न्यायको लागि ५ वर्षदेखि काठमाडौं धाउँदै


प्रकाशित मिति :2018-03-11 17:23:08

-कल्पना भट्टराई-
ललितपुर । नुवाकोटको बेलकोट गढी नगरपालिका ११, की साइली माया लामा छोरीका हत्यारालाई कारबाही गराउनका लागि काठमाडौं धाउन थालेको पाँच वर्ष बितिसक्यो । तर,उनले न्याय पाएकी छैनन् ।

घरेलु कामदारको रुपमा राखेको घरमा छोरीलाई लगातारको यौन शोषण पछि गर्भवती भएको थाहा पाएर हत्या गरिएको आरोपमा उजुरी दिएकी साइलीमायाले पाँच वर्षसम्म पनि न्याय नपाएकी हुन् ।

महिला खबरसँग कुराकानी गर्दै साइलीमायाले भनिन् – ‘दोषीलाई कारबाही गर्ने आश्वासन पाएको १४ महिना बितिसक्दा पनि न्याय पाइनौं ।’

साइली मायाकी छोरी सुशीला कोटेश्वरमा विजयमान श्रेष्ठ र स्मृती श्रेष्ठको घरमा काम गर्न बसेकी थिईन् । उनी २०६९ माघ २६ गते शुक्रबार दिउँसो ३ बजे झुण्डिएको अवस्थामा भेटिएको भनेर साइलीमायालाई खबर गयो ।

सुरुमा आत्महत्या जस्तो देखाउन खोजिएपनि सुशीलाको गर्भमा बच्चा भएको पोष्टमार्टमबाट पुष्टि भएपछि उनका आमाबुबाले आत्महत्या नभइ हत्या भएको उजुरी गरे ।
२०७३ मंसिर महिनामा काठमाडौंको भद्रकालीमा ६ महिनासम्म साइलीमाया र उनका श्रीमान पञ्चविर लामा रिले अनशन पनि बसे ।

त्यसलगत्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीले ४५ दिन भित्र घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उनीहरुले अनसन तोडेका थिए ।

‘मिडियाका सामु अनसन तोडाउनका लागि घटनाकाको निश्पक्ष छानबिन गरि छिटै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गरे’उनी भन्छिन्—‘चौध महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन ।’

यस्तो थियो घटना विवरण

२०६५ सालमा साइलीमायाकी छोरी सुशीला तामाङले एसएलसी पास गरिन् । आर्थिक हैसियत कमजोर भएका उनीहरुलाई छोरी पढाइदिने व्यक्तिको खोजी थियो । काठमाडौंमा पूर्व सिडिओको छोरीको घरमा काम गरेर पढाइदिने मान्छे खोजिरहेका जानकारी गराए ।

                               -सुशीला तामाङ-

घरको काम सघाइदिए बापत छोरीले छोरीले पढ्न पाउने भएपछि काठमाडौं पठाउन तामाङ दम्पत्ती राजी भए । २०६५ सालदेखि सुशीला कोटेश्वरमा रहेको स्मृती श्रेष्ठ र विजयमान श्रेष्ठको घरमा घरेलु कामदारको रुपमा बस्न थालिन् ।

सुशीला स्नातक दोस्रो वर्षमा पढ्दै थिईन् । एक्कासी २०६९ माघ २६ गते शुक्रबार दिउँसोको ३ बजे साइली मायाकी छोरी सुशीलाले झुण्डिएर आत्महत्या गरेको भन्ने खबर पुग्यो ।
घटना थाहा पाउन साथ नुवाकोटबाट स्मृतीको घरमा पुग्दा छोरी सुशीला झुण्डिएको अवस्थामा भेटेको उनले बताइन् । ‘घरमा हामी पुग्दा पहिला नै प्रहरीहरु आइसकेका थिए’ उनले भनिन् ।

‘प्रहरीले शव लैजानका लागि मुचुल्कामा हस्ताक्षर गराएको रहेछ’ उनी भन्छिन्— ‘प्रहरीले हामीलाई थाहा दिएन ।
हत्या भएको शंका लागेर कोटेश्वर प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा सुरुमा प्रहरीले जाहेरी लिन नमानेको उनले बताइन् । कार्यालयका प्रहरी नायव उपरीक्षक भिम ढकालले आफुहरुले जाहेरी लिन नमिल्ने भन्दै अपराध अनुसन्धान महाशाखा हनुमान ढोकामा दर्ता गर्न सुझाएको उनले बताइन् ।

साइलीमायाका अनुसार पोष्टमार्टम पछि सुशीलाका गर्भमा साढे २ महिनाको शिशु रहेको थाहा भएको थियो । साइली माया भन्छिन्—‘गर्भ बसेपछि उनीहरुले मेरी छोरीको हत्या गरेका हुन् ।’

उनका अनुसार घटना हुनु भन्दा एक महिना अगाडि सुशीलाले बहिनी तारालाई फोन गरि विजयमानले बराम्बार यौन दुव्र्यवहार गर्ने गरेको सुनाएकी थिइन् । बहिनी तारा स्मृतीको माइतमा घरेलु कामदारको रुपमा काम गर्थिन् । स्मृतीका बुवा रघुमान श्रेष्ठ पूर्व सिडियो हुन् ।

कोटेश्वरको प्रहरी वृत्त अगाडी नाराबाजी गर्दै आन्दोलनमा उत्रिएपछि बल्ल प्रहरीले घटनाको जाहेरी लिएको थियो । उनीहरुले स्मृती श्रेष्ठ र विजयमान श्रेष्ठले हत्या गरेको भनि किटानी जाहेरी दिएका थिए ।

राष्ट्रिय आदीवासी जनजाती महिला माहासंघको सहयोगमा सो जाहेरी दर्ता गराइएको थियो । त्यसपछि स्मृती र विजयमानलाई प्रहरीले नियन्त्रणमा लिएर घटनामाथि अनुसन्धान गरेको जनाएको थियो ।

स्मृतीका भाइ धिरजले उनीहरुलाई छुटाउन जाहेरी फिर्ता लिन साइली मायालाई दबाब दिएका थिए । उनी भन्छिन्—‘पैसाको पनि प्रलोभन दिएका थिए । हामीलाई पैसा होइन न्याय चाहिएको छ ।’

श्रेष्ठ दम्पत्ती थुनामा परेको २४ दिनपछि थुनामुक्त भएका पछि मात्रै जानकारी पाएको उनले बताईन् । प्रहरीले प्रमाण नपुगेको भन्दै उनीहरु छाडेको थियो ।
तामाङले थपिन्, —‘पैसा र पावर भएपछि अपराध पनि लुक्दोरैछ । हामी गरिब । हाम्रा कुरा कसले सुन्ने !’

त्यसयता न्यायका लागि विभिन्न सरकारी र गैरसरकारी कार्यालय धाइरहेको उनले बताईन् । भनिन्, ‘सबैबाट आश्वासन पाउँछौं, न्याय होइन ।’

जिल्ला प्रशासन कार्यालयले घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म प्रतिवेदनसम्म पनि सार्वजनिक गरिएको छैन् ।
‘न्याय पाउने आशमा काठमाडौं धाउँदा धाउँदा पाँचलाख भन्दा बढि खर्च भइसक्यो ।’ उनले प्रश्न गरिन्, – ‘हामीलाई न्याय कहिले हुन्छ ?’

सहायक सिडिओ भन्छन् ः थाहा छैन
सुशीलाको मृत्युको बारेमा छानबिन गर्न बनेको समितिमा काठमाडौंका तत्कालिन सहायक सिडिओ कुल शेखर अर्याल संयोजक थिए । सदस्यहरुमा राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ, प्रहरी बृत्त तीनकुनेका इन्स्पेक्टर मदन केसी थिए ।

अहिले काठमाडौंका सहायक सिडिओ बासु घिमिरे छन् । सुशीलाको मृत्युको छानबिन समितिको प्रतिवेदनबारे बुझ्न घिमिरेसँग सम्पर्क गर्दा उनले आफूलाई थाहा नभएको बताए । महिला खबरसँग कुरा गर्दै घिमिरेले भने, ‘म सरुवा भएर आएको धेरै भएको छैन । मलाई यो घटनाबारे जानकारी भएन ।’

समितिका सदस्य इन्सपेक्टर केसी पनि सरुवा भइसके । प्रहरी बृत्त तीनकुनेमा पनि यो विषयमा कसैलाई जानकारी नभएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: