श्रीमानबाटै असुरक्षित छन् महिला


प्रकाशित मिति :2018-03-12 14:11:50

–सन्दिप वि.क–

ललितपुर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा गत शुक्रबार एक महिलालाई श्रीमानले हत्या गरे ।

बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेका हुन् ।

हत्या गर्ने श्रीमान ओलीलाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी प्रमुख डम्बर पुरीले बताए ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी राजन भुजेलका अनुसार मादकपदार्थ सेवन गरेका श्रीमान–श्रीमतीबीच भएको विवाद पछि आवेशमा आई श्रीमतीको कञ्चटमा मुक्का प्रहार गर्दा श्रीमतीको मृत्यु भएको थियो ।

हत्या गर्ने श्रीमानलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप गर्ने तयारी भइरहेको डिएसपी भुजेलले बताए ।
उनले भने, ‘ओलीको अनुसन्धान भइरहेको छ’ घरझगडाकै कारण श्रीमतीको हत्या भएको उनले बताए ।

ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत आठराई सडकखण्डमा मजदूरी गरिरहेका थिए ।

यसैबीच मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आइतबार बिहान मृत फेला परिन् ।
शनिबार राति श्रीमानसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृत भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गराएका थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

उनले भने, ‘शव आफन्तले बुझिसकेका छन् । घटना हेर्दा हत्या भएको देखिन्छ । टाउको चोट लागेको छ भने शरीरमा निलडाम छ ।’ घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार छन् । उनको खोजी भइरहेको निरीक्षक खड्काले बताए ।

पाँचथरमा पनि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–३ सिलौटेका ६२ बर्षीय डिक बहादुर मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका मुखियाले फागुन ५ गते ४५ बर्षीया श्रीमती गंगामाया मुखियालाई कुटपिट गरेको र सोही दिनदेखि गंगामाया बेपत्ता भएको भनी स्थानीय बासिन्दाहरुले प्रहरी चौकी पौवामा निवेदन दिएका थिए ।

प्रहरीले मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घरदेखि टाढा आलुबारीमा गंगामायाको हत्या गरी वर्कोले बेरेर गाडेको बताएपछि खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा गाडेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) विज्ञान बस्नेतले मुखियाको थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अदालत म्याद थप गरेर कर्तव्य जान सम्बन्धि मुद्दा चलाउने तयारी गरेका छौँ ।’

पछिल्लो समय आफ्नै श्रीमानबाट हत्या हुने, कुटपिट गर्ने, मानसिक र शारीरिक हिंसा गर्ने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीको तथ्यांकले समेत महिलाहरु श्रीमानबाटै हिंसामा पर्ने क्रम बढेको देखाउँछ ।

कार्यालयको तथ्यांक अनुसार पीडित र पीडकको नाता सम्बन्ध हेर्दा आव ०७३÷७४ मा श्रीमान, श्रीमतिबीचका १ हजार ७ सय ७१ उजुरी परेको छ । जसमा परिसर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा ८ सय ४१ र मातहतका महिला सेलमा ९ सय ३० वटा उजुरी परेको थियो ।

यस्तै बुहारी, सासु सुसुराबीचको उजुरीमा ४७, जेठाजु, जेठानीकाबीच १०, नन्द, भाउज ५, छोरी र आमा ५ र सौतेनी आमा १ गरी १ हजार ८ सय ३९ वटा घटना दर्ता भएका थिए ।

यस्तै आव ०७२÷०७३ मा श्रीमान, श्रीमतीका १ हजार ४ सय २९ वटा उजुरी परेका थिए । जसमा परिसर महिला सेलमा ७ सय २ र मातहतमा ७ सय २७ वटा उजुरी परेका थिए ।

बुहारी– सासु ससुरामा २८, जेठाजु, जेडानीमा ८, छोरी, आमाका ८, सौताने आमा ५, नन्द, भाउजु ४ वटा उजुरी परेका थिए ।
महिला सेलकी प्रहरी सहायक निरीक्षक निर्मला ओझा भन्छिन्, ‘पछिल्लो समय महिलाहरु आफ्नै श्रीमानबाट हिंसामा पर्ने क्रम बढ्दो छ । महिला सेलमा आएका अधिकांश घटना श्रीमान, श्रीमतीबीचकै हुने गरेका छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

निर्वाचन आयोग ऐन विपरित जान्नः आयुक्त, इला शर्मा

–महिला खबर– निर्वाचन आयुक्त शर्माका अनुसार राजनीतिक दल दर्ता सम्बन्धी ऐन २०७४ को दफा १५–४ अनुसार

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

–राधा पौडेल– ढुङ्गोलार्इ सुन्ने, आमालार्इ गोठ, मान्छेको आकृति, पशु रहेछौ बेशर्मी ।

अनुदानको आशमा ऋणको भारी

–शिंव ढुंगाना– निवेदन लिने, छानविन नै नगरी सुटुक्कै मापदण्ड फेरेर प्राधिकरणले ओखलढुंगाका ६ सय ७८ जना

बैतडीमा २८ हजार किशोरीलाई आइरन चक्की खुवाइदै‌

–महिला खबर– ललितपुर । बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ ।

बालिका बलात्कार कसुरमा १० वर्ष कैद

–रुजु खतिवडा– पाँचथर । ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जनालाई जिल्ला अदालत पाँचथरले १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: