले बलात्कारको घटना न्यूनिकरण र बलात्कारका दाेषीलाई कारबाहीको लागि सरकारलाई

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: