किन उजुरी गर्दैनन् बेचिएका महिला ?


प्रकाशित मिति :2018-03-14 14:41:48

–सुरक्षा बराल–

काठमाडौं । काठमाडौंको एक पुर्नस्थापना गृहमा बसेर समिरा (नाम परिवर्तन) न्यायको पर्खाइमा छिन् । न्यायको पर्खाइमा के भनुँ ! उनले कतै उजुरी नै गर्न सकेकी छैनन् ।

–सुरक्षा बराल–

नेपालबाट कमाउने नाममा कुबेतमा बेचिएपछि पटक–पटकको बलात्कारबाट उनको मानसिक सन्तुलन गुमेको छ ।
उजुरी गर्ने अवस्थामा छैनन् । ‘पहिलेको कुरा सम्झाउने कोशिश गरे उनको मानसिक विचलन झनै बढ्छ ।’ समिरालाई हेरचाह गरिरहेकी पलि तामाङले भनिन्, ‘त्यसैले उजुरी गर्न सक्ने अवस्था छैन । गरिब परिवारमा जन्मिएकी समिराको घर काभ्रे हो । उनले कक्षा ७ सम्म अध्ययन गरेकी छन् । खर्च नहुँदा परिवारले पढाउन सकेन । अधियाँ   जग्गा कमाएर परिवार पालिएका छन् ।

हुन त समिरा काठमाडौंमा पुतली र खेलौना बनाउने काम गरेर कमाउन थालेकी थिईन् । तर, २०६६ असार १६ गते कमाउने आशामा पारिवारिक सहमतीमै कुबेत पुगेकी थिईन् । छोटो चिनजान भएका सिन्धुपाल्चोक घर बताउने व्यक्तिका समूहले उनलाई कुबेत पठाएका थिए ।

अहिले ति व्यक्तिलाई पहिचान गर्न नसक्ने भएकी छिन् । तामाङका अनुसार कुवेत पठाउनको लागि दलालहरूले ३० हजार रुपैयाँ लिएर उनलाई बेचेका रहेछन् । कुबेत पठाएपछि उनलाई त्यहाँस्थित दलालको सञ्जालले घरघरमा पुर्‍याएर यौन व्यवसायमा लगाउने रहेछन् ।

लगातारको यौन शोषणपछि उनको मानसिक अवस्था बिग्रियो । कपडामा नै दिशापिसाव गर्न थालिन् । शारीरिक रुपमा नै विचलन आएपछि दलालहरूले कुबेतबाट काठमाडौं ल्याइएर छोडिदिए । एयरपोर्टबाट एउटा सस्थांले उद्दार गरी उपचार गरिदियो । तर, समीरा पूर्णरुपमा निको भएकी छैनन् । त्यसैले हालसम्म यो समस्या प्रहरीमा उजुरी नै गरिएको छैन ।

ललितपुर निवासी १४ वर्षीया बालिकालाई फकाउँदै एक युवकले तिब्बतको खासामा रहेको एक रेष्टुरेन्टमा काम लगाए । रेष्टुरेन्ट मालिकले यौन धन्दामा लगाउन थालेको एक नेपालीले सुइँको पाएपछि तिब्बती प्रहरीलाई खबर गरिदिए र प्रहरीले उद्धार गरेर नेपाललाई जिम्मा लगाइदियो । घटना भएको ८ वर्ष हुँदासम्म उनलाई बेच्ने दालाललाई पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । बालिका परिवारबाट विस्थापित भएर एक पुर्नस्थापना गृहमा छिन् ।

श्रम रोजगार, महिला, बालिबालिका तथा सामाजिक सुरक्षा कल्याण मन्त्रालयमा सचिव ङइन्द्रप्रसाद उपाध्याय वर्षेनी ८ हजारभन्दा बढी नेपाली महिला बेचबिखनमा पर्ने गरेका तथ्याङ्क सुनाउँछन् । यद्यपि, यकिन तथ्याङ्क सरकारी निकायसँग पनि छैन । ‘श्रम शोषण, यौन शोषण, मानव अंग बिक्री आदिका कारण विश्व बजारमा मानव बेचबिखन तथा ओसारपसारको आयाम दिनानुदिन परिवर्तन भएका छन् ।’ सचिव उपाध्याय भन्छन्, ‘वैदेशिक रोजगार, मनोरञ्जन, शिक्षाको प्रलोभन, विदेशीसँग विवाह आदिको रूपमा यो समस्या अझै झांगिएको छ । दिनानुदिन यसको रुप र स्वरुपले विकराल रुप लिँदै छ ।’

नेपालको चौधौँ योजना (२०७३/७४–२०७५/७६) ले पनि मानव बेचबिखन तथा ओसारपसार कार्यको पूर्णतः नियन्त्रणबाट आत्मसम्मानयुक्त समाजको स्थापना गर्ने सोच लिएको छ । साथै मानव बेचबिखनको जोखिममा पर्न सक्ने समूह समुदायको पहिचान गरी बेचबिखन तथा ओसारपसार कार्यलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विद्यमान संयन्त्र र संरचनाहरूको सुदृढीकरण तथा क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । तर, बेचविखन प्रभावितहरुको अवस्था हेर्दा सरकारले लिएको सोच पूरा हुने देखिँदैन । न्यायिक प्रकृया झन्झटिलो भएकाले बेचविखनका अत्यन्तै कम मात्रै उजुरी प्रहरी कार्यालयमा दर्ता हुन्छ ।

अर्कोतर्फ परेका उजुरीमा पनि प्रहरीले दलाल पक्राउ गरेका घटना एकदमै कम छन् । विवाहको अघिल्लो दिन बहिनी बेचेको अभियोग लागेका सिन्धुपाल्चोक फटकशिलाका एक युवक पाँच वर्षदेखि फरार छन् । ‘वर्षौंसम्म दलाल पक्राउ पर्दैनन् ।’ मानवबेचविखन नियन्त्रणमा काम गरिरहेको संस्था के आइ नेपालकी कार्यक्रम संयोजक अनिता खड्का भन्छिन् ‘मानवबेचविखनमा संलग्नलाई पक्राउ गर्न प्रहरीको संवेदनशिलता अझ बढाउनुपर्ने देखिन्छ ।’

मानवबेचविखन नियन्त्रणको लागि विशेष कानून पनि छ । तर, कार्यान्वयन भने निकै न्यून देखिन्छ । मानवबेचविखनको एकीकृत तथ्याङ्क तथा सूचना प्रणालीको अभाव छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, मानव बेचबिखनको लागि नयाँ–नयाँ तरिका र बाटोको प्रयोग हुनेगरेको छ । यस्तो अवस्थामा सोअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्न नसक्नु, नियन्त्रणमा संलग्न निकायबीच प्रभावकारी समन्वय हुन नसक्नु र मानव बेचबिखनबारे सचेतनाको अभाव हुनुले बेचबिखनका घटनामा सोचेअनुरूप कमी आउनसकेको उनले बताईन् ।

‘न्यायिक प्रकृया झन्झटिलो भएकाले बेचविखनका अत्यन्तै कम मात्रै उजुरी प्रहरी कार्यालयमा दर्ता हुन्छ । अर्कोतर्फ परेका उजुरीमा पनि प्रहरीले दलाल पक्राउ गरेका घटना एकदमै कम छन् ।’

घरेलु कामको लागि खाडी पुगेका महिला जबर्जस्ती यौनको सिकारमा परेर बच्चा लिएर फर्किन बाध्य छन् । सरकारी तथा गैरसरकारीे संस्थाहरूले केही पीडितहरूलाई उद्धार र सानोतिनो सहायता गरे पनि बेचबिखन गर्नेहरूलाई कारबाही हुन नसक्नु मुख्य समस्या रहेको खड्काको ठम्याई छ ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि ५ वर्षे कार्यक्रम गर्न अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) ले ८० लाख (आठ मिलियन) अमेरिकी डलर खर्च गर्ने भनेको पनि एक वर्ष बढि भइसकेको छ ।
बाँके, बर्दिया, दाङ, धादिङ, कैलाली, कपिलवस्तु, काभ्रे, काठमाडौं, मकवानपुर, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी १२ जिल्लामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

२०१७ जुलाई देखि २०२२ जुलाईसम्म गर्ने कार्यक्रम सरकारी निकाय, मानव बेचबिखनविरुद्ध कार्यरत संस्था र नागरिक समाजको सहकार्यमा हुने भनिएको भए पनि काम भएकै देखिदैन । यि बाहेक मानव बेचबिखन न्यूनिकरणका लागि भनेर वर्षेनी विभिन्न संघ संस्थाले करोडौं खर्च गर्छन् । सरकारी निकाय, मानव बेचबिखनविरुद्ध कार्यरत संस्था र नागरिक समाजले आफ्ना वार्षिक रिपोर्टमा उपलब्धीपूर्ण काम भएको सुनाउँछन् । तर गरिनु पर्ने जति हो र हुनुपर्ने हो सो भएको पाईंदैन ।

न्यायमा पीडितको सहज पहुँच नहुनाले पनि मानब बेचबिखन बढेको उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवर बताउँछन् । यद्यपि, पछिल्लो अवस्था भने केही आशा लाग्दो र केहि सुधारउन्मुख काम भएको उनको विश्लेषण छ ।

कुँवरका अनुसार मानबबेचबिखनका अपराधिलाई सहि सजाय हुन नसक्नुको पछाडी कानुन कार्यान्वयनमा बस्नेहरुको गम्भीरता, दक्षता, क्षमतामा कमीको साथै पीडितको पीडालाई आत्मसात नगरी काममा औपचारिकता पूरा गर्ने प्रवृत्तिले पनि हो । कुँबरले भने, ‘यस्ता मुद्दाको निरन्तर सुनुवाइ पद्दति अँगालेमा न्यायमा त्यति ढिलो हुँदैन तर यहाँ त्यस्तो भएको देखिदैन ।’

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने कतिपय घटनामा दलालले प्रलोभनमा पारेर परिवारका सदस्यलाई नै बेचविखामा संलग्न गराउने हुँदा परिवारका सदस्यको सहयोग नहुँदा कारण दलाल पक्राउ गर्न समस्या रहने बताउँछन् । ‘परिवारका सदस्यलाई झुक्यानमा पारि दलालले बेचविखनमा संलग्न गराउँदा उनीहरुबाट पनि सही सूचना पाउन कठिन हुन्छ ।’ उनले भने, ‘उद्दार गरिएका पीडित स्वयंले पनि थप प्रलोभनमा परि सहि सूचना नदिँदा दललाल पक्राउ गर्न कठिन भएको हो ।’

उनले उजुरीमा आएका अधिकांश घटनाका आरोपी भने पक्राउ गरिएको दाबी पनि गरे । वादी प्रतिवादीको पहिचान लुकाउनुपर्ने कानूनी प्रावधानका कारण पनि दलाल पक्राउ भएको अधिकांश घटना सार्वजनिक नहुने पनि उनको भनाई छ ।

(सुरक्षा बराल स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: