हाकिम सा’बको सेक्सुअल ह्यारेसमेन्ट


प्रकाशित मिति :2018-03-07 13:49:46

आफ्नै धुनमा स्कुटीमा हुइँकिँदै थिएँ, सिंहदरबारतिर। सञ्चारकर्मी भएकाले समाचारका खजाना खोज्दै मुलुकको प्रमुख प्रशासनिक केन्द्रतिर भौंतारिरहनु मेरो दिनचर्या नै हो। काठमाडौंको सडक जाम, सास्ती उस्तै। साँझ अफिस पुगेर के समाचार फाइल गर्ने ? यस्तै कुरा मनमा खेलिरहेको थियो।

लैनचौर र केशरमहलबीचको जाममा थिएँ, मोबाइलको घण्टी बज्यो। स्कुटी चलाइरहेका बेला सामान्यतया मोबाइल रिसिभ गर्दिनँ म। त्यसदिन पनि गरिनँ। सोचें, सिंहदरबार पुगेर कलब्याक गरौंला। तर, मोबाइलको घण्टी बज्न छाडेन। तत्काल जाम खुल्न सक्थ्यो, कल रिसिभ गर्ने कुरा भएन। एक पटक त ज्याकेटको खल्तीबाट मोबाइल निकालेर काटिदिएँ, कसको कल थियो भन्ने पनि हेरिनँ।

तै पनि घण्टी बज्न छाडेन। तारन्तारको घण्टीले मन पनि त्रसित बनायो, कतै कुनै अप्रिय समाचार पो सुन्नुपर्ने हो कि ! या कसैलाई दुःख पो प¥यो कि ! यसअघि फोन काटेपछि बारम्बार दोहो¥याएर कल आएको अनुभव कमै थियो।

बाध्य भएर स्कुटी साइड लगाएँ। र, ज्याकेटको खल्तीबाट मोबाइल झिकें। एसएमएस आइसकेको रहेछ। लेखिएको थियो, ‘ओई कहाँ छेस् ? कस्ती खालकी के तँ, धेरै पटक फोन गर्दा त केही इमरजेन्सी प¥यो होला भन्ने बुझ्नु नि। छिटो फोन उठा त। होइन भने सम्झी आजबाट सदाका लागि हाम्रो भेट हुने छैन।”

त्यो धम्कीपूर्ण एसएमएस कुनै अपरिचितको थिएन, ऊ थिई आफ्नै साथी इशारा (नाम परिवर्तन)। मेरी मिल्ने साथी। ब्वाइफ्रेन्डसँग झगडा पर्दा पनि मलाई नै सेयर गर्थी उसले। सानो कुरामा पनि अतालिने उसको स्वभाव नै हो।

मैले सोचें, आज धेरै झगडा भयो क्या रे दुई जनाबीचमा। र, कल ब्याक गरें। ऊ त एकाएक रुन थाली। भन्दै थिई, “आजबाट मैले जागिर छाडें।” मैले सोधें, “किन ? स्यालरी राम्रै दिन्छ त। सजिलो छ काम भनेकी होइनस् ? फेरि के भन्छे यो ? बौलाइस कि के हो तँ ?”

“मलाई भेट्, छिटो,” उसले भनी। मैले भनें, “नो यार आज न्युज त केही छैन। साँझ भेटम्ला नि हुन्छ ?” उसको रुवाई अझ बढ्यो। र, रुँदै भनी, “त्यसो नभन्। मेरो मन जलेर म मर्न सक्छु। तँ पनि रुन्छेस् शायद मेरो पीडा सुन्दा। भेट् प्लिज। तँलाई भेट्दा मनको पीडा शान्त हुन्छ।”

मैले भने, “ओके काँ छेस् ?” जवाफ आयो , “त्रिपुरेश्वर।’
“काँ भेट्ने ?”
“छ नि, त्यो धरहराको आसपास”
“अनि कुरा गर्न नमिल्ला नि त त्याँ ?”
“मिल्ला। नमिले फेरि कहीं जाम्ला।”
“ओके, म हिडें, जमलमा छु। जाम नभए पाँच मिनटमै आइपुग्छु। बाई,’ भन्दै फोन राखिदिएँ।

इशारासँग संगत गरेको पाँच वर्ष बितिसकेको थियो। ऊ साना कुरामा अतालिन्थी तर रोएको कहिल्यै देखेकी थिइनँ। अफिस छोडें, मन जलेर मर्छु नभेटे भन्छे। के भयो होला ? मनमा कुरा खेलिरहे। उसलाई कतिबेला भेटुँझैं भइरह्यो।

जमल कटेर घण्टाघर र पुरानो बसपार्क हुँदै स्कुटी शहीदगेटतिर मोडें। हतार छ भन्दैमा काठमाडौंका व्यस्त सडकहरु पार गर्न कहाँ सजिलो छ र ! जतासुकै जामै जाम। भनेको समय भनेको ठाउँमा पुग्न कहाँ सकिन्छ र ! प्यारी साथीको मनको पीडा थाहा पाउन आतुर थिएँ म।

जमलबाट हिँडेको पाँच मिनटमा पुग्छु भनेको भूकम्पले ढलेको धरहरा अगाडि पुग्दा २० मिनट कटिसकेछ। तर, त्यही २० मिनट पनि मलाई दुई घण्टाजस्तो लागिरहेको थियो। साथीको व्यथा थाहा पाएर पीडाबाट राहत दिन सकिएला भन्ने थियो मलाई।

सुन्धारास्थित नेपाल टेलिकम भवनको ‘अपोजिट’मा ‘ग्रे कलर’को लामो कोट र नीलो जिन्स पाइन्ट लगाएकी ऊ उभिइरहेको देखें। उसको नजिक पुगेर हर्न बजाएँ।

विस्फारित नजरले मेरो अनुहार नियाल्दै उसले एकै सासमा भनी, “ए आइपुगिस् ?”
‘उम्, हेर्न जाम भो।”
“पाकिङ गर् न त काँ गर्छेस् ?” यताउता हेर्दै उसले ठाउँ देखाई, “उ…उ.. उता हेर् त त्यो मान्छे निस्कन लाग्यो। जा जा, त्याँ निर पार्किङ गर्, छिटो।”

सुन्धारा आसपास प्रायः तत्काल पार्किङस्थल भेट्नै मुस्किल। त्यस दिनचाहीं पुग्नेबित्तिकै पार्किङ गर्न पाएँ, सौभाग्य नै भयो मेरा लागि।

उसको कुरा सुन्न आतुर थिएँ। “ओई, हेल्मेट डिकीमा अट्दैन र ? के बोकेर हिँडेकी ?” मेरो हेल्मेट हातमै देखेर उसले सम्झाई।
“अँ हो त, तेरो कुरा सुन्ने धुनमा भुसुक्कै बिर्सेंछु,” मैले भनें।

“किन ढिला गरिस् ? १५ मिनट भो यार कुरेको,” उसको प्रश्न।
“ह्या, जाम थ्यो भन्या। म के उडेर आउँ ?” मेरो जवाफ।
“ल ल भो हिँड्,” उसले भनी।

भूकम्पभन्दा अगाडि इशारा र म सँगै धरहरा चढेका थियौं। भूकम्पबाट यो राष्ट्रिय धरोहर फेदैदेखि ढलेयता भने म त्यस क्षेत्रमा पुगेकै रहिनछु। वर्षौंदेखि काठमाडौंको बदलिँदो जीवनशैलीको साक्षी बनेर ठिंग उभिएको धरहरा नहुँदा त त्यो इलाका नै उजाडजस्तो लाग्दो रहेछ।

“धरहरा नहुँदा त क्या खल्लो देखिएको हई !” मैले भनें। तर, मेरो बोली उसको कानमा ठोक्किएजस्तो पटक्कै लागेन। उसको दिमागमा अर्कै कुनै सोचले डेरा जमाएको अनुभूति हुन्थ्यो।

उसले मेरो कुरालाई बेवास्ता गर्दै भनी, “अँ, अँ थाहा छ, हिँड् छिटो।”

धरहरा परिसरकै पूर्व दिशामा गार्डेन छ, सानो। जहाँ मःमको स्वाद लिन मानिसहरुको भीड लाग्छ, सधैं। त्यसदिन खाजा खाने समय भएको थिएन, बल्ल मध्यान्ह हुँदै थियो।

“काँ निर बस्ने त ?” मैले सोधे। “उ त्याँ बसौं, वरिपरि मान्छे नि कोई छैन,” औंलो सोझ्याउँदै उसले भनी।

‘ओके। जुम्,” कहिलेकाहीं मेरो जिब्रोमा जाऊँको साटो जुम् शब्द निस्कन्छ। हामी त्यही गएर बस्यौं।

“अँ, भन् के भयो ? आज त तेरो अनुहाराँ ग्रहण ला‘छ त। के भयो ब्वाइफ्रेन्डसँग झगडा भयो ? कि…… अर्की केटीसँग हिँड्यो ? हुम्,” मैले ठट्टाकै शैलीमा कुरा अगाडि बढाएँ।

केही बोलिन ऊ, एक्कासी रुन थाली। घुँक्क घुँक्क। “के भयो भन् न,” मैले कुरो कोट्याएँ। एकछिन् त ऊ बोल्नै सकिन, रोइरही। उसको मनमा शायद धेरै पीडा गुम्सेको थियो।

उसको कपाल सुम्सुम्याउँदै मैले फेरि सोधें, “अफिस पनि छोडें रे ? रोको रोई छेस्, भन् न यार।”

अझै ऊ बोल्नै सकिन। झर्कंदै मैले फेरि भनें, “ल ल नभन्, रुनकै लागि बोलाकी होस् ? रोई बस्। म हिनें।”

म जुरुक्क उठें। आँखाबाट बगिरहेका अश्रुदाना पुछ्दै मेरो हात तानेर बसाली उसले। मैले फेरि पनि कर गरें, “भन् न त के भयो ?”

बल्ल मुख खोली, “छ नि, त्यो हाम्रो अफिसको हाकिम भनौदो…..।”

मेलै सोधें, “को ?”

“तँलाई मैले एक दिन मेरो अफिस लगेको बेलामा चिनाएको होइन, मेरो साथी जर्नालिस्ट भनेर,” उसले भनी।

“ए त्यो……. मोटे मोटे काले काले ?”

“उम्” मुन्टो हल्लाउँदै उसको छोटो जवाफ।

“अनि के भो त ? के भन्यो त्यसले ?”

ऊ बोल्नै सकिन, रोई मात्र रही।

“हरे यार भन्न के भो ? कत्ती रोएकी ?” यसको टाउको मेरो कुममा ल्याएँ र सम्झाउन खोजें, “नरोन।”

महिलाको मन त्यसै पनि कोमल हुन्छ भन्छन्। म पनि त्यसभन्दा फरक हुने कुरा भएन। अरुको आँसु देख्न सक्दिनँ। र, आफ्नो पनि रोक्नै सक्दिनँ। मेरा पनि आँखाबाट आँसु झर्न थाले।

“सुन् त। म छु नि। भन् न, नरो न,” मैले आफूलाई सम्हाल्दै भनें, “उसले के ग¥यो ?”

घोसे मुन्टो लगाएर भुइँतिर हेर्दै उसको जवाफ आयो, “सेक्सुअल ह्यारेस्मेन्ट।”

“हँ….? कसरी ?” मेरो ओठबाट आश्चर्यमिश्रित शब्द निस्कियो।

ऊ सुनाउँदै गई, “आज मेरो अफिसको रुममा म एक्लै थिएँ,” उसले जवाफ दिई।

“अनि, अरु कोही आएनन् आज ?” उसको जवाफ सिद्धिन नपाउँदै मैले सोधें।

“हो, सुष्मिता म्या’मले जागिर छोडिन्। त्यो रितेश सरचाहीं बिदामा थियो,” बोल्दाबोल्दै ऊ फेरि पनि रोकिई।

“अनि के भन्यो त्यसले ?”

“रितेश बिदामा भएको र सुष्मिता म्या’मले जागिर छोडेकाले धेरै काम थ्यो। म काम गर्दै थिएँ। त्यो मान्छे एक्कासी ढोकाबाट छिरेको देखें। उसले म्या’म हिजोको त्यो रिर्पोट तयार भयो भन्यो। मैले भने, सर म गर्दै छु। आधा घण्टामा सक्छु होला।”

ओके। आज एउटा कुरा गर्न मन लाग्यो,” पहिले खासै नबोल्ने उसको आग्रह अनौठो लागेको थियो।

“भन्नुस् न सर के कुरा ? मैले सोधें।”

“यु आर सो ब्युटिफुल ? डु यु ह्याभ ब्वाइफ्रेन्ड ?”

“मैले भनें, एस् आई ह्याभ ब्वाईफ्रेन्ड। हामी छिटो बिहे पनि गर्दैछौं।’

“उसले भन्यो, ओके नो प्रोब्लम। तपाईंको सर्लक्क परेको ज्यान र कोमल हातहरुमा स्पर्श गर्न कस्तो मन थियो।”

“अरु कसैको कथा सुनेकी थिएँ या फिल्ममा यस्ता दृष्य देखेकी थिएँ। तर, भोगेकी थिइनँ। र, मैले आश्चर्यचकित हुँदै भनें, व्हाट ?”

“उसले ठूलै पौरख गरेको पुरुषत्व भावमा भन्यो, एस्। आजभोलि ब्वाइफ्रेन्ड जसको पनि हुन्छ नि। के फरक भो ? म नि म्यारिड त हुँ। रहर मार्न हुन्न नि।”

“नबुझेझैं गरी अझै मैले स्पष्ट हुन चाहें, के भन्न खोजेको, सीधा सीधा भन्नूस्।”

“आई वान्ट टु रोमान्स विथ यू,” हाकिम र ऊबीचको वार्ता एकै सासमा सुनाउँदै भन्दै गई। उसको कुरा बीचैमा काटेर भनें, “अनि त्यस्तालाई चप्पलले बजाउनुपर्छ नि। त्यस्तालाई केही गरिनस् ? आँसु झार्दै कमजोर बनेर फर्किस् ?”

“गालामा चड्कन त हानें,” उसले भनी।

“अनि त्यसपछि ?”

“जति पिटे नि पिट। बट्, मेरो चाहना बुझिदेऊ, उसले भन्यो। मैले थपें, के भनिस् ? तेरो खुशीका लागि मेरा अस्मिता गुमाऊँ ? म कसैको चाहना पूरा गर्न जन्मेकी हुँ र ?”

“उल्टो, तेरा ब्वाइफ्रेन्डका चाहना पूरा गर्न सक्छेस् होला मेरो सक्दिनस् ? जागिरको माया छैन पो भन्छ।”

“मैले पनि मेरो खुशीले कोसँग रोमान्स गरुँ ? त्यो मेरो प्राइवेट लाइफको कुरा हो। चियो गर्ने को होस् तँ, के खाँचो तँलाई ? तेरो जागिर तैं खा। म खान्नँ। प्राइवेट जागिर अन्त नि पाइन्छ, भन्दै ब्याग च्यापेर बाहिरिएँ अनि तँलाई फोन गरेको। बिहानै दुव्र्यवहार खप्नुप¥यो आज,” ऊ बल्ल रोकिई।

इशाराले भोगेको दुव्र्यवहारको बेलीविस्तार सुनिसक्दा हामी दुवैमा सन्नाटा छायो। उसका आँखाबाट बलिन्द्र धारा बगिरहेका थिए। मैले सम्झाएँ, “नरो। के गर्ने अब।”

शारीरिक सम्पर्क राख्नु मात्र “सेक्सुअल ह्यारेसमेन्ट” होइन। अश्लिल शब्द उच्चारण गर्नु र यौन सम्पर्कका लागि आग्रह गर्नु पनि सेक्सुअल ह्यारेसमेन्ट नै हो। केटीको मनले स्वीकार गर्दा भने त्यो सामान्य विषय हुन सक्छ। मनले नस्वीकार्दा आँखा मात्र जुधाउनु पनि यौन दुव्र्यवहार नै मानिन्छ।

रिपोर्टिङका क्रममा कहिलेकाहीं वन मन्त्रालयकी सहसचिव राधा वाग्लेले यस्ता कुरा झिक्नु हुन्थ्यो। उहाँ अस्ट्रेलियाबाट ‘वन मन्त्रालयको कर्मचारीतन्त्रमा महिला समावेशिकरण’ बिषयमा विद्यावारिधि गरिरहनुभएको छ। हिंसा लुकाएर होईन, हिंसाको बिरुद्ध आवाज उठाउन उहाँ प्रोत्साहन गरिहनुहुन्छ। मैले उहाँबाट पनि धेरै कुरा सिक्ने मौका पाएकी छु, यस विषयमा।

उसलाई सम्झाएँ, “आज तँलाई त्यो हाकिमले सेक्सुअल ह्यारेसमेन्ट ग¥यो। तँ चुप बस्दा फेरि अर्को घटना पनि लाइफमा आउला। त्यस्तालाई केही कारवाही त गर्नैपर्छ,” मैले भनें, “नडरा हामीसँग कानून छ र त्यसलाई कारवाही गराएरै छाड्नुपर्छ।”

उसले भनी, “भो छोड्। केटी नै उस्ती होली भनेर आरोप लगाउँछ, यो समाज। फेरि अर्को तनाव मनमा झेलेर बसुँ ? मैले जागिर छोडें। मिल्छ भने अन्त जागिर खोजिदे।”

फेरि सम्झाएँ, ‘तँ जस्तो शिक्षित मान्छे पीडा दबाएर चुपचाप बसेको सुहाएन, हाम्रो साथमा कानून त छ नि, समाजको सर्पोट नपाए नि।” जति सम्झाए पनि परिवार र समाजको डर उसको मनमा डेरा जमाएर बसेको थियो। र, यौन हिंसा गर्ने हाकिमलाई कारवाही गराउने कुरामा ऊ तयार देखिइन।

उसले नै चुप् भनेपछि म के भनुँ। चुपचाप बसें।

घरमा भनिछ। पछि ब्वाइफ्रेन्डसँगै उसको बिहे पनि भयो। शायद घरधन्दामा व्यस्त हुन्थी। धेरै समयपछि एक दिन घरमै भेट्न बोलाई। ऊ श्रीमान्सँगै थिई। उसको श्रीमान्लाई नमस्कार गरें। “आईज बस्,” सोफातिर देखाउँदै बस्न आग्रह गरी।

उसको बूढालाई के भनेर सम्बोधन गरुँ भन्ने भयो। र, सोधें, “ओई, उहाँलाई मैले के भन्नु पर्छ ?” दुवै जना मरीमरी हाँसे र मैले पनि उनीहरुलाई साथ दिएँ।

उसले छोटो भाषामा भनी, “भिनाजु भन् न। साथीको बूढालाई भिनाजु भन्छन् नि।” मैले सहमति जनाएँ। सबै दिल खोलेर हाँस्यौं।

तथापि, उसको श्रीमान्सँग त्यो पहिलो भेट थिएन। उनीहरु प्रेममा हुँदा पनि धेरै पटक भेट भएको थियो। बिहेयता भने त्यो पहिलो भेट थियो।

“कस्तो चल्दैछ वैवाहिक जीवन ?” औपचारिकता पूरा गर्न मैले सोधें। मुसुक्क हाँस्दै इशाराका श्रीमान्ले भने, “शुरुमै नराम्रो त कसको हुन्छ र ? राम्रै छ। मन परेको मान्छेलाई पाउँदा नराम्रो कहाँ हुन्छ र ?”

मैले हाँस्दै भनें, “यू आर सो लक्की।”

उसले केही खाने आग्रह गरी। मैले भोक छैन भनें। उसले मसँग सोधी, “कस्तो चल्दैछ तेरो पत्रकारिता।” मैले जवाफ दिएँ, “ठीकै छ। पैसा मात्रै सबथोक होइन। पेशामा इन्जोय गरेकी छु। खुशी छु। रमाइरहेकी छु।”

“तेरो सानैदेखिको रहर नि त !” उसले अथ्र्याई।

र, थपी, “हेर्न। जागिर नभएसी घरमा बस्न बोर भयो। खोज्देन एउटा।”

उसले बोल्न नपाउँदै श्रीमान् जंगिए, “प्रगति सम्झाइदेऊ न यसलाई। कति जागिर जागिर भन्छे। किन जागिर खानुप¥यो तिमीलाई ? फेरि पनि हाकिमको सेक्सुअल ह्यारेसमेन्ट सहन ?”

मैले सम्झाउन खोजें, “सबै हाकिम त्यस्ता हुँदैनन् नि। जागिर खाने उसको चाहना छ। हजुरले बुझ्नुपर्छ नि।”

उनले रिसाएझैं गर्दै जवाफ दिए, “प्रगति मलाई सम्झाउने कोशिस नगर। बरु, गाउँ गएर हलो जोतेरै पालौंला। तर, उसलाई काम गर्न दिन्नँ। यो मेरो अन्तिम निर्णय हो।” उनी त्यहाँबाट जंगिदै निस्किए।

गहभरि आँसु पार्दै उसले भनी, “प्रगति, के मैले डिग्री गरेको घरभन्दामा सीमित हुन मात्रै हो ? किन कमजोर हुन्छौं हामी ? किन हाम्रो कुरा कसैले नबुझेको ? म कसरी सम्झाऊँ ? म मेरो सीप प्रयोग गरेर खाँदा नि किन सुख छैन।”

हो पनि। म उसकी साथी, आफ्नो सीप अक्षरमा उतार्दै स्वतन्त्र जीवन बाँचिरहेकै छु। उसले भने घरधन्दामै सीमित हुनुको कुनै औचित्य पनि त छैन।

र, उसैको सहमति अनुसार उसकै पीडा अक्षरमा उतार्नुलाई कर्तव्य ठानें। यी पंक्ति लेख्दै गर्दा मेरो मनमा एउटै खुल्दुलीले सताइरहेको छ, इशाराझैं तड्पिएका कति नारीहरु होलान् ? के एउटा शिक्षित पुरुषले जागिरमै नजा भन्नु उचित हो ? घरिघरि म यस्तो केटाको कल्पना गर्छु, मेरो हुनेवाला श्रीमान् मानसिक रुपमा अशिक्षित नहोस्। यस्तै घटना मेरो जीवनमा आयो भने भनोस्, “हिम्मत नहार। तिम्रो साथमा म छु। कानून छ। तिमीमाथिको अन्याय सहने होइन, तिमी नै प्रतिकार गर्न सिक। जागिर छोड्ने अनि आँसु खसालेर कायर नारी नबन।”

साभार : सेताेपाटी

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: