‘म त सिन्दुर लगाएरै हिँड्छु’


कलिलैमा ‘विधवा’: जीवन जिउनै मुस्किल

प्रकाशित मिति :2018-01-11 09:31:35

शिवराज खत्री

अछाम । भागेश्वरकी ३० बर्षीया दुधकला बिष्टले दुई सन्तानको जन्म दिई श्रीमान गुमाउँदासम्म नेपालको कानुन अनुसार उनको बिहे गर्ने उमेर नै पुगेको थिएन । १७ बर्षमा बिहे गरेकी उनले साढे दुई बर्षमै श्रीमान गुमाउनुप¥यो । उनीहरुको बिहे ०६१ बैशाखमा भएको थियो । ०६३ मंसिरमा श्रीमान यज्ञमान बिते । त्यसयताको एक दशक दुधकलाका लागि निकै संघर्षपूर्ण रह्यो । श्रीमान बितेको पाँच महिनापछि दुधकलाले छोरी जन्मिइन् भने त्यसअघि नै जेठो छोरो जन्मिसकेको थियो । श्रीमानको निधन र बालबच्चाको लालनपालनका खातिर उनको उच्च शिक्षा पढ्ने इच्छामा पनि पूर्णविराम लाग्यो ।

दुई सन्तानको लालनपालन र शिक्षादिक्षाका लागि खर्च जुटाउन उनले गाउँकै चन्द्रोदय प्राविमा चार बर्ष पढाइन् । निजि स्रोतको शिक्षक तलबले जिविको धान्न मुस्किल भएपछि गाउँमै सामाजिक परिचालकको रुपमा पनि केहि महिना काम गरिन् । अहिले गाउँबाट एक दिनको पैदल दुरीमा पर्ने देविस्थानमा रहेको एक गैससमा सामाजिक परिचालकको रुपमा काम गर्छिन् । तर गाउँसमाजले उनलाई घर छाडेर हिडि, विग्रिइ भनेर लान्छना लगाउँछन् । दूधकला भन्छिन्,‘एकल महिलालाई समाजमा जिउनै मुस्किल छ ।’ सासूआमाको साथले भने उनलाई केही सजिलो भएको छ । उनी जागिर गर्ने भएपछि छोराछोरीको हेरचाह सासूआमाले गर्दै आएकी छन् ।

‘म त सिन्दुर लगाएरै हिँड्छु’

१८ बर्षकै उमेरमा विहे गरेकी हरीना राना (कुँवर) अहिले २९ बर्षकी भइन् । साफेबगर नगरपालिका, चण्डिकाकी हरीनाकी दुई नाबालिका छोरी छन् । २६ बर्षकै कलिलो उमेरमा श्रीमान निलेश कुँवरको निधनले हरीना विछिप्त बनिन् । त्यसमाथि दुई छोरीको शिक्षादिक्षा र लालनपालन कसरी गर्ने भन्ने चिन्ता । एक्लो जीवन जिउन जति संघर्ष गर्नु परेको छ त्यो भन्दा बढी संघर्ष उनले एकल महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण चिर्न गर्नुपरेको छ । ‘कलिलै उमेरमा एकल हुनुपर्दा आफूभित्रको पीडा त कति छ, कति, त्यसमाथि समाजले राम्रो लगाए, बाहिर हिँडडुल गरे भनेर कुरा काँटेर झनै पीडा थप्ने काम गर्दछ’ हरीनाले भनिन् । उनको अनुभवमा रातो पहिरन लगाउँदा समाजले राम्रो मान्दैन तर सेतो लगाएर हिँड्दा पनि त्यही समाजका व्यक्ति (लोग्नेमान्छे) बाट जोगिनै मुस्किल छ । हरीना भन्छिन्, ‘विधुवाले सिन्दुर नै लगाएर हिँड्यो भन्छन् तर आफ्नो सुरक्षाको लागि भए पनि म त सिन्दुर लगाएरै हिँड्छु ।’

                        बयलगडा अस्पतालमा बिरामी चेकजाँच गर्दै हरीना 

एकल महिलालाई रमाइलो गर्न पनि सामाजिक रुपमा छुट छैन । तर उनलाई नाचगान गर्न मन पर्छ । मनले चाहेको गर्नुपर्छ भन्ने सोच बोकेकी हरीनाले नाचगान गर्दा थुप्रैको मुखबाट नराम्रो कुरा सुनेको पनि छ । उनी श्रीमान गुमाएपनि छोराछोरीका लागि उमंंगमय वातावरण बनाउनुपर्ने बताउँछिन् । तर उनले जीवनमा धेरै सघर्ष गर्नुपरेको छ । श्रीमान बितेपछि घर धान्न, छोरीको लालनपालन र शिक्षादिक्षाका लागि उनलाई निकै समस्या आइलाग्यो । श्रीमान राष्ट्रिय अनुसन्धान कार्यालय अछामका कर्मचारी भएकाले उनले पनि सोही ठाउँमा नोकरी गर्न निकै प्रयास गरिन् । तर पाएनन् ।

उनमी पढेकी उनी रोजगारीका लागि भौतारिदा, भौतारिदै अन्त्यमा स्थानीय बयलगडा अस्पतालमा केहि महिना निःशुल्क रुपमा काम गरिन् । र पछि अस्पतालले जागिरमा राखेपछि उनलाई केही सजिलो भयो ।

दुधकला र हरीना प्रतिनिधी पात्र मात्र हुन् । उनीहरु जस्ता कलिलै उमेरमा श्रीमान मरेर एकल बनेका थुप्रै महिलाले जीवन जिउन समाजमा निकै संघर्ष गर्नु परेको छ । समाजका लागि जिउँदै गर्दा उनीहरुको आफ्नै भविष्य अन्यौलमा परेको छ ।

पतिको मृत्युपछि जीवित पत्नीले चितामा सँगै जल्नुपर्ने सती प्रथालाई राणा प्रधानमन्त्री चन्द्रशमशेरले २५ असार १९७७ मा प्रतिबन्धित गरेपनि सम्मानित जीवनका लागि एकल ‘विधवाु महिलाले गर्नुपरेको संघर्ष अद्यापि जारी छ। विधवाले सिन्दूर, पोते, टीका लगायतका श्रृंगार गर्न र रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता आज पनि छ। एकातर्फ एकल महिलाप्रति समाजले हेर्ने गलत दृष्टिकोणका बिरुद्ध लड्नु पर्ने चुनौती छ भने अर्कोतर्फ कलिलै उमेरमा जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन निकै संघर्षपूर्ण छ । एकल महिलाको पुर्नविवाहको कुरा त झनै परको विषय हो । पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्काे विहेको कुरा गर्दा कुनै अनौठो नलाग्ने त्यही समाज, एकल ‘विधुवा’ महिलाको पुर्नविवाह बारे छलफल समेत गर्न हिच्किचाउँछन् ।

महिला अधिकारकर्मी तथा रामारोशन गाउँपालिकाकी उपप्रमुख सरस्वती रावल रुढीबादी सोचकै कारण एकल महिलालाई जिउन निकै गाह्रो रहेको बताउँछन् । ‘कलिलै उमेरमा एकल बनेका महिलालाई झन समस्या छ’ रावलले भनिन्–‘श्रीमान बितेपछि घरपरिवारबाटै हेला सुरु हुन्छ, बाहिर समाजको त कुरै छाडाँै ।’ कतिपयले बुहारीलाई पोइ टोकुवा भनेर पनि लान्छना लगाउने गरिन्छ । कमाउने छोरा बितेपछि छोराको अंशमा अधिकार जमाउँछ भनेर पनि कतिपय परिवारले एकल महिलालाई हेला गर्ने गरिन्छ ।

उपप्रमुख रावलले यस बर्ष गाउँपालिकाबाट एकल महिलाका लागि २० लाख रुपैयाँ बजेट छुट्याको बताइन् । एकल महिलाको तथ्यांक संकलन गरि उनीहरुसँगै छलफल गरेर उनीहरुको आवश्यकताका आधारमा उक्त रकम खर्च गर्ने योजना उनले सुनाईन् ।

राज्यले पछिल्लो समय एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन उमेरको हद हटाउँदा कलिलै उमेरमा एकल हुनेलाई केहि राहत भएको जिल्ला समन्वय समितिका सामाजिक बिकास अधिकृत खडक बिष्ट बताउछन् । उनका अनुसार राज्यले सामाजिक सुरक्षा भत्ता बापत एकल महिलालाई मासिक एक हजार रुपैँयाका दरले भत्ता दिदै आएको छ ।

 दुधकला सामाजिक अभियानमा 

तर सबै एकल महिलाले यो सुविधा पाएका छैनन् । मंगलसेनकी माया बोगटी राज्यले एकल महिलालाई स्वरोजगार बनाउन सहयोग गर्नुपर्ने बताउँछिन् । समाजले आफूहरु माथि हेर्ने दृष्टिकोण बदल्नुका साथै अवसरहरुमा पहिलो प्राथमिकता राख्नुपर्ने भनाई छ एकल महिला जयन्ती बोगटीको ।

अछाममा एकल महिलाको संख्या कति छ भन्ने एकिन तथ्यांक त छैन तर दक्षिणएशियामा एकल महिलाको तथ्यांक लिने नेपाल भारतपछि दोस्रो देश हो। २०६८ को जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या करिव छ लाख रहेको छ । मानव अधिकारको लागि महिला एकल महिला समूहले गरेको एक अध्ययन अनुसार नेपालमा ७५ प्रतिशत भन्दा बढी महिलाहरूले २० वर्ष भन्दा कम उमेरमा विवाह गरेको पाइएको छ । त्यस्तै ५० वर्षमुनिका एकल महिलाको संख्या ९४ प्रतिशत छ । त्यसमध्ये ६७ प्रतिशत एकल महिलाहरू २० देखि ३५ वर्षको उमेरमा नै ३ देखि ४ जनासम्म बालबालिकाको आमा बनिसकेको र तिनीहरूको पालन पोषणको अभिभारा समेत उनीहरूमाथि रहेको देखिएको छ ।

कानूनी व्यवस्था के छ त?

एकल महिला भन्नाले सम्बन्धविच्छेद गरेका महिला, विधवा, ३५ वर्ष उमेर पूरा गरेका अविवाहित महिला, पाँच वर्षभन्दा बढी समयदेखि पति हराई वा बेपत्ता भएका र अशंवण्डा गरी वा मानो छुट्टिई अलग बसेका महिलालाई बुझिन्छ । उनीहरुले मात्र सहयोगका लागि निवेदन दिन सक्ने छन् ।

एकल महिलाका लागि एकल महिला सुरक्षा कोषको व्यवस्था गरेको छ ।

एकल महिलाको सशक्तीकरण, क्षमता तथा मर्यादा अभिवृद्धि गरी सामाजिक न्यायको लागि जनचेतनामूलक कार्यक्रम गर्दै सामाजिक, आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले २०७० सालमै ‘एकल महिला सुरक्षा कोष’ सञ्चालन नियमावली ल्याएको हो ।

सञ्चालन मापदण्डअनुसार उद्धार, राहत तथा पुनःस्थापना, औषधि उपचार, कानुनी सहायता, शिक्षा र सीपमूलक तालिम, स्वरोजगार कार्य सञ्चालनका लागि मात्र एकल महिलालाई आर्थिक सहयोग गरिनेछ ।

“उद्धार, राहत तथा पुर्नस्थापना अन्र्तगत एकल महिलाको तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाको लागि जिल्ला स्तरीय समितिले तोके अनुसार रु। ५००० मा नबढ्ने गरी आवश्यक रकम उपलब्ध गराईने छ ।” यसका साथै घरमा बसी उपचार गराएको खण्डमा अस्पताल आवतजावत समेतको सवारी साधनको भाडाका साथै परिक्षण तथा औषधी खर्चवापत जम्मा रु २००० सम्मको रकम उपलब्ध गराईने।

विशेष अवस्थामा भने जिल्ला स्तरीय समितिले आवश्यकता र औचित्यका आधारमा रु ४,००० सम्मको थप रकम स्वीकृत गर्न सक्नेछ । कानुनी साहयताका लागि एक जाना साथी समेत अड्डा अदालतमा आवत–जावतकालागि सवारी साधनको भाडा, कानुनी दस्तुर र सेवा वापत सामान्य अवस्थामा प्रति व्यक्तिलाई रु ५००० सम्म र विशेष अवस्थामा जिल्ला स्तरीय समितिले विशेष निर्णय गरेकोमा थप रु २५०० सम्म रकम उपलब्ध गराईने छ ।

शिक्षा र सीपमुलक तालिम र एकल महिलाको शिक्षाका लागि प्रतिव्यक्ति रु ६५०० प्रदान गरिने छ । जस मध्ये सीप तथा उद्दमशिलता तालिममा रु ५००० र अन्य तालिममा १५०० ननाघ्ने गरी लागेको खर्च बिल बमोजिमको रकम उपलब्ध गराईने छ ।

स्वरोजगार कार्यका लागि अनुदान वापत प्रति परिवार रु १५,००० ननाघ्ने गरी सम्बन्धित जिल्ला स्तरीय समितिले उपलब्ध गरेको र स्रोत समेतको आधारमा स्वीकृत गरेको रकम उपलब्ध गराईने छ ।

कोषको रकम प्राप्त गर्ने प्रक्रिया

कोषको रकम लिनकालागि सामाजिक तथा आर्थिक अवस्था कमजोर भएका महिलाले नियम अनुसार कुन सहयोग लिन चाहेको हो त्यो खुलाएर निवेदन दिनुपर्ने छ । नियमभित्र पर्ने सहयोग मध्ये उद्धार, औषधी उपचार, कानुनी सहायता, शिक्षा र सीपमुलक तालिम रहेका छन् ।

त्यसैगरी एकल महिला कोषको रकम उपलब्ध गराउँदा निम्न कागजात संलग्न गर्नुपर्नेछ ।
१० एकल महिला प्रमाणित हुने कागजात
२० नेपाली नागरिकताको प्रमाणपत्र
३० आफूले लिन चाहेको सहयोगको विवरण सहितको निवेदन
४० सम्बन्धित निकायले विपन्न, आर्थिक रुपले कमजोर भएको प्रमाणित हुने सिफारिस पत्र

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: