टिनको छाप्रोभित्र गाई गोरुसँगैको बास


प्रकाशित मिति :2018-01-14 15:53:15

-इन्द्रसरा खड्का-

बैतडी । घरभित्र पस्ने मूल ढोका एउटै छ । एकातिर गोरु बाख्रा, अर्कोतिर आमासँगै तीन छोराछोरी बस्छन् । सुतेको बेला गोरु, बाख्राले दिसापिसाब गर्दा कहिलेकाहीँ त शरीरमै पर्छ । ‘खाना खाने बेला त घरबाहिर निस्केर खान्छौं । तर सुतेको बेला कतिखेर गोरु, बाख्राले शरीरमा दिसापिसाव गर्छन् थाहै हुदैन’ बैतडीकी लक्ष्मी बिजलेले भनिन् ।

वरिपरी गहुँ छरेको बारी । बिचमा सानो टिनको झुप्रो । टाढाबाट झट्ट हेर्दा गोरुको गोठ जस्तै देखिने यो घर बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर २ का लक्ष्मी बिजलेको हो । पुस महिनाकोे कठ्यांग्रिदो चिसो । यस्तो चिसोमा गोरु, बाख्राको छेउमा रात बिताउनु लक्ष्मीको बाध्यता हो ।

हिउँदमा टिनको छाप्रोमा खपि नसक्नु चिसो । वर्षातमा ओत लाग्नै मुस्किल । लक्ष्मी बिजलेले टिनको यही झुपडीमा ८ वर्ष बिताइन् । पहिले घरबार सबै राम्रो थियो । जब श्रीमानको निधन भयो, त्यसपछि लक्ष्मीका दुखका दिन सुरु भए । ‘श्रीमान बितेपछि आफै छोराछोरी पाल्छु भन्ने हिम्मत थियो । तर घरमा आगलागी भएर बारीको बास भएपछि हिम्मतले पनि हारखादै गयो ।’ उनले दुख पोखिन् ।

लक्ष्मीका श्रीमान बितेको १४ वर्ष भयो । उनका २ छोरा १ छोरी छन् । उनी बस्दै आएको ४ कोठे घर २०६४ सालमा आगोबाट ध्वस्त भएपछि लत्ताकपडा, खाद्यान्न केही हात लाग्ने कुरै भएन । जिल्ला प्रशासन कार्यलयबाट राहतस्वरुप आएको ७ हजार रुपैयाँ र एक त्रिपाल चार जना परिवारको लागि हात्तीको मुखमा जिरासरह भयो ।

एक त विधवा, त्यसैमा तीन जना छोराछोरीको अभिभारा पनि लक्ष्मीकै काँधमा छ । ओत लाग्ने घरसमेत आगोले सखाप परेपछि गिट्टी फोडेर, घन सब्बलले ढुंगा निकालेर बल्ल तल्ल ३५ हजार रुपैयाँ जम्मा गरिन् । र टिनको छाप्रो लगाएर लक्ष्मीले आफूहरूको वास तयार गरिन् ।

लक्ष्मीको श्रीमानका चार दाजुभाई छन् । दाई बितिसकेपछि देवरहरूले संरक्षण गर्नुको साँटो उल्टै जग्गा जमिन सबै कब्जा गरेपछि आफूसँग घर बनाउने जमिन पनि नभएको उनले बताइन् ।

‘श्रीमान हुँदा कसैले केहि भनेनन् । परिवार पाल्न जग्गा जमिन टन्न थियो । उहाँको निधनपछि सबै जमिन देवरले कब्जा गरि आफ्नो नाममा दर्ता गर्नुभएछ’ लक्ष्मीले भनिन्, ‘बस्नलाइ घर र कमाइ खान जग्गा जमिन नभएपछि जेठो छोरालाई गाउँको मान्छेसंगै भारत पठाएकी छु ।’

गाउँको मान्छेले म पालिदिन्छु भनेपछि छोरालाइ छिमेकिसँगै भारत पठाएको उनले बताइन् । अहिले उनीसंग एक छोरा र एक छोरी छन् । छोरी ८ कक्षामा पढ्छन् भने छोरा ७ कक्षामा । छोराछोरीलाई कापि किताव किन्न, विद्यालयको ड्रेस किन्न पनि धौ–धौ हुने गरेको उनले बताइन् । ‘कापी किताब किन्न पैंसा हुन्न । स्कुल छुटाइदिउँ भने सँगैका साथीभाई स्कुल जान्छन् । के गरौं, कसो गरौं, समस्याको चाङ छ’ उनले सुनाइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: